Friday, September 2, 2011

लेख - ९ के शान्त रहला त लिबिया

राजनैतिक र आर्थिक दुबै किसिमले लिबिया अहिले निकै चर्चामा छ। चर्चामा रहनुको कारण पनि छ। दसकौसम्म लिबिया विश्व राजनीतिबाट अलग मात्र थिएन, त्यहाँका जनता क्रुर तानाशाहा, लहडी, सनकी गद्दाफीको निरअंकुशता सहन विवश थिए। तर अब लिबियाली जनताका काला दिनहरु समाप्त भएको छ भने प्रजातन्त्रको सुनौलो किरण लिबियाको आकासमा चम्किने आशा चारैतिरबाट गर्न थालिएको छ। गद्दाफीको तानासाही युग इतिहास भएको छ भने भोलिको लिबिया कस्तो हुने हो भनी चिंता पनि गर्न थालिएको छ। गद्दाफीको तानासाही युगमा लिबियाका जनताले जति दुख कष्ट झेलेका थिए त्यो भन्दा बढी दुख कष्ट आउँदा दिनहरुमा झेल्नु पर्ने त होइन? एक थरि विशलेषकहरुले यस्तो पनि भन्न थालेका छन्। हुन पनि आउँदा दिनहरु लिबियाका लागि सुखद भने छैन। प्रजातान्त्रिक वातावरणमा लिबियाका सबै किसिमका मानिसहरुको बिचार, चाहना र स्वार्थलाई एकत्रित गरेर समन्वयात्मक किसिमले अगाडि बढाउनु र जनताको चुलिएको इच्छालाई व्यवस्थित किसिमले प्रयोग गरेर त्यसलाई राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा उपयोग गर्नु आफैमा अति नै चुनौतिपूर्ण कार्य हो। लिबियामा गद्दाफी शासनको पतन भएको एक महिना पनि बितेको छैन त्यहाँ दुई शक्तिहरुले राष्ट्रको सत्ता कानूनी रुपमा आफ्नो नियन्त्रणमा हुनु पर्ने दाबा गरिरहेका छन्। यिनै प्रमुख कारणहरु हुन लिबिया अहिले चर्चाको सिखरमा हुनुको।
अफ्रिका महादेशमा पर्ने लिबिया कुनै समयमा इटालीको उपनिवेस थियो। सन् १९११ ताका इटालीले लिबियामाथि उपनिवेसको रुपमा नियन्त्रण कायम गरेको थियो। उत्तर अप्रिकामा पर्ने लिबियाको उत्तरमा मेडिटेरेनियन सागर पर्दछ भने पूर्वमा इजिप्ट र सुडान पर्दछन्। यसै गरी चाड र नाइजर दक्षिणमा पर्दछन्। पश्चिममा भने अल्जेरिया र ट्युनिसिया पर्दछन्। ७,००,००० वर्ग माइल फैलिएको लिबिया क्षेत्रफलको आधारमा अफ्रिकाको चौथो ठूलो राष्ट्र हो भने विश्वको १७ औ ठूलो राष्ट्र। सन् २०१० को अनुमान अनुसार लिबियाको जनसंख्या ६४ लाख २० हजार रहेको उल्लेख गरिएको छ। १० फेब्रुअरी १९४७ मा संयुक्त राष्ट्र सँघको निरिक्षण (United Nations Trusteeship) मा लिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो। परम्परागत रुपमा ट्रिपोलिटानिया, फेजान र साइरेनेसिया गरि तीन क्षेत्रमा विभाजित लिबिया ठूलो तेल भण्डार देश भित्र रहेको कारणले गर्दा तुलनात्मक रुपमा अफ्रिकाको धनी राष्ट्रहरु मध्ये पर्दछ। सन् २००९ मा गृहयुद्ध प्रारम्भ हुनु भन्दा पहिले लिबियाको मानव विकास सूचकांक अफ्रिकामा सबैभन्दा उच्च थयो भने कुल गार्यहस्थ उत्पादन चौथो। लिबियाको तेल भण्डार विश्वको दसौं स्थानमा पर्दछ भने तेल उत्पादन गर्ने राष्ट्रहरु