Thursday, January 8, 2015

Secrecy of Economic Development-First Part-Article-155

आर्थिक विकासको रहस्य

लेखन क्षेत्रमा समर्पित भएर मैले लामो समयसम्मको अनुभव संगाली सकेपछि, संसारका विभिन्न मुलुकहरुको भ्रमण गरिसके पछि, अनि अनेक धनी एव गरिब  राष्ट्रहरुको अर्थव्यवस्थाको संरचनाको अध्ययन गरेर त्यसको विश्लेषण गरी सके पछि दुई ओटा प्रश्नहरुले सहज किसिमबाट मेरो मनमा जन्म लिएका छन्। पहिलो प्रश्न, पश्चिमका राष्ट्रहरुले साधन र स्रोतहरुको अभाव र मौसको प्रतिकूलता (केही स्थानहरुमा अत्यधिक चिसोको कारण बाली नलाग्नु) को बाबजुत पनि कसरी यति बढी आर्थिक विकास गरे अनि आफ्ना नागरिकहरुलाई आर्थिक रुपमा सक्षम समेत पार्दै लगे। पहिलो र दोस्रो गरी दुई ओटा ठूला ठूला विश्व युद्धहरु लडेर पनि, अनेक किसिमका लडाई झगडाहरुमा संलग्न भएर पनि कसरी प्रत्येक क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरे? दोस्रो प्रश्न, पूर्वका राष्ट्रहरुले साधन र स्रोतहरुको प्रचुर उपलब्धता र मौसको अनुकूलता (वर्षभरि नै खेति गर्न सकिने) पाएर पनि राष्ट्रिय आर्थिक विकासको गतिलाई किन तिब्र पार्न सकेनन्? किन क्रमिक रुपमा अति मन्द पार्दै लगे? ठूला ठूला युद्धहरुमा संलग्न नभएर पनि आर्थिक विकासको सन्दर्भमा किन यति कमजोर भए कि आफ्ना गरिब नागरिकहरुलाई दुई छाक पेट भरि खान दिने सम्मको क्षमताको विकास पनि उनीहरुमा हुन सकेन। यो ज्यादै गहन र अनुषन्धानको विषय हुन पुगेको छ।
इतिहासको कुरा गर्ने हो भने एशिया र खास गरी भारतीय उपमहाद्वीप परापूर्व कालदेखि नै खनिज र कृषि उत्पादनका लागि धनी रहँदै आएको हो। मानव सभ्यताको विकासको क्रममा जब मानव जीवन पूर्ण रुपमा कृषिमा आधारित थियो त्यो बेला पनि यो क्षेत्र अति नै धनी थियो। भारतीय उपमहाद्वीपमा अपार सम्पत्ति छ भन्ने सुनेर संसारका विभिन्न देशहरुबाट सुल्तान, बादशाह, महाराजा लगायत अनेक लुटेराहरु यस क्षेत्रमा धन सम्पत्ति लुट्न आउंथे। गोला बारुद बोकेर ठूलो फौज सहित आक्रमण गर्न आउँथे। भनिन्छ गजनीको महमुद वा महमुद-ए-जुबेलीले भारतीय उपमहाद्वीपबाट निकै सम्पत्ति लुटेर लगेका थिए। यस उपमहाद्वीपमा धन सम्पत्तिकै लागि नै उनले सत्र पटक आक्रमण समेत गरेका थिए। भारतीय उपमहाद्वीप भित्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र भुटान गरी छ राष्ट्रहरु पर्दछन्।
तत्कालिन इरानका शासक नदिर शाह, जसले सन् १७३६ देखि १७४७ सम्म इरानमा शासन गरेका थिए, ले पनि भारतीय उपमहाद्वीपमा पसेर यस क्षेत्रका अनेक र धेरै धन सम्पत्तिहरु लुटेका थिए। सन् १७३९ को मार्चमा नदिर शाहले दिल्लीमा  आक्रमण गरेर ठूलो परिमाणमा धन सम्पत्ति लुटेका थिए। त्यस बेला नदिर शाहको फौजले दिल्लीमा करीब ३० हजार व्यक्तिहरुको हत्या समेत गरेको थियो।
