Friday, September 27, 2013

What are the bases for candidate's popularity? Article 105

के के हुन त उम्मेदवारका लोकप्रियताका आधारहरु?

संविधानसभा निर्वाचनको मिति नजिकिंदो परिप्रेक्ष्यमा राजनैतिक दलहरुले निर्वाचनसंग सम्बन्धित विषयहरु- चुनावमा सहभागिता, उम्मेदवार घोषणा, घोषणा पत्र निर्माण, प्रचार प्रसार आदिमा बढाएको सकृयता हेर्दा नेपालमा निर्वाचन होला भन्ने निश्चितताको स्तर माथि बढ्दै गइ रहेको छ र साथै मुलुकले यो पटक त अवश्य पनि संविधान पाउने छन भन्ने राष्ट्रिय आशा पनि सुक्न थालेको अवस्थाबाट विस्तारै हरियो हुँदै जान थालेको छ। हुन त अब बन्ने संविधानसभाले अवश्य पनि संविधान निर्माण गर्ला भनी विश्वास गरि नै हाल्ने कुनै ठोस आधार भने देखिएको छैन, दलहरुको विगतका क्रियकलाहरुको मूल्यांकन गर्दा। र त्यसरी आधार नदेखिनुको प्रमुख कारण भने, अब पुन निर्माण हुने संविधानसभामा तिनै पुराना राजनैतिक खेलाडीहरुले मैदानमा प्रवेश पाउनु हो, खेल उनीहरुको बीचमा नै हुनु हो। यी तिनै राजनैतिक खेलाडीहरु हुन जसले  विगतमा लामो, उराठ लाग्दो, घिर्णित खेल खेलेर, अति मूल्यवान खेललाई अनिर्णित (संविधान न दिएर) पारेर हिँडेका थिए। राष्ट्रको महत्वपूर्ण समय र साधन वरवाद गरेर हिंडेका थिए। गैर जिम्मेबारीपनको दुर्लभ नमूना प्रस्तुत गरेका थिए। त्यस कार्यको लागि नेपाली इतिहासले भने उनीहरुलाई सदैव याद गर्नेछ।
 चुनाव हुने वातारण जुन किसिमले बलियो बन्दै गइ रहेको छ, चुनावमा तिनै पुराना, हारेका, थाकेका, झगडिया, कुटिल, स्वार्थी खेलाडिहरु फेरि निर्वाचित भएर आउने संकेत मिल्न थालेको छ, यो पार्टीबाट यो उम्मेदवार हुने, त्यो पार्टीबाट त्यो उम्मेदवार हुने भनी चर्चा परिचर्चा सुन्दा, हेर्दा। निष्पक्ष, निस्वार्थी, इमान्दार र कुनै दलमा आवद्ध नभएका व्यक्तिहरु, चुनावी चर्चामा, संविधान सभा सदस्य उम्मेदबारको रुपमा उदाउन थालेको छैनन्, जुन ज्यादै दुखद पक्ष हो। अर्को कुरा, दल भित्र बाट पनि विवादमा नपरेका, स्वच्छ छवि भएका, निस्वार्थी, विकासप्रति कटिवद्ध व्यक्तिहरुको नाम उम्मेदवारको रुपमा चर्चामा आउन सकि रहेको छैन। दलका प्रमुख एवम् प्रभावशली नेताहरुले त्यस किसिमक व्यक्तिहरुलाई उम्मेदवारको रुपमा उठाएर आफ्नो शक्ति कमजोर बनाउन चाहि रहेका छैनन्। उनीहरु योग्य र सक्षम व्यक्तिहरुलाई उम्मवेदवार नबनाई केवल आफूहरु र आफूहरुले पत्याएका, दलप्रति नभइ नेताप्रति वफादार रहने आसेपासेहरु लाई प्रत्यासी बनाउने दाउपेंचमा लागेका छन, जुन अर्को दुखद पक्ष हो।
