Friday, July 26, 2013

Human Nature and Capitalism-Article-98 Birth, Development, and Use of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२१. मानवीय प्रवृति र पूँजीवाद

पूँजीवादलाई सहि किसिमले बुझ्न सर्व प्रथम मानवीय  प्रवृति बुझ्नु आवश्यक हुन्छ किनभने मानवीय प्रवृतिसँग पूँजीवादको गहिरो सम्बन्ध छ। मानवीय प्रवृति बुझे पछि पूँजीवादको महत्व एवं प्रयोग अझै बढी स्पष्ट हुन आउँछ।
जोगी, बैरागीलाई छाडेर कुरा गर्ने हो भने संसार भरिका सम्पूर्ण मान्छेहरु आर्थिक प्राणीहरु हुन। मान्छेहरु अर्थ वा मुद्राद्वारा संचालित, नियन्त्रित र उत्प्रेरित हुन्छन। केही अपवाद बाहेक मान्छेका सम्पूर्ण क्रियाकलापहरु  केवल आर्थिक उद्देश्य प्राप्ति तर्फ लक्षित रहेको हुन्छ। हरेक समय मानिसको चिन्तन आर्थिक क्रियाकालापमा नै केन्द्रित रहेको हुन्छ, यहाँसम्म की जिवनको अन्तिम साँस लिंदासम्म पनि। र त्यस्तो गर्न आवश्य छ पनि किनभने मानिसले बाँच्नका लागि विभिन्न कुराहरु अनिवार्य रुपमा उपभोग गर्नु पर्दछ। ती वस्तुहरु उपभोग नगरी मानिस बाँच्न सक्तैन। उपभोग गर्नु पर्ने ती अत्यावश्वक सामाग्रीहरु मध्ये केही मात्र निशुल्क उपलब्ध हुन छन्, बाँकी सबैका लागि मानिसले अनिवार्य रुपमा पैसा भुक्तान गर्नु पर्दछ, अर्थात खरिद गर्नु पर्दछ। हावा, सूर्यको प्रकास, आकाश आदि आदि उपभोग गर्न कुनै किसिमको भुक्तानी गर्नु पर्दैन तर आवास, भोजन, कपडा, सडक, सबारी, यात्रा, मनोरंजन जस्ता वस्तुहरु निशुल्क प्राप्त हुँदैनन्। जस्तो सुकै आर्थिक हैसियत भएको मान्छेले पनि यी वस्तुहरु प्राप्त गर्न भुक्तानी गर्नु नै पर्दछ, यहाँसम्म कि भिखारले पनि। मानिस पशु पक्षी जस्तो होइन, प्रकृतिले दिएको निशुल्क वश्तुहरु  (Free goods)  उपभोग गेरर जिवन निर्वाह गर्न सकोस, आय आर्जन गर्न नपरोस, मुद्रा प्रयोग गर्न नपरोस। मानिसले जिवन निर्वाह गर्नका लागि विभिन्न सामाग्रीहरु खरिद गर्नु पर्दछ, ती सामाग्रीहरु प्राप्त गर्नका लागि उसले मुद्रा भुक्तान गर्नु पर्दछ।  आय आर्जन गर्नु पर्दछ। मुद्राको प्रयोग गर्नु पर्दछ। भुक्तानीको अर्को कुनै विकल्प नै छैन, मानिस सँग।
मानिसले जिवन निर्वाह गर्नका लागि आवश्यक पर्ने वस्तुहरु दुई तरीकाले प्राप्त गर्न सक्छ, ती हुन – १) आफैले उत्पादन गरेर २) खरिद गरेर। अहिलेको यो अति आधुनिक युगमा मानिसले जिवन यापन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण वस्तुहरु उत्पादन गर्न कठिन मात्र होइन, असम्भव नै छ। कुनै पनि व्यक्तिले लाख कोशिस गरे पनि, जिवन निर्वाहका लागि आवश्यक पर्ने, सियो देखि हवाइ जहाजसम्म उत्पादन गर्न सक्तैन। यो उत्पादन स्वावलम्बनको युग होइन पनि। मानिस जंगलमा बस्दा एक व्यक्ति वा परिवारले आफूलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरु आफैले श्रृजना वा उत्पादन गर्नु सम्भव थियो होला। तर अहिलेको यो उत्पादन परावल्बनको युगमा सम्भव छैन। अहिले मान्छेका आवश्यकताहरु अन्गिन्ति छन। उपभोग गर्ने वस्तुहरु पनि अन्गिन्ति छन। 
