Wednesday, November 7, 2012

The Party is Continue-Story 28


पार्टी चलिरहेछ

‘पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ?’ निताको यो प्रश्नले रविलाई झस्क्यायो।
‘किन एक्लो बसेको?’ यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्यायो, रविलाई। आफूलाई अलि व्यवस्थित पार्दे रविले भने ‘त्यता अलि हुने खानेहरुको मपाईँ गफ सुन्न मन नलागेर यता आएको। त्यता कि त ठूलो पदमा पुगेका घुस्याहा कर्मचारीहरु छन कि त टन्न कमाएका व्यापारीहरु, अनि उनीहरुको म यस्तो म उस्तो, मेरो यस्तो मेरो उस्तो किसिमका गफहरु। तिनीहरुका झ्याउ गफ सुन्न नसकेर यसो वाइन खाँदै सोच्दै बसेको यता।’
‘अनि, तिमी किन यता आएकी नि? सोमेश आइ पुग्ला, मेरो वाइफ कता हराई भन्दै, यता’ रविले हल्का मजाक गरे।
‘के को यता आउनु? एउटी केटीसँग गफ गर्नमा मस्त छ। दुई घण्टा भइ सक्यो गफ गरेको उसले, म छेउमै थिए, एक चोटी फर्केर पनि मतिर हेरेन, झुक्यिएर नै भए पनि। पार्टीमा आए पछि, वाइफलाई लाई पनि समय र साथ दिनु पर्छ नि। त्यसरी लठ्ठिनु हुन्छ केटी देख्ने वित्तिकै। बानी यस्तै हो जहिले पनि उसको, जहाँ पनि। उसको त्यस्तो चाला देखेर म पनि हिंडे यो चोटि’ निताले रवि नजिक आउनुको कारण प्रष्ट पारिन।
रवि उठे। निताको काँधमा हात राख्दै भने ‘वाइन ल्याइ दिउँ, आधा गिलास? दिमाग अलि हल्का पारि दिने छ……………।’
‘के को वाइन? ल्याउने हो भने ह्विस्की नै ल्याइ देउ, दुई पेग।’
***
ल्याएको ग्लास रविले नितालाई दिए अनि भने पनि ‘ह्विस्की नै हो, अलि बिस्तारै खानु, झ्याम्म लाग्ला फेरि।’
‘लाग्न देउ, त्यसरी नै लाग्नु परेको छ पनि।’
‘होइन, आज किन तिमी अलि फरक देखिएकी हँ, निता।’
‘यस्तो स्थितिमा पनि कसैले सामान्य भएर व्यवहार गर्न सक्छ त? हेर त, यहाँ आएर मैले तिमी सँग गफ गर्न थालेको पनि तीन घण्टा भइ सक्यो, सोमेश एक चोटी फर्केर पनि आएको छैन यता, मलाई खोज्दै। त्येता नदेखे पछि यता आउनु पर्ने होइन, ऊ?’
रविले भने ‘म त्यता गएर भनौं, सोमेशलाई, निता बाहिर, मेन गेटको नजिक छिन् भनेर।’
‘भयो, भन्नु पर्दैन। बरु एउटा कुरा भन्छु, मान्छौ।’
तिमी जस्तो घनिष्ट साथीले भनेको नमाने कसले भनेको मान्ने? भनेर हेर।’
‘आज म तिम्रो कोठामा सुत्छु, हुँदैन? तिमी अविवाहित मान्छे, एक्लै त होलाउ नि, कसो।’
निताको यो प्रस्तावले रविलाई अलि असहज स्थितिमा पुर्यायो। केही सोँच्न तल्लिन भए जस्तो देखिए उनी।
‘सोमेशले म सँग त्यस्तो गर्न हुने, अनि मैले किन नहुने उसँग त्यस्तो गर्न? अझै बढी नै गरेर देखाई दिन्छु उसलाई।’ निताको यो भनाइले रविलाई केही प्रभाव पार्यो। उनले भने ‘हुन्छ हिँड जाउँ, मेरो डेरा नजिकै छ यहाँबाट, पाँच मिनेटको बाटोमा। एउटा कुरा चाहिँ याद राख तर, म तिमीहरु-हसबेन्ड बाइफ बीचको टसलमा पर्न चाहन्न, है।’
