Tuesday, September 13, 2011

कथा - १० म सोझो न भएको भए के हुन्थ्यो नि?


तिमीलाई याद छ, एउटा गित थियो हामीले, केटा केटीमा ठूलाहरुले गाएको निकै सुनेका थियौ, अनि गाएका पनि खुब थियौं। त्यति मात्र हो?  क्याम्पसमा एकचोटी, क्लासमा, संयोगले तिमी र म मात्रै हुन पुगेका थियौ , क्लास सकिने बित्तिकै अरु विद्यार्थीहरु बाहिर निस्केको हुनाले   म निकै डराउँदै तिम्रो नजिक पुगेको थिए र बिस्तारै त्येही गित गाएको थिएँ- आया न हम को प्यार जताना प्यार तभी से तुझे करते है, अनि तिमीले पनि हाँस्दै विस्तारै गाएकी थियौ- भोलापन तेरा भागया मुझको सादगी पर तेरे मरते है। यै गित हाम्रो प्रेमको बलियो आधार बन्यो। पछि त्यो प्रेम विवाहमा परिणत भएर त्यसले हाम्रो घर गृहस्थीको रुप लियो।
अतीतको यो मेरो संस्मरणले सरलालाई कुनै किसिमको आनन्द दिएन बरू झर्किदै   भनिन ‘कामधाम केही छैन, बस्नुस यस्तै थोत्रा पुराना कुराहरु गरेर। बरु गए हुन्छ नि, तपाँईको केटा केटीदेखिको मिल्ने साथी प्रधान मन्त्री भएका छन्, उनैलाई भेट्न, यसो कतै गतिलो ठाँउमा जागिर लगाई दिन्छन् कि। साथीलाई त्येति पनि गरि दिँदैनन् भने के काम लाग्यो अति मिल्ने साथी भएको? अनि, तपाँई उनको पछि पछि चाहारेको के काम? अनि के रह्यो त मतलब अति मिल्ने साथी हुनुको मतलब?’
सरलाको कुराले मलाई झनक्क रीस उठ्यो। आफ्नो रीसको बाढीलाई आफ्नै भद्रताले छेकें, बराजको ठूलो फलामे ढोकाले नदीको बेगलाई छेके झै।  म शान्त देखेर सरलाले फेरि भनिन् ‘तपाँईहरु दुबै एउटै स्कूलमा पढेको, एउटै कलेजबाट बि ए पास गरेको रे, साथी प्रधान मन्त्री भईसके तपाँइ चाहिँ टिचरको टिचर नै। सबै विद्यार्थीले सर सर भन्छन, त्यतिकैमा मख्ख हुनु हुन्छ। नपाउनेले के पायो  ………….  अनि के गर्यो रे भने जस्तो।’ 
सरलाको भनाईमा कुनै प्रतिक्रिया जाहेर गर्न मन लागेन। मलाई प्रष्ट गरि थाहा थियो उनका तर्कहरुका अगाडि मेरो तर्कले कुनै अर्थ राख्दैन। हरेक कुराका लागि उनीसँग तत्काल दिनका लागि तर्क तयार रहन्छन्, हाजिरी जबाफ प्रतियोगिताको प्रतियोगी जस्तो। तैपनि आफूलाई रोक्न सकिन अनि भने- एक त म कसैलाई मलाई यस्तो बनाई देऊ, उस्तो बनाई देऊ भन्न जाँदिन, मिल्ने साथी नै किन नहोस। त्यस माथि पनि आज शनिवारको दिन, यसो आफूलाई मन लागेका कामहरु गर्छु। आज  प्राचिन अर्थ शास्त्रको इतिहास पढ्ने बिचार गरेको छु, मैले।
