नेपाली कम्युनिस्टहरूको पूँजीवाद
भूमि वा प्राकृतिक स्रोत, श्रम, सङ्गठन गरी यी चार
तत्त्वहरूलाई उत्पादनका साधन मान्ने गरिन्छ। कुनै पनि उत्पादन व्यवस्थामा वा कुनै
पनि किसिमको वस्तु वा सेवा उत्पादन गर्नका लागि, यी चार वा
यीमध्येका केही साधन आवश्यक पर्दछ।
केही व्यक्तिको विचारमा उत्पादनका चार साधनहरूमध्ये पूँजीको सर्वाधिक
महत्त्व रहेकोले अन्य तीनभन्दा पूँजीलाई विशेष महत्त्व दिनुपर्छ भन्ने तर्क रहेको
पाइन्छ। र यही तर्कलाई पूँजीवाद भन्ने गरिएको हो । पूँजीवादमा पूँजीको प्रधानता
हुन्छ।
उत्पादन व्यवस्थामा श्रमको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको
पाइन्छ। तर श्रम सञ्चय गर्न नसकिने र तोकिएको कालमा प्रयोग गर्न नसकिएको श्रमलाई
पुनः अर्को कालमा प्रयोग गर्न नसकिने हुनाले श्रमलाई कमजोर मान्ने गरिन्छ।
पूँजीलाई कुनै पनि समयमा प्रयोग गर्न सकिने हुनाले पूँजीलाई श्रमभन्दा बलियो
मानिएको हो। उदाहरणका लागि कुनै एक कामदारले कुनै एक उत्पादन–सङ्गठनसँग असहमत
(ज्याला दरमा) भएर कुनै दिन काम नगरेमा उक्त कामदारले आफ्नो सो दिनको, काम
नगरेको दिनको, गुमेको ज्याला पुनः प्राप्त गर्न सक्दैन किनभने उसले आफ्नो श्रम
सञ्चय गरेर अर्को दिन प्रयोग गर्न सक्तैन। तर सङ्गठनले भने सो व्यक्तिले काम
नगरेको दिनको, वा उत्पादन कम भएको दिनको, क्षतिको पूर्ति अर्को दिन दुईजना कामदार
राखेर (गुमेको) उत्पादन (एकाइ) को पूर्ति गर्न सक्छ। यो कारणले गर्दा नै वा
उत्पादन व्यवस्थामा श्रमिकहरूको भूमिका (माथि उल्लेख गरेको कारणले) कमजोर भएको
मान्ने गरिन्छ। र सोही कारणले विश्वभरि नै वा सबै राष्ट्रमा श्रमिकहरूलाई
सरकारद्वारा सङ्गठन खोल्न अनुमति दिइएको हुन्छ। कम्युनिस्ट शासकहरूले त झन्
श्रमिकहरूलाई श्रम–सङ्गठन स्थापना गर्न प्रोत्साहित गर्छन्।
अब हेरौं पूँजीवाद भनेको के हो? कम्युनिस्टहरूको
आँखा वा नाराले होइन, पूँजीवादी राष्ट्र कहलिएका राष्ट्रहरूको आँखाले हेरौं पूँजीवाद के हो?
