Friday, April 28, 2023

Will Emergence of New Power Improve Nepali Economy?-Article-410

 नयाँ शक्तिको उदय र नयाँ आर्थिक युगको प्रारम्भ

हालै तीन जिल्ला– बारा, चितवन र तनहुँमा सम्पन्न निर्वाचनको परिणाम बहुप्रतीक्षित थियो। बहुप्रतीक्षित हुनुका अनेक कारण थिए। तर प्रमुख कारण भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतादाताहरूले कुन स्तरमा पत्याउँछन् भनी थाहा पाउनुथियो।

तीन जिल्लाका् उपनिर्वाचनको परिणाम प्राप्त भइसकेको छ। र मुख्यगरी चितवन र तनहुँमा मतदाताले मतपत्रमार्फत दिएको मतले नेपालमा एक वैकल्पिक राजनीतिक शक्तिको माग भएको प्रस्ट भएको छ। साथै उक्त वैकल्पिक शक्तिले नेपालको आर्थिक विकासको नीति र पद्धतिमा परिवर्तन ल्याउने आशा पनि गरिएको छ।

बारा जिल्लामा भएको उपनिर्वाचनको परिणामले खासै महत्व राख्दैन किनभने त्यो चुनाव एकातिर एक्लो अभिमन्यु र अर्कोतिर कौरव सेनाका दर्जनौं महारथीहरूजस्तो थियो। खासमा त्यो चुनाव नभएर एउटा युद्ध रणनीति थियो जुन शत्रुलाई पराजित गर्नका लागि तयार गरिएको थियो। स्वच्छ र जन–उत्तरदायी प्रजातन्त्रमा यसरी अनेक दल मिलेर, मोर्चाबन्दी गरेर, चुनाव जितेको देखिंदैन। यो उपनिर्चाचनको रूप र प्रकृति हेर्दा र गठबन्धनको दाउपेचको विश्लेषण गर्दा, जनताको सच्चा अभिमत पाएर उपेन्द्र यादव विजयी भएको देखिंदैन, मानिंदैन। यादवको विजय निर्वाचनको परिणाम होइन, रणनीतिक परिणाम हो। यादवको लोकप्रियताको परख र परीक्षण उनको आफ्नै चुनाव क्षेत्रमा भइसकेको थियो। आफ्नै चुनाव क्षेत्रमा उनी हारेको ज्ञात तथ्य हो।

तर यो लेखको उद्देश्य उपेन्द्र यादवको विरोध गर्नु भने होइन। न त अन्य पराजित उम्मेदवारहरूको पक्ष लिनु हो। न जनमत पार्टीको लोकप्रियता अभिवृद्धि गर्नु नै हो। यो लेखको उद्देश्य राजनीतिक विश्लेषण गर्नु पनि होइन। यो लेखको उद्देश्य आर्थिक विश्लेषण गर्नु हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू रवि लामिछाने र स्वर्णिम वाग्लेको विजयले नेपालमा आर्थिक विकासको नयाँ युगको सूत्रपात हुन खोजेको सङ्केत दिएको हो कि भनी मनन र चिन्तन गर्नु हो।

रवि लामिछाने नयाँ राजनीतिक शक्ति सृजना गर्ने सर्जकमध्येका एक हुन्। रवि लामिछाने र स्वर्णिम वाग्ले परिवर्तनका केवल एक विम्ब मात्र हुन्। प्रतिनिधि पात्र मात्र हुन्। तर उनीहरू मतदाताको विद्रोहका आवाज हुन्। परम्परागत राजनीतिक शक्ति एमाले, नेपाली काङ्ग्रेस र माओवादीप्रति वितृष्णा रहेको तथ्य जनताले रवि र स्वर्णिमलाई विजयी तुल्याएर देखाएको छ।

जनतालाई अब परिवर्तन चाहिएको छ। आर्थिक विकास नयाँनयाँ सोच र योजना चाहिएको छ। देशभित्रै रोजगार चाहिएको छ। आफ्ना यिनै मागहरू जनताले रवि र स्वर्णिमलाई विजयी तुल्याएर पूरा गर्न खोजेको छ। 