छापाहरुमा केही खबर, चर्चा परिचर्याहरु यस्ता पनि आएका छन, जसमा दलका हर्ताकर्ता (प्रभावशाली नेता) हरुले यो पटकको चुनावमा युवाहरुको सहभागिता ठूलो संख्यामा गराउने अर्थात चुनाव लड्न आ-आफ्नो दलबाट युवाहरुलाई बढी भन्दा भढी टिकट दिने उल्लेख गरिएका छन्। यो एक किसिमको चुनावी रणनीति हो, पुराना नेताहरुले नया नेताहरु निर्माण गर्न देखाएका सदासयता होइन। युवाहरुको सहभागिता बढाउने नाममा दलका प्रभावशाली नेताहरुले युवाहरु मध्येका आफ्ना गुटका विश्वास-पात्रहरुलाई निर्वाचनमा विजयी तुल्याएर आफ्नो पक्ष बलियो तुल्याउने एक प्रकारको कुटिल चाल हो, यो। अर्को, र अति महत्वपूर्ण कुरा त के हो भने नेपालको वर्तमान जनसंख्याको ढाचामा युवाहरुको प्रतिशत अधिक छ। मतदाताहरुको उमेर हेर्दा, १८ देखि ४० वर्षका मतदाताहरु कुल मतदाताको प्रतिशत ३८ छन्। यस किसिमको परिस्थितिमा युवाहरुको मतले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसकारण युवाहरुलाई रिझाउन वा लोभ्याउन पनि दलका प्रभावशाली पुराना नेताहरुले चुनावमा युवाहरुलाई ठूलो संख्यामा उम्मेदवारको रुपमा प्रस्तुत गर्ने उदघोष गरि रहेका छन, जुन उनीहरुको बाध्यता हो, उनीहरुको महानता होइन। पुराना नेताहरुले महानता देखाउन खोजेको हो भने, स्वार्थी राजनीति होइन देश र जनताको आर्थिक विकासमा समर्पित हुने इच्छा राखेको हो भने, चुनावमा भाग नलिने घोषणा गर्न सक्नु पर्दछ, राजनीतिबाट सन्यास लिएर सामाजिक कार्यमा लाग्नु पर्दछ। सत्ता प्राप्तिका लागि गर्ने राजनैतिक व्यवसाय बन्द गर्नु पर्दछ।
 जे जस्तो किसिमको उद्देश्यका साथ होस तर युवाहरुलाई ठूलो संख्यामा उम्मेदवारको रुपमा प्रस्तुत गर्नु राम्रो पक्ष् हो। राष्ट्रिय जनसंख्यामा युवाहरुको प्रतिशत बढी भएकोले उनीहरुले प्रतिनिधित्व पनि ठूलो संख्यामा गर्न पाउनु पर्दछ। युवाहरुमा नया नया काम, समन्वयात्मक ढंगमा, जोश र जाँगरका साथ गर्ने क्षमता हुन्छ पनि। तर महत्वपूर्ण कुरा त के हो भने कुनै दलको नेता, युवा हुँदैमा, उ चुनावमा निर्वाचित हुँदैमा, उसले इमान्दारी र निष्पक्षताका साथ देश र जनताको हितमा काम गर्छ भन्ने कुराको कुनै ग्यारंटी गर्न सकिंदैन। युवा हुनु नै आर्थिक विकासप्रति समर्पित हुनुको बलियो प्रमाण-पत्र होइन। तर जुन सुकै उमेरको व्यक्ति, जुन सुकै राजनैतिक दलबाट निर्वाचित भएर आएको किन न होस, यदि उ इमान्दार र निष्पक्ष छ भने त्यस किसिमको व्यक्ति निर्वाचित भएमा उबाट देश र जनताको हितमा काम हुन्छ भन्ने कुराको ग्यारंटी भने गर्न सकिन्छ। व्यक्ति निष्पक्ष र इमान्दार हुनु नै उ देश र जनताको आर्थिक विकासप्रति समर्पित हुन्छ भन्ने कुराको ग्यारंटी हो, प्रमाण हो।
संविधानसभाको पछिल्लो निर्वाचन सम्पन्न भएको बेलादेखि नै राष्ट्र र सामान्य जनता कमजोर तर दल र तिनका नेताहरु बलियो हुँदै आएको स्थिति थियो र त्यो स्थिति अहिलेसम्म पनि कायम नै छ।  दलका नेताहरुले नेपालको राजनीतिलाई आफ्नो स्वार्थ अनुसार कहिले कता कहिले कता पुर्याए। केही सीमित नेताहरुको वरि परि नै राष्ट्रिय राजनीतिले चक्कर काट्यो र अहिले पनि काटि रहेको छ। देशको आर्थिक प्रगति सुस्त हुन पुग्यो, राजनीति त अन्यौलपूर्ण भयो नै। अब भने त्यस्तो स्थितिको अनत्य हुनु पर्दछ। दल र तिनका नेताहरु होइन सामान्य जनता बलियो हुनु पर्दछ, अब यो समयमा। राष्ट्र बलियो हुनु पर्दछ। राष्ट्र र जनतालाई बलियो बनाउने प्रमुख माध्यम भनेको संविधानसभाको निर्वाचनमा असल, निस्वार्थी र इमान्दार उम्मेदवारहरुलाई विजयी गराउनु हो। यो मूल्यवान औसरलाई नेपालीहरुले गुमाउनु हुँदैन। केवल दाउँपेंच मात्र खेल्ने किसिमका दलहरुका दाउँपेंचमा पर्न हुँदैन। उनीहरुका कोरा आदर्शवादी, असफल सिद्धान्तवादी, जातिवादी, साम्प्रदायिक, भेवभावपूर्ण कुराहरुमा लाग्नु हुँदैन।
मतदाताहरुले कसलाई भोट दिने भनी उम्मेदवारहरुमा हेर्नु पर्ने गुणहरुमा दुईवटा गुणहरु प्रमुख रुपमा हेर्नु पर्ने देखिन्छ, वर्तमानको अन्यौलपूर्ण राजनीतिको समाप्ति गर्न अनि देशलाई आर्थिक विकासको पथमा तिब्र गतिमा दौडाउनका लागि। ती दुई गुणहरु हुन- १. निस्वार्थी र इमान्दारीता   . आर्थिक नीतिप्रतिको स्पष्टता।
उम्मेदवार यो वा त्यो राजनैतिक दलको हो, उम्मेदवारले यो जाति वा समुदायको प्रतिनिधित्व गर्दछ, उम्मेदवारले यस किसिमको राजनैतिक सिद्धान्तमा आस्था राख्दछ भन्ने जस्ता कुराहरुलाई अब उम्मेदवारको योग्यताको रुपमा लिनु हुँदैन। उम्मेदवारको प्रमुख योग्यता भनेको उसमा इमान्दारी हुनु हो। इमान्दार व्यक्ति कुनै दल भित्र वा वाहिर भए पनि उसले देश जनताको हितमा काम गर्छ। कुनै व्यक्तिले म इमान्दार हो भनी प्रचार गर्दैमा उ इमान्दार हुन्छ नै भन्ने पनि छैन। उसको इमान्दारी उसको व्यवहारद्वारा देखिएको हुनु पर्दछ। त्यसकारण कुनै व्यक्तिले के भन्छ भन्ने कुराहरुलाई होइन उसले के गर्दछ भन्ने कुराहरुलाई उप्रतिको विश्वनीयताको आधार बनाउनु पर्दछ।
उम्मेदवारको आर्थिक नीतिप्रतिको स्पष्टता अर्को तर ज्यादै महत्वपूर्ण योग्यता हो। उम्मेदवारलाई आर्थिक क्षेत्रको राम्रो जानकारी छ कि छैन, आफ्नो क्षेत्रको आर्थिक विकासका लागि उसंग कस्ता कस्ता सोंच एवं कार्यक्रमहरु छन, आफ्ना ती कार्यक्रमहरुलाई उसले कुन किसिमबाट सम्पन्न गर्ने योजना बनाएको छ, साधनहरु कसरी जुटाउने लक्ष्य राखेको छ,  तोकिएको अवधि (पाँच वा सात वर्ष) भित्र आफ्नो क्षेत्रमा के कस्ता आर्थिक विकासहरु भएको हेर्न खोजेको छ, गरिबी निवारण र विपन्न जनताको आर्थिक विकासका लागि उसंग कस्ता कस्ता कार्यक्रमहरु छन्, आफ्नो क्षेत्रमा रोजगारी विस्तार गर्न उसले के कस्ता कार्यक्रमहरु ल्याउने सोंच राखेको छ, जस्ता कुराहरुमा उम्मेदवारको धारणा कस्तो छ भनी थाहा पाउन आवश्यक छ। यी कुराहरुमा स्पष्ट हुनुलाई उम्मेदवारको योग्यताको रुपमा लिनु पर्ने देखिन्छ, राजनैतिक विषयहरुलाई महत्व नदिएर। देशमा प्रजातन्त्र स्थापना भइ सकेको परिप्रेक्ष्यमा अब राजनैतिक मुद्दाहरुले प्राथमिकता पाउनु हुँदेन। आर्थिक विकास भए भने अन्य विषयहरु स्वत सुधारको दिशातर्फ उन्मुख हुने छन। इमान्दारीपूर्व देश र जनताको आर्थिक विकास गर्ने इच्छा शक्ति हुनु नै उम्मेदवारको योग्यताको रुपमा स्थापित हुनु पर्दछ।
 सर्वाधिक महत्वपूर्ण कुरा त के हो भने वर्तमान युगसंग मेल खाने आर्थिक नीतिप्रति वा खुला बजार एवं आर्थिक उदारीकरणप्रति उम्मेदवारले विश्वास गर्दछ कि गर्दैन, त्यसलाई पनि उम्मेदवारको योग्यता जाँच्ने कसीको रुपमा लिनु पर्दछ। संकुचित र परम्परागत आर्थिक नीति राख्ने, धनी र गरीब सत्रुताका दुई पक्षहरु भनी हेर्ने, संपत्तिमा राज्यको नियन्त्रण हुनु पर्छ भन्ने, सम्पत्ति स्वतन्त्र रुपले आर्जन, लगानी र संचय गर्न पाउने अधिकार कुण्ठित गर्न खोज्ने जस्ता जन प्रतिनिधिबाट न मुलुकको आर्थिक विकास हुन सक्छ न त गरिबहरुको कल्याण नै हुन सक्छ, यो विश्व बजारीकरणको युगमा। गरिबहरुको आर्थिक हित गर्न खोज्नेले उदार र खुला अर्थ नीतिमा विश्वास गर्नै पर्दछ, यसको विकल्प छैन।  
अब भने, म यो उम्मेदवारलाई भोट हाल्छु किनभने यो मैले चाहेको दल, समुदायको व्यक्ति हो, यसले यस किसिमको सिद्धान्तमा विश्वास गर्छ, यसले हाम्रो जात जातिको विकासमा सहयोग पुर्याउँछ भन्ने मानसिकताबाट आम मतदाताहरु बाहिर आउन आवश्यक छ। होइन, यही मानसिकताबाट ग्रसित भएर मत हाल्ने हो, नेता निर्वाचित गर्ने हो भने तिनै नेताहरु वा तिनका विश्वास-पात्रहरु पुन निर्वाचित भएर आउने छन् र मुलुकको राजनैतिक र आर्थिक स्थितिलाई अझै पचास वर्ष पछाडि पुर्याउने छन, विश्वका अन्य राष्ट्रहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गरेता पनि। यस्तो भएमा, जनताले, मुलुकको अति सुस्त आर्थिक विकासका लागि नेताहरु र उनीहरुद्वारा निर्माण गरिने राजनीतिलाई दोष दिने ठाउँ रहने छैन। अशल जन प्रतिनिधि छनौट गर्ने औसर गुमाएर राजनीतिलाई पुरानै अवस्थामा पुर्याएको जवाफदेहिता जनताले पनि लिनु पर्ने हुन्छ।

विश्वराज अधिकारी

प्रतिक दैनिकमा प्रकाशित Friday, September 27, 2013

No comments:

Post a Comment