मेरो कुरा सुनेर सरलाले हाँस्दै भनिन् ‘जति पढ्नु भएको छ त्यो नै काफि छ, क्या। बरु त्यसको उपयोग गर्नुस। त्यसको त उपयोग गर्न सक्नु भएको छैन, अझै पढेर के गर्नु हुन्छ। नबोक्नुस किताबको भारी, थिचिएर उठ्न गार्हो होला। तपाँईले पि यच डि गरेको के लछार पाटो लाग्यो। तपाँईको त्यो प्रधान मन्त्री हुने साथी बि ए मात्र पास होइनन्? प्रधानमन्त्री भएर देखाई दिए। जहिले पनि अगाडि पछाडि दस जना हुन्छन, उनको। बानेश्चरमा त्यत्रो ठूलो घर छ, भाडा मात्रै आउँछ, महिनाको पचास हजार। तपाँईहरु सँगै आउनु भएको होइन बीरगंजबाट काठमाडौ? एउटा यस्तो अर्को कस्तो……………? साथी प्रधान मंत्री भइ सके तपाँई भने सरको सर नै रहनु भयो। दुई चार जना विद्यार्थीले सर सर भन्छन त्यतिकैमा दङ्ग रहनु हुन्छ र त्यसैलाई जिवनको ठूलो उपलब्धि मान्नु हुन्छ। यो टिचर भएर के हुने बाला छैन, बुझ्नु भयो। त्यै क्याम्पसको जागिरमै जिवन बिताउने बिचार गर्नु भएको छ कि कसो? तपाँईको के भर त्यस्तै सोंचाइ हुन पनि सक्छ, तपाँईको त। यसैलाई जिवनको ठूलो उपलब्धि ठानेर रमाउने मान्छे तपाँई।  अनि के, यसै गरी डेरामा जिन्दगी बिताउने बिचार छ? तपाँई सँगै बीरगंज छाडेर काठमाडौं आउने कलेजका साथीहरुले घर बनाई सके, डेरामा बस्ने कोइ पनि छैन, छ र कोही त्यस्तो तपाँईको मिल्ने साथी जसले काठमाडौ आएर घर नबनाएको होस? अनि त्यस्ता पनि छन् कोही तपाँईका कलेजका साथी जसले आफ्ना छोरा छोरीलाई विदेश पढ्न नपठाएका होस? हाम्रा छोरा छोरी जस्तो नेपालमा पढेका छन्, उनीहरुका छोरा छोरीले। त्येति मात्र हो? विदेशमा बसेका छोरा छोरीले उतै घुम्न बोलाएर, देश विदेश घुमाएर फर्काएका छन, बाबु आमालाई। दश ठाउँमा घुमेको अनुभव सुनाउँछन्। यहाँ गएँ, त्यहाँ गएँ। यो देखें, त्यो देखे। सुन्दा सुन्दा कान पाकिसक्यो मेरो त। तर के गर्नु? आफ्नो त रहर नै भइसक्यो विदेश जाने। विदेश भनेको त्यै इण्डिया हो म गएको। इण्डियाको कुन कुन शहर गएको भनी कसैले सोध्ने हो भने त्यै एउटा पटना, त्यो पनि कत्ति कराए पछि जान पाएको। त्यस पछि काठमाडौ आएर त, थन्के को थन्कै भए, ढुङ्गो जस्तो, हल न चल न हुने गरी।’
