Friday, April 24, 2015

Why Is Refugee Problem Getting Complicated?-Article-167

किन बढ्दै छ शरर्णाथी समस्या?

शरर्णाथी समस्याले वर्तमानमा सम्पूर्ण विश्वलाई नै नराम्रो गरी पिरोलेको छ भन्ने कुरा सबैलाई भलिभांति थाहा छ। तर अहिले यो समस्याले मुख्य गरी अफ्रिकी राष्ट्रहरुलाई बढी सताएको छ। र अचम्म लाग्दो कुरा त के छ भने अफ्रिकाको यो पीडा र चिंता फैलिएर युरोपसम्म पुगेको छ। अफ्रिकाको यो समस्याले युरोलाई पनि तानेर आफू नजिक ल्याएको छ। अफ्रिकाको शरर्णाथी समस्याले युरोपका विभिन्न राष्ट्रहरु मध्ये इटलीलाई भने नराम्रो गरी सताएको छ। त्यसकारण इटलीका अधिकारी र सरर्णाथी समस्यासँग सम्बन्धित निकायहरुले अफ्रिकी-शरर्णार्थी समस्या केवल इटलीको मात्र होइन, यो सम्पूर्ण युरोपको समस्या हो भन्न थालेका छन्। अफ्रिकी-शरर्णाथी समस्यालाई युरोपका सबै राष्ट्रहरुले मिलेर समाधान गर्नु पर्ने कुरामा जोड दिरहेका छन्। शरर्णाथी समस्या अहिले युरोपको अगाडि ज्यान लिने घटना र ज्यादै जटिल समस्याको रुपमा प्रस्तुत भएको छ। यो समस्याले ठूलो मानवीय संकटको रुप लिएको छ। सिरिया र इराकमा कट्टरपंथी आइ. यस. का मिलिटेन्टहरुले मच्चाइ रहेका उटपट्यांग र आतंकका समाचारहरु अहिले मेडिटेरेनियन-समस्याका समाचारहरुको अगाडि अत्यधिक चर्चाका विषयहरु हुन छाडेका छन्।
मेडिटेरेनियन सागर शरर्णाथी समस्याले गर्दा अब कब्रिस्तानमा परिणत हुन थालेको छ। केहीले यस विषयमा गहिरो चांसो र चिंता समेत व्यक्त गरेका छन्। उनीहरुले भनेका पनि छन् “मेडिटेरिनियन इज सि, नट सिमेटेरी (Mediterranean is sea, not cemetery)
हुन पनि शान्ति, सुरक्षा र रोजगारीको खोजिमा मेडिटेरेनियन सागर हुँदै युरोपका विभिन्न राष्ट्रहरुमा प्रवेश गर्ने खोज्ने अफ्रिकी आप्रवासी एवं सरर्णाथीहरु मध्ये हजारौले यो सागरमा डुबेर ज्यान गुमाएसकेका छन्। मानव तस्करहरुले मुनाफाखोरीका लागि कमजोर र असुरक्षित डुंगाहरुमा जोखिमपूर्ण यात्रा गर्न यी निरही आप्रवासीहरुलाई बाध्य गराएका हुनाले धेरै डुंगाहरु ती कारणहरुले गर्दा यो सागरमा हृदयविदारक किसिमले  दूर्घटनाग्रस्त भएका छन्। र दुर्घटना हुने क्रम अहिले पनि रोकिएको छैन्। त्यस किसिमका कमजोर र असुरक्षित डुंगाहरुमा गरिएका जोखिमपूर्ण यात्राहरुले हजारौं शान्तिकामी एवं गरिब शरर्णाथीहरुको ज्यान लिसकेको छ। यस वर्ष (सन् २०१५) मा मात्र, त्यसरी युरोपतिर लाग्नेहरु मध्ये ९०० व्यक्तिहरुको ज्यान त्यस्ता जोखिमपूर्ण यात्राहरुले लिसकेको छन्। सन २०१४ मा, अफ्रिकाबाट युरोपतिर लाग्नेहरु मध्ये ३ हजार ५०० ले सागरीय दुर्घटनामा ज्यान गुमाएका थिए। सन् २०१५ को प्रारम्भदेखि हालसम्ममा, युरोपका विभिन्न देशहरुमा प्रवेश गर्न खोज्ने अफ्रिकी आप्रवासी एवं शरर्णाथीहरुको संख्या ३५ हजार पुगेको छ। यी मध्ये करीब ३४ प्रतिशतले ग्रिसमा प्रवेश गरेका थिए भने बाँकि ६६ प्रतिशतले इटलीमा।
