Monday, November 21, 2011

Jindabad Jindabad Jindabad - Story - 10 Bahaliya


जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद

‘जिम्दार मालिकको घरमा ठूलो चोरी भयो। हँसुली, काँडा, बाजु गरेर पाँच किलो। सबै सुनको। चोर यो गाउँ कै हुनुपर्छ। बाहिरकालाई के थाहा, जिम्दार मालिकको गरगहनाबारे’ अन्तर सम्वादमा बोलिएका यी वाक्यहरुले विगत एक हप्तादेखि समाचारको शीर्ष रुप लिएका थिए।
आज ठीक दुपहरमा जिम्दार मालिकको दुरा (आँगन) मा सगुन (चोर पत्ता लगाउने विधि) हुँदैछ, सुन चोर पत्ता लगाउन। मँगरु धामीले सगुन गर्ने। गाँउका सबै लोग्ने मान्छे त्यहाँ उपस्थित हुनू। मुखियासाहेबको आदेश छ। नआउनेलाई दस रुपियाँ जरिबाना र जात पानीबाट हटाउने’ चौकिदारको यो आदेशात्मक सूचनामा अनुरोध कम जिम्दारको क्रोध बढी प्रतिविम्बित देखियो।
‘आदेश अति कडा भयो। अव्यवहारीक पनि। धान कटनी छाडेर पन्चैतीमा जानु पर्ने? हाम्रो मुखियासाहेब सठियाई गए। यस्तै हो भने अब मुखिया फेर्नुपर्छ। साला मुखिया, जिम्दारको कुत्ता। जिम्दारको अगाडि पुच्छर हल्लाउँछ। जिम्दारका नोकरहरुले नै चोरेका होलान। आफूले नै चोर पालेको छ’। परोक्षमा बोलिने यस्ता वाक्यहरु बाहेक चौकिदारले सुनाएको त्यो सूचनामा कसैले आपत्ति प्रत्यक्ष रुपमा प्रकट गरिएको देखिएन।
जिम्दार मालिकको दुरा पूरै भरिएको थियो। बेहरी राख्न बनाइएको मचानमा जिम्दार मालिक बसेका थिए। जिम्दार मालिकको छेउमा मुखिया साहेब अनि मुखिया साहेबको छेउमा हेडमास्टर साहेब, आधार प्राइमरी स्कूलको। केही गण्यमान्यहरु चटाईमा बसेका थिए। बाँकी सबै भुइँमा।
जिम्दार मालिकले मुखिया साहेबतिर हेरे। मुखिया साहेबले मँगरु धामीतिर। मँगरु धामीले कुरा बुझे अनि घोषणा गरे ‘जिम्दार मालिकको त्यत्रो सुन चोरी भएको सबैलाई थाहा नै छ। म अब सगुन गर्छु। सगुनको तरिका यस्तो छ – मेरो हातमा रहेको यो कचौरालाई मैले पूजा गर्नेछु। पूजा सकिएपछि यो कचौरा आपसेआप उडेर चोरको तिघ्रामा गाडिने छ’ यति भनेर धामीले मुखिया साहेबतिर हेर्दै सोधे ‘चोर  पक्रिए पछि त्यसलाई सजायँ र मेरो बक्सिस के हुने छ?’
‘धामीलाई एउटा सुनको हँसुली र चोरको दाहिने हात काट्ने’ अग्रस्थानमा बसेर एक व्यक्तिले बृद्धस्वरमा बोल्यो। बैठक केही बेर मौन भयो।
‘के को एउटा मात्र दुइबटै हात काट्नु पर्छ’ यो भनाई रामऔतारको थियो।
तेस्रोले भन्यो ‘दुई बटै हात दुई बटै खुट्टा काटेर साले चोरलाई अपाहिज बनाउनु पर्छ। त्यत्तिकै छाड्नु हुँदैन।'
बैठकमा उपस्थित सबै एकैपटक कराए ‘हो, साले चोरलाई अपाहिज बनाएर भीख माग्न लगाउनु पर्छ’।
‘अब मेरो अचुक जादु सुरु हुन्छ। तैपनि एउटा सल्लाह छ – कसैले चोरेको हो भने भन, म सजायँ कम गरिदिन्छु’ यति भनेर धामीले आफ्नो भनाइको प्रतिक्रिया हेर्न थाले। धामीले केही बेर पछि पुन: भने ‘सजायँ केबल दस कोर्या’।
‘यति कम सजायँ, त्यति ठूलो अपराध गर्नेलाई? हुँदैन। कदापि हुँदैन’ धेरै व्यक्तिहरु कराए। केही बेर होहल्ला नै भयो।
‘चुप लाग, पहिले सगुन हुन देउ’ मुखिया साहेब गर्जे। सबै शान्त भए। बलेको आगोमा पानी बेस्सरी हालिए झै।
