Friday, August 26, 2022

Proxy War Causing Worldwide Inflation-Article-379

परोक्ष युद्ध र बढ्दो महँगी

अहिले विश्वभरि महँगी र मुद्रास्फीति तीव्र गतिमा बढ्नुको प्रमुख कारण परोक्ष युद्ध (Proxy war) हो। दोस्रो कारण विश्वनेताहरूमा कूटनीतिक क्षमताको अभाव हो। तेस्रो भने नेताहरू आफ्नो स्वार्थमा केन्द्रित हुनु हो। अहिले नेताहरूको स्वार्थको कारण नै युक्रेन र रूसबीच युद्ध भइरहेको छ। युक्रेन युद्धको अर्को कुनै कारण छैन। युक्रेन युद्धमा रूसी राष्ट्रपति पुटिनको भने सर्वाधिक ठूलो स्वार्थ छ।

आउनुस् माथि भनिएका बुँदाहरूको क्रमैसँग चर्चा गरौं।

अहिले यसरी विश्वभरि चिन्ताजनक किसिमले महँगी बढ्नुको प्रमुख कारण परोक्ष युद्ध हो। अहिले विभिन्न देशमा परोक्ष युद्ध भइरहेको छ। येमनमा भइरहेको परोक्ष युद्धमा पर्दा अगाडि येमन देखिए तापनि पर्दा पछाडि युद्ध गर्ने देशहरू साउदी अरेबिया र इरान हुन्। इरान र साउदी अरेबिया आफ्नो शक्ति प्रदर्शन गर्न येमनमा परोक्ष युद्ध गरिरहेका छन्। स्मरण रहोस्, परोक्ष युद्धमा जुन देशमा युद्ध भइरहेको छ त्यस देशका नागरिकले अर्को देशका लागि युद्ध गर्छन्। परोक्ष युद्ध गर्ने राष्ट्रहरू पैसा, हातहतियार, प्रविधि, जासूसी एवं युद्धसँग सम्बन्धित जानकारी मात्र पठाउँछन्। आफू प्रत्यक्ष रूपमा युद्धमा संलग्न भने हुँदैनन्।

दोस्रो परोक्ष युद्ध अहिले प्यालेस्टिन क्षेत्रमा भइरहेको छ। यस युद्धमा इजराइल प्रत्यक्ष संलग्न देखिए पनि इजराइलसँग परोक्ष युद्ध भने इरानले गरिरहेको छ। इरानले आफ्नो स्वार्थका लागि फिलिस्तिनीहरूलाई युद्ध गर्न बाध्य पारिरहेको छ। इजराइलले प्रतिरक्षाको नाममा फिलिस्तिनीहरूको हत्या गरिरहेको छ। यसरी इरान र इजराइलले मसल देखाउने स्थान अहिले फिलिस्तिनीहरू बसोवास गर्ने क्षेत्र बनेको छ। सर्वसाधारण फिलिस्तिनीलाई यस युद्धसँग कुनै सरोकार छैन। शान्तिसँग आफूलाई दिएको भूमिमा बस्न पाए पुग्छ। एउटा शान्ति सम्झौता गरेर, फिलिस्तिनी भूमिमा उनीहरूको देश स्थापना गर्न दिएर, त्यस क्षेत्रमा सदाका लागि शान्ति स्थापना गर्न सकिन्छ तर शक्ति राष्ट्रहरू त्यस्तो गर्न दिंदैनन्। फिलिस्तिनी जनतालाई आफ्नो स्वार्थका लागि प्रयोग गरि नै रहन्छन्। इरानले त झनै फिलिस्तिनीहरूलाई शान्तिसँग बस्न दिंदैन। आफ्नो हितका लागि फिलिस्तिनीहरूलाई जहिले पनि युद्धमा होमिरहने इरानले सङ्कल्प नै गरेको छ।

तेस्रो र डरलाग्दो परोक्ष युद्ध भने अहिले युक्रेनमा भइरहेको छ। यो युद्धमा युक्रेन प्रत्यक्ष संलग्न भएको देखिए पनि यथार्थमा युक्रेनलाई उपयोग गरिएको छ। युक्रेनको भूमिमा युद्ध भए तापनि, युद्धमा युक्रेनीहरू संलग्न भए तापनि, यो युद्ध भने रूस र केही युरोपेली राष्ट्रबीच भइरहेको छ । अमेरिका पनि ती युरोपेली राष्ट्रहरूसँग छ जो रूसको विरोधमा छन्। यसरी युक्रेनले आफ्नो राष्ट्रको रक्षाको लागि युद्ध गरेको देखिए पनि यथार्थमा युक्रेनले अहिले अन्य राष्ट्रहरूको लगि रूससँग युद्ध गरिरहेको छ। यस युद्धमा रूस पनि इजराइलजस्तो प्रत्यक्ष संलग्न छ। तर अमेरिकालगाय युरोपका केही राष्ट्र प्रत्यक्षरूपमा युद्धमा संलग्न छैनन् र आफ्नो स्वार्थका लागि युक्रेनलाई उकास्ने काम गरिरहेका छन्। युक्रेन जस्तो सानो र रूसको तुलनामा अति कमजोर राष्ट्रले निरन्तर छ महीनादेखि, रूससँग युद्ध गर्न सक्नुले युक्रेनलाई अमेरिका र केही युरोपेली राष्ट्रहरूको भरपूर सहयोग प्राप्त भइरहेको छ भन्ने तथ्य प्रस्टिन्छ। युक्रेनको गलत नेतृत्वले गर्दा यो देश अहिले परोक्ष युद्धको शिकार हुन पुगेको छ। युक्रेनको जनताले यो कुरा बुझ्नुपर्ने हो।

