Friday, July 2, 2021

Problems in Nepalese Economy and Remedies-Article-334

 आर्थिक विकासको गति सुस्त हुनुको कारण र निवारण

नेपालको आर्थिक विकासको गतिले तीव्रता नलिनुका अनेक कारण छन् । कुनै एक कारणलाई प्रमुख मानेर नेपालको आर्थिक विकासको गति सुस्त हुन गएको भन्न सक्ने स्थिति छैन । नेपालको आर्थिक विकासको कुरा गर्दा सर्वप्रथम के प्रस्ट हुन जरूरी छ भने कुनै पनि राष्ट्र स्रोत र साधनको कमीले गर्दा गरीब हुँदैन । स्र्रोत र साधनको कमीले देश गरीब हुने भए इजराइल संसारको सबैभन्दा गरीब देश हुने थियो । स्रोत र साधनको प्रचुरताले देश धनी हुने भए अफ्रिकाका धेरै देश धनी हुने थिए । अफ्रिकी देशहरूमा अनेक स्रोत र साधन मात्र होइन, सुन र हीराका खानीसमेत छन् ।

घाना, साउथ अफ्रिका, सुडान, माली, बुर्किना फासो यस्ता अफ्रिकी देश हुन्, जहाँ ठूलो परिमाणमा सुन उत्पादन हुन्छ । धेरै सुन उत्पादन गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि सुडान, माली, घाना धनी राष्ट्र र्छैनन् । यसैगरी बोत्सवाना, अड्डोला, नामिबियामा ठूलो परिमाणमा हीरा उत्पादन हुन्छ । यी राष्ट्रहरू पनि धनी छैनन् ।

सुडान र माली अफ्रिकाका यस्ता देश हुन्, जो राजनीतिकरूपमा अहिले पनि स्थिर हुन सकेका छैनन् । सुडानको त विभाजन नै भयो । एउटा सिड्डो राष्ट्र टुक्रिएर दुई राष्ट्र बन्यो । इथियोपियाको पनि अवस्था सुखद छैन । निरन्तर गृह युद्धले गर्दा इथियोपियाका लाखौं नागरिक विदेशमा शरण लिन विवश छ । हालको एरिट्रिया भन्ने राष्ट्र इथियोपियाबाट नै छुट्टिएर बनेको हो ।

देश स्रोत र साधनको प्रचुरताले गर्दा मात्र धनी हुन नसक्ने उदाहरणको रूपमा इराक, इरान, साउदी अरेबिया आदिलाई पनि लिन सकिन्छ । यी राष्ट्रमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उत्पादन भए तापनि विश्वका धनी राष्ट्रमा पर्दैनन् । इराक जहिले पनि राजनीतिकरूपमा अशान्त छ भने धार्मिक कट्टरताका कारण इरानले आफ्नो आर्थिक समृद्धि (पेट्रोलियम पदार्थ) को पूर्ण उपयोग गर्न सकेको छैन । धार्मिक कट्टरताले गर्दा नै इरानले आफुलाई विश्व समुदायबाट अलग राखेको छ ।

इरानको राष्ट्रिय राजनीतिमा निष्पक्ष र स्वतन्त्र निर्वाचित नेताहरूको होइन, धर्मगुरु अली खमेनेईको नियन्त्रण छ । खमेनेईले चाहेको व्यक्ति नै राष्ट्रपति निर्वाचित हुने गर्दछ । विश्व समुदायसँग इरानको सर्वोच्च धार्मिक प्रशासनले राम्रो सम्बन्ध बनाउन नसक्दा विश्वका धेरै राष्ट्रले इरानमाथि व्यापार प्रतिबन्ध लगाएका छन् । प्रगतिशील प्रशासनभन्दा धार्मिक प्रशासनको अभ्यासले गर्दा इरानको आर्थिक स्थिति झन्झन् (पहिले भन्दा) कमजोर हुँदै गएको छ ।

कुनै पनि राष्ट्रलाई आर्थिकरूपमा समृद्ध पार्ने मूल तत्व त्यहाँको नागरिकको चेतनाको स्तर, उदार स्वभाव हो । यसको बलियो उदहारण युरोपेली राष्ट्र र अफ्रिकी राष्ट्रहरूबीच तुलना गर्दा हुन्छ । चेतनाको स्तरको हिसाबले युरोपेली बासिन्दा अफ्रिकी बासिन्दाभन्दा निकै अगाडि छन् । अफ्रिका निरन्तर अशान्त छ, गृहयुद्धको चपेटामा छ भने युरोप तुलनात्मकरूपमा सदा शान्त छ ।

