Friday, December 23, 2016

Nepalese Economy Not Growing Under Indian Shadow-Article-136

भारतीय छायाले नफष्टाएको नेपाली अर्थव्यवस्था

एक ठूलो वृक्षको तल रहेको अर्को एक सानो विरुआको विस्तार एव विकास हुन सक्दैन। यो एक अकाट्य प्राकृतिक नियम हो। सानो बिरुआको लागि चाहिने घाम, पानी र हावा ठूलो वृक्षले छेकि दिने हुनाले त्यो सानो बिरुआ सुकेर जान्छ वा सप्रिनका लागि त्यसले ठूलो संघर्ष गर्नु पर्दछ। नेपालको अर्थव्यवस्थाको विकास एवंम विस्तारमा यो नियमले अत्यधिक काम गरेको छ। र यो कारणले गर्दा नै नेपालको आर्थिक विकासको गति ज्यादै सुस्त हुन पुगेको हो।  भारतको विशाल अर्थतन्त्रको छायामा नेपालको  बिरुआ आकारको अर्थतन्त्रले प्रगति गर्न सकिरहेको छैन। नेपालको अर्थव्यवस्थाको गति सुस्त हुनुमा यो कारणलाई प्रमुख मान्न सकिन्छ। भारतीय छायामा सप्रिन नसकेको नेपाली अर्थव्यवस्थाले सबै भन्दा बढी प्रतिकूल प्रभाव भने मधेसका बासिन्दाहरूलाई परको छ। यो कारणले गर्दा नै नेपालका उद्योगहरू दक्षिण मधेस (भारतको नजिक रहेका नेपाली बजारहरू) तिर विस्तार हुन सकेका छैनन्। बरू केही मात्रामा भए पनि उत्तर मधेसमा केही व्यापारिक गतिविधिहरू सन्तोषजनक किसमले विस्तार भएका छन्। मधेसलाई गरिब पार्नमा भारतसितको खुला सिमाना र व्यापारप्रतिको अति निर्भरता अधिक जिम्मेबार छ, मधेसी नेताहरूले यो कटु सत्यलाई नस्वीकार गरेता पनि।
संसारका दस ठूला अर्थव्यवस्थाहरूमा, कुल गार्यहस्थ उत्पादनको आधारमा, भारत अहिले संसारको तेस्रो ठूलो अर्थ व्यवस्था हुन पुगेको छ। एक र दुई नम्बरमा रहेका क्रमश: संरा अमेरिका र चीनसँग बराबर हुन यसले प्रतिस्पर्धा गरिरहेको छ। कुनै बेलाका हस्ती अर्थ व्यवस्थाहरू: बेलायत, फ्रान्स, जर्मनी र जापानलाई भारतले उछिनि सकेको छ। कुल गार्यहस्थ उत्पादनलाई आधार मानेर क्रयशक्ति संग तुलना गर्दा भारत अहिले विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था हो। यो मुलुकको कुल गार्यहस्थ उत्पादन $ . ट्रिलियन रहेको छ।  भारत अहिले दक्षिण एशियामा अघोषित आर्थिक र राजनैतिक उपनिवेस विस्तारमा लागेको छ।  आर्थिक रुपमा सबल भएर छिमेकीहरूलाई प्रभाव क्षेत्र भित्र राख्न खोजिरहेको छ। भुटानलाई उहिलेदेखि नै राख्दै आएको छ, नेपाललाई पनि राख्न खोजिरहेको छ। धेरै नेपाली नेताहरूले यो तथ्य बझ्न सकेका छैनन्, वा बुझेर पनि आफ्नो स्वार्थ सिद्धितिर लागेका छन्।
अहिले विश्वका नौ राष्ट्रहरूसँग आणविक (न्युक्लियर) हतियार छ र ती नौ राष्ट्रहरू मध्ये भारत पनि  एक हो। भारतले पहिले नै आणविक हतियारको परिक्षण सन् १९७४ मा नै गरिसकेको थियो भने पाकिस्ताने बल्ल सन् १९९८ गर्यो।  युद्ध-हतियारमा सर्वाधिक खर्च गर्ने  दस राष्ट्रहरूमा भारतको स्थान नौ नम्बरमा पर्दछ। अत्यधिक गरिबहरूको बसोबास भएता पनि भारतले सेना वा सुरक्षामा प्रति वर्ष लगभग ५०  बिलियन खर्च गर्छ। र यो खर्च कुल गार्यहस्थ उत्पादनको २.५ प्रतिशत जति हुन  आउँछ। एशियामा अहिले चीन र भारत बालियो सामरिक क्षमता भएको देश बन्न पुगेका छन। आफ्नो देशभित्र हुने कुनै पनि किसिमको पृथकताबादी आन्दोलन वा उपद्रव सजिजै दबाउन सक्ने स्थितिमा छन्।
