Friday, July 19, 2013

South Africa: Africa's Super Economic Power-Article-97 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२०. अफ्रिकाको आर्थिक महाशक्ति राष्ट्र दक्षिण अफ्रिका

अफ्रिकी महादेशमा अहिले आर्थिक जागरण आएको छ र यो समयलाई त्यहाँका बासिन्दाहरु आर्थिक विकासको युग भन्दैछन। बर्षौदेखिको चलि आएको लडाई, झगडालाई साझा सहमति र वार्ताद्वारा समाधान गरेर विकास पथमा अगाडि बढ्न खोजि रहेका छन्, त्यहाँका जनता। केही राष्ट्रहरुले त्यस कार्यमा आंशिक रुपमा नै भए पनि सफलता पाएक छन् भने केही अझै संघर्षरत छन। साधन र स्रोतहरुले भरिपूर्ण रहेता पनि अनेक किसिमका समस्याहरुको जालोमा जकडिएर आर्थिक विकासका विभिन्न सम्भावनाहरु गुमाउनु परेको ताजा दर्दहरु छन् अफ्रिकी राष्ट्रहरु सँग। मुख्य गरी जातीय द्वन्द, गृह युद्ध, धार्मिक कट्टरता जस्ता समस्याहरुले विगतमा अति नै सताए, अफ्रिकी राष्ट्रहरुलाई। यी समस्याहरुले गर्दा नै यहाँका राष्ट्रहरुले यूरोपेली राष्ट्रहरु झै आर्थिक प्रगति गर्न सकेनन। अफ्रिकी राष्ट्रहरुले औपनिवेशिक समस्या पनि उत्तिकै भोगे। यहाँका धेरै राष्ट्रहरु विगतमा उपनिवेश रहि सकेका छन। खास गरी फ्रान्स र बेलायतले यस महादेशका विभिन्न राष्ट्रहरुमा उपनिवेश खडा गरेका थिए।
आर्थिक विकासका लागि प्रयासरत रहेका अफ्रिकी महादेशका विभिन्न राष्ट्रहरु मध्ये एक हो दक्षिण अफ्रिका। साधन र स्रोतहरुको प्रचुरता भएता पनि वर्षौं सम्म मुलुकमा रंगबिरोधी आन्दोलन चलेकोले विकासको गति निकै सुस्त हुन पुगेको थियो दक्षिण अफ्रिकाको। अब, अहिले भने मेल मिलाप गरेर,  विगतमा, काला र गोराबीच भएको द्वन्द र कटुतालाई बिर्सेर, हातेमालो गर्दै विकास पथमा लम्केको झै देखिएका छन, दक्षिण अफ्रिकाका बासिन्दाहरु। र आर्थिक विकासका लागि त्यो आवश्य छ पनि। द्वन्द र संघर्षहरुको चेपुआमा कुनै पनि मुलुकले आर्थिक विकास गरेको उदाहरण पाँइदैन पनि। सबै भन्दा उल्लेखनीय कुरा त के छ भने कुनै पनि किसिमको द्वन्द र अस्थिरताबाट सर्व प्रथम त गरिबहरु नै बढी प्रभावित हुन पुगेको देखिएको छ। कुनै पनि बहानामा गरिएको द्वन्द, र खास गरी गरिबहरुको लागि भनेर गरिएको द्वन्द कहिले पनि गरिबहरुको हित गर्न सफल भएको छैन। इतिहासले यही भन्छ।   
