Friday, May 17, 2013

Germany: Europe's Superpower-Article-89 Birth, Development, and Usage of Capitalism


पूँजीवादको जन्म, विकास र प्रयोग

१२. यूरोपको महाशक्ति जर्मनी

यूरोपको आर्थिक महाशक्ति राष्ट्र जर्मनीले पनि पूँजीवादी अर्थतन्त्र अँगालेर नै यति ठूलो आर्थिक उपलब्धि हासिल गर्न सफल भएको हो। जर्मनी विश्वकै तेस्रो ठूलो निर्यात (सन् २०११ को अनुमान) गर्ने राष्ट्र हो। यूरोपियन यूनियनलाई छाडेर कुरा गर्ने हो भने जर्मनी, विश्वको दोस्रो ठूलो निर्यात गर्ने मुलुक हो। निर्यातमा यसले संयुक्त राज्य अमेरिका र जापानलाई समेत उछिनेको छ। जर्मनीले यूरोपियन यूनियनको अगुवाई नै गरे झै प्रतित हुन्छ किनभने यूरोपियन यूनियनमा जर्मनीको नै दबदबा छ। भन्नका लागि जर्मनीले, आफूले पूँजीवादी अर्थतन्त्र अँगालेको भन्दैन, सोसल मारकेट इकोनोमी (Social Market Economy) अँगालेको भन्दछ। तर सोसल मारकेट इकोनोमी र पूँजीवादी अर्थ तन्त्र बीच खासै ठूलो अन्तर भने देखिँदैन। सोसल मारकेट इकोनोमीमा पनि बजारलाई स्वतन्त्र किसिमले काम गर्न दिइएको हुन्छ र केवल आवश्वक परेको बेलामा मात्र राज्यले हस्तक्षेप गर्दछ।
सोसल मारकेट इकोनोमी भनेको के हो?
बजार अर्थ तन्त्र र राज्य नियन्त्रित अर्थ तन्त्रको संमिश्रण हो सोसल मारकेट इकोनोमी। अर्थात सोसल मारकेट इकोनोमीमा खुला र स्वतन्त्र बजार अर्थ नीतिका र राज्य नियन्त्रित अर्थ व्यवस्थाका दूरगुणहरुलाई हटाएर केवल तिनका सद्गुणहरुलाई समाविष्ट गरिएको हुन्छ। सोसल मारकेट इकोनोमी जति खुला बजार नीतिको पक्षधर हो त्यतिकै पक्षधर सामाजिक न्यायको पनि हो। तर सोसल मारकेट इकोनोमीको समाजवादसँग कुनै किसिमको, नजीकको साइनो भने रहेको पाइँदैन। न त यसको सम्बन्ध अति उदार अर्थ तन्त्र् (Laissez-faire; विनिमय व्यवस्थामा राज्यको पटक्कै हस्तक्षेप नहुने) सँग नै रहेको पाइन्छ। सोसल मारकेट इकोनोमीले निजी क्षेत्रलाई स्वतन्त्रतापूर्वक काम गर्न त दिन्छ तर निजी क्षेत्रले सामाजिक दायित्वको निर्वाह नगरेमा यसले राज्यलाई हस्तक्षेप गर्न निर्देशित गर्दछ। सोसल मारकेट इकोनोमीले मानवता वा सामाजिक दायित्वलाई केन्द्र विन्दुमा राखेर कार्य गर्दछ।
सोसल मारकेट इकोनोमीलाई समन्वयित बजार अर्थतन्त्र (Coordinated Market Economy) को रुपमा हेर्ने गरिन्छ। यसलाई  प्राय: रिह्ने पूँजीवाद (Rhine Capitalism) पनि भन्ने गरिन्छ। यो अर्थ नीतिको प्रवर्द्धन एवं प्रयोग तत्कालिन पश्चिम जर्मनीमा, सन् १९४९ मा, क्रिश्चियन डेमोक्रेटिक यूनियनको समयमा गरिएको थियो र त्यति बेला कोनार्ड एडनर चान्सलर थिए। यो अर्थ तन्त्रलाई मिश्रित अर्थ तन्त्रको रुपमा पनि लिन सकिन्छ, यसको प्रकृति हेर्दा। सोसल मारकेट एकोनोमीले जर्मनीको सामाजिक जिवनमा निकै नै सकारात्मक प्रभाव पारेको विश्वास गरिन्छ। केही व्यक्तिहरुको भनाईमा म त बजार अर्थ तन्त्रले सामाजिक न्यायका लागि सोसल मारकेट इकोनोमीबाट सिक्नु पर्ने कुराहरु धेरै छन।
यूरोपको सर्वाधिक सक्तिशाली राष्ट्र जर्मनीले यूरोपियन यूनियनको बजेटमा बांकी सदस्य राष्ट्रहरु भन्दा बढी रकम (सन् २०११) प्रदान गर्दछ। कुशल श्रमिकहरुको संख्य उच्च रहेको यो राष्ट्रमा भष्ट्राचार ज्यादै नै न्युनत्तम स्तरमा छ। सेवा र उद्योगको क्षेत्रमा यसले निकै प्रगति गरेको छ, कृषिको तुलनामा। कुल गार्यहस्थमा उत्पादनमा सेवा क्षेत्रको लगभग ७१ प्रतिशत योगदान छ भने उद्योगको २८ प्रतिशत। यसै गरी, कृषि क्षेत्रको योगदान १ प्रतिशत रहेको छ। अनौपचारिक स्रोतका अनुसार, यहाँ सन् २०११ मा, ५.७ प्रतिशत बेरोजगारी थियो। जर्मनीसँग ठूलो परिमाणमा पूँजी छ भने यहाँ सर्वाधिक खोज एवं अनुसन्धान कार्यहरु हुने गर्दछन्। यी कार्यहरुले नै जर्मनीलाई तिब्र प्रतिस्पर्धामा अघि अघि रहि रहन निकै सहयोग पुर्याएको प्रतीत हुन्छ पनि। जनवरी १, २००२ मा जर्मनीले साझा यूरोपियन मुद्रा, “यूरो” प्रयोगमा ल्याएको थियो। तर जर्मनीले, यूरोपियन यूनियनका सदश्य, र मुख्य गरी यूरो प्रयोगकर्ता राष्ट्रहरु मध्ये सर्वाधिक आर्थिक फाइदा उठाएको आरोप खेप्दै आएको पनि छ। केहीको भनाईमा यूरोको प्रयोगले यूरोका प्रयोगकर्ता केही राष्ट्रहरुलाई गरिब बनाउनमा महत्वपूर्ण भूमिका खेलेको छ। अर्को शब्दमा भन्ने हो भने यूरोको प्रयोग जर्मनीले अन्य सदस्य राष्ट्रहरु भन्दा आफूलाई राम्रो आर्थिक फाइदा प्राप्त हुनका लागि गरेको हो। यस्तो तर्क गर्ने हरुको संख्या पनि कम छैन।
स्टक बजारमा सूचिकृत भएका (सन् २०१० मा, आयको आधारमा मापन गरिएका) विश्वका ५०० सर्वाधिक ठूला कम्पनीहरु मध्ये ३७ बटा कम्पनीहरुको मुख्यालय जर्मनी रहेको पाइएको थियो। जर्मनी स्थित ३० बटा कम्पनीहरु डेक्स (DAX- German Stock Market Index) मा समाविष्ट गरिएका छन्। मर्सिडिज-बेन्ज, बि एम डब्ल्यू, सिइमेन्स, भक्सवेगन, एडिडास, एडी एलिनाज, पोस्चे, बेयर, बोच, निभिया जर्मनीका विश्व प्रख्यात ब्रान्डहरु हुन। साना र मझौला जर्मनीका धेरै उद्योगहरुले आफ्नो क्षेत्रमा विशेषज्ञता प्राप्त गरेको विश्वास गरिन्छ। यस्ता धेरै जर्मनका उद्योगहरुले विश्व बजारमा अग्रणी स्थान प्राप्त गरेका छन पनि।
जर्मन अर्थ तन्त्रलाई ज्यादै बलियो अर्थ तन्त्र मान्ने गरिन्छ। अमेरिकामा आर्थिक चुनौतिहरु देखा पर्ने चिंता व्यक्त भइरहँदा, यूरोजोनका अन्य राष्ट्रहरुले आर्थिक समस्या बेहोरिरहँदा र यसै गरि मध्यपूर्वका देशहरुले उथल पुथलका सामना गरिरहँदा जर्मनी भने आर्थिक समस्याहरुबाट पिरोलिएको थिएन।  हालको आर्थिक मन्दीको समयमा, अमेरिकामा बेरोजगारीमा वृद्धि (सन् २००७ मा ४.६ प्रतिशत बाट सन् २०११ मा ९ .० प्रतिशत) भएको थियो भने जर्मनीमा घटेको (८.५ बाट ७ . १ प्रतिशत) थियो।
जर्मनीलाई युरोपको औधोगिक शक्ति गृह (Europe’s Industrial Powerhouse) भन्ने गरिन्छ। यस्तो भन्नुको कारण के हो भने यो मुलुको निर्यातमा निकै शक्तिसाली छ।