गृहयुद्धले गर्दा अफ्रिका छाडेर युरोपतिर लाग्नेहरूको सङ्ख्या ठूलो छ । युरोपका कतिपय देश, अफ्रिकीहरू शरणार्थीको रूपमा आफ्नो देशमा स्थायीरूपमा बसे भने आफ्नो देशलाई पनि अशान्त पार्छन् भन्दै शरण दिन नमानेका समाचारहरू हामीले सुनेकै हो । अस्ट्रियाले कुनै पनि शरणार्थीलाई शरण दिंदैनौं भन्दै आएको छ । अब नेपालको कुरा गरौं । नेपालको आर्थिक विकासको गति सुस्त हुनुको प्रमुख कारण हाम्रो चेतनाको स्तर कमजोर हुनु हो । हामी ज्ञान (चेतना) को क्षेत्रमा निकै पछाडि छौं । हाम्रो चेतनाको स्तर निकै तल छ ।

चेतनाको कमी भनेको मिलेर बस्न सक्ने स्वभावको कमी हो । विकासप्रति कमजोर इच्छा–शक्ति हो । रचनात्मक ऊर्जा केवल द्वन्द्व, षड्यन्त्र, गृहयुद्ध, सङ्घर्षजस्ता अनुत्पादक कार्यमा खर्च गर्नु हो । रचनात्मक कार्यमा कम, ध्वंसात्मक कार्य गर्न हामी निकै रमाउँछौं । कुनै बेला नेपालजस्तै आर्थिक स्थिति भएका देशहरू थाइल्यान्ड, सिड्डापुर, मलेशिया निरन्तर आर्थिक विकासको पथमा लम्किरहेका छन्, हामी त्यसविपरीत राजनीतिक अस्थिरता सृजना गर्न र त्यसमा रमाउन व्यस्त छौं । हामी जुन बेला गृहयुद्ध (२०५२–२०६२) मा व्यस्त थियौं त्यो बेला थाइल्यान्ड, सिड्डापुर, मलेशियालगायत एशियाली राष्ट्रहरू आफ्नो देशको आर्थिक विकास गर्न तल्लीन थिए ।

हामी मिलेर बस्नै सक्तैनौं । कुनै न कुनै मुद्दा उचालेर सङ्घर्ष गर्ने हाम्रो प्रकृति नै भइसकेको छ । देशको राजनीति अस्थिर पार्ने हाम्रो उद्देश्यजस्तै भइसकेको छ । हामी जहिले पनि विभाजित मनस्थितिमा रहन्छौं–कहिले राजनीतिकरूपमा त कहिले सामुदायिक रूपमा । मिलेर बस्न सकेका छैनौं । आर्थिक विकासका लागि जनतामा आर्थिक विकास गर्ने बलियो इच्छा–शक्ति हुनुपर्छ । मिलेर बस्ने प्रकृति र प्रवृत्रि हुनुपर्छ ।

नेपालको आर्थिक विकासका लागि सर्वप्रथम हामीले आफ्नो चेतनास्तर माथि उठाउनुपर्छ भन्ने मूल कुरा एकातिर पन्छाएर कुरा गर्ने हो भने नेपालमा आर्थिक विकास गर्नका लागि निम्न कुरामा तत्काल सुधार आवश्यक छ । राजनीतिक अस्थिरताको समाप्तिः हाम्रो देशको आर्थिक विकासको प्रथम र बलियो शर्त राजनीतिक अस्थिरता हो । राजनीतिक स्थिरता नल्याएसम्म देशको आर्थिक विकास सम्भव छैन । राजनीतिक स्थिरता ल्याउन हामीले गर्नु पर्ने प्रमुख कार्य निष्पक्ष र स्वतन्त्र निर्वाचन द्वारा इमानदार एवं कर्मठ प्रतिनिधिहरूको चयन हो । यो वा त्यो राजनीतिक दलको व्यक्तिलाई होइन, इमानदार व्यक्तिलाई राजनीतिक नेतृत्व तहसम्म नपु¥याई नेपालमा राजनीतिक स्थिरता आउँदैन । देशको आर्थिक विकास हुन सक्तैन ।

सस्तो ऊर्जा प्रयोगः

आर्थिक विकासको गति तीव्र पार्न हाम्रो ऊर्जालाई सस्तो पार्नुको विकल्प छैन । अनेक विधि, प्रविधि एवं पद्धतिको खोजी र प्रयोग गरेर हामीले ऊर्जा सस्तो पार्नैपर्छ । ऊर्जा सस्तो भएमात्र उत्पादन लागत कम गर्न सकिन्छ । उत्पादन लागत कम भएर वस्तुको मूल्य कम भए मात्र स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुन सक्छ ।

कृषिलाई मर्यादित पेशाको रूपमा प्रचार प्रसारः

कृषि अहिलेसम्म पनि हामी कहाँ मर्यादित पेशा हुन सकेको छैन । कृषि पेशालाई मर्यादित पार्न बनाउन हामीले हाम्रो सोच, परम्परा एवं राष्ट्रिय शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने हुन्छ । एउटा कृषक र मन्त्रालयको कुनै एक सचिव मर्यादाको हिसाबले समान हुन् भन्ने सोचको विकास र त्यसको अभ्यास नथालेसम्म कृषि पेशा मर्यादित हुन सक्तैन । कुखुराको सुली, गाईको गोबर, बंगुरको खोर सोहोर्ने कृषक घुस्याहा मन्त्रीभन्दा महान् हो भन्ने सोच हामीले अनिवार्य कायम गर्नुपर्छ ।