आर्थिक विकासमा नेपालसँग भारतको तुलना गर्दा भारत नेपाल भन्दा निकै बलियो रहेको यथार्थ तर्कहरूले होइन, तथ्यांकहरूले नै पुष्टि गर्छन। भारतको जनसंख्या १ अरब २९ करोड ३० लाख ५७ हजार भएता पनि, धेरै गरिब परिवारहरूको बसोबास भएता पनि, प्रति व्यक्ति आय अमेरिकी डलरमा ६ हजार ६ सय ६४ रहेको छ। यसै गरी कुल गार्यहस्थ उत्पादन $ . ट्रिलियन रहेको छ। नेपालको जनसंख्या भारतको तुलनामा ज्यादै कम, केवल २ करोड ६४ लाख ९४ हजार ५०४ भएता पनि, तुलनात्मक रुपमा कम ब्यक्तिहरूको बसोबास भएता पनि, प्रति व्यक्ति आय मात्र $२ हजार ५ सय ७३ रहेको छ। नेपालको गार्यहस्थ उत्पादन केवल $ ७४.०२० बिलियन रहेको छ।
तर भारतको बलियो अर्थ व्यवस्थाले नेपालका दुई क्षेत्रहरू- उद्योग र व्यापारलाई निकै नै प्रतिकूल प्रभाव पारेको छ। भारत अहिले ‘इकोनोमिज अफ स्केल’ (Economies of Scale) को स्थिति प्राप्त गर्ने दिशातर्फ अग्रसर छ। इकोनोमिज अफ स्केल कुनै पनि  अर्थ व्यवस्थामा त्यो अवस्था हो जस अन्तरगत ठूलो संख्यामा उत्पादन गरिएको वा उत्पादनमा उन्नत मेसीन र प्रविधिको प्रयोग गरिएकोले प्रति इकाइ उत्पादन लागत कम भएर जान्छ। भारतले यो स्थितिल प्राप्त गर्न थालेकोले अहिले भारतमा उत्पादित सामाग्रीहरू विश्व-बजारमा अति नै सस्तो हुन पुगेका छन् र यो सस्तो  भएको कारणले गर्दा नै भारतका सामानहरू अहिले युरोप, अमेरिका, अफ्रिका सम्म निर्यात भइरहेका छन्।
आर्थिक स्थिति ज्यादै बलियो भएको कारणले गर्दा भारतले सस्तोमा उत्पादन गरेर विश्वको जुन सुकै बजारमा पनि समानहरू पुर्याएर बिक्री गर्न सक्ने क्षमता राख्छ। अर्कोतिर, नेपाल, आर्थिक विकासको प्रारम्भिक अवस्थामा पनि नभएकोले यहाँ उत्पादित सामाग्रीहरू सस्तो हुन सकेका छैनन्। आर्थिक दुरावस्थाको कारणले नेपालले कतिपय सामाग्रीहरू, महँगोमा नै भए पनि, उत्पादन गर्न सक्तैन। यसरी दुई कारणहरू- १. नेपालमा उत्पादन गर्दा अति नै महँगो हुने, र २. नेपालमा उत्पादन गर्न नसकिने स्थितिहरूले गर्दा नेपाल भारतबाट ठूलो परिमाणमा सामग्रीहरू आयात गर्न बाध्य हुन पुगेको छ। नेपाल भारतको एक भरपर्दो, नियमित र राम्रो बजार हुन पुगेको छ। यो स्थिति भारतसितको खुला सिमाना र भारतीय नीतिले गर्दा भएको हो। र यस्तो स्थिति नेपालमा सर्वकालिन रुपमा रहोस भन्ने भारत चाहन्छ पनि। नेपालसँगको व्यापारमा भारतलाई निकै फाइद हुन्छ पनि, किनभने नेपाल ज्यादै नजिक रहेको ले भारतले नेपालमा निर्यात गर्दा यातायात र भण्डार  लागतमा बढी खर्च गर्नु पर्दैन। यसरी, आर्थिक कारणले पनि नेपालमा स्थिरता नहोस, आर्थिक विकास पनि नहोस र नेपाल सँधैभरि  आफ्नो एक भरपर्दो बजार रहिरहोस भनी भारत चाहन्छ। चीन र रूसले नेपालमा विभिन्न उद्योगहरूको स्थापना गरेता पनि भारतले त्यस्तो नगरेको आम नेपालीहरू समक्ष प्रष्ट छ। कारण के होला भनिरहनु पर्दैन।
भारतले उद्देश्यपूर्ण किसिमले नेपालमा राजनैतिक स्थिरता हुन नदिनुको कारण नेपाललाई सँधै आफ्नो एक बलियो बजारको रूपमा राख्न खोज्नु पनि हो। भारतको यस्तो नीतिले गर्दा नेपाल, उद्योगको क्षेत्रमा निकै पछाडि परेको हो। र यो स्थितिले नेपालको मधेस भने अति नै प्रभावित हुन पुगेको छ। अति नै प्रभावित कसरी हुन पुगेको छ त्यसबारे छोटो चर्चा गरौ।
