Friday, October 16, 2015

The Myopia Of Delhi Administration-Article-185



कहाँ चुक्यो भारतीय राजनीतिले?


नेपाल-भारत सम्बन्धको सन्दर्भमा भारतको केन्द्रिय राजनीति अपेक्षाकृत रुपमा वर्षौंदेखि असफल हुँदै आएको छ।  भारतले विगत र वर्तमानमा आफू प्रति गरेको व्यवहारले गर्दा भरोसामन्द रुपमा रहेको एउटा छिमेकी नेपालले पनि उत्तरदिर मुन्टो बटार्न थालेको छ। यो नया परिस्थितिमा, नेपालीको राष्ट्रवाद भारत-विरोधी हुनुमा परिणत हुन थालेको छ, जस्तो कि इजरायली राष्ट्रवाद अरब बिरोधी हुनुमा रहेको छ। यसैगरी, भनिन्छ, एउटा फिलिस्तिनीले जन्मजात इजराइलको बिरोध गर्नुमा राष्ट्रवादी भएको ठान्दछ। फिलिस्तिनीहरुले त जन्मलिना साथ इजराइलीहरु माथि ढुंगाप्रहार गर्न सिकेको हुन्छ रे। हामी आशा गरौं नेपाल-भारत सम्बन्ध त्यस्तो नहोस। भारत पुत्र रामचन्द्रकी पत्नी सीताको माइती नेपाल रहेको परिचय र वैवाहिक सम्बन्धमा दुवै देशका नागरिकहरुले गर्व गरुन। र आउने पिढीहरुले भविष्यमा पनि गर्न पाउन।
इन्दिरा गाँधी मात्र होइन, पछिल्लो समयमा, राजीव गाँधीको कार्यकालदेखि चिसो भएको नेपाल – भारत सम्बन्ध अझै न्यानो हुन सकेको छैन्। यो सम्बन्धलाई न्यानो पार्न उठेका कदमहरुलाई साउथ ब्लक (भारतको परराष्ट्र मंत्रालय) का अदूरदर्शी नीतिहरुले सुस्त पारिदिएका छन्। प्रधान मंत्रीहरु आइ के गुजरालदेखि मोदीसम्मका व्यवहारिक उदारवादी नेताहरुको पनि साउथ ब्लकको अगाडि केही जोर चल्न सकेको छैन्। भारत कै एउटा सक्ति, छिमेकी राष्ट्रहरुको मामिलामा उदारवादी मोदी असफल भएको देखाउन चाहन्छ।  
झन अहिले मदेसी दलहरुको जारी आन्दोलनले गर्दा नेपाल-भारत सम्बन्ध चिसो भएर बरफ हुने स्थितिमा पुगेको छ। काठमाडौ लगायत नाकाबन्दीबाट प्रभावित नेपालका विभिन्न सहरहरुमा अहिले भारत बिरोधी भावना तिब्र किसिमले बढेको छ। तराइ बाहेक, आम नेपालीहरुले अहिले नेपालमा देखिएको अस्तव्यस्तताका लागि भारतलाई मात्र दोषी दिइरहेका छन। भारतको विदेश मन्त्रालयले यो समस्या मदेसी दलहरुको धर्ना र बन्दले उत्पन्न भएको हो भनी हालै गरिएको एक प्रेस सम्मेलनमा सार्वजनिक रुपमा बताए पनि।
अर्कोतिर, मदेसी दलहरु भने "हम तो डुबेंगे सनम तुम्हें भी ले डुबेंगे" को स्थितिमा छन्। उनीहरुको क्रियाकलाप र दिल्लीको नेपाल प्रतिको रबैयाले गर्दा आम नेपालीहरुको भारत प्रतिको बिरोध भावना ह्वातै बढेर गएको छ र त्यो भावनालाई विस्थापित गर्न भारतलाई वर्षौ त लाग्ने छ नै, साथै त्यो भावनाको भारत-विरोधी अन्तरार्ष्ट्रिय शक्तिहरुले उपयोग गर्ने सम्भावना बढेर जानेछ। खास गरि चीन र पाकिस्तानले।
