Friday, May 9, 2014

Extremism and Lack Cohesiveness; Causes of Poverty-Article-24

गरिबी विस्तारका दुई कारणहरु; कट्टरता असहनशीलता

केही दसक पहिले विश्वमा गरिबी विस्तार गर्नमा कम्युनिष्ट शासन व्यवस्थाले महत्वपूर्ण भूमिका खेलेको थियो। “उत्पादनका साधनहरु- भूमि, श्रम, पूँजी र संगठनमा राज्यको नियन्त्रण रहनु पर्दछ” भन्ने सिद्धान्तलाई आर्थिक विकास र सामाजिक न्यायको मुल मन्त्र मान्ने कम्युनिष्ट शासन व्यवस्थाले मुलुक र गरिब जनताको हितमा राष्ट्रका स्रोत र  साधनहरुको अधिक्तम उपयोग हुन दिएन। उत्पादनका साधनहरुमा राज्यको अति नियन्त्रण भएको कारणले गर्दा धेरै राष्ट्रहरुमा आर्थिक विकासको गति ज्यादै सुस्त मात्र होइन, स्थिर नै हुन पुग्यो। नया नया किसिमका व्यापारहरुको विकास हुन पाएन। मुलुकको आर्थिक विकास गर्न नया नया उद्यमीहरु रचनात्मक सोंचका साथ व्यापारमा संलग्न हुन सकेनन्। अर्कोतिर कम्युनिष्ट शासन व्यवस्थालाई अगाडि बढाउने नेताहरुले भने केवल आफ्नो स्वार्थका लागि  राष्ट्रका स्रोत तथा साधनहरुको व्यापक दुरुपयोग गरे। राष्ट्र र जनतालाई कसरी गरिबीबाट मुक्ति दिलाउन सकिन्छतिर ध्यान दिनुको साटो आफूहरु कसरी लामो समयसम्म सक्ति र सत्तामा रहन सकिन्छमा दिलचस्पी राख्न थाले। परिणामस्वरुप कम्युनिष्ट व्यवस्था अंगालेका मुलुकहरुको आर्थिक स्थित कमजोर हुने क्रम शुरु भयो। प्राकृतिक र मानवीय स्रोत र साधनहरुले सम्पन भएता पनि कतिपय राष्ट्रहरुले आर्थिक विकास गर्न सकेन। गरिब जनता झनै गरिब हुन पुग्यो। कुनै समयमा कम्युनिष्ट शासन व्यवस्था अंगालेका पूर्वीय यूरोपका देशहरु अहिले पनि गरिबीबाट मुक्ति पाउन संघर्ष गरि रहेका छन्।
जुन बेलामा पूर्वीय यूरोपका राष्ट्रहरुमा कम्युनिष्ट शासन व्यवस्था थियो, ठीक त्यही समयमा पश्चिमी यूरोपका राष्ट्रहरुमा प्रजातान्त्रिक शासन व्यवस्था थियो र ती राष्ट्रहरुले पूँजीवादी अर्थ व्यवस्था अंगाले थिए। पश्चिमी यूरोपका ती राष्ट्रहरु त्यो बेलामा पूर्वीय यूरोपका राष्ट्रहरु भन्दा धनी त थिए नै अहिले पनि ती राष्ट्रहरुलाई विश्वका धनी राष्ट्रहरु भनेर सम्बोधन गरिन्छ, जस्तै जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटली, निदरलैण्ड, बेल्जियम, स्विडेन, नर्वे आदि। चीन र तत्कालिन सोभियत रुसमा कम्युनिष्ट शासन व्यवस्था रहँदासम्म ती राष्ट्रहरु पनि आर्थिक रुपमा कमजोर थिए। चीनमा तेंग जाओपिंगको उदय नभएको भए  अहिले चीनको आर्थिक अवस्था कस्तो हुने थियो, कल्पना गर्न समेत गार्हो छ। माओ त्से तुंगले बिरासतमा छाडेर गएको गरिबीबाट बाहिर आउन चीनले अहिले पनि संघर्ष गरि रहेको छ। राष्ट्रिय सम्पत्तिको हिसाबले चीन अहिले धनी मुलुक भएता पनि राष्ट्रिय आय वितरणको हिसाबले चीन अहिले पनि गरिबीकै स्थितिमा छ। अहिले पनि लाखौ चीनी परिबारहरु अति निर्धन छन्।