सरलाका धारा प्रवाहमा बगेका कुण्ठारुले मलाई भने केही खासै असर गरि रहेका थिएनन् र एक किसिमले भन्ने हो भने म हरेक दिन उनका त्यस्ता कुण्ठाहरु सुन्दा सुन्दा अभ्यस्त भइसकेको थिएँ। मैले केही पनि भनिन्। सरलाले फेरि भनिन् ‘तपाँईको साथी मोहनलाई हेर्नुस त, तपाँई जत्तिकै मिल्ने साथी होइनन्, उनी? प्रधान मंत्रीको साथी भएको कति फाइदा उठाएका छन् उनले, राजदूत हुने हल्ला चलेको छ, जहिले नि अघि पछि गर्छन प्रधान मंत्रीको, राजदूत हुन कुन ठूलो कुरा हो, उनको लागि। तपाँ ई जस्तो हो र? जानेका छन् साथीसँग कसरी फाइदा लिनु पर्छ भन्ने कुरा, अनि मिलाउन आफ्नो बन्दोबस्त। तपाँई जस्तो हो र, साथीको पछि पछि हिड्यो पुच्छर बनेर, फाइदा भने केही लिन नसक्ने। तपाँई सोझो हुनु भयो के, अति सोझो। लठ्ठी जस्तो सोझो। सोझो पनि खै के भनौ, हुस्सु भने पनि हुन्छ, तपाँई जस्तालाई। एक नम्बरको हुस्सु। तलतिर बगाएर माथितिर खोज्न जाने।’   
म सरलाका तिता बाणीहरु सुनिरहेको पनि थिएँ अनि मेरो हातमा रहेको अर्थशास्त्रको पुस्तक पढ्दै पनि थिए। किताब पढेता पनि ध्यान केन्द्रित हुन सकिरहेको थिएन, त्यसमा। त्यसैले कुनै बेला पानाहरु पल्टाउँथे मात्र, कुनै बेला भने कुनै एउटा च्याप्टरमा केही बेर केन्द्रित हुन्थ्ये। तर कुनै बेला भने सरलातिर पनि हेर्थ्ये। सरलातिर नहेर्ने हो भने उनको कुरालाई महत्व नदिएको उनलाई अनुभूत हुन्थ्यो अनि मैले  अर्कै प्रकृतिको व्यङग सुन्नु पर्ने स्थिति उत्पन्न हुन सक्थ्यो। त्यसै त, मैले उनका कुराहरु एउटा कानले सुन्छु अर्को कानले उडाउँछु भन्ने गंभिर आरोप छ उनको ममाथि, त्यो पनि अति अस्तित्व बोधको रंगमा रंगिएको। त्यस्तै गर्ने क्रममा किताबको पहिलो च्याप्टरमा मेरो आँखा अडियो केही छिन। पहिलो च्याप्टरको पहिलो पानामाथि लेखिएको थियो मानिसले आफूलाई आफैले दु:ख दिन बनाएको वस्तु हो पैसा। पैसा भगवानले बनाएका होइन, मान्छेले नै बनाएको हो। यो पढेर म हाँसे अनि सरलातिर पुलुक्क हेरे पनि। मैले हाँस्दै सरलालाई हेरेको उनलाई मन परेन, रिसाउँदै भनिन् ‘के हाँस्नु हुन्छ, जिन्दगीलाई कहिले गंभिर रुपमा लिनु भयो? जे कुरा पनि हल्का किसिमले लिने बानि भएकोले देख्नु परेको हो यस्ता दिनहरु। त्यसैले त यो हालमा हुनु हुन्छ आफू पनि, अनि पार्नु भएको छ हामीलाई पनि। सरलाले थप छुद्र वचन वर्षा गर्ने बलियो कारण पाए जस्तो भयो, मैले हाँस्नु। मतिर हेर्दे आँखा रातो रातो पार्दै फेरि भनिन् ‘तपाँईले केही गर्न सक्नु भएन जिवनमा,  केही गर्ने आँट हुनु पर्छ, कुराहरु मात्र गहकिला गरेर हुँदैन। पढ्ने, पढ्ने, कति पढ्ने काम नकाजसँग। संसारलाई अर्थशास्त्र पढाउनु हुन्छ, देश देशको अर्थतन्त्र बुझ्नु भएको छ, आफ्नो घरको अर्थतन्त्रको भने एक रत्ति ज्ञान छैन। पहिले आफ्नो घरको अर्थशास्त्र बुझ्नुस् अनि बुझाउनु होला अरुलाई संसारको अर्थशास्त्र।’