जर्मनीलाई आर्थिक रुपमा ज्यादै बलियो तुल्याउनमा यस मुलुकले अँगिकार गरेको अर्थ नीतिले महत्वपूर्ण भूमिका खेलेको छ। तर अर्थ नीतिलाई कार्य गर्न सजिलो तुल्याउन अन्य तत्वहरुको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। जर्मनहरु ऋण लिन हिचकिचाउँछन र आफ्ने स्रोतमा निर्भर रहन मन पराउँछन। धेरै ऋण लिनु सामाजिक रुपमा राम्रो मानिदैन। रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध पनि सौहार्दपूर्ण छ। रोजगारदाताहरुले कामदारहरुका अशल कार्यलाई पुरष्कृत गर्ने एवं तिनका उपलब्धिहरुको सार्वजनिक रुपमा प्रशंसा गर्ने एक किसिममको सामाजिक चलन जस्तो छ, जर्मनीमा। अन्य मुलुकहरुको तुलनामा, जर्मनीमा, रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध ज्यादै नै न्यानो मानिन्छ। यो मुलुकको शिक्षा प्रणालीले पनि राष्ट्रलाई औधौगिक रुपमा अति सबल तुल्याउनमा उल्लेखनीय योगदान पुर्याएको छ। दिउँसोको खाना पछि स्कूलको कक्षा सकिन्छ र विद्यार्थीहरु घर फर्किन्छ।  र यस्तो, स्कूले विद्यार्थीहरुले बढी समय परिवार सँग बिताउँन भन्ने उद्देश्यले गरिन्छ। जर्मन शिक्षाले पारिवारिक र समाजिक सम्बन्धलाई निकै महत्व दिन्छ। अर्कोतिर कामलाई पनि उत्तिकै महत्व दिन्छ, किनभने अपर सेकेन्ड्री सकूलका आधा जति विद्यार्थीहरुलाई व्यवसायिक तालिम दिइन्छ भने आधालाई काममा लगाएर नै तालिम दिइन्छ। यस प्रकार, मुलुकको आर्थिक, सामाजिक विकासका लागि चाहिने आवश्यक जन सक्ति तयार पार्ने कार्य स्कूलबाट नै आरम्भ हुन्छ। जर्मन शिक्षा पद्धतिले मुलुकको आर्थिक विकासका लागि आधार तत्व व्यवसायिक शिक्षा हो भन्ने कुरामा अति नै जोड दिन्छ।
केहीले भने जर्मनीलाई यूरोको प्रयोगले पनि आर्थिक रुपमा झन झन सक्षम हुन सहयोग पुर्याएको हो भन्ने तर्क गर्छन्।
३ लाख ५७ हजार ०२१ वर्ग किलोमिटरमा फैलिएको जर्मनीको जनसंख्या (सन् २०१० को अनुमान) ८ करोड १७ लाख ९९ हजार ६०० रहेको छ। कुल गार्यहस्थ उत्पादन, पि पि पि मा, (सन् २०१२ को अनुमान) अमेरिकी डलरमा ३. १९७ ट्रिलियन रहेको उल्लेख छ। यसै गरी, प्रति व्यक्ति आय, अमेरिकी डलरमा ३९ हजार ०२८ रहेको पाइन्छ। जर्मनीले प्रयोग गर्ने मुद्रा यूरो हो।
जर्मनीको जनसंख्याको स्थिति हेर्दा नेपाल भन्दा ज्यादै बढी व्यक्तिहरु यहाँ बसोबास गरेको देखिंदैन। तर पनि जर्मनीले आर्थिक प्रगतिमा चमत्कार नै गरेको छ। जर्मनीलाई आर्थिक विकासको पथमा वायु वेगमा दौडाउनमा यो मुलुकले अँगिकार गरेको अर्थ नीतिको ठूलो हात छ। व्यवसायिक जनसक्ति तयार पार्नमा यो मुलुकले देखाएको प्रतिवद्धताको पनि अहंम् भूमिका छ। उद्योगहरुको विस्तार र रोजगारदाता एवं  कामदारहरु बीचको सुमधुर सम्बन्ध पनि जर्मनीको आर्थिक विकासको एक कारक तत्व हुन पुगेको छ। नेपालमा भने यी कुराहरु देख्न गार्हो परि रहेको छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 17, 2013

No comments:

Post a Comment