कम्युनिष्ट अर्थ व्यवस्थाले गर्दा आर्थिक स्थिति कमजोर हुन पुगेकोले नै तत्कालिन सोभियत संघको विघटन भएको हो। आर्थिक रुपमा बलियो भएको भए, केन्द्रले राज्यहरुलाई प्रभावकारी निर्दैशन दिएको भए, कुसल नियन्त्रण स्थापना गर्न सकेको भए, सोभियत संघको विघटन हुने थिएन। आफ्नो जनतालाई गरिब पारि पारि, मुलुकमा कम्युनिष्ट शासन व्यवस्था टिकाउन र विश्वका अनेक राष्ट्रहरुमा कम्युनिष्ट व्यवस्था फैलाउन सोभियत संघले अनावश्यक रुपमा राष्ट्रिय सम्मपत्ति खर्च गर्यो। परिणामस्वरुप सोभियत संघ आर्थिक रुपमा कमजोर हुने क्रम शुरु भयो। सैन्य बलको हिसाबले रुस कमजोर थियो नै, आर्थिक स्थिति कमजोर भए पछि त सैन्य बल पनि कमजोर भएर आक्रामक बाट रक्षात्मक हुन पुग्यो। सोभियत संघबाट टुक्रिएर गएका राष्ट्रहरु अहिले पनि तुलनात्मक रुपमा गरिब नै छन्। उदाहरणको रुपमा युक्रेन, जर्जिया आदिलाई लिन सकिन्छ। अहिले भारत र चीनमा जसरी केन्द्रीय प्रशासन अति बलियो छ, राष्ट्रमा हुने कुनै पनि पृथकतावादी आन्दोलनलाई सैन्यवलद्वारा दबाउन सक्छ, त्यस्तो स्थिति सोभियत संघमा त्यो बेलामा भएको भए, सोभियत संघ टुक्रिने थिएन। केन्द्रीय प्रशासन बलियो हुनका लगि मुलुक आर्थिक रुपमा बलियो हुनु पर्ने रहेछ। उदाहरणले त्यही देखायो।
भारतमा त, यो देश स्वतन्त्र भए देखि नै यहाँ प्रजातन्त्रिक शासन व्यवस्था थियो र अहिले पनि छ। तैपनि भारतमा आर्थिक विकासको दर शुरुको अवस्थामा किन कमजोर रहन गयो त, भन्ने प्रश्न पनि आउन सक्छ। सन् १९४७ मा भारत स्वतन्त्र भए देखि नै त्यहाँको अर्थ व्यवस्थामा समाजवादी अर्थ व्यवस्था हावी रहँदै आयो। सन् १९४७ देखि १९९० सम्म भारतमा “परमिट राज” वा “लाइसेन्स राज” (License) को भारि बोलबाला रह्यो। समाजवादी अर्थ व्यवस्थाले भारतको आर्थिक विकासको गतिलाई अति नै सुस्त पारिदियो। समाजवादी वा केन्द्र नियन्त्रित अर्थ व्यवस्थाले भारतमा गरिबी बढाउनमा महत्वपूर्ण भूमिका खेल्यो। भारतको आर्थिक विकासको गतिले सन् १९९० पछि मात्र तिब्रता पायो, वा विकासको युग शुरु भयो जब तत्कालिन अर्थ मन्त्री एवं हालका प्रधान मंत्री मनमोहन सिंहले भारतमा  आर्थिक सुधारका कार्यक्रमहरुलाई अगाडि बढाए। मुलुकालाई बजार अर्थतन्त्रतिर डोर्याए। भारतले अहिले पूँजीवादी अर्थ व्यवस्था अंगालेको छ। यो देशलाई चमत्कारी किसिमले आर्थिक विकास गर्ने औसर पनि पूँजीवादले नै जुटाइ दिएको हो।