‘माफ पाउँ मालिक, मेरो बुद्धिले बिष्टा खायो। मैले ठूलो भूल गरे, क्षमा पाऊँ। हजूर ठूलो मान्छे, यो सानो मान्छेलाई जीवनदान दिनुहोस्। हजूरको घरमा चोरी गरेर ठूलो अपराध गरेँ। चोरी त अब म गर्दै गर्दिनँ, आफ्नो मुख पनि अब कसैलाई देखाउँदिनँ। यो गाउँबाट निकाला गरि दिनु होस्, मलाई मंजुर छ। अर्को गाउँमा जान्छु’ यति भनेर बिल्टु हजराले जिम्दार मालिकको खुट्टामा टाउको राख्यो। जिम्दार मालिकले एक लात बिल्टुको टाउकोमा हिर्काए। चोर पत्ता लागेकोमा उपस्थित सबै खुसी भए। मुखिया साहेबले सम्पूर्ण दृश्यलाई नियालेर हेरे।
‘बिल्टु हजरा चोर भए पनि अति विद्वान, बुद्धिमान, साहसी तथा कुशल मान्छे हो। जिम्दार मालिकको तिजोरी खोलेरे गर गहना झिक्नु कम ठूलो कुरा हो? कति बढी दिमाग लगाउनु परेको होला। त्यति ठूलो र बलियो तिजोरी खोल्न र बन्द गर्न पाँचवटा साँचो चाहिन्छ। तोड्ने हो भने, घनले पनि तोड्न सकिदैन, पाँच जना लोहार बोलाउनु पर्छ। बीस मनको तिजोरी त्यो, कति बलियो छ कति? होइन त जिम्दार मालिक?’ मुखिया साहेबका यी वाक्यहरु जिम्दार मालिकले बुझेको भाव उनको मुखबाट अस्पष्ट देखियो। जिम्दार मालिकले भने ‘तिजोरी त बलियो नै हो।’
मुखिया साहेबले फेरि भने ‘त्यस्तो बलियो तिजोरी खोल्नु भनेको चानचुने कुरा हो? यो गाउँमा छ त्यस्तो कोही जसले त्यस्तो तिजोरी खोल्न सकोस्? म चुनौति दिन्छु, कसैमा बुद्धि र बल छ भने अगाडि आए हुन्छ। तिजोरी खोल्नेलाई दस हजार इनाम र एउटा भैँसी बक्सिस।’
कसैको मुखबट कुनै शब्द निस्केको सुनिएन। बरु बिल्टु जति बल, बुद्धि नभएकोमा लघुताभासको धूवाँभित्र रुमलिए धेरै जना। मुखिया साहेबले आफ्नो भनाई जारी नै राखे ‘त्यस्तो बलियो तिजोरी खोली, कसैलाई थाहा नै नदिई चोर्नु भनेको ठूलो कुशलता हो अनि बुद्धिमानी पनि। बरु बिल्टुलाई पुरस्कार दिनुपर्छ, एक जोर सुनको बाजु’।
बिल्टु भने अलमलमा परेको थियो। निर्णय उसको पक्षमा वा विपक्षमा हुने हो यकिन हुन सकेन उसलाई।
हेडमास्टर साहेब मचानबाट तल झरे। उनको मुखबाट निस्को ‘सत्यको परिभाषा व्यक्तिपिच्छे फरक फरक हुँदो रहेछ’। पन्चैतीमा उपस्थित कसैले पनि त्यो वाक्यको अर्थ बुझेको देखिएन। दर्शनशास्त्रमा आचार्य उनीहरुले गरेका पनि त थिएनन् नि हेडमास्टर साहेबले जस्तो। हेडमास्टर साहेब ‘मलाई अलि सञ्चो भएन’ भनी स्कूलतिर लागे।
‘साँच्चै, बिल्टु विलक्षण प्रतिभाको धनी हो। त्यत्रो तिजोरी खोल्नु भनेको असाधरण कुरा हो’ रामभरोसीको यो प्रतिक्रियामा जगन, ठिठर, पासपत सबैले पूर्ण आत्मविश्वासका साथ ‘हो’ भने। एक भूतपूर्व मुखियाले थपे ‘बिल्टु बास्तवमै विद्वान हो अनि पराक्रमी पनि।’
मुखिया साहेबले आदेशात्मक शैलीमा भनेको सुनियो ‘बिल्टुलाई अघि राखेर यो गाउँ घुम्नु पर्छ, उठौ।’
‘महान बिल्टु जिन्दाबाट’ मुखिया साहेब र जिम्दार मालिक दुबैले एकै पटक नारा लगाए। भीडमा उपस्थित केहिले भने कानेखुसी गरे। मुखिया साहेबले फेरि नारा लगाए ‘महान बिल्टु जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद!’
पन्चैतिमा उपस्थित सबैले मुखिया साहेबको अनुसरण गर्दै ठूलो स्वरमा कराए ‘महान बिल्टु जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद।’
पचासौ, सयौ व्यक्तिहरु एकै साथ उठे। बिल्टु अघि अघि ठूलो जमात पछि पछि। नारा लगाएको सुनियो ‘महान बिल्टु जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद’। बिल्टुलाई अघि लगाएर गाउँ घुम्ने काम धेरै बेरसम्म चलि रह्यो, पन्चैति पछि, त्यो गाउँमा।


विश्वराज अधिकारी


No comments:

Post a Comment