निष्ठा र इमानदारी होइन, कपटले भरिएको राजनीति गर्ने, आफ्नो स्वार्थ र सत्ताको लागि जनताको हितको बेवास्ता गर्ने, कुनै बेला फुट्ने कुनै बेला जुट्ने। छेपारोजस्तो घरीघरी रङ्ग परिवर्तन गर्ने र अनेक किसिमका कुकृत्य गरेर देशको अर्थतन्त्र धराशायी पार्ने एमाले, काङ्ग्रेस र माओवादी नेताहरूको व्यवहारबाट देशवासी थाकिसकेका छन्। रवि र स्वर्णिमले पाएको मत सङ्ख्या र उनका निकटतम प्रतिद्वन्द्वीहरूले पाएको मतसङ्ख्या, दुवै तथ्यले, यस कुराको पुष्टि गर्दछ।

नेपाली जनताले किन वैकल्पिक राजनीति शक्तिको उदय खोजिरहेको छ?

अहिले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ। र यस पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्। भोलिका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेका वा एमालेजस्तो हुन सक्छ। रवि पनि देउवा वा फुकुदाजस्तै हुन सक्छन्। रविको वर्तमानको दिशा परिवर्तन हुँदैन भन्ने ग्यारन्टी गर्न सकिंदैन। तर नेपाली जनताले अब नयाँ राजनीतिक शक्तिको तीव्र कामना गरेको भनेर ग्यारन्टी गर्न सकिन्छ। एमाले, नेका र माओवादी र यिनका नेताहरूबाट देशको आर्थिक विकास होला भन्ने कुरामा जनतालाई पटक्कै विश्वास नरहेको पनि ग्यारन्टी गर्न सकिन्छ।

अब गत निर्वाचन र हालै सम्पन्न उपनिर्वाचनमा मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुको प्रमुख कारणतिर जाऔं। प्रमुख कारण नै आर्थिक विकास हो। गरीबी हो। महँगी हो। परम्परागत राजनीतिक शक्तिहरूबाट नेपालको आर्थिक विकास हुन सक्तैन। नयाँ राजनीतिक शक्तिले मात्र नेपालको आर्थिक विकास गर्न सक्छ। नयाँ राजनीतिक शक्तिको नेतृत्व रविले गर्न सक्छन्। रवि र स्वर्णिमको जोडीले नेपालमा आर्थिक विकासका नयाँ बाटा तयार पार्नेछन्। यस्तैयस्तै सोचले गर्दा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेको हो। रवि अनेक विवादमा परेको भए तापनि ती कुराहरू बिर्सेर मतदाताले उनलाई विजयी तुल्याएको हो। अति कमजोर (राजनीतिक जीवनमा) उम्मेदवार स्वर्णिम वाग्लेलाई अत्यधिक मत दिएको हो।

नेपालमा बन्द हुनै आँटेको आर्थिक विकासको ढोका स्वर्णिमले पूरा खोल्न नसके तापनि आधा भए पनि खोल्न सक्नेछन्? नेपाली जनताको भरोसा पूरा गर्नेछन्? यी प्रश्नको उत्तर खोज्नु पूर्व नेपाली समाजको अनौठो चरित्रको चर्चा गर्न भने आवश्यक छ। हामी नेपालीहरू अरूलाई राम बन भन्छौं तर आफू भने राम बन्न सक्तैनौं। भ्रष्टाचारको घोर निन्दा गर्छौं तर पाए ठूलो माछाले सानो माछा कप्लक्क पारेझै घूस खाइदिन्छौं। नेताको चाकडीको विरोध गर्छौं तर आफ्नो कुनै काम निकाल्न बेइमान नेताको खुट्टासम्म पखाल्न तयार हुन्छौं। अरूलाई इमानदार बन भन्छौं तर आफू बन्दैनौं। यस्तो व्यवहार हामी बहुसङ्ख्यक नेपालीमा पाइन्छ।