युक्रेनमा जारी युद्धले अहिले विश्वभरि महँगी बढाउन निर्णायक भूमिका निर्वाह गरेको छ। संसारको अर्थव्यवस्था अहिले मुद्रास्फीतिबाट मन्दीको स्थितिमा जाने क्रममा छ। स्थिति यस्तै रहने हो, बाह्य शक्तिहरूले कूटनीतिको सट्टा शक्ति मात्र प्रदर्शन गर्ने हो भने विश्व अर्थ व्यवस्थमा महामन्दी आउने छ।

आर्थिक हिसाबले संसारको ‘पावर हाउस’ मानिएको अमेरिकामा ४० वर्ष यता नै सर्वाधिक महँगी बढेको छ। यो महँगीले निम्न आय भएका अमेरिकीहरूको जीवन कठिन पारिदिएको छ।

अहिले महँगी बढ्नु र मुद्रास्फीति चुलिनुको कारण विश्व उत्पादन र वितरण व्यवस्थमा सुस्ती आएर होइन। कोरोना–कहरपछि विश्व उत्पादन र वितरण व्यवस्था बलियो भएर जुरुक्क उठेको थियो। सन् २०२१ को मध्यदेखि विश्व उत्पादन र वितरण व्यवस्थाले ठीक ढङ्गले काम गर्न प्रारम्भ गरिसकेको छ। अहिले विश्व उत्पादन र वितरण व्यवस्था, जति माग हुन्छ त्यति नै आपूर्ति गर्न सक्षम छ। उत्पादन र वितरण व्यवस्थमा कुनै किसिमको समस्या छैन। विश्व अर्थ व्यवस्थमा समस्या आउनुको एक मात्र कारण हो विश्वका केही नेताहरूले युक्रेनलाई अनावश्यक किसिमले युद्धमा संलग्न गराउनु। युक्रेनमा युद्ध हुनु। त्यसकारण, अहिले विश्व अर्थ व्यवस्थमा अनिश्चितता देखिनुको प्रमुख कारण केही नेताहरूको स्वार्थ र त्यस स्वार्थले जन्माएको युक्रेन युद्ध हो।

आफ्नो सत्ताको आयु लम्ब्याउन भ्लादिमिर पुटिनले युक्रेन वा अन्य कुनै छिमेकी राष्ट्रमा आक्रमण गर्नु अनौठो कुरा होइन। तर वर्तमान अमेरिकी प्रशासनले यो युद्ध रोक्न खास किसिमको कूटनीतिक क्षमता उपयोग नगर्नु अनौठो कुरा हो। बाइडेन–प्रशासनले युक्रेन युद्ध रोक्न विशेष कूटनीति प्रयोग गर्नुपथ्र्यो, गर्न सकेन। वर्तमान बाइडेन–प्रशासनले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीलाई रूसविरुद्ध युद्ध गर्न हात हतियार दिनुको साटो रूससँग शान्ति सम्झौता गर्न बाध्य पार्नुपथ्र्यो। युक्रेनको युद्ध जुन किसमले अहिले अगाडि बढिरहेको छ, त्यही किसिमले यसलाई अगाडि बढ्न दिने हो भने यसले विश्व अर्थ व्यवस्थालाई तहसनहस पार्नेछ। विश्वभरि गरीबहरूको आर्थिक जीवन झनै कष्टकर हुनेछ। अमेरिकी अर्थतन्त्र पनि समस्याग्रस्त हुनेछ। यस्तो अवस्थामा युक्रेनलाई युद्ध गर्न प्रेरित गर्नुको सट्टा रूससँग शान्तिवार्ता गर्न बाध्य पार्नु बाइडेन–प्रशासनका लागि उचित कूटनीति हुनेछ। यो कुटनीति प्रयोग गर्न बाइडेन– प्रशासन अक्षम देखिएको छ।

युक्रेन युद्धका लागि प्रमुख जिम्मेवार पुटिन हुन्। तर विश्वका प्रभावशाली नेताहरूले बल होइन, कूटनीतिद्वारा उनलाई युद्ध बन्द गर्न दबाब दिनुपर्छ।

 

