Friday, September 9, 2022

Education and Health: Are They Merchandise? -Article-381

 शिक्षा र स्वास्थ्यमा व्यापार किन?

कुनै पनि देश केवल प्राकृतिक स्रोत, साधन एवं धन–सम्पत्ति आदिको अभावले गरीब हुँदैन। गरीब हुने अरू विभिन्न कारण हुन सक्छ। देशवासीको चेतनाको स्तर, राष्ट्रिय परम्परा, संस्कृति, सरकारले निर्माण गर्ने राजनीतिक–आर्थिक नीति–नियम आदिले पनि कुनै देशलाई धनी वा गरीब पार्न सक्छ।

देशवासीको चेतनाको स्तर उच्च छ भने, कुनै पनि राष्ट्र, साधन र स्रोतको अभावमा पनि धनी हुन सक्छ र यो तथ्यको उदाहरणको रूपमा कतार र इजराइललाई लिन सकिन्छ। इजराइलको स्थिति कतारभन्दा पनि विषम छ। इजराइल चारैतिरबाट शत्रु (राष्ट्र) हरूबाट घेरिएको छ। फिलिस्तिनीहरू र लेबनानमा इरानले पालेका योद्धाहरूले इजराइलमाथि बेलाबेला साङ्घातिक हमला गरिरहन्छन्। इरान, इजराइलको कट्टर शत्रु हो। इरान त इजराइल भन्ने देश नै छैन भन्छ। यदि अमेरिकाको सैन्य सहयोग इजराइलाई नहुँदो हो, यदि इजराइलले अमेरिकासँग भरपर्दो मैत्री सम्बन्ध नराखेको हुँदो हो भने, इजराइल भन्ने देश विश्व मानचित्रबाट उहिले नै हराइसकेको हुन्थ्यो। अरब राष्ट्रहरूले इजराइलको अस्तित्व उहिले समाप्त पारिसकेका हुन्थे। यस्तो भयावह र कठिन स्थिति हुँदाहुँदै पनि शत्रुहरूको माझमा इजराइलले आफ्नो अस्तित्व कायम राख्न सकेको छ। प्रशस्त आर्थिक विकास गरेको छ। इजराइलको कृषि विश्वका उन्नत कृषिमध्ये मान्ने गरिन्छ। इजराइलले यो स्तरको आर्थिक प्रगति आफ्नो देशवासीको चेतनाको स्तर उच्च भएको कारणले गर्दा प्राप्त गरेको हो।

कतारलाई पनि उदाहरणको रूपमा लिन सकिन्छ। केही दशक पहिलेसम्म कतारको आर्थिक अवस्था अति सामान्य थियो। गएको केही वर्षभित्र कतारले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। आर्थिक विकासका लगि आवश्यक भौतिक संरचना निर्माण गर्ने पूर्वाधारमा कतारले ठूलो लगानी गरेको छ। हवाई यातायातका लागि दोहा विमानस्थल संसारको नै ‘हब’ हुने किसिमले ठूलो खर्च गरिरहेको छ। चमत्कारी किसिमले आर्थिक प्रगति गरेको कारण कतार अहिले अरब जगत्का शक्ति राष्ट्रहरू मध्ये एक हुन पुगेको छ। करीब २८ लाख जनसङ्ख्या र ११,५८१ स्क्वायर किलोमिटर क्षेत्रफल भएको विश्वको एउटा सानो राष्ट्र कतार, अहिले महाशक्ति राष्ट्रहरूको पङ्क्तिमा गाभिने बाटोमा हुनु आश्चर्यजनक होइन त?

