Thursday, October 11, 2012

Philosophy-Why Hero Always Wins?-2


फिल्मको हिरो होइन सत्यको विजय भएको हो

जब म तेर्ह चौध वर्षको उमेरमा थिएँ, त्यो बेला मैले हिन्दी फिल्महरु हेर्दा, एउटा कुराले मलाई निकै आश्चर्यमा पार्ने गर्थ्यो। मलाई त्यसरी आश्चर्यमा पार्ने विषय के थियो भने कुनै पनि हिन्दी फिल्ममा ज्यादै दुब्लो पातलो, कमजोर शरीर भएको, निर्बल देखिने एउटा हिरो (व्यक्ति) ले ज्यादै बलशाली, मोटो घाटो , बलियो शरीर भएको एक दुई जना त के त्यस्ता पच्चिसौं जनालाई ढालि दिन्थ्यो। हिरो एक्लो र भिलेन (खलनायक) तथा उसका पचिसौं सहयोगीहरु बीच संघर्ष हुँदा जहिले पनि विजय अनिवार्य रुपमा हिरोको नै हुन्थ्यो। त्यसकारण फिल्मी दृश्यमा त्यस किसिमको मारपिटको स्थिति आउने बितिक्कै हामी दर्शकहरु ढुक्क हुन्थ्यौ, खलनायक र उसका सहयोगीहरुले हिरो सँग जति सुकै कडा संघर्ष गरेता पनि, हिरो हारेको जस्तो देखिएता पनि, अन्तमा विजय हिरोको नै हुन्छ। एक छिनका लागि, हिरो हार्ने हो कि भन्ने भय हुन्थ्यो तर तत्काल ढुक्क हुने स्थिति पनि हुन्थ्यो किनभने हिरो कहिले पनि हार्दैन भन्ने फिल्मी कथामा देखाइने चलन स्मरण गरेर। त्यसरी हिन्दी फिल्मका हिरोहरुले जति सुकै बलियोलाई, जति सुकै संख्यामा रहेका भिलेन पक्षलाई पाराजित गरेको देखेर हाँसो लाग्थ्यो र पत्याउन गार्यो हुन्थ्यो। अनि हामी भन्थ्यौ पनि- फिल्मी फाइट हो, जित हिरोको नै हुन्छ। हिन्दी फिल्ममा प्राय: काल्पनिक कुराहरु बढी देखाइने गरिन्छ। सिनेमा हलबाट बाहिर निस्के पछि एक कमजोर हिरोले पच्चिसौं जना भिलेनलाई ढाल्न सक्छ भन्ने यथार्थ पनि दिमागबाट हराएर जान्थ्यो, बाढीको पानी केही समय पछि सुकेर गए जस्तै गरी।  
तर अहिले उमेरको आधा सतक पार गर्दा, लामो अनुभव संगाल्दा भने त्यसरी हिरोले जहिले पनि विजय हासिल गर्छ भनी फिल्महरुमा देखाएको मलाई, मेरो व्यक्तिगत अनुभवमा, सही हो जस्तो लाग्न थालेको छ। हिन्दी फिल्ममा हिरोलाई सत्यको रुपमा प्रस्तुत गर्न खोजिएको हो कि, मलाई त्यस्तो लाग्न थालेको छ। हिरो, भिलेनहरु सँग पराजित नुहुन भनेको विजय जहिले पनि सत्यको नै हुन्छ, भिलेन जति सुकै बलियो वा जति सुकै बढी संख्यामा भएता पनि। यो यथार्थ देखाउन खोजिएको हो क? सत्य प्राय: दबिएको, कमजोर अवस्थामा हुन्छ तर पनि अन्तत्वगत्वा विजय भने सत्यको नै हुन्छ। सत्यको मार्गमा थोरै मात्र हिँडछन् तर पनि समाजलाई सत्य मार्गमा हिँडाउने कार्य त्यै थोरैका संख्यामा रहेका हरुले गर्छन। हिरोलाई हार्न लगाएर, यदि समाजमा असत्यको विजय भएको देखाउने हो भने समाजको मनोविज्ञान गलत कार्य गर्ने पट्टि प्रोत्साहित भएर जान्छ। समाज कुमार्गमा लाग्छ।
हिन्दी फिल्मा, खासमा कुन अभिप्रायले, जहिले पनि हिरोले नै भिलेनमाथि विजय प्राप्त गरेको देखाइएको हो त्यो म यकिन साथ भन्न सक्ने स्थितिमा छैन। तर अनुमान चाहिँ के लगाउन सक्छु भने त्यसरी देखाउनुको अर्थ हो- असत्यमाथि जहिले पनि सत्यको नै विजय हुन्छ।  

तपाँईहरुलाई चाहिँ कस्तो लाग्छ?

Bishwa Raj Adhikari

No comments:

Post a Comment