पूँजीवादी
कहलिएका राष्ट्रहरूको भनाइ अनुसार ‘पूँजीवाद भनेको एउटा आर्थिक प्रणाली हो,
जुन
प्रणालीमा एक व्यक्ति वा संस्थाले उत्पादनका साधनहरूको स्वामित्व लिन सक्छ। र ती
साधनहरूको प्रयोग गरेर मुनाफा आर्जन गर्न सक्छ। मुनाफामाथि आफ्नो आधिकार कायम गर्न
सक्छ। उत्पादनका साधनहरू प्रयोग गर्न व्यक्ति एवं सङ्गठनहरू स्वतन्त्र हुन्छन् र
उत्पादनका साधनहरूमाथि सरकारको कुनै पनि किसिमको नियन्त्रण हुँदैन।’
उपरोक्त परिभाषा अनुसार पूँजीवादमा व्यवसायीहरूका चार महत्त्वपूर्ण अधिकारहरू सुरक्षित रहेको हुन्छ। ती अधिकारहरू हुन्: १) कुनै पनि व्यवसायीले आर्जन गरेको सम्पत्ति निजी गर्न पाउने अधिकार, २) कुनै पनि व्यवसायी व्यवसायको मालिक हुन र त्यस व्यवसायबाट आर्जित मुनाफा उसले राख्न पाउने अधिकार, ३) कुनै पनि व्यवसायीले बजारमा प्रतिस्पर्धा (मूल्य कम वा बढी पार्न) गर्न पाउने अधिकार र ४) कस्तो किसिमको व्यापार गर्ने भनी छनोट गर्न पाउने अधिकार।
सारमा भन्ने हो भने पूँजीवाद भनेको बजारमा सरकारको नियन्त्रणकारी
भूमिका कम वा समाप्त पार्नु हो । कुनै पनि वस्तु वा सेवाको मूल्य सरकारले होइन, बजारमा
रहेको प्रतिस्पर्धाद्वारा निर्धारित हुनु हो। बजारलाई प्रतिस्पर्धापूर्ण तुल्याउनु
हो। बजारमा वस्तु वा सेवा मूल्य कम पार्न व्यवसायी वा बिक्रेताहरूबीच प्रतिस्पर्धा
गराउनु हो। प्रतिस्पर्धालाई पूँजीवादको मुटु मान्नु हो।
अब कम्युनिस्टहरूको आँखाले पूँजीवाद के हो त्यो हेरौं।
कम्युनिस्टहरूको विचार, मान्यता वा विश्वास अनुसार पूँजीले श्रमको शोषण गर्छ। हो, उनीहरूको
यो विश्वास सही हो। तर अहिलेको लागि भने होइन। उनीहरूको विश्वास कार्ल माक्र्स वा
उनको समय पछि केही अवधिसम्मका लागि सही थियो। त्यस समयमा व्यापार र उद्योगको
यथेष्ठ विकास नभएकोले पूँजीले श्रमको शोषण गर्नु सम्भव थियो। समाज सामन्ती भएकोले
पूँजीद्वारा श्रमको शोषण हुन सम्भव थियो।
अहिलेको यो वैश्य युगको पूँजीद्वारा श्रमको शोषण हुनु सम्भव छैन। भए
पनि पहिलेको अवस्थामा शोषण हुन असम्भव छ। अहिले कुनै एक व्यक्तिले ‘टिकटक’ मा
भिडियो पोस्ट गरेर मात्र पनि आर्जन गर्न सक्ने स्थिति छ।
पूँजीवाद भनेको के हो, त्यसलाई नेपाली कम्युनिस्टहरूको आँखाले
हेरौं । नेपालका कम्युनिस्टहरू, केही अपवादबाहेक, का लागि पूँजीवाद
भनेको सत्तासम्म पुग्ने, सत्तामा लामो समयसम्म रहने र देशको शासन
व्यवस्थामाथि नियन्त्रण राख्ने हो। कम्युनिस्ट नेताहरूका आचारणले नै यस तथ्यलाई
प्रस्ट पारेको छ। यो तथ्यको थप व्याख्या आवश्यक छैन। नेपालका बहुसङ्ख्यक
कम्युनिस्ट नेताहरूले पूँजीवादलाई सत्तामा पुग्ने केवल माध्यम मात्र बनाएका छन्।
२०४६ सालको राजनीतिक परिवर्तन पछि, नेपालमा
कम्युनिस्ट पार्टीका नेताहरू नै लामो समयसम्म सत्तामा पुगेका छन्। सांसद भएका छन्।
मन्त्री एवं प्रधानमन्त्री भएका छन्। माधव नेपाल, पुष्पकमल दहाल,
खड्गप्रसाद
ओली, झलनाथ खनाल, डा. बाबूराम भट्टराईजस्ता कम्युनिस्ट
नेताहरूको वरिपरि नै प्रधानमन्त्री पद घुमिरहेको देखिन्छ।