जिवन यापनका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तुहरु मानिसले खरिद गर्नु पर्दछ। खाना पकाउने इन्धनदेखि यात्रका लागि आवश्यक पर्ने सवारी सेवा अनि मनोरंजनदेखि मृत्युमा प्रयोग गरिन कात्रोसम्म। यसरी, आवश्यक पर्ने यी सम्पूर्ण सामाग्रीहरु खरिद गर्नु पर्ने अनिवार्यता भएको हुनाले कुनै पनि व्यक्तिसँग अनिवार्य रुपमा भुक्तानी समार्थ्य हुन आवश्यक छ, अर्थात पैसा हुन आवश्यक छ, ती वस्तुहरु खरिद गर्नका लागि। विना पैसा वा विना आम्दानी बाँच्न ज्यादै कठिन भएकोले नै मानव जिवनमा पैसाले ठूलो महत्व राख्दछ।
पैसा मानव जिवनमा अत्यन्त महत्वपूर्ण तत्व रहेको र यसले जिवन मरण संग सम्बन्ध राख्ने भएकोले नै पैसाले मानिसलाई हरेक अवस्था र समयमा आकर्षित गर्दछ। यो कारणले गर्दा नै कुनै पनि व्यक्ति पैसाद्वारा सजिलै उत्प्रेरित (Motivate)  हुन सक्छ। पैसाले मानवीय जिवनलाई सरल एवं सुरक्षित मात्र होइन सुनिश्चित समेत पार्दछ।
मानिस एक आर्थिक प्राणी मात्र होइन, अति नै स्वार्थी जिव पनि हो। सामान्य अवस्थामा मानिसले, सर्व प्रथम, केवल आफ्नो अनि परिवारको मात्र वास्ता गर्दछ, अनि पछि मात्र बाँकी संसारको बारेमा सोंच्दछ। मानव सभ्यताको विकास नै शोषणबाट भएको हो। उदाहरणका लागि, यातायात एवं कृषिका लागि मानिसले पशु (गोरु, घोडा, हात्ति आदि) हरुको शोषण वा प्रयोग गर्यो। भोजनका लागि अन्य पशु, पंक्षीहरुको प्रयोग गर्यो। अहिलेसम्म पनि मानिसले बाँच्न वा अर्थोपार्जनका लागि पशुहरुको शोषण गरि रहेको देख्न सकिन्छ। एउटा दुब्लो वा कमजोर घोडाले, उसको मालिकका लागि सकि न सकि आठ दस जनालाई बोकेर (टाँगामा) दौडिन परेको सबैले देखेको, सुनेको कुरा हो। भाडा सस्तो हुँदैमा मर्न आँटेको, दुब्लो घोडामा समेत चढ्न नहिचकिचाउनु आम मानवीय प्रवति पनि कसैबाट नलुकेको तथ्य हो। पैसा प्रति मानिस कति  आशक्त हुन्छ भन्ने कुराको  एक सानो उदाहरण हो यो। 
मानिस अति नै स्वार्थी प्रणी हो भन्ने यथार्थको अर्को उदाहरणको रुपमा यसलाई पनि लिन सकिन्छ। गाउँमा बाढी आए पछि मान्छेले सर्व प्रथम आफ्नो गाउँ जोगाउने प्रयास गर्दछ। बाढी गाउँमा पसे पछि आफ्नो टोल जोगाउने प्रयास गर्दछ। टोलमा पानी पसे पछि आफ्नो घर जोगाउने प्रयास गर्दछ। अनि घरमा पनि पानी पसे पछि केवल आफूलाई जोगाउने प्रयास गर्दछ, परिवारका अन्य सदस्यहरुलाई छाडेर। अर्थात मानिसको विवेकको दायरा साँघुरो हुँदै जान्छ, परिस्थिति अनुसार। यो आम मानवीय प्रवृति हो। दुइ चार जना अपवादमा पर्न सक्छन, यस धारणाको। मानिस स्वार्थी भएको हुनाले नै उसलाई नियन्त्रित गर्नका लागि सेना, प्रहरी, प्रशासन, अदालत आदिको व्यवस्था गर्नु परेको हो। ऐन, कानून, नीति, नियमहरुको तर्जुमा गर्नु परेको हो। मानिस निस्वार्थी र सर्वकालिक विवेकी भएको भए यी कुराहरुको व्यवस्था नै गर्नु पर्दैन्थ्ययो। पशु पक्षीहरुका लागि यी कुराहरुको आवश्यकता पर्दैन, किनभने यिनीहरु स्वार्थी हुँदैन। यिनीहरुले गर्ने क्रियाकलापहरु केवल  तत्कालिक भोक मेटाउनका लागि मात्र हुन्छ। धन आर्जन वा संचयका लागि हुँदैन। शक्तिसाली हुनका लागि हुँदैन।