यो नया पीढिको टिन जेनेरेशन (Age-Thirteen to Nineteen) ले अहिलेको यो स्थितिमा, भारतले नेपालतर्फ पेट्रोलियम पर्दाथको निर्यात गर्न बन्द गरेको आफ्नै आँखाले देखेको छ। बजारमा तेल नभएको कारणले गर्दा स्कूल, कलेज, रेष्टुरेन्ट जान नपाएको समस्या समेत भोगेको छ। बजारमा खानेकुराहरुको अभाव, जीवन अस्त व्यस्त मात्र होइन दुष्कर समेत भएको स्वयंले अनुभूत गरेको छ। यी सबै परिस्थितिहरुका लागि यो जनेरेसनका नया उमेरकाहरुले केवल भारतलाई मात्र दोषी देखिरहेका छन्। उनीहरुको कलिलो मष्तिष्कबाट नेपालका राजनैतिक दलहरुको भूमिका र विशेष गरी मदेसी दलहरुको भूमिका कालान्तरमा हराएर जानेछ। तर भारत बिरोधी उग्र विचार भने स्थिर रहने छ। उनीहरुको कलिलो दिमागमा परेको भारत बिरोधी भावनाले उनीहरुलाई पछि सम्म पछ्याइ रहने छ, जस्तो कि धार्मिक अतिवादी मुस्लिम युवाहरुमा रहेको पश्चिम राष्ट्रहरु विरोधी भावना। यो स्थिति भारतको लागि अति घातक हुनेछ किन भने भारतको, नेपाल बाहेक अन्य संवै निकट छिमेकी राष्ट्रहरु, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, सँग कटुतापूर्ण सम्बन्ध रहि आएको छ। कस्मिरको समस्याले त भारतलाई झनै चैनसँग बस्न दिएको छैन।
परम्परागत रुपमा, बी पी को पालादेखि नै  चिसो भएको नेपाल-भारत सम्बन्ध, प्रधान मंत्री नरेद्र मोदिको समयमा भने अति नै सुमधुर हुने अपेक्षा गरिएको थियो। एक ऐतिहासिक घटनामा, प्रम इन्दिरा गाँधीले भारतमा प्रवासित बी पी कोइराला माथि नियन्त्र कायम गरी नेपालको राजनीतिमा हस्तक्षेप गर्न खोजेकोले भारता बस्नु भन्दा नेपाल फर्किनु ठीक भन्दै बी पी राजासँग सहकार्य गर्न भनेर, राष्ट्रिय मेलमिलापको नीति लिएर, भारतबाट नेपाल फर्केका थिए। उनले राजा मेरो घाँटी जोडिएको छ भनेका थिए। जुन त्यो बेलाको नेपाली राजनीतिमा धेरैले बुझ्न सकेका थिएनन्।
अर्को प्रसंगमा, सन् २०१४ को अगष्ट महिनामा प्र म नरेन्द्र मोदी नेपाल आउँदा उनको भव्य स्वागत राष्ट्रिय, राजनैतिक, र जनस्तरमा समेत गरिएको थियो। नेपालको तत्कालिन संविधान सभालाई मोदीले सम्बोधन गर्दा उनले संसद भित्र यति माया र सम्मान पाएका थिए, त्येती सम्मान नेपालको इतिहासमा नै भारतको कुनै पनि सरकार प्रमुखले पाउन सकेको थिएन। मोदीको भाषणमा नेपालका नेताहरुले नेपाल र भारत बीच अति सौहार्द पूर्ण सम्बनधका सुकिला तस्वीरहरु देखेका थिए। विश्वासको वातावरण ह्वात्तै बढेर दुवै देश बीच आर्थिक विकासका मुद्दाहरुमा तिब्र गतिमा सहकार्यहरु हुने अपेक्षा समेत गरेका थिए। यति मात्र होइन, नेपालले बनाउने नया संविधानलाई मोदी सरकारले सहर्ष स्वीकार गर्ने विश्वास गरेका थिए। यो विश्वास जनस्तरमा समेत उत्पन्न भएको थियो। तर स्थिति भने ठ्याकै विपरित भएर गयो। मोदीका सदा सयताहरुले साउथ ब्लकको निर्धारित घेरालाई तोड्न सकेनन्। परम्परागत रुपमा कांग्रेसको पालादेखिको निर्माण भएको छिमेकी राष्ट्रहरुलाई हेर्ने साउथ बल्कको दृष्टिकोणमा कुनै किसिमको परिवर्तन आउन सकेन। मोदीले चाहेर पनि नेपालसँगको सम्बन्धलाई एकातिर न्यानो पार्न सकेनन् भने अर्कोतिर उनको पालमा नै, इतिहासमा नै, नेपाल-भारत सम्बन्ध सर्वाधिक खराब स्थितिमा पुग्यो।