हाम्रो समाजको चरित्र अति नै अनौठो छ। यो अनौठो चरित्रबाट स्वर्णिम प्रभावित हुने छैनन् भनेर ठोकुआ गर्न सकिंदैन। तर यदि उनले आफूलाई राम बनाउने प्रयास गरे भने नेपालको आर्थिक विकासका लागि धेरै कुराहरू गर्न भने सक्छन्। एक व्यक्तिको सोचले देशको आर्थिक विकास तीव्र गतिमा भएको उदाहरण धेरै छ। भारतका पूर्व प्रम नरसिम्हा रावको एक्लो सोचले भारतमा उदार अर्थ व्यवस्थाको सूत्रपात गरेको थियो।

स्वर्णिमले नेपालको आर्थिक विकासका लागि धेरै कुरा गर्न सक्छन् भन्ने आधारहरू के के छन् त?

स्वर्णिमले नेपालको आर्थिक विकासका लागि ठोस योगदान पुर्याउन सक्ने आधार धेरै छन्। उनी स्वयं एक युवा हुन्। उनीसँग नवीनतम आर्थिक योजनाहरू छन्। आर्थिक विकासका लागि आवश्यक पर्ने नयाँनयाँ सोच त छ नै, उनीसँग शक्ति पनि छ। जोश छ। साथै उनी अर्थविज्ञ हुन्। अर्थशास्त्रका पेचिला कुराहरू जुन राष्ट्रको आर्थिक विकासका लागि आवश्यक छ, उनलाई राम्ररी थाहा छ। उनले अर्थ क्षेत्रको गहिरो अध्ययन गरेका छन् र अध्यनशील पनि छन्। अर्को र महŒवपूर्ण कुरा उनी सम्बद्ध राजनीतिक दल – राष्ट्रिय स्वतन्त्र पार्टीले देशको आर्थिक विकास गर्छु भन्ने बाचा गरेको छ। यो पार्टी अहिलेसम्म देशको आर्थिक विकासप्रति चिन्तित र जागरुक देखिएको छ।

विश्व अर्थ व्यवस्थमा भएका नयाँनयाँ परिवर्तन र त्यसबाट नेपालले लिन सक्ने फाइदाहरूबारे स्वर्णिमलाई राम्रो जानकारी हुन सक्छ।

रवि लामिछानेको नियमित निगरानीले स्वर्णिमको महत्वाकाङ्क्षामा अंकुश लगाउने कार्य गर्नेछ, यदि स्वर्णिमले आर्थिक विकासका कुरालाई बेवास्ता गरेर केवल पद र शक्तिलाई महत्व दिए भने, केवल सत्तामुखी भए भने। अर्कोतिर रविले पनि जनतालाई अनेक आश्वासन दिएकाले उनले जनतालाई झुक्याउन कठिन छ किनभने उनले त्यस्तो गरेमा अर्को चुनाव उनको लागि उनको राजनीति जीवन अन्त्य हुने अवसर बन्न सक्नेछ।

रवि र स्वर्णिमको जोडीले, मुख्यगरी आर्थिक क्षेत्रमा केही सुधार गर्नेछ भनी आशावादी हुने प्रशस्त ठाउँ छ। यो जोडीको ध्यान सर्वप्रथम बेरोजगारतिर जानेछ, जानु नै पर्नेछ। रोजगारको लागि युवाहरू विदेशतिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने यो जोडीले अवश्य पनि कार्य गर्नेछ।

कृषि उत्पादनमा आएको ठूलो ह्रास रोक्न यो जोडीले कार्य गर्नेछ। निर्यात वृद्धिमा ध्यान दिनेछ। देशभित्र रोजगार सृजना गर्न नयाँनयाँ योजनाहरू ल्याउने छ। वा त्यस्तो गर्न सक्नेछ।

सर्वाधिक महत्वपूर्ण कुरा भने यो जोडीले नेपालीहरूमा आएको चरम निराशा ‘यो देशमा अब आर्थिक विकास सम्भव छैन’ लाई कम पार्न रवि–स्वर्णिम जोडीले महत्वपूर्ण भूमिका खेल्नेछ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 28, 2023

https://eprateekdaily.com/2023/04/27/50330/ 

1 comment: