Friday, October 31, 2014

A short story "The attitudes" in Nepali

प्रवृतिहरु

(कथा)

रेल आफ्नो तिब्र गतिमा थियो। मेरो छेउमा बसेको यात्रीले भने मलाई पटक पटक हेरिरहेका थिए। म रेलमा सबार भएर रक्सौलदेखि बैरगनिया एक्लै जाँदै थिए। पिताजी गौरमा रहनु भएकोले उहाँलाई भेट्न म त्यसतर्फ जाँदै थिए। मेरो उमेर तेर्ह वा चौध वर्षको थियो। यो घटना आज भन्दा चालिस वर्ष पहिलेको हो।” काका दिनेशले आफ्नो कथा आरम्भ गर्नु भयो।
“घोडासहन आएपछि सूर्य अस्ताउन शुरु भयो। र त्यसै सँग शुरु भयो मलाई जाडो लाग्ने क्रम। मैले माथि एउटा आफ सर्ट बाहेक केही पनि लगाएको  थिन। चैत्र महिना भएकोले मौसममा अझै पनि जाडोको अवशेष थियो। गाडी घोडासहनमा निकै बेर रोकियो। मेरो अर्को छेउमा बसेको व्यक्ति भने झ्यालतिर बसेका थिए। रेल बाहिरबाट ठीक त्यही झ्यालको अगाडि एक नवयुवती देखा परिन र उनले हात झ्यालतिर उचालेर भनिन् बाबुजी, इस गरिब दु:खीयारी पर दया किजिए, दो चार पैसा दिजिए। त्यसरी भिख माग्ने ती नवयुवतीतिर हेर्दै झ्यालतिर बस्ने मेरा ती सहयात्रीले भने, देखो तुँ मेरी मजबुरी को सम्झो मै भि तुम्हारी मजबुरी समझ जाउँगा। ती सहयात्रीको यो कुरा सुनेर ती मगन्ते नवयुवती दृश्यबाट झ्वाट्ट हराइन। ती नवयुवतीले उनको भनाइको के अर्थ लगाइन र किन त्यसरी हराइन मैले बुझ्न सकिन।”
“गाडी बरगनियाको दिशातिर दौडियो। मेरो जिउमा जाडोले काँढा उम्रिन थाल्यो। मलाई घरि घरि हेर्ने ती सहयात्रीले मलाई प्रश्न गरे, बौआ, कहाँ तक जैबा? मैले भने, बरगिनिया तक जाए के बा। उनले पुन: प्रश्न गरे, ओढना तोढना न हौ, पास मे? मैलै भने,  गौर जाए के हुलबुली मे ओढना भोर परागेली। मेरो कुरा सुने पछि ती सहयात्रीले आफ्नो झोलाबाट ओढ्ने झिकेर मेरो जिउमा राखि दिए। मैलै खुसी र आशंका दुबै मिसिएको नजरले उनलाई हेरे। मेरो त्यस्तो गराइको प्रतिक्रियामा उनले भने, रिस्ता दिल से दिल का एताबार का जिन्दा है हमी से नाम प्यार का। उनले भनेको त्यो कुराको मैले केही अर्थ झिक्न सकिन।”
“बैरगनिया स्टेशन आए पछि रोकिनका लगि रेलले आफ्नो गति मन्द गर्न थाल्यो। रेलको गति अति नै मन्द भए पछि झ्यालतिर बस्ने मेरो सहयात्रीले झाल बाहिर आँखा गाड्ने थाले। उनले भने, अरे, क्या हुआ एक भि चिडिया नही दिखाइ दे रहा है?”
“रेल बरगनियामा टक रोकियो। म हत्तारिँदै रेल बाहिर आउन खोजे। साथै अति सचेततापूर्वक मलाई ओढ्ना दिने ती सहयात्रीलाई त्यो आफूले ओढेको ओढना जिउबाट झिकेर दिन खोजे। उनले भने, हम ढेंग तक जाएम। बहुत दूर जाएके न है। जाडा के समय है, यी ओढना अपना साथ मे लेजा, बौआ। मैले भने, हमर पिताजी के कहनाम है अनकर सम्पत्ति न लेबे के चाहि। यति भनेर म रेलको डब्बाट बाहिर निस्किन ढोकातिर लागे। तर दुई सहयात्रीहरुको भनाई मेरो मष्तिसष्कमा आइ नै रह्यो। तर अर्थ बुझ्न अति कोशिस गर्दा पनि बुझ्न सकिन।”
“आज उमेरको यो आधा सतक अगल्लो पहाड चढे पछि भने मैले ज्यादै छर्लङ्ग पारेर बुझे, रिस्ता दिल से दिल का एतबार का जिन्दा है हमी से नाम प्यार किन भनेका रहेछन ती सहयात्रीले। अनि यो पनि बुझे, मेरो अर्का सहयात्रीले देखो तुँ मेरी मजबुरी को सम्झो मै भि तुम्हारी मजबुरी समझ जाउँगा भने पछि ती नवयुवती किन एक छिन मै त्यसरी अलप भइन।”

दिनेश काकाले यो कथा समाप्त पारेपछि मेरो काँधमा हात राख्दै भन्नु भयो, “सौम्य बाबु, केही कुराहरुको अर्थ कुनै खास उमेरमा पुगे पछि मात्र खुल्छ।”

विश्वराज अधिकारी

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete