किन हुन्छ वैदेशिक व्यापार?
दुई देशबीच हुने वैदेशिक व्यापार वा एक देशको
अनेक देशसँग हुने वैदेशिक व्यापारका अनेक कारण छन्। ती अनेक कारणहरूमध्ये एउटा
प्रमुख कारण लागत हो। उत्पादन लागत हो।
कुनै वस्तु आफ्नो देशमा उत्पादन गर्दा महँगो
हुन्छ भने त्यस्तो वस्तु आयात गरिन्छ। कुनै वस्तु आफ्नो देशमा अन्य देशहरूको
तुलनामा सस्तोमा उत्पादन गर्न सकिन्छ भने त्यस्तो वस्तु उत्पादन गरेर निर्यात
गरिन्छ। उदाहरणका लागि नेपालमा एक क्विन्टल चामल उत्पादन गर्दा रु पाँच हजार
उत्पादन लागत पर्छ तर त्यही चामल सोही तौलमा भारतबाट आयात गर्दा रु तीन हजार
भुक्तानी गर्नुपर्छ भने नेपालले चामल भारतबाट आयात गर्नु उपयुक्त हुन्छ। यसैगरी
भारतले एक क्विन्टल अलैची आफ्नो देशमा उत्पादन गर्दा उत्पादन लागत पच्चीस हजार
रुपियाँ पर्दछ र त्यही अलैंची सोही तौलमा नेपालबाट आयात गर्दा बीस हजार पर्दछ भने भारतले स्वयं अलैची
उत्पादन गर्दैन। लागतको कारणले गर्दा भारतले नेपालबाट अलैंची आयात गर्छ। उत्पादन
लागतको कारणले गर्दा विभिन्न राष्ट्रहरू बाध्यात्मक किसिमले यसरी वैदेशिक
व्यापारमा संलग्न हुन्छन्। उत्पादन लागतले कुनै पनि देशलाई वैदेशिक व्यापारमा
संलग्न हुन यसरी बाध्य पार्दछ।
कुनै पनि राष्ट्र वैदेशिक व्यापारमा संलग्न हुने अर्को महत्वपूर्ण कारण उत्पादनका साधनहरू– प्राकृतिक स्रोत, श्रम, पूँजी र उद्यमशीलताको सहज र प्रभावकारी उपलब्धता हो। विशाल पूँजी, उन्नत प्रविधि, कुशल श्रम आदिको अभावमा कुनै एउटा राष्ट्र आफू स्वयंले हवाइ जहाज निर्माण गर्न सक्तैन र उसले बाध्य भएर अमेरिका वा युरोपियन युनियनको राष्ट्रबाट बोइङ वा एयरबस कम्पनीसँग हवाइजहाज खरीद गर्नुपर्छ वा वैदेशिक व्यापारमा संलग्न हुनुपर्छ।
अहिलेको यो आधुनिक युगमा कुनै पनि देशका नागरिकले हजारौं किसिमका वस्तु एवं सेवा उपभोग गर्छन्। आफ्ना देशका नागरिकले यसरी हजारौं किसिमका उपभोग गर्ने वस्तु कुनै पनि एउटा देश स्वयंले उत्पादन गर्नु सम्भव हुँदैन। लागत, प्रविधि र ज्ञानको कारणले सम्भवा हुँदैन। स्रोत र साधनको उपलब्धताको कारणले गर्दा पनि सम्भव हुँदैन। इलेक्ट्रोनिक्स सामान, बैट्री, बिजुली बल्ब, मोबाइल आदि निर्माण गर्दा प्रयोग हुने दुर्लभ भू–पदार्थ (Rare earth materials) ठूलो मात्रामा केवल चीनमा मात्र उत्पादन हुन्छ। संसारभरिमा रहेको दुर्लभ भू–पदार्थको सञ्चिति ११० मिलियन टन रहेको अनुमान गरिएको छ। आश्चर्य! चीनसँग मात्र उक्त दुर्लभ भू–पदार्थको सञ्चिति ४४ मिलियन टन रहेको छ। अर्थात् विश्वभरिका कुल दुर्लभ भू- पदार्थको सञ्चितिमध्ये चीन एक्लो (राष्ट्र) सँग ४० प्रतिशत सञ्चिति छ। चीन पछि अति कम राष्ट्रहरूसँग मात्र दुर्लभ भू–पदार्थको सञ्चिति छ। भिएतनाम, रूस, ब्रजीलजस्ता सीमित राष्ट्रहरूसँग मात्र दुर्लभ भू–पदार्थको सञ्चिति रहेको छ। ती राष्ट्रहरूले मात्र दुर्लभ भू–पदार्थ उत्पादन र आपूर्ति गर्न सक्छन्।
अहिले पनि दुर्लभ भू–पदार्थको उत्पादन र
आपूर्तिमा चीनको ठूलो नियन्त्रण छ। विश्वको कुल उत्पादन मध्ये चीन एक्लैले ७०
प्रतिशत जति दुर्लभ भू–पदार्थ उत्पादन गर्छ। दुर्लभ भू–पदार्थ खरीद गर्न विश्वका