मध्ये यसको स्थान १७ मा पर्दछ। पहिलो र दोस्रोमा क्रमस: साउदी अरेबिया र रुस पर्दछन्, विश्वमा सर्वाधिक तेल उत्पादन गर्न राष्ट्रहरुमा। राष्ट्रको ठूलो भूभाग मरुभूमि भएता पनि तेलको कारणले गर्दा विदेशबाट यस देशमा कामको खोजिमा आउनेहरु पनि उत्तिकै छन्। १ सेप्टेम्बर १९६९ मा मुअम्मर गद्दाफीले एक सैनिक समूहको सहयोगमा कु गरेर राज्य सत्ता आफ्नो हातमा लिएका थिए। उनले सत्ता हातमा लिनुभन्दा पहिले त्यहाँ राजा इद्रिसको शासन थियो। गद्दाफीले शासन आफ्नो हातमा लिँदा उनको उमेर केवल २७ वर्षको थियो। लगातार ४२ वर्षसम्म मनोमानी ढङ्गबाट शाशन चलाउने यी तानासाहले आफ्ना बिरोधीहरुको दमन विश्वका अन्य तानासाहहरुले गरे झै अति नै क्रुर किसिमले गरे। आफूलाई ‘पापा’ नामबाट सम्बोधन गराउन रुचाउने गद्दाफी आफ्ना सहायकहरुमा महिलाहरुलाई राख्न रुचाउँथे र उटको निकै सौकिन थिए। समाचारहरुमा उल्लेख भए अनुसार यिनी विदेश भ्रमणमा जाँदा साथमा उट पनि लिएर जान्थ्ये। राष्ट्रिय सम्पत्तिको दुरुपयोग केवल आफ्नो लागि अति नै मनोमानी किसिमले गरे गद्दाफीले आफ्नो शासनकालमा।  भन्ने हो भने लोकमतद्वारा राष्ट्रको शासन व्यवस्था चल्नु पर्ने मान्यता व्याप्त वर्तमान विश्व परिस्थितिमा प्रजातन्त्र माथि गरिएको एक उपहासको रुपमा थिए, कर्नेल गद्दाफी र उनको शासन व्यवस्था।
 चार दसकभन्दा लामो गद्दाफी युगको समाप्ति पछि अहिले लिबियाको राज्य सक्तामा राष्ट्रिय संक्रमण परिषद् (National Transitional Council) को नियन्त्रण रहेको घोषणा गरिएको छ। यो राष्ट्रिय संक्रण परिषद् लाई ३४ राष्ट्रहरुले मान्यता दिइ सकेका छन्। यसरी मान्यता दिने राष्ट्रहरुमा फ्रान्स, इटाली, जर्मनी, क्यानाडा, टर्की लगायत अन्य अरब र यूरोपेली राष्ट्रहरु पर्दछन्। समाचारहरुमा कतै महमुद जबरिललाई प्रधान मंत्रीको रुपमा अघि सरिएको उल्ले गरिएको छ भने कतै कर्नल गद्दाफीको समयमा न्याय मन्त्री रहेका मुस्तफा अब्दुल जलिललाई राष्ट्रिय संक्रमण परिषदको अध्यक्ष बनाइएको उल्लेख गरिएको छ।
लिबियाका जनताले भोलिका दिनमा देख्न पाउने सुखका तस्बीरहरु अझै धमिला छन् किनभने एकतिर गद्दाफीका समर्थकहरुले अहिले पनि विभिन्न ठाउँमा साना तिना हिँसक घटनाहरु घटाइ रहेका छन् भने अर्कोतिर सत्ता पलटमा संलग्न भएका सक्तिहरु समन्वयात्मक किसिमले अगाडि बढलान भन्ने कुराको कुनै ग्यारन्टी छैन। सत्ता परिवर्तन पछि नेपालमा जस्तै जनप्रतिनिधिहरु बिच शक्तिका लागि भएको ताना तानी लिबियामा पनि न होला भन्ने सकिदैन। यसै गरि जातीय, क्षेत्रिय झगडाहरु,  जुन यतिका दिनसम्म सुषुप्त अवस्थामा थिए, जागा भएर आउने डर पनि उत्तिकै छ। जतिय, क्षेत्रिय, धार्मिक झगडाले आक्रान्त पारिएको अफ्रिका महादेशमा, लिबिया यस्ता समस्याहरुबाट मुक्त रहने सम्भावना ज्यादै क्षिण छ।
