के आर्थिक विकास र राजनीतिक व्यवस्थाबीच सम्बन्ध छ?
कुनै पनि देशको आर्थिक विकासका लागि साम्यवादी
राजनीतिक व्यवस्था उपयुक्त हुन्छ वा लोकतान्त्रिक राजनीतिक व्यवस्था? अर्थात् कुनै पनि देशको आर्थिक विकासको लागि
त्यस देशको प्रमुख प्रशासक (प्रधानमन्त्री वा राष्ट्रपति) तानाशाह हुनु उपयुक्त हो
वा प्रजातान्त्रिक पक्षधर हुनु उपयुक्त हो? यसैगरी राजनीति व्यवस्था र राष्ट्रको आर्थिक विकासबीच कुनै
सम्बन्ध छ, वा छैन? सामाजिक मनोविज्ञान र राष्ट्रको आर्थिक विकासबीच सम्बन्ध छ,
वा छैन?
संयुक्त राज्य अमेरिकाले पचास वर्षमा गरेको
चमत्कारी आर्थिक विकासले के प्रमाणित गर्दछ भने कुनै पनि देशको आर्थिक विकासको
गतिलाई तीव्र बनाउन त्यस देशमा राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुन नितान्त
आवश्यक छ। राजनीतिक व्यवस्था प्रजातान्त्रिक भए मात्र देशले आर्थिक विकास गर्न
सक्छ। प्रजातान्त्रिक व्यवस्था अन्तर्गत बजारले स्वतन्त्रतापूर्वक काम गर्न
पाउनुपर्छ। बजारमा केन्द्र वा राजनीतिक पार्टी वा सरकारको कुनै पनि किसिमको
नियन्त्रण हुनुहुँदैन। उत्पादनका साधनहरू– भूमि, श्रम, पूँजी र सङ्गठनले
स्वतन्त्रतापूर्वक कार्य गर्न पाउनुपर्छ। यी साधनहरूमाथि कुनै पनि किसिमको
नियन्त्रण हुनुहुँदैन। अर्थात् भूमिको स्वामी सरकार वा समाज होइन व्यक्तिविशेष
हुनुपर्छ। आफ्नो भूमिमा के, कति र कसरी उत्पादन
गर्ने भनी व्यक्तिले स्वतन्त्रतापूर्वक निर्णय र कार्यान्वयन गर्न पाउनुपर्छ। यही
कुरा पूँजी, श्रम र सङ्गठनको सम्बन्धमा लागू हुन्छ।
अमेरिकाले उत्पादनका साधनहरूमाथि नियन्त्रण गर्दैन। त्यति मात्र होइन, बेला–बेला अनियमन (Deregulation) को अभ्याससमेत गर्दछ। अमरिकाले बेला–बेला
अनियमन अर्थात् भएका नियमहरूलाई खारेज गरेर व्यापार व्यवसाय सञ्चालन गर्न सहज
वातावरण बनाउने कार्य पनि गर्दछ। झन्झटिला नियमहरू खारेज गर्ने कार्य पनि गर्दछ।
अर्कोतिर, चीनको आर्थिक विकासले के प्रमाणित गर्दछ भने कुनै पनि देशमा
आर्थिक विकास तीव्र गतिमा गर्नका लागि त्यस देशमा राजनीतिक व्यवस्था
प्रजातान्त्रिक हुन आवश्यक छैन। देशको आर्थिक विकासका लागि राजनीतिक व्यवस्था
पूर्वशर्त होइन। साम्यवादी वा तानाशाही राजनीति व्यवस्था अभ्यास गरेर पनि
राष्ट्रहरूले आफ्न आर्थिक विकासको
गति तीव्र पार्न सक्छन्। उल्टो यदि तानाशाहहरू इमानदार हुने हो भने आर्थिक विकासको
गति झनै तीव्र हुन पुग्दछ। राष्ट्र आर्थिक महाशक्ति राष्ट्रहरूको सूचीमा पर्न सक्छ।
विश्वको प्रथम आर्थिक महाशक्ति राष्ट्र नै पनि हुन सक्छ। चीनले गरेको चमत्कारी
किसिमको आर्थिक प्रगतिले यी कुराहरूको पुष्टि गर्दछ।
चीनले चमत्कारी किसिमले आर्थिक प्रगति, ज्यादै छोटो अवधिमा, गरेको छ। र त्यो छोटो अवधिमा द्रुततर गतिमा आर्थिक प्रगति
गर्न चीनलाई सहयोग त्यस देशले अङ्गीकार गरेको तानाशाही व्यवस्थाले गरेको छ। चीनका
राष्ट्रपति सी जिनपिङ गएको १२ वर्षदेखि चीनको सर्वोच्च वा शक्तिशाली पदमा आसीन छन्।
निर्वाचन नभई छनोट विधिद्वारा वा तानाशाही व्यवस्थाद्वारा सर्वोच्च पदमा पुगेका सी
जिनपिड्ढो शासनकालमा, चीनमा, दिन दुई गुना र रात चौगुना गतिमा आर्थिक प्रगति
भएको छ। सीले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र तुल्याएका छन्। कुनै समयमा
गरीब राष्ट्रहरूको श्रेणीमा पर्ने चीन तानाशाही व्यवस्था अङ्गीकार गरेर अहिले उच्च
आर्थिक विकासको कारण, विश्वको एक
शक्तिशाली राष्ट्र हुन पुगेको छ।
चीनले गरेको आर्थिक विकास र अमेरिकाले गरेको
