Wednesday, June 23, 2021

Markets Must Remained Open-Article-332

 बजारहरू खुला रहनु अति आवश्यक

वर्तमान युगलाई आधुनिक युग भनिन्छ। तर यो आधुनिक युगलाई वैष्य युग भन्नु बढी उपयुक्त हुनेछ। यो युगमा हरेक व्यक्ति खरीद–बिक्री कार्यमा अनिवार्यरूपमा संलग्न हुनुपर्ने हुनाले यो युगलाई वैष्य युग भन्नु अति उपयुक्त होला। वैष्य युगमा बहुसङ्ख्यक व्यक्ति खरीद र बिक्री कार्यमा लागेका देखिन्छन्।

यो वैष्य युगमा बहुसङ्ख्यक व्यक्तिले श्रम बिक्री गर्छन् र श्रम बिक्री गरेर प्राप्त भएको आम्दानीले जीवन निर्वाहका लागि आपुर्तिलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु खरीद गर्छन्। अर्थात् यो वैष्य युगमा बहुसङ्ख्यक व्यक्तिले केवल श्रम बिक्री गर्छन् र उनीहरूको साथमा बिक्री गर्नका लागि श्रमबाहेक केही पनि हुँदैन। तर कृषि युगमा भने यस्तो थिएन।

बहुसङ्ख्यक व्यक्तिले तरकारी, फलफूल , दूध, दही, अन्न आदि उत्पादन गर्थे। दैनिक आवश्यकताका वस्तुहरूका लागि अहिलेझैं अरूमाथि अति निर्भर हुन्थेनन्। जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तु आफैले उत्पादन गर्ने परिवारहरूको सङ्ख्या पनि ठूलो थियो। यस्ता परिवारहरू बजारमा पुगेर अनिवार्यरूपमा अहिलेको जस्तो श्रम बिक्री गर्न बाध्य थिएनन्। तर अहिले स्थिति यस्तो छ कि श्रम उत्पादन गरेर श्रम बिक्री गर्नेहरूको सङ्ख्या ठूलो छ भने आफु स्वयंले वस्तुहरू उत्पादन गरेर आत्मनिर्भरको अवस्थामा रहन सक्नेहरूको सङ्ख्या न्यून भएर गएको छ।

यसलाई वैष्य युगको विशेषता वा कमजोरी पनि भन्न सकिन्छ। बहुसङ्ख्यक व्यक्तिहरू श्रम बिक्री गर्ने अवस्थामा रहनु वा बाँच्नका लागि श्रम नबेची नहुने अवस्था हुनु मानव सभ्यताको लागि राम्रो कुरा भने होइन। तर यस्तै भइरहेको छ।

हामी वैष्य युगमा बाँचेका हुनाले श्रम बिक्री गर्नका लागि हामीसँग बजार हुनु आवश्यक छ। श्रम बिक्री गर्न आवश्यक पर्ने ती बजारहरू निरन्तर (सके दिनरात नै) खुला रहनु पनि उत्तिकै आवश्यक छ।

बजार एक दिन पनि बन्द हुँदा न्यून आय भएका व्यक्तिहरू जोसँग बचतको रूपमा सानो परिमाणमा पनि रकम रहेको हुँदैन र जसले प्रत्येक दिन श्रम बेचेर खानुपर्ने हुन्छ, त्यस्तालाई एक दिन पनि बजार बन्द हुँदा जीवनमरणको समस्याले सताउन थाल्छ। धनी वा विकसित देशका गरीब नागरिकहरूसँग ‘क्रेडिट कार्ड’ हुने र आम्दानी नभएको बेला त्यही क्रेडिट कार्ड प्रयोग गरेर जीवन निर्वाहका लागि आवश्यक पर्ने अनेक वस्तु एवं सेवाहरू खरीद गर्न सक्ने स्थिति नेपालका अति निर्धन परिवारहरूसँग छैन।