हाम्रो देशमा भने हामीसँग स्रोत र साधनको प्रचुरता भए पनि हामी गरीब छौं। देशभित्र रोजगारको प्रचुर सम्भावना भएर पनि रोजगारका लागि लाखौं सङ्ख्यामा हामी विदेशिएका छौं। हाम्रो चेतनाको स्तर दयनीय छ। हामी व्यक्ति र परिवार केन्द्रित छौं। समाज र राष्ट्र केन्द्रित हुन सकेका छैनौं। सरकारले पनि अव्यावहारिक नीति–नियम निर्माण गर्छ। हाम्रा जनप्रतिनिधिहरू (सङ्घीय एवं प्रदेश) ले पनि देशको आर्थिक विकास हुने किसिमका कानून निर्माण गर्न सकेका छैनन्। उनीहरू जहिले पनि षड्यन्त्र गरेर, गठबन्धन गरेर, चुनावमा विजयी भएर, सदा शक्ति र सत्तामा रहने दाउमा रहन्छन्। हाम्रा जनप्रतिनिधिहरू यही समाजका उपज हुन्। जनप्रतिनिधिहरू यस्तो हुनु हाम्रो सामाजिक चेतनाको स्तर दयनीय हुनु हो। 

हाम्रो चेतनाको स्तर कसरी सोचनीय स्थितिमा छ त्यसका केही उदाहरण हेरौं–

संसारका विकसित देशहरूको आर्थिक विकासको ढाँचा हेर्ने हो भने ती राष्ट्रहरूले आर्थिक विकासका लागि अति महत्वपूर्ण मानिने शिक्षा र स्वास्थ्य, ती देशहरूका समुदायलाई सञ्चालन गर्न दिएका हुन्छन्।

नेपालमा भने शिक्षा र स्वास्थ्य दुवै निजी क्षेत्रले चलाएको छ। बहुसङ्ख्यक स्कूल, कलेज वा शिक्षालय व्यापारीहरूले मुनाफाका लागि सञ्चालन गरेका छन्। सरकारी स्कूलमा केवल गरीबका सन्तान बाध्यतावश अध्ययनका लागि जान्छन्। सामुदायिक वा सरकारी विद्यालयहरूको शैक्षिक स्तर सन्तोषजनक छैन। कलेजहरू त झन् शिक्षा प्राप्त गर्ने स्थल नभएर नेताहरूका लागि विद्यार्थीहरूले राजनीति गरिदिने स्थल बनेका छन्। सरकारी कलेजहरू मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने भूमिका निर्वाह नगरेर, राजनीतिक नेता–कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेका छन्। सङ्क्षिप्तमा भन्ने हो भने नेपालमा शिक्षा अहिले व्यापार भएको छ। राम्रो आम्दानी हात पार्ने भरपर्दो आयमूलक व्यवसाय भएको छ।

यस्तै स्थिति स्वास्थ्य क्षेत्रमा पनि छ। नेपालमा बहुसङ्ख्यक अस्पताल व्यापारीबाट सञ्चालित छन्। अनेक किसिमका स्वास्थ्य सुविधाहरू निजी अस्पतालहरूले उपलब्ध गराएका छन्। अस्पताल सञ्चालन अहिले राम्रो आम्दानी दिने व्यापार हुन पुगेको छ। सरकारी अस्पतालहरूको स्तर भने दुःखलाग्दो छ। निजी अस्पताल अहिले केही व्यक्ति करोडपति हुने माध्यम बनेको छ।

देशको सामाजिक एवं आर्थिक विकासका लागि देशवासीको स्वास्थ्य असल राख्ने स्वास्थ्य क्षेत्र र देशवासीलाई बाँच्नका लागि अनेक ज्ञान एवं सीप सिकाउने, उनीहरूलाई अनेक किसिमका अनुसन्धान गर्न सहयोग प्रदान गर्ने शिक्षा क्षेत्र व्यापार हुन पुगेपछि देशले कसरी आर्थिक विकास गर्न सक्छ?

अहिले स्वास्थ्य र शिक्षा दुवै क्षेत्र एक किसिमले निजी क्षेत्रको नियन्त्रणमा रहेकोले नेपालमा शिक्षा र स्वास्थ्य सुविधा निकै खर्चिलो एवं महँगो हुन पुगेको छ। सामान्य आम्दानी हुने परिवारको आम्दानीको ठूलो अंश केवल शिक्षा एवं स्वास्थ्यमा खर्च हुने गरेको छ। यस्तो स्थितिले उनीहरूको बचत प्रभावित भएको छ। र यो कारणले गर्दा निम्न आय भएका व्यक्तिहरूको आम्दानीले मासिक खर्च पनि नाघ्न सकेको छैन। अर्थात् निम्न आय भएका व्यक्तिहरू बचत गर्न सक्ने स्थितिमा छैनन्। अर्कोतिर स्वास्थ्य र शिक्षालाई व्यापारिक वस्तु बनाएर, तिनलाई अति उच्च मूल्यमा बिक्री गरेर, केही व्यापारी लाखौं, करोडौं कमाउन सफल भएका छन्।