प्राकृतिक सौन्दर्य (हिमाल, पहाडि चुचराहरू, सगरमाथा, जलवायु, ताल, तलैया, पदयात्रा, पर्वतारोहण, गन्तव्य) हरू, धार्मिक महत्व (पशुपतिनाथ, मनकामना, मुक्तिनाथ, स्वंभू, स्वर्गद्वारी) का स्थानहरू, प्रचीन संस्कृतिहरू आदि नेपालको पहाडि क्षेत्रमा भएको हुनाले पहाडि क्षेत्रमा ऊद्योगकको अवस्था राम्रो नभएता पनि त्यस क्षेत्रका बासिन्दहरूले माथि वर्णनन् गरिएका स्रोतहरूबाट अर्थात पर्यटनबाट राम्रो आम्दानी प्राप्त गर्छन। उदाहरणका लागि, काठमाडौले पर्यटकहरूबाट जति आम्दानी प्राप्त गर्छ वीरगञ्ज वा जनकपुरले त्यति गर्न सक्तैन। स्थिति एकातिर यस्तो छ भने अर्कोतिर संघीयताको लागि प्रदेशको विभाजन गर्दा केवल मधेसलाई मात्र समाबेस गरेर एक वा दुई छुट्टै प्रदेस बनाउन मधेसी नेताहरूले जोडदार रुपले माग गरिरहेका छन्। यदि त्यस्तो भएमा, त्यो स्थिति मधेसी जनताको लागि दूर्भाग्यको कुरा हुनेछ र मधेसका नागरिकहरू झन झन गरिब हुने अवस्था सृजना हुनेछ। मधेसमा गरिबी बढ्ने छ। उपरोक्त किसिमले प्रदेशको विभाजन गर्दा नेताहरूको स्वार्थ पूरा होला तर मधेसका बासिन्दाहरू झन झन गरिब हुँदै जानेछन। रोजगारीका लागि विदेश जानेहरूको संख्या बढेर जानेछ।
एक अर्को उदाहरण। मधेसका कृषकहरूलाई, र खास गरी गरिब कृषकहरूलाई सरकारले सस्तो (Subsidized price ) मा मल, बिउ आदि दिएर सहयोग गर्न खोजेमा ती सामाग्रीहरू (सस्तोमा उपलब्ध भएको कारणले) महँगोमा बिक्री गर्न भारतीय बजारहरूमा पुर्याइन्छन। भारतीय बजारहरू ज्यादै नजिक रहेको र खुला सीमाना भएको कारणले गर्दा ती सामाग्रीहरू भारत पुर्याउन तस्करहरूलाई अति सजिलो हुन्छ पनि। खुला सिमाना र भारतप्रतिको अति निर्भरताले गर्दा नेपालका मधेसी कृषकहरूले आफूलाई प्राप्त भएको सहयोगको उपयोग गर्न पाउँदैनन्। यस्ता उदाहरणहरू धेरै छन्।
माथि बयान गरिए अनुरुप नेपालमा उत्पादित सामाग्रीहरू भारतीय सामानहरूको तुलनामा महँगा हुन्छन। अर्कोतिर खुला सिमाना भएको कारणले नेपाली उपभोक्ताहरू जो सीमाना नजिक रहेका छन्, उनीहरूलाई भारतीय बजारहरूमा पुगेर सस्तोमा सामानहरू खरिद गर्न सजिलो र सस्तो हुन्छ। यसप्रकार नेपालामा उत्पादित सामाग्रीहरू नेपालमा बिक्री हुने प्रतिकुल अवस्थाको कारण नेपाली उद्योगहरू फष्टाउन पाउँदैनन। भारतीय सिमा नजिक बस्ने नेपाली उपभोक्ताहरूलाई खुला सिमानाको कारणले गर्दा नेपाली सामाग्री हरू खरिद गर्न बाध्य पार्न सकिंदैन। उपभोक्ताहरूको यस्तो व्यवहारले सिमा नजिक रहेका नेपाली बजारहरू सुक्न थालेक छन। भारतीय मुद्रा बैंकहरूबाट सटही गरेर ठूलो संख्यामा नेपालीहरू भारतीय बजारमा पुगी सामान खरिद गरेको हामीले देखे भोगे का कुराहरु हुन। तर यो कार्यले नेपालका मधेसका बजारहरू रूग्ण स्थितिमा पुगेका छन्।
यसरी भारतको छायामा नेपालको अर्थ व्यवस्था फष्टाउन सकिरहेको छैन र यो स्थितिले सबै भन्दा बढी मधेसलाई असर पारेको छ। भारतीय छायाले गर्दा मुलुको आर्थिक राजधानी मानिने वीरगञ्जले आर्थिक सबलता गुमाउँदै गएको। भारतसँग “बेटीरोटी” सम्बन्ध छ भन्ने नेताहरूले नेपालको यो आर्थिक समस्यालाई कहिले बुझ्ने हुन?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 23, 2016

No comments:

Post a Comment