Friday, May 2, 2014

The Trade Used As A Weapon-Article-123


व्यापार नै युद्ध लड्ने हतियार

अहिलेको यो युग व्यापर युग हो। अहिले, कुनै पनि राष्ट्रले पर राष्ट्र सम्बन्धको सन्दर्भमा सर्वप्रथम आफ्नो आर्थिक हित सोंच्छ। कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग सम्बन्ध सुमधुर तुल्याउँदा त्यसरी तुल्याइने सुमधुर सम्बन्धले उसलाई कति बढी आर्थिक फाइदाहरु प्राप्त हुन्छन् त्यस कुरामा ध्यान दिन्छ अनि मात्र सम्बन्ध समुधुर बनाउन अग्रसर हुन्छ। आफ्नो राष्ट्रलाई कुनै किसिमको आर्थिक फाइदा हुने स्थिति छैन भने अर्को राष्ट्रलाई सहयोग गर्न तत्काल गइ हाल्ने स्थिति अहिले छैन, अहिलेको यो व्यापार युगमा। तर ६० र ७० को दसकमा यस्तो स्थिति थिएन। छिमेकी वा अन्य कुनै राष्ट्रलाई केवल आफ्नो राजनैतिक प्रभाव क्षेत्र भित्र राख्न मात्र पनि एक राष्ट्रले आफ्नो छिमेकी वा अन्य कुनै राष्ट्रलाई सहयोग गर्न तत्पर रहन्थ्यो। र त्यस किसमका सहयोग अन्तरगत केवल आर्थिक सहायताहरु मात्र हुन्थेनन्, ठूलो सैन्य र महँगो प्राविधिक सहायताहरु पनि हुने गर्थ्ये। यस किसिमको नीति अन्तरगत नै तत्कालिन सोभियत संघ (रुस) ले अनेक राष्ट्रहरुलाई आर्थिक, प्राविधिक र सैन्य गरी विभिन्न किसिमका सहायताहरु उपलब्ध गराएको थियो। अफगानिस्तानलाई सहयोग गर्न सोभियत संघले त्यहाँ ठूलो संख्यामा रुसी सैनिकहरु नै पठाएको थियो। भारतलाई सैन्य एवं अन्य सहयोगहरु गर्न सोभियत संघले भारत सँग ९ अगस्त १९७१ मा २० वर्षे मैत्री सन्धि (The Indo-Soviet Treaty of Peace, Friendship and Cooperation)  नै गरेको थियो। कटुतापूर्ण सम्बन्ध रहेको तत्कालिन चीनसँग टक्कर लिन वा ऊसँग सैन्य प्रतिस्पर्धा गर्न भारतलाई सोभोयत संघसँगको त्यो सन्धिले निकै सहयोग पुर्यायो पनि। यसै गरी सोभिय संघले रोमानिया, चेकोस्लाभाकिया, हंगेरी, बुल्गेरिया जस्ता पूर्वीय यूरोपका अनेक राष्ट्रहरुलाई विभिन्न किसिमका सहयोगहरु गरेको थियो। सोभियत संघले यसरी विभिन्न राष्ट्रहरुलाई सहयोग गर्नुमा उसको केवल एक स्वार्थ थियो, र त्यो थियो उसले कम्युनिष्ट व्यवस्थाको विस्तार विश्वभरि गर्नु, अरु साना तिना स्वार्थहरुलाई छाडेर कुरा गर्ने हो भने। केवल आफूले अंगालेको कम्युनिष्ट व्यवस्था सके संसारभरि नै विस्तार गर्न सोभियत संघले आफ्नो मुलुकको धेरै साधन र स्रोतहरु खर्च गर्यो। विदेशमा तैनाथ गरिएका कैयो रुसी सैनिकहरुले ज्यान गुमाए। विश्वका विभिन्न राष्ट्रहरुलाई आर्थिक, प्रावधिक एवं सैन्य सहयोग गर्ने क्रममा सोभितय संघ लगभग दिवालिया नै हुन पुग्यो। रुसमा गरिबी र महँगी अति नै बढेर गयो। त्यति मात्र होइन, सोभियत संघ विघटन भएर कम्युनिष्ट शासन प्रणालीले सोभोयत संघबाट संधैका लागि बिदाबारि लियो। भविष्यमा पनि कमजोर हुने किसिले टुक्रिएर सोभितय संघ विभिन्न राष्ट्रहरुमा विभाजित भयो। अर्थात टुक्रिएर बनेका राज्यहरु मध्ये केही निकै कमजोर भए। पहिले सोभियत संघ भित्र एकै राष्ट्र भएर बसेकाहरु विभिन्न राष्ट्रहरु विभाजित भए पछि एक अर्का प्रति आक्राम समेत भए। बैरि भाव बढ्यो। र त्यो स्थिति अहिले रुस र युक्रेनको बीचमा निकै देखिएको छ।   