मुटुमा बाण झै लाग्ने सरलाका बाणीहरु अघिदेखि मेरो मुटुको छेउबाट जाँदै थिए। हुन त मलाई रीस त्यति उठ्दैन। आफू शान्त प्रकृतिको छु जस्तो लाग्छ। जिवनलाई म जटिल पार्दिन र सरल किसिमले लिन्छु। मानिसले चाहेका सबै कुरा गर्न सक्तैन त्यसैले न सकेका कुरालाई उसले आफ्नो असफलता मानेर कुण्ठा पाल्नु हुँदैन। जिवन र जगतमा हुने घटनाहरु कतिपय यस्ता हुन्छन जसलाई केवल भोग्न मात्र सकिन्छ, आफूले नियन्त्रण भने गर्न सकिँदैन तिनलाई। मैले आफ्नो जिवनमा जे जति गरें आफूले सके जतिको गरे। गर्न नसकेका कुराहरु प्रति मलाई कुनै किसिमको पस्चाताप छैन किनभने ती मेरो क्षमताभन्दा बाहिरका थिए। तर जिवनका हरेक चुनौतिको सामना भने इमान्दारीपूर्वक गरेको छु मैले। खै बुझेको, सरलाले यी कुराहरु?  क्याम्पसमा अर्थशास्त्र पढाउँदा जहिले पनि मैले कसैले भनेको ‘इच्छा अनन्त हुन्छन तर तिनलाई पूर्ति गर्ने साधनहरु भने सीमित हुन्छन’ आफ्ना विद्यार्थीहरुलाई सुनाउने गरेको छु। यस्ता अनेक कुराहरु बुझेको मैले आफूलाई नियन्त्रणमा राख्न सकेको थिएँ तर भद्रताको पर्खाल मभित्र भत्किन थालेको मलाई आभाष हुन थाल्यो। सरलाका छुद्र बचनहरुले आगोमा घिउ हाल्ने काम गरिरहेका थिए। सहन नै नसकिने भए पछि मैले भने- हेर सरला, विवाह हुनुभन्दा पहिले मेरो सोझो स्वभाव, सरल जिवन पद्धति तिम्रो लागि ज्यादै प्रिय थियो। मैले त्यो गित – आया न हमको प्यार जताना प्यार तभी से तुझे करते हैं गाउँदा खुसी हुँदै, उत्साहित हुँदै तिमीले प्रतित्तोरमा गाएकी थियौ- भोलापन तेरा भागया मुझ को सादगी पर तेरे मरते हैं। आज मेरो त्यो भोलापन, त्यो सादगी तिम्रो लागि घाँडो भएको छ। काम न लाग्ने, फाल्नु पर्ने अर्थ न बर्थको वस्तु बनेको छ। किन होला त्यस्तो भएको, कहिले आफूसँग प्रश्न गरेकी छौ? किन, कहिले, एउटै वस्तु सुन झै किमति हुने कहिले भने गन्हाउने पहेंलो गोबर? कि त सँधै गन्हाउने गोबर हुनु पर्ने, कि त किमति सुन नै हुनु पर्ने होइन र, त्यो एउटै वस्तु, ल भन त?