दिल्ली आक्रमणमा नदिर शाहले राजकीय खजाना हात पारेका थिए। मयूर सिहांसन पनि लिन सफल भएका थिए। भनिन्छ उनले  तत्कालिन दिल्ली दरबारबाट ४४५५ करोड भारतीय रुपैया लुटेर आफूसँगै इरान लगेका थिए। त्यति मात्र होइन, नदिर शाहले दिल्लीबाट वहुमूल्य कोह-इ-नूर तथा दार्या-ए-नूर हिरा पनि आफूसँगै लुटेर लगेका थिए। नदिर शाह इरान फर्किने बेलामा उनका फौजले हजारौ हात्ति, घोडा, ऊट आफ्नो साथमा लग्नु का साथै तिनमा लुटेका सामानहरु पनि ठूलो परिमाणमा लादेर लगेका थिए। नदिर शाहले दिल्ली लुटबाट यति धेरै धन सम्पत्ति हात पारेका थिए कि खुसी भएर उनले इरानको जनताबाट तीन वर्षसम्म कुनै किसिमको कर लिनएनन् रे भनी इतिहासमा वर्णित छ।
ग्रिसका  शासक अलेक्जेन्डर महान वा सिकन्दर (३५६-३२३ बी सी) ले पनि भारतीय उपमहाद्वीपको सम्पत्ति हात पार्न एवं आफ्नो राज्य विस्तार गर्न यस क्षेत्र (भारत) मा आक्रमण गरेका थिए। यसै गरी गेंजिस खान वा चगेंज खानले पनि भारतीय उपमहाद्वीपको समृद्धिमा आँखा गाडेका थिए। उत्तरपूर्व एशिया, दक्षिणपश्चिम एशिया र यूरोपसँग व्यापार गर्ने चंगेज खानले रेशम मार्गको अत्यधिक उपयोग गरेका थिए। यस क्षेत्रबाट विभिन्न किसिमका आवश्यक सूचनाहरु प्राप्त गर्न पनि उनले रेशम मार्गको भरपूर उपयोग गरेका थिए। भारतीय उपमहाद्वीपको आर्थिक समृद्धिले चंगेज खानलाई पनि आकर्षित गरेको थियो। मंगोलियाका शासक चंगेज खान आफ्नो जमानाको महान योदधा थिए।
इतिहासका विभिन्न काल खण्डहरुमा, विश्वका अनेक भागहरुबाट लुटेराहरु भारतीय उपमहाद्वीपमा यस क्षेत्रको धन सम्पत्ति लुट्न आएका घटनाहरु धेरै छन्। विश्वका अनेक भागबाट आएका लुटेराहरुले भारतीय उपमहद्वीपबाट ठूलो परिमाणमा धन सम्पत्तिहरु लुटेका छन्। यसरी लुटेराहरु पटक पटक भारतीय उपमहाद्वीपमा धन सम्पत्ति लुट्न एवं आफ्नो राज्य विस्तार गर्न आउनुले यो क्षेत्र (भारतीय उपमहाद्वीप) परा पूर्व कालदेखि नै आर्थिक समृद्धिमा निकै अगाडि थियो भन्ने कुराको पुष्टि हुन्छ। यस क्षेत्रमा अनेक किसिमका सम्पत्तिहरु थिए भन्ने प्रमाणित हुन्छ।
भारतीय उपमहाद्वीपको धन सम्पत्ति देखेर नै अंग्रेजहरु ती धन सम्पत्ति हात पार्न भारत पसेका थिए। यहाँ उपलब्ध हुने अनके किसिमका स्रोत एवं साधनहरु व्यापारको बहानामा आफ्नो देश पुर्याउन उनीहरु यस भूखण्डमा पसेका थिए। आर्थिक समृद्धिको दृष्टिकोणले त्यस बेला भारतीय उपमहाद्वीप मात्र होइन, एशिया नै पनि धेरै अगाडि थियो। त्यसबेलाका एशियाका अति समृद्ध राष्ट्रहरुको गणनामा बर्माको नाम सबै भन्दा अगाडि आउँथ्यो। एशियाका अनेक मुलुकहरु बाट मान्छेहरु रोजगारी एवं व्यवसायका लागि बर्मा जाने गर्थे। बर्मा आर्थिक समृद्धिमा निकै माथि थियो। यो कारणले गर्दा नै अंग्रेजहरु बर्मामा पनि पसेका थिए। एशियाली राष्ट्रहरुमा आफ्नो राजनैतिक प्रभुत्व एवं व्यापार विस्तार गर्ने अंग्रेजहरुले बर्मालाई हबको रुपमा प्रयोग गरेका थिए। एशियाका अनेक राष्ट्रहरुका साधन एवं स्रोतहरुको दोहन गर्न, तिनलाई आफ्नो देशमा पुर्याउन अंग्रेजहरुले बर्मालाई आफ्नो स्थानीय शासन व्यवस्थाको राजधानीको रुपमा प्रगोग गरेका थिए।
क्रमश:

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, January 2, 2015

No comments:

Post a Comment