अहिलेको यो व्यापारिक युगको विश्लेषण गरौ। यो व्यापारिक युगमा, रुसले १६ मार्च, २०१४ मा युक्रेनको  भूभाग भित्र रहेको क्रिमियालाई एक किसिमको सैनिक कार्यवाही (वाह्य रुपमा जनमत संग्रह) द्वारा आफ्नो भूभागमा विलय गराउँदा पनि अन्तरार्ष्ट्रिय समुदायले युक्रेनलाई सैन्य सहायत गरी उसको गुमेको सो भूभाग फिर्ता ल्याउन युक्रेनलाई कुनै किसिमको सहयोग गरेन वा गर्न सकेन। र अहिले पनि सहयोग गर्ने कुनै तत्परता देखाएको छैन। विभिन्न राष्ट्रहरुले युक्रेनलाई केवल सहयोग गर्ने वचन दिइ रहेको छन् तर सैन्य सहायता गर्न कुनै एक राष्ट्र पनि अग्रसर भएको देखिएको छैन। युक्रेनलाई सहयोग गर्न भनेर कुनै पनि राष्ट्र आफ्नो जन र धनको खति गराउने मनस्थितिमा छैन्। युक्रेनको सहयोगका लागि हात बढाउने राष्ट्रहरु युक्रेनको हितका लागि रुससँग युद्ध गरेर दीर्घ कालिन युध्दमा होमिन चाहि रहेका छैनन्। अर्थात, अहिले सम्मको स्थतिको मूल्यांकन गर्दा युक्रेनका लागि हतियार उठाउन कुनै पनि राष्ट्र अग्रसर रहेको देखिएको छैन। । भोलि स्थिति ज्यादै बिग्रेर रुसको बिरुध्दमा अन्तरार्ष्ट्रिय समुदायले कस्तो कदम चाल्ने हो त्यो भन्न सक्ने स्थिति अहिले छैन्। राजनीतिमा अनेक विकल्प र संभावनाहरु जहिले पनि मोजुद रन्छन्। तर अहिले सम्मको स्थितिको मूल्यांकन गर्दा युक्रेनलाई कुनै राष्ट्रले आफ्नो सैन्य पठाएर सहयोग गर्ने सम्भावना रहेको देखिएको छैन।  

अहिले बरु अन्तरार्ष्ट्रिय समुदायले युक्रेनलाई सहयोग गर्न रुसको बिरुध्दमा एउटा अर्को किसिमको हतियार उठाएको छ।  त्यो हतियार हो व्यापार हतियार। यो हतियार भौतिक हतियार भन्दा पनि ज्यादै बलियो र प्रभावकारी प्रमाणित भएको छ। यो हतियारले सहयोग गर्दा सहयोग गर्ने राष्ट्रले ठूलो जन धनको क्षति बेहोर्नु पर्दैन। रणभूमिमा जानु पनि पर्दैन। र बलियो र प्रभावकारी किसिमले प्रहार गर्ने हो भने सत्रुलाई कमजोर तुल्याउन सकिन्छ र परारस्त समेत पनि गर्न सकिन्छ। पश्चिमका राष्ट्रहरुले इरानलाई पनि यही हतियार प्रहार गरेका थिए। इरानको बिरुद्धमा विभिन्न किसिमका आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका थिए।

रुस भित्र क्रिमियाको बिलय एवं पूर्वी युक्रेनमा हाल जारि रहेको संघर्ष, जुन रुस द्वारा प्रायोजित रहेको भनी युक्रेनले भन्दै आएको छ, को बिरोध गर्न एवं युक्रेनलाई थप उथल पुथल नगराउन भनी रुसलाई बलियो दबाब दिन संयुक्त राज्य अमेरिका, यूरोपेली यूनियन, जापान आदिले रुसमाथि विभिन्न किसिमका आर्थिक प्रतिबन्धहरु लगाइएको घोषणा गरेका छन्। पुटिनलाई उनको महत्वाकांक्षामा अंकुस लगाउन वा भनौ रुसी कदमको बिरोध गर्न लगाइका ती आर्थिक प्रतिबन्धहरुले रुसलाई पछि हट्न बाध्य पार्ने विश्वास प्रतिबन्ध लगाउने राष्ट्रहरुले लिएको पाइन्छ। लगाइएका त्यस किसिमका प्रतिबन्धहरु अन्तरगत रुसका केही तोकिएका व्यक्तिहरुलाई प्रतिबन्ध लगाउने राष्ट्रहरुले आफ्नो राष्ट्रमा आउन भिसा नदिने, आफ्नो राष्ट्रमा रहेको उनीहरुको सम्मत्ति रोक्का (Freezing) गर्ने, केही वस्तुहरु रुसमा निर्याता गर्न रोक लगाइने, आदि आदि रहेको छ। 

