श्रम र पूँजीको सम्बन्ध
श्रम र पूंजी बीचको सम्बन्धलाई हेर्ने परम्परागत धारणामा परिवर्तन गर्नु आवश्यक भएको छ। परम्परागत धारणामा परिवर्तन नगर्ने हो भने त्यसको प्रतिकूल असर पूँजीपति भन्दा श्रमिकहरुले बढि बेहोर्नु पर्ने हुन्छ। श्रम र पूँजी बीचको सम्बनधलाई हेर्ने परम्परागत धारणा के हो भने पूँजीले श्रमको शोषण गर्दछ भन्ने मान्यता राख्नु। पूँजीपति र श्रमिक बीचको सम्बन्ध कटुतापूर्ण हुन्छ भनी विश्वास गर्नु। तर वर्तमानको युग, जुन आधुनिक संचार, यातायात, प्रविधि आदिले गर्दा एक संगठित विश्व बजारको रुपमा देखिएको छ, ले श्रम र पूँजीलाई एउटा रथको दुइ पाँग्राको रुपमा हेर्दछ। अर्को शव्दमा भन्ने हो पति र पत्नीको रुपमा हेर्दछ। पति र पत्नीको सम्बन्धमा कटुता उत्पन्न भए पछि त्यसको पतिकूल असर पति र पत्नी मात्र होइन सारा परिवारलाई परे झै श्रमिक र पूँजीपति बीचको कटुतापूर्ण सम्बन्धले यी दुइ पक्षहरु मात्र होइन समग्र राष्ट्र नै प्रभावित हुन पुग्दछ र राष्ट्रको आर्थिक विकासको गति ज्यादै सुस्त हुन पुग्दछ भन्ने यथार्थलाई स्विकार गर्दछ। आधुनिक धारणा, जसले श्रम र पूँजीलाई पति पत्नीको रुपमा हेर्दछ, ले यी दुइपक्षहरु बीचको सम्बनधलाई ज्यादै सुमधुर बनाउने उपाएहरु खोजी गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछ र ती उपाएहरुको सक्रियतापूर्व खोजी गर्दछ पनि। हुन पनि श्रमिहरुको विकास नभएसम्म पूँजीपतिहरु पूँजीको विकास कठिन मात्र होइन असम्भव नै छ।
श्रमिकहरुको श्रमको विकास (कम समयमा बढी उत्पादन, उत्पादनमा कम प्रत्यक्ष र बढी अप्रत्यक्ष श्रमको प्रयोग, मेसिन र प्रविधिको व्यापक प्रयोग, कार्यकुशलता, विशेष ज्ञान, परिष्कृत सिप) तथा पुँजीको निर्माण एवम् विस्तार गर्न श्रमिक र पूजीपतिबिचको सम्बन्ध सौहार्द हुन अति नै आवश्यक छ। यी दुइ तत्वहरु भनेको पानी र चामल हुन। चामल र पानीको सही समिश्रण नभएमा राम्रो भात पाक्न नसके झै श्रम र पूँजी बीच राम्रो समन्वय नभए देशको आर्थिक विकासको गति ज्यादै मन्द हुन पुग्छ। यी दुइ पक्षहरु बीच सुमधुर सम्बन्धको अभावमा श्रमिकहरु झन झन गरिब हुँदै जान्छन। उनीहरुको आर्थिक मात्र होइन सामाजिक जिवन समेत असुरक्षित र कष्टकर हुन पुग्छ। यसै गरी पूँजीपतिहरुको पूँजीको पनि अशल प्रतिफल पाउने किसिमबाट उपयोग हुन पाउँदैन।
श्रमिकहरुको जिवनस्तर माथि उकास्ने सन्दर्भमा पूँजी र श्रमबीचको सम्बन्ध कति महत्वपूर्ण छ भन्ने तथ्यलाई विस्तारमा व्याख्या गर्नु पूर्व यी दुई पक्षहरुका कमजोरीहरुलाई पनि छोटकरीमा व्याख्या गर्नु आवश्यक छ।
श्रमका कमजोरीहरु