सरला शान्त थिइन। किन शान्त थिइन मैले बुझ्न सकिन। र त्यसरी शान्त बस्नु उनको प्रकृति बिपरित थियो। मैले अनुमान गरे, आँधी आउनुभन्दा पहिलेको शान्ति हुन सक्छ भनी। जे जस्तो किसिमको शान्ति होस त्यसको बास्ता नगरेर सरलातिर हेर्दै मैले भने ‘मेरो सोझोपना जुन अहिले तिमीलाई घाँडो भइरहेको छ, ले गर्दा नै मतिमी प्रति आकर्षित भएको थिएँ, कुनै समयमा। मैले तिमीलाई मन पराएको, तिमीलाई प्रेम गरेको त्यै सोझोपनाले गर्दा हो। तिमीले त बरु मेरो यो सोझोपनाको कदर गर्नु पर्ने हो। मेरो भोलापनको प्रशंशा गर्नु पर्ने हो। तर तिमीले कहिले प्रशंशा गरिनौ। प्रशंशा गर्न नै जानिनौ तिमीले। कसैको प्रशंशा गर्नु तिम्रो प्रकृतिको विपरित हो पनि। त्यस्तो तिम्रो बानी जान्दा जान्दै पनि …………………………….। खासमा भन्ने हो भने सुख अनुभूत गर्ने केमिकल नै सुकै जस्तो छ, छैन त्यो तिम्रो दिमागमा। छ त बरु हरेक सुखलाई दुखमा रुपान्तरण गरिदिने अचम्मको केमिकल। हरेक कुरालाई नेगेटिभ रुपमा हेर्ने तिमी मनोविज्ञान। हेर, म जुन पेशामा छु त्यसमा पूर्ण रुपमा सन्तुष्ट छु। यस्तो जिवनसँग मेरो कुनै गुनासो छैन। हजारौलाई ज्ञान बाढेको छु। निर्देशित गरेको छु, हजारौलाई सही मार्गमा हिँड्न। अशल नागरिक बन्न। मलाई मन्त्री, प्रधान मन्त्री बन्नु छैन। म जुन पेशामा छु त्यसमा पूर्ण रुपमा सन्तुष्ट छु। मेरोलाई यो नै सर्वाधिक ठूलो पद हो। ठूलो इज्जतको कुरा हो। गर्वको कुरा हो।
यति भनेर मैले पुलुक्क सरलातिर हेरे। उनी शान्त थिइन। म मेरो मनभित्र गुमस्सिएको कुराहरुलाई रोक्न सकिरहेको थिन। डर हराए पछि कुनै पनि कुरा गर्न मान्छेलाई गार्हो हुँदैन रे। त्यस्तै स्थितिमा म पुगिरहेको थिएँ। सरलातिर हेर्दै भने- सरला, तिमी र मेरो बीच प्रेम विवाह भएको पच्चिस वर्ष भयो। यो पच्चिस वर्षमा मैले तिमीलाई नभनेको कुरा भन्दै छु। त्यो कुरा के हो भने, तिमी र म सँगै क्याम्पसमा आई ए पढदा………………। जिवन र उत्तम दुबै……………दुबै केटाले तिम्रो प्रेम प्रस्ताब नामंजुर गरेका थिए, तिमी त्यति तिनीहरुको पछि लाग्दा लाग्दै पनि। त्यस पछि पनि के के भएको थियो, ती सब कुराहरु मलाई राम्रो गरी थाहा थियो। यी सबै कुरा जान्दा जान्दै पनि मैले तिमी समक्ष प्रेम प्रस्ताब राखे। तिमी समक्ष प्रेम प्रस्ताब राख्न मेरो यो सोझो मनोविज्ञानले नै मलाई उत्प्रेरित गरेको थियो, त्यो बेला। र अर्को एउटा कुरा ………………….तिमी ममा एउटा पनि राम्रो गुण देख्दिनौ, तर आफूभित्र हेर्ने मौका पाएकी छौ कहिले? पढिरहेको त्यो आई, त्यो बेला ………पनि पूरा गरिनौ तिमीले कहिले, तडक भडक जिन्दगी मन पराएर। तिमीले भने झै, म हुस्सु रहेछु भन्ने आभाष भने अहिले मलाई हुन थालेको छ। लाग्छ म साँच्यै हुस्सु नै हो कि क्या हो। मलाई, म आफू किन हुस्सु झै लागिरहेको छ, त्यो मैले भन्ने कुरा होइन, तिमीले, आफैले बुझ्नु पर्ने कुरा हो, सरला।
यति भने पछि म चुप लागे, पछि सरलाको क्रोधले कस्तो तान्डव नृत्य देखाउने हो, त्यो दृश्यको पर्खाईमा।



विश्वराज अधिकारी


(meroreport.net मा 13 September 2011 मा प्रकाशित)


http://meroreport.net/profiles/blogs/6365517:BlogPost:42832 








No comments:

Post a Comment