Thursday, September 8, 2011

लघु कथा - ६ आगलागी

सानोतिनो आगलागी त्यो गाउँमा नभएको होइन। तर त्यस्तो डरलाग्दो आगलागी पहिले कहिले भएको थिएन। अति नै भिषण। सम्पूर्ण गाउँ नै ज्वालामूखी झै देखिएको थियो। गाउँका सबै व्यक्तिहरुलाई एउटा मात्र चिन्ता के थियो भने कसरी ज्यान जोगाउने। आ- आफ्नो ज्यान जोगाउन प्रत्येकले आफ्नो सामर्थ्य अनुसार प्रयास गर्दै थिए।'
'कसैले घरको माया मारी केवल बहुमूल्य वस्तु राखिएको भाँडो मात्र झिकेको देखियो। कसैले बहुमूल्य वस्तु झिक्न नभ्याएर केवल आफ्नो ज्यान जोगाइ भागेको देखियो। सबैभन्दा अचम्म त कसैले काखेनानी समेतलाई पनि छाडेर भागेको सुनियो। केहिले प्रसवको वेदनामा छटपटिएकी आफ्नी पत्नीलाई सम्म घरभित्र छाडी भागे रे। अशक्त वृद्घ वृद्धा र बालबालिका कति त्यो ज्वालामूखिको गर्भमा पसे अनुमान लगाउन पनि कठिन थियो। अनुमान लगाउनेहरु आफ्नो ज्यान जोगाउनमा नै व्यस्त थिए।'
'मानिस मात्र होइन पशुपक्षीहरु पनि त्यतिकै आतंकित थिए। तर अनौठो! मानिसकै स्वभाव पशुपक्षीहरुमा पनि देखियो। तर हाँस, परेवा जस्ता सोझा पक्षीहरु खुला आकास छाडी आगोमा दन्किरहेका आफ्ना घरभित्र पस्दै थिए। कस्तो अन्धो प्रेम? जन्म स्थान प्रतिको। आगो लागेको देख्दा देख्दै पनि आफ्नो वासस्थानको स्पर्श गर्न जीवन नै उत्सर्ग गर्दै थिए ती पक्षीहरु। कागहरु भने आकासमा झन झन माथि उड्न थाले। बिरालाहरु पनि आफ्नो बच्चालाई  छाडी केवल आफ्नो जिवन मोहमा मात्र परेर वासस्थान छाडदै थिए।'
'पर्मपरा तोडने कार्य मानिसवाट नै बढी भयो। त्यो गाउँको एउटा ज्यादै प्राचीन पर्मपरा थियो- संकटको बेलामा एकले अर्कोलाइ सहयोग गर्ने। त्यो प्राचीन तथा बलियो पर्मपरा पनि टुट्यो। त्यो पर्मपरा टुटेकोमा कसैलाइ चिन्ता फिक्री रत्ति भर भएन। यहाँ सम्म के भने त्यो पर्मपरा बारेमा दिनको एकपटक प्रवचन दिने मुखिया बा आगो लागेको देख्नासाथ छेउको गाउँतिर लागिसकेका थिए। जाने बेलामा आफ्नो श्रीमती माथि गर्जेका थिए- मूर्ख, छिटै यो गाउँ छाडी हालौ। निभ्ने किसिमको आगो होइन यो। यसले सारा गाउँलाइ सखाप पार्छ। तर किन हो , बुढीले बुढाको कुरा मानेको  देखिएन । हुन सक्छ होहल्लाको बिचमा बुढाको कुरा बुढीले बुझ्न सकिन वा बुढाको कुरा मन परेन। यसरी मानिस तथा पशुपंक्षी सबैवाट एक एक गरी परम्परा तथा मर्यादाहरु टुट्दै थिए, तर केही बन्दै पनि थिए।'
'आगो कम पार्न सकिएन। हेर्दा हेर्दै आधा गाउँ सखाप भयो। हुन पनि कसरी न होस, त्यस्तो? सबै मिलेर निभाउन पट्टि लागेको भए आगो कम पार्न सकिन्थ्यो होला। तर सबै केबल आ- आफ्नो घर जोगाउन र घर जल्न थाले पछि परिवार जोगाउन र यसै गरी परिवार जल्नथाले पछि आफ्नो मात्र ज्यान जोगाउने धुनमा लागेका थिए। यसरी एक सामूहिक प्रयासको अभावमा एउटा सिङ्गो गाउँ खरानीमा परिणत हुँदै थियो।'
'केही वेर पछि एउटा अर्को तर ज्यादै घिनलाग्दो परम्पराको शिलान्यास भएको सुनियो त्यो गाउँमा। मानिस आतंकित भएको, धुँवाको मुस्लोले आकास नै कालो हुनथालेको र यत्र तत्र धूलो माटो छरिएर स्पष्ट दृष्टि नरहेको मौका छोपी चोरहरुले विभिन्न व्यक्तिहरुको धन सम्पत्ति र बहुमूल्य वस्तु चोर्न थाले।'
'त्यो गाउँ पूर्ण रुपमा जलेर खरानी भयो। त्यो पहिले गाउँ नै थियो वा कुनै मसानघाट छुट्याउन सकिने एउटा आधारसम्म पनि आगोले बाँकी राखेन। मानिसको कतै उपस्थिति थिएन। जिवितले गाउँ परित्याग गरिसकेका थिए भने मृतहरु डढेर खरानी भइसकेका थिए त्यो विप्लवमा'
यो अन्तिम वाक्य बोलेर ती बृद्धले आफ्नो कथा इतिश्री गरे। मलाइ किन हो त्यो बृद्धको कथाले मेरो परिस्थितिसँग केही सामञ्जस्यता राखेको आभास भयो। मैले ती बृद्धलाई प्रश्न गरे- यी सवै कुरा तपाँइले कसरी थाहा पाउनु भयो? 
'त्यो गाउँमा आगलागी हुनेबितिक्कै गाउँ छाडी भाग्ने मुखिया बा म नै हुँ, म स्वार्थी हुँ, अनि देश द्रोही पनि' ती बृद्दले उत्तर दिए।

ती बृद्धलाइ हेर्दा हेर्दै मेरो हेराइमा परिवर्तन आइसकेको रहेछ। त्यो परिवर्तनलाई मैले लुकाउने प्रयास गरिन पनि। मेरो मुखबाट अनायास निस्क्यो  ती अन्य गाउँलेहरुको बारेमा तपाँइको धारणा कस्तो छ नि, भूतपूर्व मुखिया बा?
'तिनीहरु पनि गद्दार हुन' मुखिया बाले बिरक्तिएको स्वरमा भने।

अनि ती हाँस र परेवाहरु नि? मुखिया बालाई मैले पुन: प्रस्न गरे। 'देशभक्त, इमान्दार' जबाफ आयो। ती बृद्ध व्यक्तिबाट थप कुरा सुन्ने मेरो इच्छा मर्यो। मेचमाथि राखेको बैग बोकी म बस पार्कतिर लागे। तर ती बृद्धको हेराइले मलाई धेरै बेरसम्म पछ्याए जस्तो अनुभव गरेँ मैले।


विश्वराज अधिकारी

No comments:

Post a Comment