साम्यवाद (communism)  वा समाजवाद (socialism) ले मानिसलाई एक आर्थिक प्राणीको रुपमा हेर्दैन। मानिसलाई मुद्रा द्वारा होइन सिद्धान्तद्वारा संचालित, नियन्त्रित एवं उत्प्रेरित गर्न सकिनछ भन्ने आफूले बनाएको मान्यतामाथि अटुट रुपमा विश्वास गर्दछ। यसै गरी साम्यवादले, व्यक्ति सर्वकालिक रुपमा विवेकी हुन्छ, व्यक्तिले व्यक्तिगत स्वार्थ होइन सामुहिक हितलाई महत्व दिन्छ,  व्यक्तिगत जिवन भन्दा सामुहिक जिवन बाँच्न रमाउँछ जस्ता धारणाहरु बलियो गरि निर्माण गरेको हुन्छ। साम्यवाद वा समाजवादका यी विश्वास एवं धारणाहरुको खण्डन गर्ने सन्दर्भमा मानवीय प्रवृतिको चर्चा गर्न खोजिएको हो। माथि उल्लेख गरिएका तथ्यहरुबाट के प्रष्ट हुन आउँछ भने मान्छेका सम्पूर्ण क्रियाकलापहरु आय वा धन आर्जन तर्फ निर्देशित हुन्छन। पैसाले मानिसको जिवनमा ठूलो महत्व राख्ने हुनाले मान्छे पैसा द्वारा नै बढी उत्प्रेरित हुन्छ। मानिस सिद्धान्त द्वारा सर्वकालिक रुपमा उत्प्रेरित हुन सक्तैन। मान्छे एक अति नै स्वार्थी जिव हो।  
मानिस पैसा द्वारा होइन, सिद्धान्त द्वारा, सर्वकालिक रुपमा समूहका लागि कार्य गर्न उत्प्रेरित हुन सक्छ भनी साम्यवादले निर्माण गरेको धारणा उसको केवल भ्रम हो। यसले यथार्थसँग कुनै किसिमको सम्बन्ध राख्दैन। सामान्य स्थितिमा मानिस पैसाद्वारा नै बढी मात्रामा उत्प्रेरित हुन्छ।  
साम्यवादी वा समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु – भूमि, श्रम, पूँजी र संगठनमाथि केन्द्र वा राज्यको नियन्त्रण हुन्छ। उत्पादनमा संलग्न श्रमिकहरुले केवल तोकिएको पारिश्रमिक, जुन सरकारले निर्धारण गरेको हुन्छ, पाउने हुनाले उनीहरु आफ्नो क्षमताको अधिक भन्दा अधिक उपयोग गर्न चाहँदैनन् किनभने कम वा बढी जति काम गरे पनि तोकिएको पारिश्रमिक पाइने कुरा उनीहरुलाई भलिभाँति थाहा हुन्छ। श्रमिकले बढी काम गरे पारिश्रमिक पनि बढी पाउने वा आफ्नो कुशलता वा उत्पादन क्षमता अनुसार पारिश्रमिक पाउने व्यवस्था नभएकोले साम्यवादी व्यवस्थामा श्रमिकले आफ्नो कुशलता वा क्षमताको उच्चत्तम प्रयोग गर्न चाँहदैन। परिणामस्वरुप उत्पादन तथा उत्पादकत्वमा दुबैमा वृद्धि हुन सक्तैन।  यही कारण हो, साम्यवादी अर्थ व्यवस्थामा राष्ट्रिय अर्थतन्त्र क्रमिक रुपमा कमजोर हुँदै जान्छ।
पूँजीवादी अर्थ व्यवस्थामा श्रमिकले आफ्नो कार्य कुशलता एवं क्षमता अनुसार पारिश्रमिक पाउने, श्रमिकहरुलाई पारिश्रमिक फरक फरक किसिमले उनीहरुको कार्य क्षमताको आधारमा दिइने हुनाले उनीहरु आफ्नो क्षमताको बढी भन्दा बढी उपयोग गरेर ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित हुन्छन। थप पारिश्रमिक वा पैसाले उनीहरुलाई आफ्नो क्षमताको बढी भन्द बढी उपयोग गर्न प्रेरित गर्दछ। यो व्यवस्थाले गर्दा एकातिर ठूलो परिमाणमा उत्पादन हुन्छ भने अर्को तिर श्रमिकहरुले जति बढी आफ्नो क्षमता वा कुशलताको उपयोग गर्यो त्यतिनै बढी पारिश्रमिक पाउने अवस्था श्रृजना हुन्छ। हामीले माथि नै उल्लेख गरि सक्यौ, मानिसलाई सर्वाधिक किसिमले पैसाले मात्र उत्प्रेरित गर्दछ। मानिस विशुद्ध रुपमा एक आर्थिक एवं स्वार्थी जिव हो। मानिसलाई केवल कोरा सिद्धान्त सुनाएर निस्वार्थी तुल्याउन सकिंदैन। कुनै किसिमको सामुहिक हितको कार्य गर्न उसलाई उत्प्रेरित गर्न सकिंदैन।  

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 26, 2013

No comments:

Post a Comment