धेरै राष्ट्रहरू चीनको शरणमा जानुको विकल्प छैन। अमेरिकाले पनि ठूलो परिमाणमा
दुर्लभ भू–पदार्थ चीनबाट नै खरीद गर्छ।
कुनै पनि राष्ट्रले आफ्नो देशभित्र उसका
नागरिकले प्रयोग गर्ने सम्पूर्ण वस्तु एवं सेवा उत्पादन गर्न सक्नु यो विज्ञान र
प्रविधिको युगमा सम्भव छैन। यो स्थितिले पनि कुनै पनि राष्ट्रलाई अनिवार्यरूपमा
वैदेशिक व्यापारमा संलग्न हुन बाध्य पार्छ।
कुनै पनि राष्ट्र वैदेशिक व्यापारमा संलग्न
हुनुपर्ने तेस्रो महत्वपूर्ण कारण
वैदेशिक मुद्रा आर्जन हो। आफ्ना नागरिकले उपभोग गर्ने अनेक किसिमका वस्तु एवं सेवा
संसारका अनेक राष्ट्रबाट खरीद गर्न एक राष्ट्रले अनेक राष्ट्रमा आफ्ना वस्तु
निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्नुपर्छ। उदाहरणका लागि नेपालले आफ्ना
नागरिकलाई आवश्यक पर्ने ऊर्जा (पेट्रोलियम पदार्थ, बिजुली, कोइला आदि), खाद्यान्न, फलफूल, तरकारी, तेल आदि भारतबाट खरीद गर्न आफ्ना अनेक उत्पादन
भारततर्फ निर्यात गरेर, भारतलाई बिक्री गरेर, भारतीय मुद्रा
(भारु) आर्जन गर्नुपर्छ। नेपालसँग भारतबाट विभिन्न वस्तु आयात गर्न जति भारु
आवश्यक हो त्यति नभएमा नेपालले भारतसँग ऋण (भारु) लिनुपर्छ। अथवा विश्वका अनेक देश
वा संस्थाहरूसँग ऋण (अमेरिकी डलर, युरो, पौण्ड आदि) लिएर भए पनि भारतलाई भुक्तान
गर्नुपर्छ।
यसरी आफ्ना देशका नागरिकलाई उपभोगका लागि
आवश्यक पर्ने तर आफ्नो देशमा उत्पादन गर्न नसकिने अनेक वस्तु आयात गर्न कुनै पनि
राष्ट्रले वैदेशिक व्यापारमा संलग्न भएर वैदेशिक मुद्रा आर्जन गर्नुको विकल्प
हुँदैन। संयुक्त राज्य अमेरिका, रूस, चीन, फ्रान्स, जर्मनीले ठूलो परिमाणमा वस्तुहरू निर्यात गर्ने
हुनाले यी देशलाई विदेशी मुद्राको अभाव हुँदैन। तर नेपाल, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तानजस्ता
राष्ट्रलाई, निर्यातको परिमाण ठूलो नभएको हुँदा, वैदैशिक मुद्राको
ठूलो खाँचो पर्दछ।
समाचारहरूले जनाए अनुसार केही वर्ष पहिले
श्रीलङ्काको अर्थ व्यवस्था ज्यादै कमजोर भएर, त्यस देशको मुद्रा सञ्चितिमा ठूलो ह्रास आएर आफ्ना
नागरिकका लागि आवश्यक (विदेशी) औषधीहरू खरीद गर्न वैदेशिक मुद्रा थिएन।
श्रीलङ्कामा विदेशी मुद्राको ज्यादै अभाव भएको थियो। श्रीलङ्कालाई औषधी खरीद
गर्नसम्म विदेशी मुद्राको अभाव हुन पुगेको थियो।
अहिलेको यो सूचना, प्रविधि र ज्ञानको
प्रतिस्पर्धात्मक युगमा कुनै एक राष्ट्रको लागि वैदेशिक व्यापार स्वेच्छा होइन, बाध्यता हो।
विश्वको सर्वाधिक धनी राष्ट्र सं.रा. अमेरिका पनि वैदेशिक व्यापारमा अनिवार्यरूपमा
संलग्न हुनुपर्ने स्थिति छ। अमेरिकाले सस्ता सामानहरू, जुन अमेरिकमा
उत्पादन गर्दा उत्पादन लागत महँगो पर्छ– जस्तै लुगा, खेलौना, साना औजार, आदि चीनबाट आयात गर्छ। विश्वका अनेक देशमा
महँगोमा बिक्री गर्न सकिने वस्तुहरू जस्तै हवाइ जहाज, हैभी इन्जिनीयरिङ
सामान, सूचना एवं प्रविधिका सामान अनेक राष्ट्रमा निर्यात गर्छ।
अर्थात् अमेरिकाले आफ्नो देशमा सस्तोमा उत्पादन गरेर महँगोमा विश्वका अनेक
राष्ट्रहरूमा बिक्री गर्न सकिने वस्तुहरू देशभित्र उत्पादन गर्छ भने आफ्नो देशमा
उत्पादन गर्दा उत्पादन लागत महँगो पर्ने वस्तुहरू विदेशबाट मुख्यगरी चीन, भारत, बङ्गलादेश, भिएतनाम आदि श्रम