भारतले जुन किसिमको नाकाबन्दी नेपालमा अहिले लगायो त्यस्तो केवल युद्धको समयमा मात्र गर्ने गरिन्छ। तर विडम्बना! मोदी जसले नेपाललाई सर्वाधिक महत्वको सूचीमा राखेर सम्बन्ध सुधार गर्न खोजेका थिए, जसले १७ वर्षदेखि भारतबाट नभएको उच्चस्तरिय नेपालको भ्रमण गरेका थिए, जसले प्रधान मंत्री हुने बित्तिके भ्रमण गर्ने मुलुकको सूचीमा पहिले नेपाललाई राखेर नेपालको भ्रमण गरेका थिए, जसले नेपालका नेताहरुलाई नेपाल बौद्धिक (बुद्धको देश भएको र माओवादी समस्या समाधान गरेको) र आर्थिक (अनेक स्रोत र साधनहरु ) रुपमा धनी भएको स्मरण गराएका थिए, जसले नेपालमा हिन्दु धर्मको विकास गर्नमा सहयोग गर्ने अप्रत्यक्ष रुपमा वचन दिएका थिए, उनै मोदीको अहिले काठमाडौका गल्लीहरुमा व्यापक विरोध भइरेको छ। उनको पुतला दहन समेत भइरहेको छ। यो अति विचारणीय तथ्य हुन पुगेको छ। के साउथ बल्कले यस्तो चाहेको हो?
नेपाली जनताले पनि एक असल मित्र मोदीलाई पराइ घोषित गर्नमा यति हतार नगर्नु पर्ने थियो। तर मोदीलाई अलोकप्रियताको यो स्थितिमा ल्याउने कार्य भने भारतको ब्युरोकेसीले, साउथब्लके, दिल्लीले गरेको हो। मोदीले उनीहरुद्वारा बनाइएको बलियो घेरा तोड्न सकेनन्, यसमा उनको आफ्नै वाध्यताहरु होलान। तर एउटा कुरा के छर्लंग भएको छ भने मोदीलाई छिमेकी राष्ट्रहरुको नजरमा यो स्थिमा पुर्याउनमा साउथ बल्लको भने विशेष भूमिका छ। यो कुरा नेपाली जनताले पनि बुझ्न आवश्यक छ। र दिल्ली र मोदीलाई अलग अलग किसिमले हेर्न आवश्यक छ। काठमाडौंमा मोदीका भाषणहरु कुटनैतिक शिष्टाचार नभइ मनबाट निष्केका हुन भने।
अर्कोतिर, साउथ ब्लकलाई भने अहिलेको, यो स्थिति (भारतीय राजनीति नेपालमा अति नै अलोकप्रिय  हुनु) मा पुर्याउने काम भने नेपालका मदेसी दलहरुले गरे। मदेसी दलहरुले अनेक किसिमका कारणहरु देखाएर भारतका प्रान्तीय एवं केन्द्रिय सरकारलाई नेपालको राजनीतिमा हस्तक्षेप गर्न उक्साए, र सोही अनुरुप भारत सरकार नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्न राजी भयो। मदेसीहरुले गरेको आमहडताल र नाकाबन्दीलाई दिल्ली प्रशासनले अप्रत्यक्ष र प्रत्यक्ष रुपमा समर्थन त गरौ नै साथै नेपालमा मदेसी -पहाडी बीच रहेको बलियो सम्बन्ध खराब पार्न भारतका संचार माध्यमहरुले गरेका दुष्प्रचारहरुलाई आधारहीन देखाउन सरकारी स्तरमा कुनै किसिमको वक्तव्य पनि दिएन। यो आलेख तयार पार्दसम्म मदेसमा कामय रहेको आमहडताल र धर्ना (आमहडताल भएको ५३ दिन र धर्ना जारी रहेको १४ दिन) मा पनि भारत सरकारको सहयोग जारि नै छ, भारतले भने यस कुराको खण्डन गरेता पनि। जबकि दिल्लीले नेपालका सबै दलहरुसँग समदूरीमा रहेर कार्य गर्नु उपयुक्त थियो। भारतको तर्फबाट हेर्ने हो भने दिल्लीले यो पनि बिचार गर्नु पर्ने देखिन्छ कि उसले जुन जुन मदेसी