कम्युनिस्ट नेता पुष्पकमल दहालले भने द्वन्द्वकालमा आफ्ना कार्यकर्ताहरूलाई नेपालका उद्योग एवं व्यापारमा आक्रमण गर्न लगाएर, बैंकहरू लुट्न लगाएर, देशको अर्थ व्यवस्था नै धराशायी पारे। त्यस कालमा जर्जर भएको नेपालको उद्योग एवं व्यापारको क्षेत्र अहिलेसम्म फस्टाउन सकेको छैन। देशभित्र ज्यादै न्यून मात्रामा वस्तुहरू उत्पादन हुने स्थिति सृजना भएको छ। नेपालभित्र उत्पादन सीमित मात्रामा भएर वस्तुहरू ठूलो परिमाणमा भारत एवं चीनबाट आयात गर्नुपर्ने स्थिति उत्पन्न भएको छ।
यो समयमा, नेपालको इतिहासमा नै पहिलोपटक रोजगारका लागि ठूलो सङ्ख्यामा
नेपालीहरू विदेशिनुपरेको छ। नेपाली जनताले आफ्ना उत्पादनहरू स्वदेश र विदेशमा
बिक्री गरेर होइन, अन्तर्राष्ट्रिय बजारमा श्रम बिक्री गरेर गुजारा गर्नुपर्ने स्थिति
उत्पन्न भएको छ।
कुनै एउटा समयमा जन्म भएको विचार सदा सर्वदा सही रहन सक्तैन। मानिसको
आयु भएझैं विचारको पनि आयु हुन्छ। कम्युनिस्ट विचार अब मृत अवस्थातिर लम्किंदै छ।
कुनै एक समयको लागि उपयोगी रहेको यो विचारको अब औचित्य समाप्त भइसकेको छ। अब
कम्युनिस्ट व्यवस्था र पूँजीवाद भनेर जनतालाई झुक्याउन सकिंदैन। कुन सङ्ख्यामा
कम्युनिस्ट नेताहरू फागुन २०८२ मा हुने चुनावमा विजयी हुनेछन् भन्ने कुराले पनि
नेपालमा कम्युनिस्ट विचारको औचित्य कति मात्रामा छ, वा समाप्त हुने
स्थितिमा छ भन्ने कुराको पुष्टि हुनेछ।
यथार्थमा पूँजीवाद आफ्ना प्रारम्भिक कालमा जुन अवस्थामा थियो त्यो
अवस्थामा छैन। पूँजीवादी कहलिएका राष्ट्रहरूले पनि पूँजीवादमा ठूलो संशोधन एवं
परिवर्तन गरेका छन्। अहिले संसारको कुनै पनि राष्ट्रमा विशुद्ध पूँजीवाद छैन।
पूँजीवादभित्र अनेक लोककल्याणकारी कार्यहरू थपेर तथा गरीबहरूको हातमा पनि
राष्ट्रिय आय पुग्ने गरी पूँजीवादको संशोधन गरिएको छ। निष्कर्षमा भन्ने हो भने
पूँजीवादलाई अहिले, पूँजीवादी कहलिएका राष्ट्रहरूद्वारा गरीब जनताको पक्षमा पार्ने कार्य
भइरहेको छ।
अब नेपालमा कम्युनिस्ट नेताहरूले नेपाली जनताको गरीबीको उपयोग गर्न
बन्द गरे हुन्छ। आफूहरू चुनावमा विजयी हुन नेपाली जनतालाई झनै गरीब पार्ने काम
गर्न बन्द गरे हुन्छ। चुनाव जित्न र सत्तामा पुग्न पूँजीले श्रमको शोषण गर्छ भन्ने
नारा गरीबहरू माझ घन्काउन बन्द गरे हुन्छ।
कम्युनिस्ट नेताहरूले जनतालाई धनी हुने सपना देखाएर जनताको गरीबीलाई
सत्तामा पुग्ने भर्याङ बनाउन बन्द गर्न आवश्यक छ।
कुनै सिद्धान्त नबोकेर नै पनि नेपाल र नेपालीलाई धनी तुल्याउन सकिन्छ।
नेपाल र नेपालीलाई धनी तुल्याउन नेताहरू केवल इमानदार र त्यागी मात्र भइदिए पुग्छ।
राजनीतिबाट सन्यास लिने उमेरमा पुगेका केही व्यक्तिहरूबाहेक नयाँ
उमेरका नेपालीले नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर चुनावमा भाग लिने स्थिति
अब नेपालमा लगभग समाप्त भयो भने पनि हुन्छ।
विश्वराज
अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित: Friday,
December 05, 2025
https://eprateekdaily.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/