***
पार्टी चलिरहेको घरबाट अदृश्य भएका रवि र निता, रातिको करिब बार्ह बजे रविको डेरामा प्रकट भए। दुई बजेसम्म एउटै बेडमा रहेर उनीहरु बीच धेरै कुराहरु भए। स्कूल जिवनदेखि कलेजबाट छुट्टिने बेलासम्मको, वर्तमान समयदेखि मौजुदा परिस्थितिसममको। कुरा गर्दा गर्दै कुन बेला निदाए, दुबैले पत्तो पाएनन। त्यस्तो हुनुमा अल्कोहलको हात पनि थियो।  
***
निता चार बजे विहान रविको डेराबाट फर्किदासम्म पार्टी चलिनै रहेको थियो। र त्यो भन्दा पनि अचम्मको कुरा सोमेश पुर्ववत गफ गर्नमा तल्लिन थिए, उही व्यक्ति सँग जो सँग घन्टो पहिले देखि गफ गरि रहेका थिए। गफ गर्ने पात्रहरु उही थिए, केवल समय बदलिएर साँझबाट बिहान भएको थियो। तर यो बदलिएको समयमा धेरै अरु कुरा हरु पनि बदलिएका थिए।
निता आफू नजिक उभिएको देखेर सोमेश झस्किए। नितालाई एक पटक हेरे तर बोलेन, पूर्ववत नै रहे। तर एक छिन पछि कुरा गरि रहेको व्यक्तिको काँधमा हात राख्दै भने ‘रन्जु, पछि फेरि फेटौला। यसो मलाई फोन गरे हुन्छ नि, है।’
सोमेशति हेर्दै निताले भनिन् ‘बल्ल सकियो कुरा, बाँकी भए अझै गरे हुन्छ। छ्यांग विहान भएको छैन क्यारे।’
रवि चर्किए ‘संकाको घेरा भन्दा बाहिर निस्केर पनि कुरा गर्ने गर न कहिले काहिँ,  निता।’ रविले थपे ‘हामीले गरेको कुरा कति गंभिर थियो थाहा छ तिमीलाई? अन्दाजसम्म पनि गर्न गार्हो हुने छ तिमीलाई।’
‘के थियो त्यस्तो, के थाहा हामीलाई? मैले सुनेको भए पो ………….’।
मैले जोसँग रात भरि कुरा गरे उनको नाम हो कमला। हामी कलेजमा सँगै पढ्ने गर्थ्यौ। उनलाई क्यान्सर भएको छ, ब्रेस्ट क्यान्सर। एउटा ब्रेस्ट काटेर फाल्नु पर्छ, डाक्टरको भनाई अनुसार। अविवाहित छिन। निरास भएर, आत्म हत्या गर्छु भन्छिन्। रात भरि सम्झाए पछि अलि आँट बढेको छ उनको । कमलालाई मैले राति नसम्झाएको भए…………….. त्येही रात आत्म हत्या गर्ने सुर थियो उनको, बुझेउ’
रविको भनाइले सत्य बोल्न उत्प्रेरित गर्यो नितालाई। निताले पश्चाताप बोध गर्दै भनिन ‘मलाई माफ गर, सोमेश। मैले रात भरि अनेक कुराहरु सोँचि रहे, उल्टो उल्टो, तिम्रो बारेमा। तिमीले रात भरि त्यसरी कुरा गरेको देखेर मैले न सोंच्नु पर्ने कुरा सोंचे अनि तिमीले गरेको त्यस्तो कार्यको बदला लिन म पनि हिँडे रविसँग।’
‘अनि, कहाँ नि…………………..।’
‘एक छिन पार्टी मै रहेर हामी लाग्यौ……….।’
‘कता नि………।’
‘रविको कोठामा।’
रविले अलि झोक्किएर भने ‘साँझ देखि नै रविको कोठामा बसेउ त?’
‘होइन, म र रवि उसको कोठामा राति बार्ह बजेतिर पुगेका थियौ। हामी त्यहाँ चार घण्टा जति बसेर पार्टी चलिरहेको ठाउँमा, यहाँ, आयौ फेरि।’
‘रविको कोठामा बस्नु बाहेक अरु पनि काम गरेउ। के गरेउ……..?’
 ‘सोमेश, म तिमीलाई सत्य कुरा भन्न चाहन्छु। रवि र म, एउटै खाटमा सुत्यौ अनि …………..
‘भो, भो, त्यो भन्दा अगाडि सुन्न चाहन्न म। सायद अब हामी सँगै बस्न सक्तैनौ होला।’
‘मैले सत्य बोल्नुको यत्रो ठूलो सजाए? खासमा, मेरो यसमा कुनै गल्ति नै छैन, सोमश।’