लागत कम भएका देशहरूबाट आयात गर्छ।
वैदेशिक व्यापारको क्षेत्रमा नेपालको स्थिति
अति दयनीय छ। उत्पादन लागत महँगो हुने कारणले गर्दा नेपालले असङ्ख्य वस्तु
नेपालमैं उत्पादन गर्न सक्तैन। यो कारणले गर्दा नेपालले ठूलो मात्रामा अनेक वस्तु
भारत एवं चीनबाट आयात गर्छ। विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल अति पछाडि
रहेकोले पनि नेपालले अनेक किसिमका वस्तु नेपालमा नै उत्पादन गर्न सक्तैन र त्यस्ता
वस्तुहरू भारत, चीन एवं अन्य राष्ट्रहरूबाट आयात गर्छ।
उत्पादन लागत र प्रविधिको क्षेत्रमा नेपाल धेरै
पछाडि रहेको र नेपालले उत्पादन गर्ने वस्तुहरू भारत र चीनले नेपालभन्दा ज्यादै
सस्तोमा उत्पादन गर्न सक्ने भएकाले नेपालले आफ्ना निकटका ठूला छिमेकी बजार (चीन र
भारत) हरूबाट उल्लेखनीय फाइदा उठाउन सकेको छैन। अर्थात् उत्पादन लागतको कारणले
गर्दा नेपालले चीन र भारततर्फ मात्र होइन, विश्वका विभिन्न राष्ट्रमा आफ्ना सामान निर्यात
गर्न सकेको छैन। नेपालले वैदेशिक व्यापारबाट खासै फाइदा उठाउन सकेको छैन। नेपालको
वैदेशिक व्यापार ऋणात्मक स्थितिमा छ।
नेपालले वैदेशिक व्यापारबाट कसरी फाइदा उठाउने?
माथि वर्णन गरिएको स्थिति हुँदाहुँदै पनि
नेपालले वैदेशिक व्यापारबाट उच्च लाभ प्राप्त गर्न सक्छ। यदि नेपालले मौलिक नेपाली
वस्तुहरू जस्तै कपडा, मूर्ति, खाद्य पदार्थ– अचार, मसेउरा, गुन्द्रुक, हस्तकलाका सामग्री
आदि उत्पादन गरेर संसारका विभिन्न राष्ट्रहरूमा बिक्री गर्ने हो भने नेपालले
वैदेशिक व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सक्छ। अर्थात् अनेक मौलिक नेपाली
वस्तुहरू विश्वका अनेक राष्ट्रमा बिक्री गरेर नेपालले वैदेशिक व्यापारबाट उच्च लाभ
प्राप्त गर्न सक्ने उच्च सम्भावना एवं ठूलो अवसर छ। अहिले विश्वका अनेक देशमा
नेपालीहरूको ठूलो बसोवास रहेको छ। साथै विदेशमा रहेका भारतीय, पाकिस्तानी, बङ्गलादेशीहरूले
मौलिक नेपाली वस्तुहरू मन पराउने गरेका छन् पनि।
नेपालले सेवाको क्षेत्रमा रहेर पनि वैदेशिक
व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सक्छ। नेपालले सूचना, प्रविधि एवं
ज्ञानको क्षेत्रमा संलग्न भएर अनेक किसिमका सेवाहरू नेपालबाटै विश्वका अनेक
राष्ट्रहरूलाई बिक्री गर्न सक्छ। विभिन्न सफ्टवेयरहरू उत्पादन गरेर बिक्री गर्न
सक्छ। यसैगरी सूचना एवं प्रविधिका क्षेत्रमा कार्य गर्ने ठूला–ठूला कम्पनीहरूमा
काम गरेर पनि नेपालीहरूले नेपालमा नै बसेर राम्रो आय आर्जन गर्न सक्ने सम्भावना छ।
कुन–कुन क्षेत्रमा कार्य गर्दा वा कुन कुन
वस्तु नेपालमा उत्पादन गर्दा वैदेशिक व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सकिन्छ
त्यस्ता क्षेत्र र वस्तुहरूको नेपालले गम्भीरतापूर्वक खोजी गर्नुपर्दछ। र त्यस्ता
वस्तु एवं सेवा नेपालभित्र उत्पादन गरेर नेपालले वैदेशिक व्यापारबाट लाभ प्राप्त
गर्नुपर्छ। वर्तमान विश्व व्यापारको क्षेत्रमा जति धेरै प्रतिस्पर्धात्मक छ त्यति
नै धेरै अवसर र सम्भावनाहरूले भरिएको पनि छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, January 3, 2025
https://eprateekdaily.com/2025/01/03/78583/