राज्यको फितलो नियमले गर्दा नेपालमा शिक्षा र स्वास्थ्य दुवै राम्रो मुनाफा दिने व्यापार हुन पुगेका छन्। तर यी दुवै सुविधा, स्वास्थ्य र शिक्षा, देशवासीको आधारभूत आवश्यकताभित्र पर्दछ। राज्यले माध्यमिक तहसम्मको शिक्षा र सामान्य स्वास्थ्य सुविधा निश्शुल्क उपलब्ध गराउनुपर्छ। शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सजिलो हुनुपर्छ। 

शिक्षा र स्वास्थ्य सुविधाको व्यवस्थापन सरकार होइन, समुदायले गर्दा राम्रो हुन्छ। हामीले शिक्षा र स्वास्थ्य दुवै समुदाय अन्तर्गत राख्नुपर्छ। यी दुवै क्षेत्र अन्तर्गत सञ्चालन हुने विभिन्न शिक्षालय एवं अस्पतालहरूको स्वामित्व समुदायले ग्रहण गर्नुपर्छ। स्थानीय स्रोत एवं साधन उपयोग गरेर सामुदायिक रूपमा शिक्षालय र अस्पतालहरू सञ्चालन गर्नुपर्छ। शिक्षालय र अस्पताल मुनाफमुखी होइन, सेवामुखी बनाउनुपर्छ। यस्तो गरेमा हामीले शिक्षा र स्वास्थ्य सुविधा महँगो होइन, सस्तो पार्न सक्छौं। गरीबहरूलाई पनि सस्तोमा स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुने वातावरण सृजना गर्न सक्छौं।

यो लेखको उद्देश्य भने निजी शिक्षालय र अस्पतालहरू बन्द गर्नुपर्छ भन्ने होइन। निजी क्षेत्रका शिक्षालय एवं अस्पताल पनि सञ्चालनमा रहनु पर्छ तर उनीहरूको व्यापारिक प्रवृत्तिमा नियन्त्रण हुनुपर्छ। उनीहरूको कार्यलाई मुनाफामुखी होइन, सेवामुखी पार्नुपर्छ।

स्थानीय सरकार– गाउँ, नगर वा प्रदेशको स्वामित्वमा सञ्चालन हुने शिक्षालय एवं अस्पतालहरूको सेवा र सुविधाको स्तरमा यस किसिमले वृद्धि गर्नुपर्छ जसले गर्दा व्यक्ति निजी होइन, सामुदायिक शिक्षालय एवं अस्पतालहरूमा जाने स्थिति सृजना होस्। अर्थात् निजी शिक्षालय तथा अस्पतालहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्छ।

नेपालमा शिक्षालय एवं अस्पतालहरूमा निजी क्षेत्रको भूमिका नियन्त्रणकारी रहेसम्म शिक्षा र स्वास्थ्य सुविधा सस्तो हुन सक्तैन। निजी शिक्षालय तथा अस्पतालहरूले स्तरीय सेवा प्रदान गरे पनि त्यो सेवा केवल धनीहरूले मात्र उपभोग गर्न पाउने स्थिति रहन्छ।

हामीले प्रशासकीय संरचनामा समुदायको भूमिकालाई महत्वपूर्ण किसिमले स्थापित गर्न सकेका छैनौं। हामी आफ्नो गाउँ वा शहरको लागि आफैंले स्रोत एवं साधनको विकास गर्न सक्तैनौं र केन्द्र (सङ्घीय सरकार) को मुख ताक्छौं।

शिक्षा र स्वास्थ्यलाई व्यापारिक वस्तु हुन नदिन सरकार होइन, समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। गाउँ र नगर सक्रिय हुनुपर्छ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, September 9, 2022

https://eprateekdaily.com/2022/09/08/39948/

No comments:

Post a Comment