नेपालमा ‘क्रेडिट कार्ड’ सर्वसुलभ पनि छैन। यो कारणले गर्दा एक दिनको लागि पनि नेपालमा बजार बन्द हुँदा ठूलो समस्या उत्पन्न हुने गर्दछ। हजारौं व्यक्ति भोकभोकै हुने स्थिति उत्पन्न हुने गर्दछ। अर्कोतिर, भयावहको स्थितिमा रहेको कोरोना महामारी नियन्त्रण गर्न सर्वाधिक सजिलो तरीका बन्द व्यवस्था लागू गरिने भएकोले सङ्घीय, प्रान्तीय एवं स्थानीय सरकारहरू बन्द व्यवस्थालाई ‘रामबाण’को रूपमा प्रयोग गर्नमा व्यस्त रहेका देखिन्छन्। 

विभिन्न किसिमका खोज तथा अनुसन्धान गरेर बन्द व्यवस्थाका अन्य विकल्पहरू खोज्ने तर्फ जागरूक देखिंदैनन्। यो कारणले गर्दा, नेपालमा, यो बन्दको स्थितिमा, गरीबहरूलाई बाँच्न ज्यादै कठिन हुन पुगेको छ। बजारहरू बन्दको स्थिति लामो समयसम्म रहेमा गरीब परिवारहरूको जीवन थप कष्टकर हुनेछ । बजार कुनै पनि हालतमा बन्द हुनुहुँदैन।

लामो अवधिसम्मका लागि त झनै हुनुहुँदैन। बजार खुला रहनु भनेको अहिलेको यो वैष्य युगमा मानव शरीरमा सास अविरल चले जस्तो हो। सुरक्षाका अनेक उपायको खोजी गरेर, कोरोना महामारी फैलिने स्थितिमाथि अङ्कुश लगाएर, बजार भने खुला राख्नु आवश्यक छ। बन्द गर्नुहुँदैन। अन्य मुलुकले कोरोना सङ्क्रमणको विस्तार रोक्न के कस्ता वैकल्पिक उपायहरूको खोजी गरे, व्यवहारमा ल्याए, हामीकहाँ निर्णय तहमा रहेका प्रशासक एवं जनप्रतिनिधिहरूले थाहा पाउनुपर्दछ। ती उपायहरूको खोजी एवं पहिचान गर्नुपर्छ। अध्ययन गर्नुपर्छ।

यो कोरोना सङ्कट हामीजस्तो गरीब मुलुकको लागि दीर्घकालीन समस्या हो। त्यस कारण यो कोरोना सङ्कटसँग लड्न हामीले दीर्घकालीन रणनीतिहरू निर्माण गर्न आवश्यक छ। बजार बन्द नगरी, भौतिक दूरी कायम गरेर, अनेक किसिमका व्यापारहरू सञ्चालनमा राख्न सकिन्छ। बजारहरू खुला राख्न सकिन्छ। बजार कहिलै बन्द नगरी सदा सञ्चालनमा राख्न सामान्य नागरिकहरूले पनि स्थानीय सरकारहरूलाई सहयोग पुर्याउनुपर्दछ। नागरिकहरूले पनि उत्तिकै दायित्व निर्वाह गर्नुपर्छ। यो सरकारको दायित्व हो, हाम्रो होइन भन्नुहुँदैन।

बजार, राष्ट्रिय अर्थव्यवस्थाको मुटु हो। यो कहिले पनि कुनै पनि हालतमा बन्द हुनुहुँदैन। बजार बन्द हुनु भनेको राष्ट्रिय अर्थव्यवस्था बिरामी हुनु हो। विगतमा अनेक राजनीतिक कारणहरू देखाएर राजनीतिक दलहरूले बजार बन्द गर्न लगाइसकेका छन्। राष्ट्रिय अर्थव्यवस्थालाई पटक–पटक बिरामी तुल्याइसकेका छन्। अहिले पनि कोराना सङ्क्रमण विस्तार रोक्ने नाममा बन्द व्यवस्थाका अन्य विकल्पहरूको खोजी नगरी केवल बजार बन्द गर्नु, कारोबार बन्द गर्नु उपयुक्त होइन।

