Friday, November 9, 2012

Female Education Base For Economic Development-Article-66

महिला शिक्षा आर्थिक विकासको आधार सतम्भ

महिला शिक्षा व्यक्ति, परिवार एवं राष्ट्रको आर्थिक विकासको महत्वपूर्ण तत्वको रुपमा रहेको यथार्थलाई विकसित राष्ट्रहरुले स्वीकार गरेको तथ्य व्यवहारबाट नै देखिए पनि विकासशील राष्ट्रहरुमा भने  महिला शिक्षालाई अहिलेको यस्तो अति विकसित संचारको युगमा पनि महत्व नदिइएको विकासशील राष्ट्रहरुमा विद्यमान रहेको महिला साक्षरताको स्तरबाट प्रष्ट हुन आउँछ। अफ्रिका, लेटिन अमेरिका, एशिया, पूर्वी यूरोप लगायत मध्यपूर्वका धेरै राष्ट्रहरुमा महिलाहरुको  साक्षरता एवं शिक्षाको स्तर अहिले पनि कमजोर छ। यी क्षेत्रका धेरै महिलाहरु स्कूल, स्वास्थ्य सेवा, भूमि एवं आर्थिक स्रोतको उपयोग जस्ता सुविधाहरु बाट बंचित छन। विश्वमा भएका कुल निरक्षर मध्ये महिलाहरु मात्र करिब ६७ प्रतिशत निरक्षर छन। सामाजिक संस्कृति र परिवारहरुको बैचारिक पृष्ठभूमिले महिलाहरुलाई शिक्षाबाट बंचित पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। विकासशील राष्ट्रका निर्धन परिवारहरुमा महिला शिक्षाको स्थिति त झनै दयनीय छ। महिला साक्षरताको स्थिति हेर्दा केही राष्ट्रहरुमा ज्यादै कम मात्रामा महिलाहरु साक्षर रहेको पाइन्छ। अफगानिस्तान १२.६, बुर्किना फासोमा १५.२, चाडमा २४.२, इथोपियामा ३५.१, गाम्बिया ४०. ४, गिनीमा ३०,  मालीमा २०.३, नाइजरमा १५.१, सियरा लियोन २४.४, सोमालियामा २५.८, साउथ सुडानमा १६ प्रतिशत महिलाहरु मात्र साक्षर रहेको पाइन्छ। यसै गरी भारतमा ६५. ४, बंगलदेशमा ५२.२, नेपालमा ४८. ३, पाकिस्तान ४०.३ प्रतिशत महिलाहरु साक्षर रहेको पाइन्छ। जवकी विकसित मुलुकहरुमा महिला साक्षरता उच्च रहेको पाइन्छ। केही विकसित वा धनी मुलुकहरु, जस्तै अष्ट्रेलियामा ९९, बेल्जियममा ९९, डेनमार्कमा ९९, फ्रान्समा ९९, फिनलैन्डमा १००, जर्मनीमा ९९, जापानमा ९९, न्युजिलैण्डमा ९९, नर्वेमा १००, स्विट्जरलैण्डमा ९९, संयुक्त राज्य अमेरिकामा ९९, संयुक्त अधिराज्यमा ९९ प्रतिशत महिलाहरु साक्षर रहेको पाइएको छ।  
गरिब राष्ट्रका धेरै परिवारहरुले परम्परागत विश्वास एवं संस्कृतिको कारणले गर्दा बालिकाहरुलाई स्कूल पठाउन वा शिक्षा दिन अनावश्यक ठान्छन र गरिबीको सम्बन्ध महिला शिक्षासँग छ भन्ने यथार्थलाई पूर्ण रुपमा वेवास्ता गर्छन। उनीहरुले त्यस किसिमको व्यवहार गर्नु कारण पनि फेरि शिक्षाको अभाब नै हो। तर विकासशील राष्ट्रका, खास गरि निर्धन परिवारहरुले के बुझ्न आवश्यक छ भने गरिबी र महिला शिक्षा बीच गहिरो सम्बन्ध छ। गरिबीको कुचक्रबाट बाहिर आउन महिलाहरुलाई शिक्षित र शिक्षित पार्न नसके पनि कमसे कम साक्षर पार्न आवश्यक छ। महिलाहरु साक्षर भएर मात्र पनि परिवार र समाजलाई गरिबीको दल दल बाट बाहिर ल्याउन सक्छन। तर अहिले विकासशील राष्ट्रहरुमा परम्परागत विश्वास एव संस्कृतिको कारणले गर्दा महिलाहरुको कम उमेरमा विवाह गरि दिएर तथा उनीहरुलाई उचित शिक्षा प्रदान नगरेर महिलाहरुलाई मात्र होइन, परिवारहरुलाई नै झन झन निर्धन बनाउने कार्य भइ रहेको छ। अनुभवहरुले के देखाएका छन भने जुन देशले महिला शिक्षामा बढी जोड दिएको छ, नारी-अधिकारहरुको सम्मान गरेको छ, ले तुलनात्मक रुपमा द्रुततर गतिमा आर्थिक प्रगति गरेको छ। यो तथ्य अफगानिस्तान र बंगलादेशको तुलना गर्दा पनि प्रष्ट हुन आउँछ। बंगलादेशले महिला शिक्षामा अति नै जोड दिएको छ। बंगलदेशमा महिला साक्षरता अहिले ५२.