अब, अहिलेको यो समयमा, कम्युनिज्मको प्रभाव (आर्थिक क्षेत्रमा) विश्वबाट नै लगभग समाप्त हुने स्थितिमा पुगेको छ, उत्तर कोरियालाई छाडेर भन्ने हो भने। अहिले, विश्वको कुनै पनि मुलुकमा केवल कुनै एक कम्युनिष्ट पार्टीले सरकार बनाउने स्थिति छैन, चीनको उदाहरणलाई छाडेर हेर्ने हो भने। चीनमा कम्युनिष्ट पार्टीको सरकार रहेता पनि मुलक भने चुर्लुम्म पूँजीवादमा डुबेको छ। फरक यति मात्र के छ भने चीनको पूँजीवादले कम्युनिज्मको खोल ओढेको छ। त्यसकारण अबको समयमा विश्वमा गरिबी विस्तार गर्नमा कम्युनिज्मको भूमिका अहंम हुने खासै देखिंदैन। तर केही अपवादलाई छाडेर।
अब भने दुई तत्वहरुले विश्वमा गरिबी विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। ती दुई तत्वहरु हुन- धार्मिक कट्टरता र असहनशीलता। त्यस्तो धार्मिक कट्टरता, जसले जनतालाई बहिरी दुनियाको सम्पर्कमा आउन बन्देज लगाउँछ, महिलाहरुलाई शिक्षाबाट बंचित गराउँछ, स्वास्थ सुबिधा गाउँ गाउँ सम्म पुग्न दिदैन, स्वतन्त्रसँग बांच्ने अधिकार कुण्डित पार्छ, कानूनको अवहेलना गर्दै केवल आफूले बनाएको धार्मिक नियमहरु लागू गर्न खोज्छ, ले गरिब जनतालाई झनै झनै गरिब पार्ने देखिन्छ। यो समयस्या निर्धन एवं विकासशील दुबै किसिमका राष्ट्रहरुमा देखा पर्नेछ। एक त गरिब परिबारहरु पहिले देखि नै गरिबीको कारणले गर्दा मुलुकको सुदूर एवं बिकट ठाउँहरुमा बस्न बाध्य भएका छन्। गरिबीबाट मुक्ति पाउन सहयोग पुर्याउने तत्वहरु- शिक्षा, स्वास्थ्य आदि ती गरिब जनताको पहुँचबाट टाढा हुँदै गएमा गरिब जनता झनै गरिब हुँदै जाने निश्चित छ। सोमालियाको अल- सबाब होस वा नाइजेरियाको बोको हराम, वा पाकिस्तानक र अफगानिस्तानका तालिबान, यी धार्मिक क्टटरपंथी समूहहरुले गरिब जनता समक्ष शिक्षा र स्वास्थ्य सुबिधा पुग्न अपठ्यारो पारि रहेका छन्। यी संगठनहरुले आफ्ना क्रियाकलापहरुलाई यस्तै राख्ने हो भने यिनीहरुको क्रियाकलापले गर्दा त्यस क्षेत्रको गरिबी झन झन बढ्दै जाने छ। 