कोरोना सङ्क्रमणको दीर्घकालीन समाधानको लागि नेपालका प्रशासक एवं निर्णयकर्ताहरू जागरूक हुन उत्तिकै आवश्यक छ। यो सङ्क्रमणको दीर्घकालीन समाधानका लागि हामीले गर्नुपर्ने पहिलो र मुख्य कार्य हो, सम्पूर्ण देशवासी (उमेरको आधारमा खोप लिन अनिवार्य व्यक्तिहरू)लाई कोरोनाविरुद्धको खोप दिनु। हरेक नागरिकको पाखुरामा खोप लगाउनु। नेपालले धनी राष्ट्रहरूसँग निश्शुल्कमा कोरोनाविरुद्धको खोप प्राप्त गर्न सक्छ। विभिन्न धनी राष्ट्रबाट खोप प्राप्त गर्न प्रधानमन्त्री स्वयम् सक्रिय हुनुपर्छ। प्रमले जिम्मेवारी लिनुपर्छ। त्यसैगरी, स्वास्थ्यमन्त्री, विदेशमन्त्री एवं गृहमन्त्री पनि उत्तिकै सक्रिय हुनुपर्छ। धनी देशहरूले गरीब राष्ट्रका नागरिकहरूलाई निश्शुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आफूहरू तयार रहेको केही दिन पहिले घोषणा गरेका थिए।

 केही दिन पहिले (जून ११–१३, २०२१) संयुक्त अधिराज्यको कोर्नवाल भन्ने स्थानमा जी–७ को ४७औं बैठक बसेको थियो। उक्त जी–७ (समूह–७) भित्र क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका सदस्यका रूपमा रहेका छन्। यो समूहलाई विश्वका अति धनी औद्योगिक राष्ट्रहरूको समूह पनि भन्ने गरिन्छ। यो समूहमा रहेका सदस्य राष्ट्रका सरकार प्रमुखहरूले गरीब देशका नागरिकहरूलाई निश्शुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा उक्त बैठकमा गरेका थिए। नेपालले यो अवसरको फाइदा उठाउनुपर्छ। यी राष्ट्रहरूबाट खोप ल्याउन तत्काल पहल गर्नुपर्छ।

कोरोना सङ्क्रमणको दीर्घकालीन समाधानका लागि गर्न सकिने अर्को कार्य कोरोनाविरुद्धको खोप नेपालभित्र नै उत्पादन गर्न सकिने व्यवस्था मिलाउनु पनि हो। अहिले कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेका फर्मास्युटिकल कम्पनीहरूसँग उत्पादन अधिकार खरीद गरेर वा उत्पादन गर्न शुल्क तिर्नुपर्ने भए शुल्क तिरेर पनि नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन गर्न सकिन्छ। गरीब राष्ट्रहरूले पनि आआफ्नो मुलुकमा कोरोनाविरुद्धको खोप उत्पादन गर्न सकून् र त्यसका लागि उत्पादन अधिकार दिन उत्पादक कम्पनीहरू तयार होऊन् भनी विभिन्न व्यक्ति एवं संस्थाहरूले ती उत्पादक कम्पनीहरूलाई अनुरोध पनि गरेका छन्।

कोरोना सङ्क्रमणको तीव्र विस्तार रोक्न अल्पकालीन एवं दीर्घकालीन उपायहरू पत्ता लगाउन आवश्यक छ। केवल बन्द मात्र विस्तार रोक्ने उत्तम एवं प्रभावकारी तरीका भने होइन। लामो समयसम्म बन्द व्यवस्था कायम रहेमा राष्ट्रिय अर्थव्यवस्था ढल्ने मात्र होइन, भोकमरी समस्या पनि उत्पन्न हुनेछ। अहिलेको यो नाजुक घडीमा नेताहरूले सत्तातिर अर्जुनदृष्टि राख्नुभन्दा कोरोना सङ्कट समाधानका अल्पकालीन एवं दीर्घकालीन उपायहरूको मिलेर खोजी गर्नु विवेकपूर्ण कार्य हुनेछ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, June 18, 2021

http://eprateekdaily.com/archives/14815

No comments:

Post a Comment