अफ्रिकाको महाशक्तिको रुपमा रहेको द अफ्रिका, यो महादेशको सर्वाधिक ठूलो अर्थ तन्त्र हो। क्षेत्रफलको आधारमा यो विश्वको २५ औ ठूलो देश हो भने जन संख्याको आधारमा २६ औ।  ४ करोड ८६ लाख १ हजार ९८ (सन् २०१३) व्यक्तिहरुको बसोबास रहेको यो मुलुक १२ लाख २१ हजार ३७ वर्ग किलोमिटरमा फैलिएको छ। यस देशको कुल गार्यहस्थ उत्पादन (नोमिनल), सन् २०१३ को अनुमान अनुसार US$ ३७५. ९४४ बिलियन रहेको छ भने प्रति  व्यक्ति आय US$ ७ हजार २५७ रहेको छ। ३१ मे १९१० मा यो मुलुक बेलायतको अधिनबाट मुक्त भएको थियो। अफ्रिका महादेशमा मात्र होइन, विश्व मै, औधोगिक विकासको पथ तर्फ तिब्र गतिमा दौडि रहेका राष्ट्रहरु मध्ये द अफ्रिका पनि एक हो। यो विश्वको २८ औ ठूलो अर्थ तन्त्र हो। क्रय शक्ति तुलनाको आधारमा अफ्रिकामा, पाँचौ अधिक प्रति व्यक्ति आय हुने राष्ट्र हो। तर गरिबी  बेरोजगारी पनि उत्तिकै व्याप्त छ, यो देशमा। करिब २५ प्रतिशत जनताको एक दिनको आम्दानी US$ .२५ भन्दा कम छ। यसै गरी, आय असमानता (Income inequality)  अति रहेको, विश्वका दस राष्ट्रहरु मध्ये द अफ्रिका पनि एक हो। अहिले पनि द अफ्रिकामा, माटोका घर हुने हरु छन भने अर्कोतिर सुबिधा सम्पन्न, बिलासी एवं स्विमिंग पुल भएका घर हुने हरु पनि छन। द अफ्रिकाको सर्वाधिक ठूलो आर्थिक समस्या भनेको यहाँ व्याप्त रहेको बेरोजगारी हो। करिब २५ प्रतिशत जनताको हातमा कुनै किसिमको रोजगारी छैन। खास गरी युवाहरु बेरोजगारीबाट बढी सताइएका छन। २५ वर्ष मुनिकाहरु मध्ये लगभग ५३ प्रतिशत बेरोजगार छन।
द अफ्रिकामा  ७९.२ प्रतिशत जनता काला (अफ्रिकन मुलका) छन। तर पनि यो देशमा जातीय विविधता ठूलो मात्रामा छ। कुल जनसंख्यामा गोराहरु ८. ९ प्रतिशत छन। यसै गरी एशियन वा भारतीयहरु २.५ प्रतिशत छन। अन्य मुलका जनता ९.४ प्रतिशत छन। ११ वटा भाषाहरुले राज्यको भाषाका रुपमा मान्यता पाएका छन। तर सन् १९९४ सम्म द अफ्रिकामा अल्प संख्यक गोराहरुले शासन चलाएका थिए। सन १९४८ मा सत्तामा आएका गोराहरुले रंग भेदद्वारा जनताको निकै शोषण गरेका थिए। यहाँसम्म कि गोरा र काला हरुले चढ्ने बसहरु फरक फरक हुन्थे। त्यति मात्रा होइन बसोबास गर्ने ठाउँ अलग हुनुका साथै गोरा र कालाहरु उभिने लाइनहरु पनि अलग अगल हुने गर्थे। तर  लामो समय देखि चलेको रंग बिरोधी आन्दोलनले गोराहरुलाई सहमतिमा आउन बाध्य पार्यो। रंग बिरोधी आन्दोलनमा नेल्सन मन्डेलाको भूमिका निकै महत्वपूर्ण रह्यो। सन् १९९३ मा एफ डबल्यू डि क्लार्क र नेल्सन मन्डेला बीच सत्ता र नीतिहरु रुपान्तरण गर्ने सहमति भयो। त्यसको लगत्तै सन् १९९४ मा भएको पहिलो चुनावमा अफ्रिकन नेशनल कांग्रेस पार्टीले ठूलो मतले बिजय हासिल गर्यो। यस भन्दा पहिले २७ बर्ष जेलमा बन्दी जिबन बिताएर नेल्सन मन्डेला बाहिर आएका थिए। अफ्रिकन नेशनल कांग्रेसका सभापति (सन् १९९१-१९९७) समेत रहेका मन्डेला द अफ्रिकाका पहिलो काला निर्वाचित राष्ट्र्पति पनि हुन पुगे। उनी सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति भएका थिए।