नाइजेरियामा संघर्षरत अतिवादी संगठन, बोको हराम, जसले नाइजेरियालाई इस्लामिक राज्य घोषणा गर्न खोजि रहेको छ, महिला शिक्षाको बिरोध गर्दछ, ले गत अप्रेल १४ (२०१४) मा २०० भन्दा बढी स्कूले छात्राहरुलाई अपहरण गरेको थियो। बोको हरामको शाब्दिक अर्थ हुन्छ “पश्चिमी शिक्षा निषेध छ”। यो लेख लेखिरहंदासम्ममा पनि अहरित स्कूले छात्राहरुलाई ती अपहरणकारीहरुले कहाँ पुर्याएका छन् भन्ने थाहा हुन सकेको छैन्, अपहरणमुक्त गराउनु त टाढाको कुरा भएको छ। नाइजेरियाको उत्तरी राज्य बोर्नो स्थित एक स्कूलबाट अपहरित ती स्कूले छात्राहरु देशको सीमा भित्र छन् वा छिमेकी मुलुक चाड अथवा क्यामरुन पुर्याएका छन, अझै अन्यौल व्याप्त छ। अपहरणमा परेका २७६ मध्ये केवल ५३ जना अपहरणकारीहरुको पंजाबाट मुक्त हुन सफल भएका थिए, बाँकी २२३ जना ती अबोध युवतीहरु अपहरणकारीहरुको कठोर नियन्त्रणमा रहेर त्रासपूर्ण जीवन बाँच्न विवश भएका छन्।  अपहरणमा परेका ती १६ देखि १८ वर्षका स्कूले छात्राहरुलाई अपहरणकारीहरुले बिक्री गर्ने धम्की दिइ रहेका छन। नाइजेरियाको यो अपहरण घटनाले विश्वको ध्यान गंभिर किसिमले आकृष्ट भएको छ भने यो हृदयविदारक त्रासदीलाई ठूलो मानवीय संकटको रुपमा लिइदैछ। यो समस्या समाधान हुन वर्षौ लाग्न सक्छ र त्यो लामो अवधि भर ती अबोधहरुले कहाँ र कस्तो संकटपूर्ण जीवन बिताउनु पर्ने हो, कल्पना गर्दा पनि डर लागेर आउँछ। अपहरणमुक्त गर्ने क्रममा सरकार र अपहरणकारी बीच हुन सक्ने दोहरो मुठभेडले कस्तो स्थिति ल्याउने छ, आफैमा दारूण छ।

विश्वमा गरिबी विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने अर्को तत्व हो असहनशीलता। विश्वका विभिन्न राष्ट्रहरुमा देखिएका द्वन्द र संघर्षहरु, जुन क्षेत्रीयता, जातीयता, साम्प्रदायिकता, भाषा, धर्म आदिका नाममा भइ रहेका छन्, ले पनि गरिबी विस्तार गर्नमा उल्लेखनीय योगदान पुर्याउने छन्। यस किसिमका द्वन्दहरुले राज्यहरु अस्थिर हुनेछन्, राष्ट्रमा उपलब्ध स्रोत र साधनहरुको उपयोग भरपूर किसिमले हुन पाउने छैन र त्यसको मार गरिबहरुलाई नै पर्नेछ। गरिबहरु झन झन गरिब हुँदै जाने छन्। अर्कोतिर, विश्वका अनेक राष्ट्रमा भएका संघर्षहरुले के देखाइ रहेका छन् भने मानिसहरुले विस्तारै मिलेर बस्ने बानी त्यागेर भाषा, धर्म, सम्प्रदाय आदिको आधारमा संघर्ष गर्न आरम्भ गरेका छन्। सहनशीलताको अभावमा विभिन्न भाषा भाषी, जात जाती, समुदाय एक ठाउँमा मिलेर बस्न सकि रहेका छैनन्। यस कुराको पुरानो उदाहरण सुडान हो भने ताजा उदाहरण क्रिमिया। मान्छेहरुमा देखिएको असहनशीलताको कारणले गर्दा नै सुडान टुक्रिएर दुई अलग अलग राष्ट्रमा विभाजित भयो भने क्रिमिया युक्रेनबाट छुट्टिएर रुसमा बिलय भयो। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 09, 2014

No comments:

Post a Comment