Thursday, February 11, 2016

Shloka 78/18-The Summary of the Geeta




यत्र योगेश्वर: कृष्णो यत्र पार्थो धनुर्धर:।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम।।७८।।१८
(जहाँ योगेश्वर श्रीकृष्ण हुनुहुन्छ, जहाँ धनुर्धर पार्थ छन् त्यहाँ नै श्री अर्थात कहिले पनि समाप्त नहुने समृद्धि, विजय, ऐश्वर्यवृद्धि, र न्याय छ। र न्यायको पालना पनि त्यहाँ नै छ। यो मेरो दृढ विचार हो।)
मेरो विचारमा यो अन्तिम श्लोक नै गीताको सार-संक्षेप हो। माथिको वाक्य पछि गीता समाप्त हुन्छ। गीतामा १८ अध्यायहरू छन्। यो १८ अध्यायको ७८ औ एवं अन्तिम श्लोक हो। यो श्लोक सञ्जयले धृतराष्ट्रलाई सुनाएका हुन्।
यो श्लोकलाई मनन गरेर हेर्यौ। सञ्जयले के भनेका छन् भने जहाँ योगेश्वर श्रीकृष्ण हुनुहुन्छ र जहाँ धनुर्धर अर्जुन छन् त्यहाँ नै विजय छ। यस भनाइको आशय के हो भने जहाँ भगवान श्रीकृष्ण हुनुहुन्छ त्यहाँ सत्य र न्याय छ अनि जहाँ अर्जुन छन् त्यहाँ शक्ति छ। सत्यपथमा हिँडेको शक्तिले मात्र न्याय दिन सक्छ र जहाँ न्या हुन्छ त्यहाँ नै विजय हुन्छ। त्यसकारण केवल सत्य र न्याय सहितको शक्तिद्वारा मात्र विजय प्राप्त गर्न सकिन्छ। अन्यायद्वारा पनि विजय प्राप्त गर्न सकिन्छ। तर यदि अन्याय द्वारा विजय प्राप्त गरिएको छ भने त्यो विजय केवल क्षणिक विजय हुन्छ। भगवान् श्रीकृष्ण र अर्जुनको गठ-बन्धन सत्य-शक्ति र न्याको गठबन्धन थियो। अर्थात यी दुईको मिलन सत्य-शक्ति र न्यायको थियो। अर्जुन शक्ति थिए भने भगवान् श्रीकृष्ण न्याय हुनुहुन्थ्यो। अर्जुन शक्ति सत्य सहितको थियो भने भगवान श्रीकृष्णको न्याय विवेकपूर्ण थियो। सञ्जयले सत्य-शक्ति र न्याको एक अभूतपूर्व मिलन देखेको हुनाले नै यो जोडि जहाँ छ विजय पनि त्यहाँ नै छ भनेका हुन। सञ्जयलाई थाहा थियो कौरवहरू शक्तिसाली त थिए तर उनीहरूमा न त सत्य थियो न त न्याय नै थियो। शक्तिसाली भए पनि उनीहरू अन्यायी भएको हुनाले कौरवहरूको सञ्जयले पराजय देखिरहेका थिए। गीताको सार नै अन्याय, असत्य र दुष्ट विचार माथि न्याय, सत्य र विवेकको विजय हो।
न्याय र शक्ति बीचको सम्बन्ध पनि अति नै महत्वपूर्ण हुन्छ। शक्तिले न्याय दिन नसकेमा वा अन्याय गरेमा त्यो शक्ति दीर्घकालीन हुन सक्तैन। छोटो समय पछि नै न्याय नभएको शक्तिको पतन हुन्छ। यसैगरी न्याय दिनका लागि पनि शक्ति चाहिन्छ। शक्तिहीन निकायले न्याय दिन सक्तैन किनभने त्यो कमजोर निकाय शक्तिसाली नभएकोले उसको न्यायलाई न्यायको पालना (कसुर वा अपराध) गर्नेले अटेर गरिदिन्छ। पालना गर्दैन। त्यसकारण न्यायकर्ता शक्तिसाली हुन पनि अति आवश्यक छ। अर्कोतिर न्यायकर्ता शक्तिसाली भएता पनि विवेकी हुन पनि अति आवश्यक छ किनभने न्यायकर्ता अविवेकी भएमा उसँग भएको शक्ति सिघ्र नै समाप्त भएर जान्छ। यसरी शक्ति र न्यायको बीचमा गहिरो सम्बन्ध छ। भगवान् श्रीकृष्ण र महा धनुर्धर अर्जुन बीचको गठबन्धनमा शक्ति र न्याय, दुबै थियो थियो। अहिलेका राजनीतिज्ञहरूमा शक्ति त हुन्छ तर उनीहरूले न्याय दिन सक्तैनन। उनीहरू स्वार्थी भएको हुनाले नै न्याय गर्न सक्तैन्न र न्याय गर्न नसकेको हुनाले उनीहरूको शक्ति दीर्घकालीन हुन सक्तैन। राजा जनक, राजा रामचन्द्र, राजा युधिष्ठिर शक्तिसाली पनि थिए र न्याय दिन सक्ने पनि थिए।
भगवान् श्रीकृष्ण र अर्जुन बीचको यो गहिरो सम्बन्धलाई विद्वान् सञ्जले राम्रो गरी अनुभव गरेका थिए। त्यसकारण उनले घोषणा गरे- न्याय, विवेक, सत्य र शक्ति भगवान् श्रीकृष्ण र अर्जुनसँग भएकोले नै विजय यो पक्षको नै हुन्छ। यसरी यो श्लोकले संक्षिप्त रुपमा गीताको रुप लिन्छ।
धेरै पाठकहरूलाई थाहा न हुन सक्छ, गीतामा जम्मा १८ अध्यायहरू छन् भन्ने कुरा। अनि महाभारत युद्ध जम्मा १८ दिनसम्म चलेको थियो भन्ने पनि थाहा नहुन सक्छ। १८ दिन महाभारत युद्ध चल्दा कौरवको तर्फबाट पाँच जना सेनापतिहरू नियुक्त भएका थिए। पहिलो सेना पति भीष्म नियुक्त भएका थिए र उनी दस दिन सेनापति रहेर मारिए। दोस्रो सेनापति थिए द्रोणाचार्य। पाँच दिनसम्म सेनापतिको पद सम्भाले पछि उनी मारिए। कर्ण जो तेस्रो सेनापति भएका थिए केवल दुई दिन युद्ध मैदानमा रहे, त्यसपछि मारिए। चौथौ सेनापतिको रुपमा शल्यको नियुक्ति भएका थिए। शल्यले केवल एक दिन मात्र युद्ध भूमिमा बिताउन सके। त्यसपछि उनी पनि मारिए। अन्तिम सेनापति अश्वत्थमा भने मारिएनन् किनभने उनले नमारिने वरदान पाएका थिए।

विश्वराज अधिकारी


No comments:

Post a Comment