कुनै पनि राष्ट्रमा सत्ता परिवर्तनका लागि संघर्ष हुँदा के देखिएको छ भने द्वन्दरत पक्ष केवल दुइ वटा मात्र हुन्छन्- सत्ता पक्ष र बिद्रोही पक्ष। बिद्रोही पक्षतिर सयौका संख्यामा साना साना सक्ति वा गुटहरु भएता पनि उनीहरुको बीचमा एकता हुन्छ वा सम्बन्ध सुमधुर हुन्छ किनभने सबै गुटहरुको एउटै उद्देश्य हुन्छ सक्ता पक्षलाई पराजित गर्ने, राज्य सत्तामा आफ्नो नियन्त्रण कायम गर्ने। र त्येही उद्देश्यले बिद्रोही पक्ष भित्र रहेका साना साना शक्तिहरुलाइ एकजुट भएर कार्य गर्न उत्प्रेरित (Motivate) गरिरहेको हुन्छ। उत्प्रेरित गर्ने तत्व (Motivational force)  सबैका लागि एउटै सत्ता पक्षलाई परिजित गर्ने’ रहेको हुन्छ। तर जब बिद्रोही पक्षले विजय हासिल गर्छ, बिद्रोही पक्ष भित्र रहेका गुटहरु विभाजित हुन पुग्छन किनभने उनीहरुको साझा उद्देशय वा उत्प्रेरित गर्ने तत्व समाप्त भइसकेको हुन्छ र उनीहरु सयौं गुट उपगुटमा विभाजित हुन पुग्छन।  सबैको उद्देश्य पनि फरक फरक हुन पुग्छ। र आ-आफ्नो उद्देश्य पूर्तिमा क्रियाशील हुन थाल्छन। यो नयाँ परिस्थितिमा बिद्रोही पक्ष भित्र रहेका साना साना शक्तिहरु बीच नै नयाँ संघर्षको थालनी हुन्छ र त्यो संघर्ष गृह युद्धमा रुपान्तरित हुन सक्छ वा राष्ट्रलाई अस्त व्यस्त पार्ने कारण बन्न सक्छ। यो स्थिति ज्यादै डरलाग्दो स्थिति हो। र यस्तो स्थितिको प्रभावकारी व्यवस्थापन गर्न कुसल नेताको आवश्यकता पर्दछ। संघर्ष गरेर सत्ता परिवर्तन गर्नु ठूलो होइन, सत्ता परिवर्तन पछि देशमा शान्ति र समन्वय कायम गर्न सक्नु र जनतालाई देशमा कानूनको शासन रहेको अनुभूत गराउनु ठूलो हो। देशलाई सामाजिक र आर्थिक विकासको दिसातर्फ डोर्याउनु ठूलो कुरा हो। नेताहरु व्यक्तिगत स्वार्थबाट माथि उठ्नु ठूलो कुरा हो।
नेपालमा देखिएको स्थिति पनि यस्तै हो। तत्कालिन शासन व्यवस्था- पंचायति सरकार परिवर्तन गर्न सबै राजनैतिक दलहरु बीच ज्यादै राम्रो एकता थियो, सुमधुर सम्बन्ध थियो। बलियो मित्रता थियो, किनभने सबैको साझा उद्देश्य एउटै थियो- पंचायति शासनको समाप्ति। तर पंचायति व्यवस्थाको समाप्ति पछि सबै राजनैतिक दलहरु ६३ स्थितिबाट ३६ को स्थितिमा पुगे। सबै बिपरित दिशातिर फर्के। सबै सक्ति वा दलहरले आफ्नो आफ्नो डम्फु बजाउन थाले। राष्ट्र निर्माणका लागि एक जुट हुनु पर्ने मनोविज्ञानको विकास हुन सकेन। गुट अनि फुट र फेरि जुट त्यस पछि फेरि टुट को संस्कृतिको विकास भयो। त्यस्तै स्थिति  लिबियामा पनि नआउन सक्ला भन्न सक्ने स्थिति छैन्।  वर्तमानको भय पनि यही नै हो, विश्व राजनीतिको रंगमंचमा। कामना गरौ लिबियाली जनताका भोलिका दिनहरु सुखद होउन।

विश्वराज अधिकारी

(०९।०२।२०११ मा प्रतीक दैनिकमा प्रकाशित) 

No comments:

Post a Comment