Friday, September 7, 2012

Use Of Press Freedom For Economic Development-Article-58


प्रेस स्वतन्त्रताको उपयोग गरिबी कम पार्नमा हुनु पर्छ

नेपालमा अहिले विद्यमान रहेको प्रेस स्वतन्त्रतालाई अन्य विकसित मुलुकहरुमा रहेको प्रेस स्वतन्त्रता भन्दा कुनै पनि हिसाबले कम मान्न सकिँदैन। आम नेपालीहरुले अहिले उत्कृष्ट किसिमको प्रेस स्वतन्त्रताको उपभोग गरि रहेका छन। एक सामान्य नागरिकले पनि सचिव, मंत्री, प्रधान मंत्री जस्ता उच्च तहमा रहेका र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको पदीय कार्यको आलोचना लेखेर वा बोलेर गर्न सक्छ। एक सामान्य नागरिकले पनि आफूलाई लागेका कुराहरु पत्र पत्रिकामा प्रकाशित गरेर वा सभा सम्मेलन आयोजना गरेर अभिव्यक्त गर्न सक्छ। जुन सुकै दलको नेता, सामाजिक कार्यकर्ता वा सार्वजनिक व्यक्तित्वको बारेमा कुनै एक व्यक्तिले आफ्नो मनमा लागेका सकारात्मक वा नकारात्मक विचारहरु अभिव्यक्त गर्न सक्छ। पत्र पत्रिकाहरुले पनि प्रेस स्वतन्त्रताको उपभोग गर्दै आफूलाई लागेका कुराहरु पत्र पत्रिकामा स्वतन्त्रतापूर्व लेख्न सक्छन। उनीहरुले कुनै पनि किसिमको स्थानीय वा केन्द्रिय सेन्सरसिपको सामना गर्नु परेको छैन। एउटा सामान्य नेपाली नागरिकले पनि टुइटर, फेस बुक, युटुब जस्त विश्व विख्यात सामाजिक संजाल सजिलै सँग प्रयोग गर्न सक्छ। सामान्य अवस्थाका र सलिल सामाग्रीहरु फेस बुक वा युटुवमा राख्न कुनै पनि नेपालीले सरकारसँग कुनै पनि किसिमको अनुमति लिनु पर्दैन। नेपालमा सामान्य लेखपढ गर्न जान्ने व्यक्तिले पनि लैपटप, वा डेस्कटप खोलेर संसारमा के के भइ रहेका छन सजिलै सँग थाहा पाउन सक्छ। गुगुल सर्च इन्जन वा यस्तै अन्य माध्यम्  प्रयोग गरेर आफूलाई रुचि र आवस्यकता भएको सामाग्री इन्टेरनेटबाट प्राप्त गर्न सक्छ, सरकारले त्यस किसिमका वेब साइटहरु ब्लक्ड (blocked)  गरेको छैन्। यसै गरि, सरकारले यो वा त्यो वेबसाइट, सामाजिक संजाल  निषेधित  गरिएको छ भनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा घोषणा गरेको छैन पनि। यस हिसाबले आम नेपालीले उत्कृष्ट प्रेस स्वतन्त्रता उपभोग गरेको तथ्यलाई नकार्न मिल्दैन, मौजुदा परिस्थितिमा।