कुशासन, भ्रष्ट र अदूरदर्शी नेताहरुको व्यवहारले गर्दा अफ्रिकाका धेरै राष्ट्रहरु, मुख्य गरी एरिट्रिया, माली, नाइजेरिया, गाम्बिया, सोमालियाबाट मेडिटेरेनियन सि हुँदै युरोप पस्न खोज्नेहरुको संख्या ज्यादै नै ठूलो हुन पुगेको छ। युरोप पस्न खोज्ने एशियाका सरर्णाथीहरु मध्ये भने सिरियालीहरुको संख्या अति नै उच्च रहेको छ।
अफ्रिकाका विभिन्न राष्ट्रहरुमा अहिले शान्ति र स्थिरताको एक किसिमले संकट नै देखिएकोले यस्तो समस्या उत्पन्न भएको हो। यस किसिमको समस्या वा संकटको स्थिति भने ती मुलुकहरुको राष्ट्रिय राजनीतिको कारणले गर्दा आएको हो। नेताहरुको व्यवहारले गर्दा आएको हो। ती मुलुकका नेताहरुको कपटपूर्ण व्यवहारले गर्दा आएको हो। वहुसंख्यक अफ्रिकी राष्ट्रहरुलाई अहिले अन् धार्मिक कट्टरताले निकै सताएको छ। बोको हराम, अल सबाब, अल काइदा, इस्लामीक स्टेट जस्ता कट्टर धार्मिक संगठनहरुले अफ्रिकाका विभिन्न राष्ट्रहरुमा विध्वंस मच्चाएर, अनेक हत्या हिंसा गरेर त्यहाँका गरिब नागरिकहरुको जीवन ज्यादै जोखिमपूर्ण र कष्टकर पारिदिएका छन्। गरिबी, अज्ञानता, एवं अशिक्षाको खाडलमा बस्न अनिवार्य गरिदिइका छन्।
अफ्रिकाका विभिन्न मुलुकहरु गरिबी, अनिश्चितता, अशान्ति आदि जस्ता कारणले गर्दा अनेक किसिमका समस्याहरुबाट पीडित हुन पुगेका छन्। तर यी मुलुकहरुलाई अहिले सबै भन्दा बढी भने कुशासन जनित हिंसाले सताएको छ। मुलुकमा व्याप्त अनेक किसिमका हिंसाहरुले गर्दा अफ्रिकाका धेरै मुलुकका नागरिकहरु ज्यान जोगाउन एशिया, अमेरिका लगायत युरोपका अनेक राष्ट्रहरुमा पुगेर शरर्णाथी जीवन बिताउन बाध्य हुन पुगेका छन्। अफ्रिका महादेशमा शान्ति र स्थिरता प्राप्त गरेका देशहरुको संख्या ज्यादै कम हुँदै गएको छ। सोमालिया, नाइजेरिया, माली, यमन, कंगो, एरिट्रिया, लिबिया, सुडान, इथियोपिया, रवान्डा, केन्या, अंगोला, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफ्रिकाका यस्ता राष्ट्रहरु हुन जहाँ कुनै समयमा हजारौ नागरिकहरुको ज्यान लिने अनेक ठूला ठूला संघर्षहरु भएका थिए। वा अहिले पनि द्वन्द समस्याहरुले सताइएका  छन्। तुलनात्मक रुपमा स्थिर देखिएको दक्षिण अफ्रिकालाई पनि अहिले आएर द्वन्दको कालो बादलले छोप्न थालेको छ। द अफ्रिका अहिले जेनोफोबिक (Xenophobic) रोगको सिकार भएको छ। जेनोफोबिया (Xenophobia) एक खास किसिमको मानसिक अवस्था हो। यस्तो मानसिक अवस्थामा रहेका व्यक्तिहरुले विदेशी नागरिकहरुलाई मन पराउँदैनन्। विदेशी नागरिकहरुले उनीहरुको स्वदेशको रोजगारी एवं समृद्धि खोसि दिने छन् भन्ने भयले ग्रसित हुन्छन। द अफ्रिकामा अहिले देखिएको जेनोफोबियाको समस्याले गर्दा त्यहाँ रहेका अनेकौ विदेशीहरु, खास गरी अफ्रिका अन्य विभिन्न राष्ट्रहरुबाट आएका विभिन्न व्यक्तिहरुमाथि द अफ्रिकाका केही उपद्रवीहरुले ज्यान लिने उद्देश्यले हमला गरेका छन्।   