नेताहरुको पिठ्युंमा हात हालेको छ के तिनेल भारतको गुन फर्काउलान त? दिल्ली प्रशासनका दिग्गजहरुलाई यो उल्लेख गरि रहन आवश्यक छैन कि मदेस राजनीतिका नेताहरु सामान्य समयमा जहिले पनि ३६ को स्थितिमा रहने गर्दछन् र केवल स्वार्थ पूर्तिको समयमा मात्र ६३ को स्थितिमा पुग्ने गर्दछन्। विजय गच्छेदार, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदेश त्रिपाठी बारे दिल्लीको मूल्यांकन अवश्य पनि होला।
अबको समयमा भारत सरकारले नेपाललाई अविलम्ब र बिनासर्त सहयोग गर्नु पर्छ। नेपालमा, यहाँको नागरिकहरुको जीवन सामान्य पार्नका लागि प्रम मोदी नै सक्रिय हुनु पर्दछ। यो कार्य गर्नमा जति ढिलो गर्यो नेपाल र भारत बीच रहेको सदियौं पुरानो सम्बन्ध त्यति नै खराब भएर जानेछ। तर अचम्म! नेपाल-भारत बीच ज-जसले (मदेसी दलहरुले) बेटी रोटीको सम्बन्ध छ भनिरहेका छन् उनीहरुले नै यी दुई देश बीच सम्बन्ध खराब पार्न आफ्ना अदूर्शि क्रियाकलापहरु द्वारा सहयोग पुर्याइ रहेका छन्।
राजनीतिमा दुई शक्तिहरुको प्रयोग हुन्छ। कुटनैतिक शक्ति र भौतिक (बल) शक्ति। मदेसी दलहरुले आफ्ना मागहरु पूरा गराउन भौतिक शक्ति ( ५३ दिन आम हडताल, १४ दिन धर्ना) प्रचुर मात्रामा प्रयोग गरिसके। यो भन्दा बढी प्रयोग गरे भने त्यो प्रतित्पादक मात्र हुँदैन मदेसी मागहरु प्रति मदेसी जनताको नै वितृष्णा बढेर जान्छ किनभने मदेसी जनताको पहिलो आवश्यकता भनेको शान्तिपूर्ण किसिमले दुई छाक ढुक्क संग खान पाउनु हो। यो आवश्यकता पूरा भए भने मात्र पहिचानको आवश्यकता पर्दछ। अबको समयमा मदेसी नेताहरुले माग पुरा गराउनका लागि कुटनितिको प्रयोग गर्नु पर्दछ। र कुटनीतिद्वारा आफ्नो माग परा गर्न सिंहदरबार घेर्नु पर्छ, सिहंदरबारलाई बाध्य पार्नु पर्दछ। भारतको सीमानाम धर्ना दिनु हुँदैन।
अबको यो अति ताजा स्थितिमा, भरतीय प्रम मोदीले नव निर्वाचित प्रम ओलीलाई प्रममा नियुक्त हुनासाथ बधाइ दिएका छन्, भारत भ्रमणका लागि आमन्त्रित समेत गरिसकेका छन्। पचासौंले प्राण दिएर, करिब दुई महिनासम्म आन्दोलन गरेर, एउटा उचाइमा पुगेको आन्दोलनलाई बीचमा नै चट्क्कै छाडेर विजय गच्छेदार उपप्रधानमंत्री भएका छन। नेपालको संविधान मान्दिन भनेर संविधान जलाउने, संसदबाट राजिनामा दिने  मदेसी नेताहरु प्रधान मंत्रीको निर्वाचनमा मतदान गर्न सिहंदार छिरेका छन्। बांकी घटनाक्रमको मूल्यांकन पाठकहरुको जिम्मामा। दिल्ली प्रशासनले नेपालको राजनीतिमा, मदेस राजनीतिका केही नेताहरुलाई पत्याएर, नेपालमा नाकाबन्दी गरेर, सही गर्यो या गलत? मुल्यांकन गर्ने जिम्मा साउथ ब्लकको।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 16, 2015

1 comment:

  1. This article really helps to awaken reality. If we not awaken on time, the relation between India and Nepal even goes worse.

    ReplyDelete