निताले आफ्नो भनाइ अझै प्रष्ट पार्न भनिन् ‘तिमीले त्यति लामो कुरा कमला सँग नगरेको भए मैले तिमीहरु बीच यस्तो त्यस्तो कुरा भइ रहेको भन्ने संका नै गर्ने थिन्। अनि तिमीले पनि त मलाई, कमलासँग कुरा भइ रहेकै क्रममा, एकै छिनका लागि भए पनि, आएर भनेनौ कि हामी बीच कुनै अरु कुरा होइन, जिवन मृत्युको कुरा भइ रहेको छ। तिमीले पनि संका लाग्ने गरी कमला सँगै कुरा गरेको गरै गरेउ, मलाई चटक्क पार्टीमा एकातिर एक्लै छाडेर। पार्टीमा त्यसरी एक्लिएर बस्ता रीस उठ्दैन त? अरु सँग कति कुरा गर्नु त, मैले? हुन त अरु सँग कुरा गर्न नै भनेर म रवि नजिक पुगेको थिए। रविको नजिक पुगे पछि नै, झन, मलाई पनि ड्रिंक गर्न मन लाग्यो। ड्रिंक गरे पछि, त्यो ड्रिंकले कता कता पुर्यायो, यो बरालिने मन कता कता गयो, कता कता, मात सँगै बहकेर।’
सोमेश मौन भएर सुन्दै थिए। प्रतिक्रियामा उनले कुनै पनि भनाइ राखेनन्। निताले नै भनिन् ‘एउटा कुरा भनौ सोमेश, यस्तो हुनुमा न त मेरो, न त तिम्रो, न त रविको नै कुनै गल्ति छ। रविलाई त मैले नै उसको डेरामा मलाई लिएर हिँड भनेको हो, तिमीले त्यस्तो गरेको रोषमा, आफूले ड्रिंक गरेको झोकमा। त्यसैले, रवि, म र तिमी यस्तो हुनुमा समय दोषी छ।’
निताले थपिन ‘हेर रवि, समय पनि एक व्यक्ति सरह हो। यसले पनि गल्ति गर्छ। अर्थात समयले व्यक्तिहरुलाई परिबन्धमा पार्छ। समयको दबाबमा आएर व्यक्तिहरुले नचाहँदा नचाँहदै पनि गल्ति गर्न पुग्छन। तर मानिसहरुले समयलाई दोष दिनुको साटो दोष व्यक्ति विषेश माथि नै थुपारी दिन्छन। समय चोखिएर बस्छ। त्यस्तो होइन। समय दोषी हुन्छ। समयलाई हामीले सजाए दिन सक्तैनौ, समयलाई नियन्त्रणमा राख्न पनि सक्तैनौ, समयले जे भन्छ त्यो गर्न बाध्य हुन्छौ, त्यो बेग्लै कुरा हो तर समयलाई हामीले प्रष्ट रुपमा भन्न सक्छौ, र भन्नु पर्छ पनि, एक व्यक्तिलाई भने जस्तो- समय, तँ दोषी होस् र तेरो दोष यो हो। समयले नै तिमीलाई मैले संकाको घेरामा राख्नु पर्ने स्थितिमा पुर्योयो, मलाई पर पुरुषकसँग रात बिताउन बाध्य तुल्यायो। त्यति मात्र होइन, रविलाई समेत पनि समयले गलत काम गर्न उत्प्रेरित गर्यो। त्यसैले यो सारा घटनाको दोष समय माथि लाग्नु पर्दछ। म निर्दोष माथि होइन। हामी सबै निर्दोष घोषित हुनु पर्दछ।’।
लामो समयको मौनता पछि सोमेशले मुख खोले। क्रोध मिश्रित स्वरमा भने ‘भो बन्द गर तिम्रो यो पट्यार लाग्दो लामो भाषण। भो ………….. भो……..।’
निताले रुँदै भनिन ‘अहिलेको यो घटनालाई हटाएर हेर, मैले कहिले पनि यस्तो त्यस्तो काम गरेको छु, यो भन्दा पहिले? छैन ……। मैले गरेको यो ……………समयले गराएको हो। त्यसैले म भन्छु, यस्तो हुनमा पूर्ण दोषी समय नै हो।’
यता सोमेश र निताको  कुरा चलिनै रहेको थियो, टुँगिएको थिएन। उता पार्टी पनि चलिनै रहेको थियो, विहान हुँदासम्म पनि, रोकिएको थिएन। 

Bishwa Raj Adhikari

No comments:

Post a Comment