अहिले, अफ्रिकाका धेरै द्वन्द पीडित मुलुकहरु र नेपालको मौजुदा स्थिति लगभग उस्तै उस्तै हुन पुगेको छ। जसरी अनेक अफ्रिकी मुलुकका नागरिकहरु आ-आफ्नो देशमा ब्याप्त अनेक किसिमका हिंसाहरुले गर्दा स्वदेश त्यागेर विदेशमा सरर्णाथी हुन विवश भएका छन् त्यसै गरी नेपालमा पनि नेताहरुको आपसी स्वार्थ र संघर्षले गर्दा उत्पन्न भएको गरिबी जनित बेरोजगारी समस्याबाट पीडित भएर लाखौं लाख नेपालीहरु रोजगारीका लागि अरबको तातो हावा खान मात्र होइन, ज्यान नै पनि जोखिममा राख्न विवश भएका छन्। नेपाल छाड्दा तनदुरुस्त रहेका धेरै नेपाली युवाहरु स्वदेश फर्किंदा काठको बक्सा भित्र बन्द भएर फर्किने नियति भोगिरहेका छन्।
अफ्रिकाको स्थिति पनि नेपालको जस्तै छ। रोजगारीको खोजीमा अरबका विभिन्न मुलुकहरुमा हजारौ हजार नेपालीहरुले ज्यान गुमाए झै रोजगारी र शान्तिको खोजीमा युरोपका विभिन्न मुलुकहरुमा पुग्न खोजेका हजारौं हजार अफ्रिकीहरुले मेडिटेरेनियन सागरमा ज्यान गुमाइ रहेका छन्।  शान्ति र सुरक्षाको लालसमा मेडिटेरिनियन सागर भएर, जोखिमपूर्ण यात्रा गर्दै, युरोपको विभिन्न मुलुकहरु पुग्ने आशमा हिंडेका धेरै अफ्रिकीहरु मेडिटिरिनियनको निर्दयी जलराशीमा गुमनाम मृत्यु भोग्न बाध्य भएका छन्। हुन पनि मानव तस्कहरुले हजारौं हजार सोझा र विवस अफ्रिकीहरु लाई असत्य र अपूरो जानकारीहरु प्रदान गर्दै, अनावश्यक किसिमले लोभ्याएर, मेडेटेरिनियन सिको जोखिमपूर्ण यात्रा गर्न बाध्य पारिरहेका छन्। यस्तै स्थिति नेपालमा पनि छ। नेपालमा पनि मानव तस्करहरुले हजारौं हजार नागरिकहरुलाई  वैदेशिक रोजगारी सम्बन्धी झूठो, काल्पनिक र तथ्यहीन (गैर कानूनी उपाय) जानकारीहरु दिएर, आफ्नो जालमा फंसाएर, विश्वका अनेक राष्ट्रहरुमा पुर्याएका छन्। उनीहरुको जीवनलाई ज्यादै जोखिमपूर्ण पारिदिएका छन्। गुमनाम मृत्यु वरण गर्नु पर्ने स्थितिमा पुर्याइ दिएका छन्।  
मुल रुपमा, नेपाल र अफ्रिकाका विभिन्न मुलुकहरुबाट नागरिकहरु विदेशतिर ठूलो संख्यामा पलायन हुने कारण भने एउटै छ। त्यो कारण हो नेताहरुको स्वार्थी व्यवहार र अस्थिर राजनीति। नेताहरुको स्वार्थी व्यवहारले गर्दा धेरै अफ्रिकी मुलुकहरुमा र नेपालमा शान्ति र स्थिरता आउन सकेको छैन। देश भित्र जहिले पनि कुनै न कुनै किसिमको कलह र संघर्ष विद्यमान छ। निरन्तरको कलह र संघर्षले गर्दा आर्थिक विकास हुन सकेको छैन, गरिबी बढ्दै गएको छ। संघर्ष र द्वन्दहरु थपिंदै गएका छन्। देश भित्र ठूलो असुरक्षा र बेरोजगारी व्याप्त रहेको ले यी दुबै क्षेत्रका नागरिकहरु रोजगारी र शान्तिका लागि विदेश पलायन हुन बाध्य भएका छन्। अफ्रिकाको स्थिति भने झनै बिकराल छ। यहाँको नागरिकहरुले रोजगारी त पछिको कुरा हो, ज्यान जोगाउन पनि स्वदेश परित्याग गरेर विदेशी शरर्णाथी बन्नु पर्ने नियति स्वीकार गर्नु पेरको छ।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 24, 2016

No comments:

Post a Comment