रुसमाथि लगाएको त्यस किसिमका आर्थिक प्रतिबन्धहरुले प्रभाव देखाउन थालेका छन् पनि। यूरोपेली बजारहरुमा एक प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ भने सुन र तेलको मूल्य माथि उक्लेको छ। यसै गरी रुस भित्र पनि आर्थिक प्रतिबन्धको निकै प्रतिकूल प्रभाव पर्न थालेको देखिएको छ। रुसको केन्द्रिय बैंकले आपतकालिन रुपमा ब्याज दर ५.५ प्रतिशतबट ७.० प्रतिशत वृद्धि गरिएको घोषणा गरेको छ। अर्कोतिर रुसको स्टक बजारमा निकै गिराबट आएको  छ। करिब १०० बिलियन अमेरिकी डरल बराबरको लगानी रकम (Investment) रुसबाट बाहिर जाने अनुमान गरिदै छ। डलर र यूरोको तुलनाम रसियन मुद्रा रुबल तल झर्ने क्रम शुरु भएको छ। अन्तरार्ष्टिय मुद्राकोषका अनुसार यस वर्ष रुसको आर्थिक विकास दर अनुमान गरिएको भन्दा तल झरेर ०.२ प्रतिशत रहने छ। जबकि आर्थिक विकास १.३ प्रतिशतले हुने उल्लेख गरिएको थियो। अर्को वर्ष पनि आर्थिक विकासको दर केवल १.० प्रतिशत रहने अनुमान गरिएको छ।

युक्रेन संकटले रुसको अर्थ तन्त्रमा निकै गहिरो गरि प्रभाव पार्ने देखिन्छ। मुख्य गरी अन्तरार्ष्ट्रिय समुदायले रुस माथि लगाएको आर्थिक प्रतिबन्धले रुसलाई निकै सताउने अनुमान गरेको छ। रुसमाथि लगाइको प्रतिबन्धका कारण अन्तरार्ष्ट्रिय लगानीकर्ताहरु रुसमा लगानी गर्न डराइ रहेका छन्। स्थित यस्तै रहने हो, रुसले आफ्ना पाइलाहरु पछाडि नलाने हो, उल्टो रुसले युक्रेनलाई उथल पुथल पारि नै रहने हो भने अन्तरार्ष्ट्रिय समुदायले रुस माथि अझ कडा कडा आर्थिक प्रतिबन्धहरु लगाउने छ। परिणामस्वरुप रुसले मुलुक भित्र ठूलो आर्थिक मन्दीको सामना गर्नु पर्नैछ।

तर सम्भावनाहरुले के देखाइ रहेका छन् भने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले यो लडाई, जुन लडाइमा अस्त्र व्यापारलाई बनाइएको छ, को समाना दीर्घकाल सम्म गर्न सक्ने स्थिति छैन। दीर्घकालमा पुटिनको पराजय हुनेछ, उनले यो मुद्दालाई रुसी राष्ट्रवादसँग जोडे तापनि। रुस भित्र आर्थिक समस्याहरु बढ्दै गएमा ती समस्याहरुले पुटिनको लोकप्रियता र शक्ति दुबैलाई क्षिण पार्दै लाने छ। यो कुरा पुटिनलाई पनि राम्रो गरि थाहा छ। उनले राम्रो गरि बुझेका छन, एकै पटक धेरै राष्ट्रहरुले रुसमाथि व्यापार हतियार प्रयोग गरेमा रुसले ती हतियारहरुको प्रहार छलेर आफूलाई सुरक्षित तुल्याउन सजिलो छेन। पुटिनले यो पनि बुझेका छन कि भौतिक हतियार भन्दा व्यापार हतियार निकै बलियो हुन्छ। यो लेनिन र स्टालिनको जमाना होइन। यो कम्युनिष्ट जमाना होइन। यो व्यापारको जमाना हो।

विश्वराज अधिकारी
 
प्रतीक दैनिकमा प्रकाशित
Wednesday, April 30, 2014

No comments:

Post a Comment