कृषि उत्पादनमा वृद्धिः

खाद्यान्न, तरकारी, फलफुल आदिका लागि हामी भारतमाथि अति निर्भर छौं । यो अति निर्भरता कम पार्न हामीले कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ । कृषि उत्पादनमा वृद्धि गर्नका लागि हामीले वर्तमान राष्ट्रिय कृषि नीतिमा व्यापक सुधार गर्न आवश्यक छ । कृषि नीतिमा व्यापक सुधार ल्याउन विज्ञहरूको सहयोग लिन स्थानीय, प्रान्तीय र सङ्घीय सकारले अब ढिलो गर्नुहुँदैन ।

उद्योगको विकासः

हामीले त्यस्ता उद्योगहरूको पहिचान र प्रयोग गर्नुपर्छ जसको प्रतिस्पर्धात्मक क्षमता उच्च होस् । अर्थात् त्यस्ता उद्योग प्रयोगमा ल्याउनुपर्छ जसमा उत्पादित वस्तुहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री हुन सकोस् । उदाहरणका लागि मौलिक नेपाली सीप (कागजका वस्तु, काष्टकलाका सामग्री, मूर्तिहरू, तयारी पोशाक, धातुका मूर्तिहरू आदि) ले अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्छ । ती वस्तु अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री हुन सक्छ । विदेशमा बस्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको परिप्रेक्ष्यमा प्रवासी नेपालीहरूले पनि ठूलो परिमाणमा नेपाली वस्तु खरीद गर्न सक्ने सम्भावना छ । यो स्थितिलाई अवसरको रूपमा प्रयोग गर्नुपर्छ ।

कृषि उत्पादन भण्डारणः

मौसमी तरकारी, फलफुल, खाद्यान्नको हामीले राम्रो व्यवस्थापन गर्न सकेका छैनौं । उचित भण्डारण (शीत भण्डार वा ताप नियन्त्रित भण्डार) को अभावमा हामीले एउटा मौसममा उत्पादन गरेको वस्तु अर्को मौसममा सजिलै उपयोग गर्न सकेका छैनौं । यसैगरी एउटा स्थानमा उत्पादन भएको वस्तु अर्को ठाउँमा आवश्यक परेको बेला सस्तो मूल्यमा उपभोग गर्न पाएका छैनौं । उचित भण्डारण सुविधाद्वारा हामी यस्तो समस्या समाधान गर्न सक्छौं । उचित भण्डारणद्वारा उत्पादकहरूले आफ्ना उत्पादनको राम्रो मूल्य र उपभोक्ताहरूले सस्तोमा वस्तु खरीद गर्न पाउने वातावरण सृजना गर्न सकिन्छ । उत्पादनमा उच्च प्रविधिको प्रयोगः आर्थिक विकास गर्नका लागि हामीले उत्पादनमा उच्च प्रविधि प्रयोग गर्न पनि आवश्यक छ । उच्च प्रविधिको प्रयोगबाट कम समयमा ठूलो परिमाणमा वस्तु उत्पादन गर्न सक्छौं । यस्तो गरेर श्रम लागत कम पार्न सक्छौं । वस्तुको बिक्री मूल्य कम पार्न सक्छौं ।

मूल्य कम पार्ने विधिको निरन्तर खोजीः

आर्थिक विकासको मूल मन्त्र हो– ‘वस्तु वा सेवाको मूल्य कसरी कम पार्ने ?’ यो मन्त्र बिक्रेता, वितरक, उत्पादक एवं सरकार समेतले जप्न आवश्यक छ । बिक्री गर्ने वस्तु एवं सेवाको मूल्य जति कम भयो वस्तु वा सेवा बिक्री हुने सम्भावना सोही अनुसार उच्च भएर जान्छ । त्यस कारण वस्तु वा सेवाको मूल्य कम पार्न मूल्य कम पार्ने विधि एवं तरीकाहरूको निरन्तर खोजी गर्नु आवश्यक छ । उत्पादन, वितरण र बिक्री लागत कम पारेर, सानो अंशमा मुनाफा लिएर, बिक्रीमा श्रमको कम प्रयोग गरेर वा यस्ता अनेक कार्य गरेर बिक्री हुने वस्तु एवं सेवाको मूल्य कम पार्न सकिन्छ । वस्तु एवं सेवाको मूल्य कम पारेर उपभोक्ताहरूको क्रयशक्ति समेत अभिवृद्धि गर्न सकिन्छ ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 2, 2021

http://eprateekdaily.com/archives/16414

No comments:

Post a Comment