रूस र युक्रेन दुवैलाई शान्ति वार्तामा आउन बाध्य पारेर अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउन नसक्नुको दोष र विश्व अर्थ व्यवस्थमा देखिएको अनिश्चितता हटाउन ठोस प्रयास नगर्नुको अपजस, दुवै बाइडेन–प्रशासनले बोक्नुपर्नेछ, जुन आउँदो अमेरिकी चुनावमा बाइडेन नेतृत्वको डेमोक्रेटी पार्टी पराजित हुन सक्ने कारण बन्न सक्नेछ।

आफ्नो स्वार्थका कारण वा अन्य तŒवले असर पारेर, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति पुटिनसँग राम्रो सम्बन्ध कायम गरेका थिए। ट्रम्पले अन्य राष्ट्रसँग पनि खराब सम्बन्ध राखेका थिएनन्, व्यक्तिगतरूपमा अनेक उपद्रो गरे तापनि । उनको समयमा अमेरिकी अर्थतन्त्र यस किसिमबाट मुद्रास्फीतिको मारमा परेको पनि थिएन। बाइडेन–प्रशासनको यो असफल युक्रेन नीतिले गर्दा आगामी अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीको पराजय र रिपब्लिकन पार्टीको विजयको सम्भावना बढेर गएको छ।

माथि गरिएको परिचर्चा हामी नेपालीहरूका लागि जानकारी मात्र हो। विश्व अर्थ व्यवस्थमा सुधार ल्याउन एवं युक्रेन–रूस युद्ध रोक्न हामीले कुनै ठोस भूमिका खेल्न सक्तैनौं। तर पनि माथि गरिएको चर्चा हाम्रो लागि उपयोगी हुन सक्छ।

यो जानकारीले विश्व अर्थ व्यवस्थामा देखिएको अनिश्चितताबाट हाम्रो मुलुकको अर्थ व्यवस्थालाई जोगाउन सहयोग पुर्याउन सक्छ । हामीले अनेक किसिमका पूर्व तयारी गर्न सक्छौं।

नेपालमा महँगी अहिले उच्च बिन्दुमा छ। आफ्नो उत्पादन न्यून हुँदै गएको र चीन र भारतको सुरक्षित र अति लाभदायक बजार बन्दै गएको सन्दर्भमा युक्रेनको युद्धले नेपालमा महँगी झनै बढ्ने छ। नेपाललाई महँगीको अति कुप्रभावबाट जोगाउन हामीले अनेक तयारी गर्न अति आवश्यक छ। हामीले मुलुकमा देखिएको महँगी नियन्त्रण गर्न सर्वप्रथम गर्नुपर्ने कार्य हो राष्ट्रिय उत्पादनमा अत्यधिक वृद्धिस भारतबाट ठूलो परिमाणमा भइरहेको आयात प्रतिस्थापन गर्न स्वदेशमा नै विभिन्न वस्तु उत्पादन।

हिमाली एवं पहाडी भूमिको व्यापक प्रयोग हुने किसिमबाट विभिन्न किसिमका कृषि नीति एवं कार्यक्रमहरू पनि स्थानीय एवं सङ्घीय सरकारहरूले ल्याउन आवश्यक छ।

उच्च प्रविधि प्रयोग गरेर, कम लागतमा, ठूलो परिमाणमा कृषि एवं औद्योगिक वस्तुहरू उत्पादन गर्न पनि आवश्यक छ।

यसैगरी हामीजस्ता साना राष्ट्रहरूलाई परोक्ष युद्धबाट अलग रहन यी जानकारीहरूले हामीलाई सहयोग पु¥याउन सक्छन्। भारत र चीनले नेपाल भूमि प्रयोग गरेर परोक्ष युद्ध गर्न सक्ने सम्भावना शून्य छ भन्न सकिने स्थिति छैन। हामी कुनै पनि बेला चीन र भारतको परोक्ष युद्धको चपेटमा पर्न सक्छौं। केही महत्वाकाङ्क्षी एवं स्वार्थी माओवादी नेताहरूको नेतृत्वमा विसं २०५२ देखि २०६३ सम्म नेपालमा चलेको राज्यविरुद्धको युद्ध पनि परोक्ष युद्ध नै थियो। त्यो परोक्ष युद्ध केही बाठा माओवादी नेताहरूको सहयोग लिएर भारतले नेपालविरुद्ध, नेपाललाई कमजोर पार्न गरेको थियो। भारतको हातहतियार सहितको सहयोग नभएको भए नेपालका ठूला प्रहरी चौकी, सेनाको ब्यारेक, सवारी साधन नै ध्वस्त गर्ने गरी कसरी माओवादी विद्रोहीहरूले आक्रमण गर्न सक्थे ? भारत सरकारले ठूलो मात्रामा हात हतियार माओवादी विद्रोहीहरूलाई उपलब्ध गराएको थियो।

तर अब हामी त्यस किसिमको परोक्ष युद्धमा संलग्न हुनुहुँदैन। परोक्ष युद्ध किन र के लागि गरिन्छ हामीलाई थाहा छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, August 26, 2022

https://eprateekdaily.com/2022/08/25/39263/  

No comments:

Post a Comment