कतिपय यस्ता मुलुकहरु पनि छन जसले अहिले पनि, यो आम संचारको युगमा पनि, आफ्ना नागरिकहरुलाई प्रेस स्वतन्त्रताको अधिकत्म उपभोग गर्न दिएका छैनन। सरकारले निर्देशित गरेको घेरा भित्र रहेर त्यहाँका पत्र पत्रिकाहरुले समाचार, विचार आदि प्रकाशित गर्नु पर्दछ।  व्यक्तिहरुले पनि आफ्नो मनमा लागेका विभिन्न विषयगत कुराहरु लेखेर व बोलेर अभिव्यक्त गर्ने पूर्णतया छुट पाएका छैनन्। विभिन्न किसिमका प्रत्यक्ष वा अप्रत्यक्ष सेन्सरसीपको सामना गर्नु परेको छ। चीनले अहिले पनि विभिन्न वेबसाइटहरु ब्लक  गरेको छ। समाचारहरुमा उल्लेख भए अनुसार चीनले फेस बुक सन् २००८ देखि, युटुब २००९ देखि र ट्विटर २००९ देखि ब्लक गरेको, जुन अहिलेसम्म पनि कायम नै छ। यसै गरि गुगल प्लस, पिकासा, गुगल डक्स जस्ता अन्य विभिन्न वेब साइटहरु पनि ब्लग गरेको छ।   
नेपालमा पनि पंचायतकालमा प्रेसमाथि पूर्ण नियन्त्रण थियो, वाक् स्वतन्त्रता थिएन। नेपालीहरुले वाक् स्वतन्त्रता (freedom of speech)  उपभोग गर्न पाएका थिएनन्। तर २०४७ सालको राजनैतिक परिवर्तन र पंचायतको अवसानले नेपालमा प्रेस एवं वाक् स्वतन्त्रताको ढोका खोल्यो। आम नागरिकले खुला संचार नीतिको अभ्यास गर्न सक्ने वातावरण सृजना गर्यो। नेपालीहरुले, केही अपवाद बाहेक, उत्कृष्ट किसिमको प्रेस स्वतन्त्रताको उपभोग गर्न थाले, २०४७ सालको राजनैतिक परिवर्तन पछि। यस हिसाबले नेपालमा वास्तविक प्रेस वा वाक् स्वतन्त्रताको स्थापना गर्ने श्रेयता २०४६/ ४७ को जन आन्दोलनलाई जान्छ। पंचायती व्यवस्था पतन हुनुको प्रमुक कारण पनि जनताको प्रेस स्वतन्त्रताको हनन नै थियो।
तर प्रश्न उठ्छ, नेपालीहरुले जुन किसिमको प्रेस वा वाक् स्वतन्त्रताको उपयोग गरि रहेका छन के त्यसले आम नेपालीको राजनैतिक एवं सामाजिक जिवनमा सकारात्म परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ त? नेपालको मौजुदा प्रेस स्वतन्त्रताले के नेपालीहरुको गरिबी कम पार्नमा ठोस योगदान पुर्याएको छ त? के  प्रेस स्वतन्त्रताको उपयोग राष्ट्रिय गरिबी काम पार्नमा गरिएको छ त? प्रेस स्वतन्त्रता केवल केही राजनैतिक दल वा तिनका नेताहरुका लागि सत्ता र शक्ति प्राप्त गर्ने माध्यम त बनेको छैन? यस्ता प्रश्नहरुको उत्तर खोज्नु पर्ने बेला आएको छ, आजको यो समय विन्दुमा, जुन समय विन्दुमा विश्वका अन्य राष्ट्रहरुले स्वतन्त्र संचारलाई राष्ट्रिय गरिबी कम पार्नमा व्यापक मात्रामा प्रयोग गरि रहेका छन। खास गरि इन्टरनेटको प्रयोग व्यापक मात्रामा गरि रहेका छन, जनताको जिवनस्तर माथि उकास्नका लागि। इन्टरनेटको प्रयोग गरेर उत्पादन, वितरण एवं विक्री लागत कम पार्दै उपभोक्ताहरुको हातमा सस्तोमा वस्तु वा सेवा पुर्याउने प्रयास गरि रहेका छन, विभिन्न मुलुकका सरकारहरु।