आर्थिक विकासको, दुवै देशको आर्थिक
विकासको आधारभूमि हेर्दा कुनै पनि देशले द्रुततर गतिमा आर्थिक विकास गर्न त्यस
देशले खास किसिमको राजनीतिक व्यवस्था अङ्गीकार गर्नुपर्छ भन्ने मान्यता असत्य
साबित हुन्छ। अर्थात् राष्ट्रको आर्थिक विकास र राजनीतिक व्यवस्थाबीच कुनै पनि
किसिमको सम्बन्ध रहेन छ भन्ने धारणा निर्माण गर्न कुनै पनि व्यक्ति बाध्य
हुनुपर्ने स्थिति हुन्छ।
कुनै पनि देशले आर्थिक विकास गर्नका लागि
पूर्वशर्त के रहेछ त? यो प्रश्नको उत्तर
ज्यादै महत्वपूर्ण छ। ज्यादै जटिल पनि छ। तर यो प्रश्नको उत्तर ज्यादै सजिलो छ।
कुनै पनि देशको आर्थिक विकास तीव्र गतिमा हुन त्यस देशको जनताको मनोविज्ञान वा
सामाजिक मनोविज्ञान सकारात्मक हुन आवश्यक छ। व्यवहारले त्यही देखाइरहेको छ र
प्रमाणसहित देखाइरहेको छ।
जनताको सकारात्मक मनोविज्ञान कुनै पनि
राष्ट्रको आर्थिक विकासको लगि पूर्वशर्त हो। जनताको मनोविज्ञान सकारात्मक छैन।
सकारात्मक मनोविज्ञान नभएको समाजले बेइमान, भ्रष्टाचारी तथा सत्तालोलुप नेता उत्पादन गरिरहेको छ। त्यस
किसिमको चरित्र भएका नेताहरूलाई निर्वाचित गरेर संसद्मा पुर्याइरहेको छ। निर्वाचित नेताहरू सामान्य जनताभन्दा आफू र आफ्ना दलका आसेपासेहरूलाई फाइदा र सुविधा पुर्याउन तल्लीन हुन्छन्। देशको आर्थिक हितलाई महत्व दिंदैनन्। यस्तो स्थितिमा कुनै पनि देशमा
आर्थिक विकासको गति तीव्र हुन सक्तैन। उल्टो, राष्ट्र क्रमिकरूपमा गरीबीको खाल्डोमा खस्ने बाटोतिर लाग्छ।
जनताको मनोविज्ञान वा सामाजिक मनोविज्ञान सकारात्मक नभएकोले, जनता विभाजित भएकोले, माली, हाइटी, कंगो, रवान्डा, अफगानिस्तानजस्ता राष्ट्रहरू गरीबीको
कुचक्रभित्र रहन बाध्य भएका छन्। निरन्तरको द्वन्द्व, सत्ता–सङ्घर्षले गर्दा अफ्रिकाका अनेक देशहरू साधन र
स्रोतले भरिपूर्ण भएर पनि निर्धनताको स्थितिबाट बाहिर आउन सकिरहेका छैनन् । सुडान
अहिले भोखमरीको स्थितिमा छ। निरन्तर चलिरहेको सङ्घर्षले सुडानलाई झन्झन् गरीब
बनाउँदै लगेको छ। कंगो पनि अहिले सङ्घर्षको बोझले थिचिएको छ। लेबेनानलाई गरीब
बनाउन त्यहाँ भएको सत्ता सङ्घर्ष र द्वन्द्व नै जिम्मेवार छ।
पाकिस्तान, बङ्गलादेश, बर्मा, नेपालजस्ता देशलाई गरीब तुल्याउन त्यहींका
जनताको प्रतिकूल मनोविज्ञान जिम्मेवार रहेको देखिन्छ। भारतको स्थिति अलि पृथक छ।
भारतमा प्रजातन्त्र त छ, तर त्यो
प्रजातन्त्रको स्वरूप पूर्ण प्रजातान्त्रिक छैन। भारतमा अहिले लोकतान्त्रिक
तानाशाही छ। यति हुँदाहुँदै पनि भारतमा आर्थिक विकासप्रति त्यहाँको जनताको
मनोविज्ञान सकारात्मक भएकोले भारतले आर्थिक प्रगति तीव्र रूपमा गर्न सकेको छ।
भारतीय जनताको सकारात्मक मनोविज्ञान भएको कारणले नरेन्द्र मोदीजस्ता इमान्दार नेता
सत्तामा पुग्न सफल भएका छन्। मोदी, कार्यशैलीको
हिसाबले तानाशाही कायम गर्ने प्रवृत्तिको देखिए पनि राष्ट्रको आर्थिक विकासका लागि
भने उनी इमानदार देखिएका छन्। उनको व्यवहारले त्यही देखाइरहेको छ।
देशको आर्थिक विकासको लागि जनताको मनोविज्ञान
सकारात्मक हुन नितान्त आवश्यक छ। जनतामा एकता, विकासप्रति साझा धारणा, इमानदारी र समर्पण भाव नभएसम्म वा जनताको मनोविज्ञान
सकारात्मक नभएसम्म राष्ट्रले आर्थिक विकास गर्न सहज हुँदैन। यो तथ्य हामीले बुझ्न
आवश्यक छ। राजनीतिक व्यवस्थाको कारणले मात्र हाम्रो देश आर्थिक विकासको पथमा मन्द
गतिमा हिंडेको होइन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, March 07, 2025
https://eprateekdaily.com/2025/03/07/82188/
No comments:
Post a Comment