अर्थशास्त्रको सिद्धान्त अनुसार फल फूल, साग पात, माछ मासु, अण्डा आदिलाई सिघ्र नाशवान वस्तु मान्ने गरिन्छ। हुन त आधुनिक प्रविधिले गर्दा यी वस्तुहरुलाई केही लामो अवधिसम्म सङ्ग्रह गरेर राख्न त सकिन्छ तैपनि अन्य टिकाउ वस्तुको तुलनामा यी वस्तुहरु सिघ्रनाशवान नै मानिन्छन। तर यी वस्तुहरुभन्दा पनि सिघ्र नाशवान वस्तु श्रमलाई मान्ने गरिन्छ। श्रम सिघ्र नाशवान वस्तु हो। यसलाई सँग्रह गरेर राख्न सकिँदैन। जुन समयमा यसको उपयोग गर्न खोजेको हो त्यो समयमा उपयोग गर्न नसकिएमा यसको फेरि उपयोग गर्न सकिँदैन, नाश भएर जान्छ। श्रम गर्ने व्यक्ति उही भएता पनि उसले खेर गएको आफ्नो श्रमको उपयोग उत्पादन कार्ममा पुन: गर्न सक्दैन। उदाहरणका लागि कुनै श्रमिकले २०६७ साल भाद्र महिनाको १९ गते कुनै काम गरेन वा काम पाएन र काम गर्ने त्यो उत्पादक समय घरमा बसेर नै बितायो भने उसले उपयोग गर्न नसकेको त्यो समयको उसले पुन: उपयोग गर्न सक्दैन। एकचोटी वितेको समय फेरि फर्केर आउँदैन। एक चोटी बगेको खोलाको पानी फेरि त्यही ठाउँमा बग्न आउन नसक्ने जस्तो। त्यो श्रमिकको जिवनकालमा त्यो समय कहिले पनि फेरि फर्केर आउन सक्तैन। र यसरी त्यो श्रमिकले त्यो श्रम र त्यसको मूल्य गुमाउँछ। श्रमिकहरुको श्रम यस किसिमबाट नाशवान भएको र अन्य केही कारणहरुले पनि उसलाई तुलनात्मक रुपमा कमजोर पार्ने अवस्था रहेकोले श्रमिकहरुलाई उनीहरुको हितको रक्षा गर्न संगठन खोल्न प्रोत्साहित गरिएको हो। संगठित भएर श्रमिकहरुले आफ्नो हितको रक्षा गर्न सक्छन बन्ने विश्वास राखेर नै कार्यस्थल वा कारखानाहरुमा श्रम संगठनको स्थापना गरिएको हुन्छ। श्रम संगठनहरुले श्रमिकहरुको हितको रक्षामा सकारात्मक योगदान दिन्छन पनि। विकसित मुलुकहरुमा श्रम संगठनहरुले श्रमिकहरुको हितको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन। तर विकासशील मुलुकहरुमा भने श्रम संगठनहरुको उपयोग श्रमिकहरुको आर्थिक विकासमा भन्दा राजनीतिमा बढी हुन पुगेको छ। श्रम संगठनहरुको मुल उद्देश्य श्रमिकहरुको आर्थिक र सामाजिक विकास दीर्घकालिनरुपमा गर्ने तर्फ केन्द्रित हुनु पर्ने हो। रोजगारदाताहरुको हितको रक्षा गर्दै श्रमिकहरुको हितको रक्षा गर्नु हो। रोजगारादाताहरुको हितको रक्षा नगर्ने हो भने रोजागारीको सृजनामा संकुचन आउँछ र परिणामस्वरुप बेरोजगारीमा बृद्धि हुन सक्छ। त्यसकारण श्रम संगठनहरुले आफ्नो गतिविधि रोजगारदाता र श्रमिकहरु बीचको सम्बन्धलाई सुमधुर तुल्याइ उत्पादन बढाउने र श्रमिकहरुलाई रोजगारदाताले धान्ने स्तरमा बढि भन्दा बढी आर्थिक सुबिधाहरु दिलाउने तर्फ केन्द्रित गर्नु पर्दछ।
विश्वराज अधिकारी
(प्रतीक दैनिकमा प्रकाशित)
विश्वराज अधिकारी
(प्रतीक दैनिकमा प्रकाशित)
No comments:
Post a Comment