मौजुदा स्थिति हेर्दा नेपाली प्रेस वा संचार जगत केवल केही राजनैतिक दल र तिनक पाँच छ जना नेताहरुको वरिपरि मात्र बढी मात्रामा घुमेको देखिन्छ। संचार माध्यमहरु- पत्र पत्रिका, रेडियो, टि भि आदिले  उनीहरुको गतिविधिलाई मात्र बढी समावेश गरेको पाइन्छ। आम जनताको जिवनसँग सरोकार राख्ने समाचारहरु, जुन गाउँ घरतिर बन्छन, ले महत्व पाएका छैनन्। कुनै एउटा दलको नेताले कुनै अर्को दलको नेताको कटु ओलोचन गरेको छ भने त्यस्तो घटनालाई संचार माध्यमहरुले अति महत्व दिएर समाचार बनाउँछन् र प्रकाशित् वा प्रसारित गर्छन र जनताले पनि खुब रुचि लिएर पढ्छ, सुन्छ वा हेर्छ। आफ्नो पत्रिका वा खबर बढी भन्दा बढी  व्यक्तिहरुलाई बिक्री गर्न संचार माध्यमहरुले खोजी खोजी, नेताहरुले झगडा गरेको, एउटा पार्टीबाट अर्को पार्टीमा गएको, एउटा पार्टी फुटाएर अर्को पार्टी बनाएको, दल भित्र षडयन्त्र गरेको जस्ता समाचारहरु पत्रिकामा छाप्ने तथा रेडियो टि भि मा प्रसारित गर्ने कार्य गर्छन। जबकी यस्ता अनुत्पाद खबरहरुले जनतामा कुनै पनि किसिमको सकारात्मक प्रभाव पार्दैनन्। उल्टो कसरी हुन्छ, षडयन्त्र वा भ्रष्टाचार गरेर सफलता प्राप्त गर्ने भन्ने सन्देश मात्र जनतालाई,दिन्छन्। साथै त्यस किसिमका नेताहरुले गरे झै समाजमा जाल झेल गर्न सामान्य जनतालाई अभिप्रेरित गर्छन्। भ्रष्टाचारी, पदलोलुप, जनतालाई सपना देखाएर ठग्ने, झुक्याउने नेताहरुको बारेमा आवश्यकता भन्दा बढी संचार माध्यमहरुमा सन्देश, समाचार, विचारहरु संप्रेषित भएमा त्यस्ता नेताहरु उल्टो ‘नेशनल हिरो’ हुन्छन, उनीहरुले आफ्ना त्यस किसिमका गलत क्रियाकलापहरुमा नियन्त्रण गर्नुको साटो।
वर्तमानमा, संचार गृह र माध्यमहरुको समाचार, विचार सम्प्रेषण गर्ने शैलीले आम जनताको समाचार पढ्ने, सुन्ने  र हेर्ने स्वाद बिगारि दिएको महशूस हुन्छ। जनताहरु पनि बढी मात्रामा नकारात्मक खबरहरु सुन्न उत्सुक रहेको प्रतित हुन्छ। सकारात्मक खबरहरुलाई जनताले महत्व दिएर पढेको, सुनेको वा हेरेको कमै पाइन्छ। एउटै दलका नेताहरु बीच वा विभिन्न दलका केही नेताहरु बीच, गाली गलौजको स्थितिमा आएर झगडा भएको छ, हात हाला हालको स्थिति समेत भएको छ भने पाठहरुले पनि स्वाद लिएर त्यो घटनाको समाचार पढ्छन् वा सुन्छन्। यस्तो हुनुमा पाठक दोषी भन्न मिल्दैन किनभने संचार गृह एवं संचार माध्यमहरुले नै उनीहरुको स्वाद बिगारी दिएका छन। यस्तो स्थितिमा पाठक वा स्रोताहरुलाई कसरी दोष दिने?