२ प्रतिशत छ। जबकी यस्तो स्थिति अफगानिस्तानमा छैन। अफगानी परिवारहरु महिला शिक्षाप्रति उत्साही नभएकोले त्यहाँ महिला साक्षरताको स्थिति नाजुक छ। अफगानिस्तानमा १२ .६ प्रतिशत महिलाहरु मात्र साक्षर छन। बंगलादेशको प्रति व्यक्ति आय अमेरिकी डलरमा ($) १,७९०.२६ (PPP) छ भने अफगानिस्तानको ($) ९५६.०० (PPP) छ। बंगलादेशले महिला शिक्षामा जोड दिएको कारणले गर्दा राष्ट्र समृद्धि तिर अगाडि बढेको मात्र छैन साथै मुलुकले शिशु, बालबलिका एवं मातृ मृत्यु दर पनि कम पार्दै लगेको छ। बंगलादेश विश्वको तेस्रो ठूलो कपडा निर्यात गर्ने मुलुक पनि हो। बंगलादेशको कपडा उद्योगमा करिब तीस लाख व्यक्तिहरुले रोजगारी पाएका छन र ती रोजगारहरु मध्ये महिलाहरुको संख्या ९० प्रतिशत रहेको छ। बंगलादेशले करिब तीन चौथाइ निर्यात-आम्दानी कपडा निर्यातबाट नै प्राप्त गर्दछ।
महिलाहरुलाई आर्थिक विकासको महत्वपूर्ण संवाहक (Agent) मान्ने  गरिन्छ। महिला शिक्षित हुने बित्तिकै त्यसको सकारात्मक असर परिवारको आर्थिक जिवनमा पर्न जान्छ। एउटा शिक्षित महिलाले आफ्नो परिवारको संख्या (जन्म) मा नियन्त्रण गर्ने, सुरक्षित किसिमबाट प्रशुति गराउने, बाल बालिकालाई कुपोषणबाट जोगाउने, बाल बालिकालाई उचित शिक्षा दिने एवं घरमा बाल बालिकालाई अध्ययनको राम्रो वातावरण सृजना गरि दिने, स्रोत एवं साधनहरुको उचित व्यवस्थापन गर्ने जस्ता आर्थिक पक्षहरु सँग जोडिएका महत्वपूर्ण कार्यहरु गर्न सक्छीन। बाल बालिकाहरुको पहिलो पाठशाला भनेको घर हो र घरमा नै उनीहरुले जिवनका आधारभूत कुराहरु सिक्छन। घरमा बाल बालिकाको अधिकांश समय बाबु भन्दा आमासँग बित्ने हुनाले उनीहरुले बढी कुराहरु आमाबाट नै सिक्छन। यस अर्थमा बाल बालिकाहरुको पहिलो शिक्षक आमाहरु नै हुन। त्यसकारण आमाहरु साक्षर भएमा, शिक्षित भएमा, उनीहरुले आफ्ना बाल बालिकाहरुलाई उचित शिक्षा दिन सक्छन। सबल नागरिक बनाउन सक्छन।
नेपालको आर्थिक विकासलाई महिला शिक्षासँग जोड्न सकिन्छ। नेपालमा महिला शिक्षा सन्तोषप्रद स्थितिमा छैन र यो कारणले गर्दा पनि मुलुकको आर्थिक विकासको गति सुस्त हुन गएको हो। नेपालमा अहिले पनि धेरै परिवारहरु महिला शिक्षा प्रति उदासीन रहेको पाइन्छ। ती परिवारहरुले महिला शिक्षालाई महत्वहीन ठान्छन, छोरीहरुलाई स्कूल पठाउँदैनन्। तर यथार्थ के हो भने गरिबीलाई पराजित गर्न महिलाहरुलाई साक्षर एवं शिक्षित नपारी हुँदैन, छोरीहरुलाई स्कुल नपठाइ हुँदैन। महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर पार्न, उनीहरु माथि हुने अनेक किसिमका हत्या, हिंसा, अत्याचार एवं विभिन्न किसिमका भेदभाव नियन्त्र गर्न, महिलाहरुलाई साक्षर एवं शिक्षित पार्न आवश्यक छ। साक्षर एवं शिक्षित महिलाहरुको संख्यामा वृद्धि भएमा मात्र नेपालको आर्थिक विकासको गतिलाई द्रुततर पार्न सकिन्छ।