अहिले भने पुराना घाउहरुलाई बिर्सेर आर्थिक विकासको बाटोमा लम्केको छ, द अफ्रिका। चीन, ब्राजिल, रुस, भारत सम्मिलित ब्रिक्स क्लब (BRICS Club) को द अफ्रिका एक सदस्य हो। दक्षिण अफ्रिकाले पनि आफूलाई एक उदाउँदो आर्थिक महाशक्तिको रुपमा प्रस्तुत गर्न खोजि रहेको छ। जर्मनी, संयुक्त राज्य अमेरिका, चीन, जापान, संयुक्त अधिराज्य, स्पेन आदि मुलुकहरुसँग व्पापारीक सम्बन्ध कायम गरेर अन्तरार्ष्ट्रिय व्यापारबाट फाइदा लिन खोजेको देखिन्छ। अफ्रिकाका अन्य मुलुकहरुसँग पनि द अफ्रिकाको व्यापारीक सम्बन्ध छ।  सन् २०१३ मा २.८ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य रहेको छ, द अफ्रिकाको।
लगानी नीति सजिलो र भरपर्दो पारेर विभिन्न अन्तरार्ष्ट्रिय कम्पनीहरुलाई आफ्नो मुलुकमा लगानी गर्न आकर्षित गरि रहेको छ, द अफ्रिकाले। सोही अनुरुप विभिन्न विदेशी कम्पनीहरुले लगानी समेत गरेका छन। यो मुलुक एक अति नै मन पराइएको, पर्यटकहरुको, पर्यटकीय गन्तव्य पनि हो। पर्यटन क्षेत्रबाट राम्रो आम्दानी प्राप्त गर्दछ पनि।
हुन त द अफ्रिकाले मिश्रित अर्थ तन्त्र अंगालेको भनी उल्लेख गरिएको पाइन्छ। तर जुन किसिमबाट  द अफ्रिकामा निजी क्षेत्रलाई लगानी गर्न सुबिधा दिइएको छ, विदेशी कम्पनीहरुले त्यहाँ कारोबार गर्न जुन किसिमका सुबिधा एवं छुटहरु पाएका छन्, व्यक्तिहरुलाई धन आर्जन, लगानी एवं संचय गर्न जुन किसिमको छुट दिइएको छ, त्यसबाट यो मुलुकले पूँजीवादी अर्थ तन्त्र अँगालेको प्रष्ट हुन आउँछ। यो देशको अर्थ नीति पूँजीवादी नै हो भन्ने कुरामा द्विविधा रहँदैन।
पूँजीवाद अँगालेर अहिले अँफ्रिकाका विभिन्न मुलुकहरु आर्थिक विकास गर्न उत्प्रेरित एवं अग्रसर समेत भएका छन। साधन र स्रोतहरुले सम्पन्न अफ्रिकी मुलुकहरुले आफ्ना ती साधन र स्रोतहरुको उपयोग गर्न, मुलुकलाई आर्थिक रुपमा समृद्ध पार्न एवं गरिब जनताको जिबनमा सुधार ल्याउन पूँजीवादद्वारा आर्थिक प्रगति हासिल गर्न आवश्यक छ पनि। पूँजीवादको प्रयोग नगरेर, समाजवादी वा साम्यवादी अर्थ व्यवस्था द्वारा नै, अफ्रिकी जनतामा व्याप्त रहेको गरिबी कम पार्ने कोशिस गरियो भने त्यहाँका जनता गरिबीको दल दलमा नै भास्सिएर बाँच्न बाध्य हुने छन्। अहिलेको समय र अन्तरार्ष्ट्रिय अर्थ व्यवस्थाले त्यही नै भन्छ।


विश्वराज अधिकारी 

प्रतीक दैनिकमा प्रकाशित Friday, July 19, 2013

No comments:

Post a Comment