आम नेपालीको हितमा काम गर्ने हो भने, नेपालमा विद्यमान गरिबी कम पार्नमा ठोस योगदान पुर्याउने हो भने, अति निर्धनहरुले दुई छाक ढुक्क सँग खान पाउने स्थिति ल्याउने हो भने र घरबार बिहीनहरुलाई टाउको लुकाउन सानो झोपडि नै भए पनि एउटा आश्रयको व्यवस्था हुने स्थिति सृजना गर्ने हो भने संचार गृह, संचार माध्यमहरुले वर्तमानमा जस्तो केही नेताहरुलाई मात्र केन्द्रविन्दु बनाएर उनीहरुसँग सम्बन्धित गतिविधिहरुलाई मात्र समाचार बनाउने,  ती समाचारहरु प्रकाशित वा प्रसारण गर्ने परिपाटिको अन्त्य गर्नु पर्दछ। यी पाँच सात जना नेताहरुले न त संविधान नै लेख्न सकिरहेका छन न त मुलुकलाई कुनै निकास नै दिन सकि रहेका छन। यिनीहरुको क्रियाकलापबाट मुलुक झन झन अनिश्चिततातिर बढ्दै छ, मुलुक आर्थिक रुपमा कमजोर हुँदै गइ रहेको छ, दिन प्रति दिन। विदेशी हस्तक्षेप बढेर राष्ट्रियता संकट उन्मुख भएको छ।
एउटा कुनै कृषकले केवल आफ्नै प्रयासमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर कुनै किसिमको कृषि मल उत्पादन गरेको छ र त्यो मलको प्रयोगद्वारा आफ्नो सीमित जग्गाको उत्पादकत्वमा वृद्धि गरेको छ भने त्यो कृषकको त्यो कार्यले महत्वपूर्ण समाचारको स्थान पाउनु पर्दछ। कुनै एक उद्यमीले नया किसिमको कुनै व्यवसाय गरेर पच्चिसौं कामदारहरुलाई रोजगारी दिएको छ भने उसको त्यो कार्यलाई पत्र पत्रिकाहरुले प्रमुखताका साथ छाप्नु पर्दछ, रेडियो, टि भि ले प्रसारित गर्नु पर्दछ, अति महत्व दिएर। कुनै एक रिक्सा चालकले दुख गरेर आफ्नो परिवारको भरण पोषण गरेको छ, सन्तानलाई राम्रो शिक्षा दिने प्रयास गरेको छ, बेइमानी गरेको छैन भने उसको त्यो कार्यले महत्वपूर्ण समाचारको स्थान पाउनु पर्दछ, नेताहरुको पट्यार लाग्दो र अर्थहीन भाषण भन्दा। एउटा ज्यादै बिपन्न परिवारकी कुनै एक गृहणीले आफ्नो सानो बारीको उपयोग गरेर, त्यसको उत्पादनबाट आफ्नो परिवारलाई दर्दनाक गरिबीबाट बाहिर ल्याउँछिन भने उनको त्यो कुशलता समाचार बन्नु पर्दछ। सानो जग्गाबाट कसरी बढी प्रतिफल लिने भन्ने उनका चिंतनहरुले अर्थशास्त्रका नियमहरुसँग सम्बन्ध राख्छन। उनको त्यो कार्य कुशलताबाट अर्थशास्त्रका नया नया सिद्धान्तहरुको जन्म हुन सक्छ। तर नेताहरुका झूठा कुराहरुबाट जनता-जनताबीच फाटो ल्याउने, जनतालाई झनै गरिब तुल्याउने भन्दा बढी केही हुन सक्दैन।
त्यसकारण अब रेडियोको माइक्रो फोन होस वा टि भि को क्यामरा, वा पेन र डायरी, यी महत्वपूर्ण साधनहरु इमान्दार, परिश्रमी, रचनात्मक विचारका धनी, गरिब जनताको जिवनस्तर माथि उकास्न क्रियाशील व्यक्तिहरुको वरिपरि घुम्नु पर्यो, नेताहरुको वरिपरि मात्र बढी नघुमेर। राष्ट्रलाई साँच्चिकै आर्थिक रुपमा समृद्ध तुल्याउने हो भने, मौजुदा प्रेस स्वन्त्रताको उपयोग गरिबी कम पार्नमा गर्नु पर्यो, भ्रष्ट नेताहरुलाई फेरि चुनावमा जिताउनु भन्दा।  

विश्वराज अधिकारी

No comments:

Post a Comment