Wikipedia

Search results

Thursday, September 1, 2011

लघुकथा - ४ देवदूत

‘शहरमा देवदूतको अवतरण भयो सवैको मुखमा यही एउटा वाक्य थियो। बालक, बृद्ध सबै समान गतिमा देवदूतको दर्शन गर्न दौडिरहेका थिए, देवदूतको पछि पछि। बाल बालिकाका लागि बाटो छाडि देओ एक बृद्धले कराएको सुनियो। तर ती कराउने व्यक्ति पनि केहि बेर पछि एक बालकसंगै मूर्दा बने, त्यो भीडले किचिएर। त्यो शहरको सम्पुर्ण घर रित्तियो स्वघोषित देवदूतको दर्शन गर्न।

अघि अघि देवदूत पछि पछि त्यो शहरको सम्पूर्ण जनसंख्या। अद्भूत दृस्य। ज्यादै रोमान्चकारी। अनि डरलाग्दो पनि। देवदूत नजीक पुगेको एक व्यक्तिले आफ्नो साथीलाइ सम्बोधन गर्दै भन्यो यो के अचम्म! देवदूतको दाढी सुनको धागो जस्तो छ।’
अर्को व्यक्ति एक पाइला अघि सर्यो अनि उसले देवदूतको टाउको छोयो।  ‘यो त फलामको गोला रहेछ’ उसले भन्यो। तेस्रोले आँखातिर हेर्दै भन्यो देवदूतका आखाहरु सूर्यझै तेजिला छन्। देवदूतका भूगोलका बारेमा प्राप्त भएका विवरणहरु उपस्थित सबै व्यक्तिहरुले अति उत्सुकतापूर्वक सुने।
देवदूत अघि अघि शहरका सम्पूर्ण नागरिक पछि पछि। यो क्रम धेरै दिन सम्म चल्यो। लामो दौड धूप पछि शहरका नागरिकहरु थाकेको देखिन थाले। केही जहाँ उभिएका थिए त्यही ढले। फेरि उठे। लडने उठने अभूतपूर्व दृस्य देखा पर्ने क्रम चलिनै रह्यो। कुनै कल्पना लोकको कथा झै भयो देवदूतको आगमन। देवदूतले  न त आफू आउने उद्देस्य नै बताए न कसले पठाएको हो भन्ने विवरण नै खुलाए। एक पटक देवदूतले लामो साँस फेरेको सुनियो। देवदूतको नाकबाट निस्केको हावाले शहरका सम्पूर्ण नागरिकहरु बेहोस भए। अब शहरको कुनै पनि व्यक्ति होसमा थिएन। हेर्दा हेर्दै त्यो शहर मूर्दा-शहर झै देखिन थाल्यो।
त्यो शहरमा केवल एक व्यक्ति मात्र जीबित अवस्थाम थियो र त्यो थियो देवदूत। अरु सवै लाश बनेर ढुँगा झै भूँइमाथि थुप्रिएका थिए। उनीहरु त्यतिखेर मात्र जीबित हुन्थ्ये जब देवदूतले उनीहरुलाइ जीबित भएको हेर्न चाहन्थ्यो। यसरी त्यो शहरका सम्पूर्ण व्यक्तिहरुको जीबन - मृत्यु बनेको थियो त्यो देवदूत।
देवदूतको बिरोध न कसैबाट भयो न त कुनैले  उसको विरुद्धमा बिद्रोह नै गर्यो। मरेका हरुले बिद्रोह पनि कसरी गर्नु? जता ततै देवदूतको साम्राज्य थियो।
एक पटक एउटा  वृद्धलाई देवदूतले जीवित पारेर सोधेछ तेरो के इच्छा छ? भन, म त्यो पुरा गरिदिन्छु।’ ‘म मृत अवस्था मै जान चाहन्छु, देवदूत! मूर्दा अवस्थामा आन्नद प्राप्त भइरहेको छ’ त्यो वृद्धले उतर दियो अनि मृत अवस्थामा नै फर्क्यो। भोलिपल्ट, एक बालक तथा युवकलाइ देवदूतले त्यो बृद्धलाइ झै जिवित पारेर सोध्यो ‘तिमीहरुको कुनै विषेश इच्छा छ भने भन’ ती दुइले पनि त्यो बृद्धले झै एकै स्वरमा जवाफ दिए ‘हामी मृत अवस्थामा नै रहन चाहन्छौ, देवदूत! मूर्दा अवस्थामा अति आनन्द प्राप्त हुँदो रहेछ।’ ती दुइको कुरा सुनेर देवदूत अचम्म पर्यो, तर सन्तुष्ट पनि देखियो। ऊ आफ्नो गन्तव्य तिर लाग्यो। देवदूतले आकासबाट कराएको जस्तो सुनियो ‘यो शहरका नागरिकहरु अब कहिले पनि जिवित अवस्थामा आउने छैनन्। यिनीहरु मृत अवस्थामा नै आनन्दित छन्। तर यिनीहरु बाँच्नु पर्ने थियो। यिनीहरुको इच्छा अवश्य पुरा गरिनेछ र यो शहरलाइ अबदेखि मृत शहर भनी सम्बोधन गरिने छ।’

No comments:

Post a Comment