राष्ट्रलाई आर्थिक रुपमा सबल पार्न महिलाहरुलाई आर्थिक रुपमा आत्म निर्भर तुल्याउन आवश्यक छ। महिलालहरु राष्ट्रिय आर्थिक विकासका संवाहक हुन।
 करिब एक डेढ महिना पहिले, बीरगंजको आसपासमा एउटा ज्यादै दुखद एवं अकल्पनीय घटना घटेको थियो। त्यो घटना महिला हिँसासँग नै सम्बन्धित थियो। समाचारहरुमा उल्लेख भए अनुसार, उक्त घटनामा एक महिलाले आफ्ना दुई छोराहरुलाई इनारमा फालेर, पछि आफूले पनि उक्त इनारमा हाम फालेकी थिइन। जीतपुरको एक उद्योगमा कार्यरत आफ्ना पतिको यातना सहन नसकेर उक्त महिलाले त्यस्तो डर लाग्दो  कार्य गरेकी थिइन। पतिलाई रीस देखाउने झोकमा  आफ्नो र छोराहरुको हत्या गर्न खोज्ने ती महिलाको ज्यान जोगाउन भने उद्दारकर्ताहरु सफल भएका थिए। तर तिनका दुइ छोराहरुको भने ज्यान गएको थियो।
त्यो दर्दनाक घटनालाई महिला शिक्षा सँग जोड्न सकिन्छ। यदि ती महिला शिक्षित भइ दिएको भए उनले स्वंले नै पनि आय आर्जन गरेर आफ्ना सन्तानहरुको हेरचाह गर्न सक्थिन र दिनहुँ पतिको हिंसाको सिकार हुनु पर्थेन। शिक्षित भएर, आर्थिक रुपमा स्वावलम्बी भइ दिएको भए स्वतन्त्ररुपमा निर्णय लिन सक्थिन, त्यस्तो पीडक पतिमाथि आश्रित भएर बाध्यात्मक  स्थितिमा उनले बस्नु पर्ने थिएन। उनले राम्रो शिक्षा दिक्षा पाएको भए रीसको आवेगमा आएर आफ्नै सन्तानलाई मार्ने जस्तो अमानवीय कार्य गर्थिनन होला।  
नेपालमा, परिवार, समाज एवं समग्र राष्ट्रको आथिक विकास गर्न महिला शिक्षालाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउन आवश्यक छ। यस्तो अभियानलाई केवल राष्ट्रको वा सरकारको दायित्व मात्र मानेर व्यक्ति र परिवारहरु पन्छिन मिल्दैन। यो अभियानलाई व्यक्ति एवं परिवारहरुले त झनै महत्व दिन आवश्यक छ। नारी शिक्षालाई महत्व दिएर नै नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। महिला शिक्षा अभियानलाई अगाडि बढाउन कुनै जात, क्षेत्र आदिको आधारमा होइन, निर्धनताको आधारमा परिवारहरुलाई आर्थिक सहयोग गरेर छोरीहरुलाई स्कूल पठाउन सरकारले अभिभावकहरुलाई उत्प्रेरित गर्न आवश्यक छ।  निर्धन परिवारका छोरीहरुलाई सरकारले निशुल्क उच्च शिक्षा, प्राविधिक शिक्षा ( डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक) प्रदान गर्ने व्यवस्था गरेरमा महिला शिक्षाको स्तरमा वृद्धि हुन सक्छ। तर यो भन्दा पनि ज्यादै जरूरी, निर्धन परिवारहरुले छोरीहरुलाई स्कूल ल्याउने वातावरण सृजना गर्न, छोरीहरुलाई स्कूल पठाउने त्यस्ता परिवारहरुलाई सरकारले मासिक आर्थिक सहयोग गर्न आवश्यक छ। यस्तो गरेमा निर्धन परिवारहरु पनि छोरीहरुलाई स्कूल पठाउन उत्प्रेरित हुन्छ। तर मुख्य रुपमा भने छोरीहरुलाई स्कूल पठाउने संस्कृतिको विकासमा जोड दिन आवश्यक छ, खास गरि तराई र पहाडका गाउँहरुमा।

Bishwa Raj Adhikari 

No comments:

Post a Comment