Friday, February 12, 2016

Should Nepal Learn From China?-Article-200

नेपालले चीनबाट सिक्ने हो कि?

चीनको आर्थिक विकासले सम्पूर्ण विश्वको ध्यान तानेको त छ नै साथै चीनले कुन किसिमको आर्थिक नीति अबलम्वन गरेको छ जसले गर्दा यति सानो समयमा चीनले यति धेरै आर्थिक प्रगति गर्यो भन्ने जिज्ञासा पनि विज्ञहरूमा अभूतपूर्व किसिमले जगाइ दिएको छ। अहिले सारा संसार चीनको आर्थिक प्रगतिको रहस्य जान्न उत्सुक छ। यथार्थमा, के हो त चीनको आर्थिक विकासको रहस्य?
अमेरिका विश्वको आर्थिक महाशक्ति हुन लामो समय लागेको थियो। दोस्रो विश्वयुद्ध पछि मात्र अमेरिकाले अति द्रुततर गतिमा आर्थिक प्रगति गर्न आरम्भ गरेको हो। र अमेरिका आजको यो स्थितिमा आउन साठ्ठी सत्तरी वर्ष लागेको छ। तर चीनले भने अहिले जे जति आर्थिक प्रगति गरेको छ त्यो केवल बिस पच्चिस वर्षको उपलब्धि हो। त्यो पनि चीनिया नेता तोँग सिआओ पिँगको आर्थिक नीतिले काम गर्न थालेपछि हो। माओ त्से तुङ्ग, स्वयं आफै र उनको नीतिले चीनमा “साशन” गर्दा चीनको अर्थ व्यवस्था टाउको तल र खुट्टा माथिको स्थितिमा थियो। खुट्टा तल र टाउको माथि ल्याउने कार्य तोँग सिआओ पिँगले गरेका हुन। चीनमा आर्थिक विकासको सम्पूर्ण श्रेयता तोँग सिआओ पिँगमा जान्छ। तर यो भनाई पूर्णरूपेण सत्य भने होइन। अनि सत्य के हो त? यदि पूर्णरुपेण सत्य भइ दिएको भए तोँग सिआओ पिँगको मृत्युपछि चीनको आर्थिक विकासमा गिरावट आउनु पर्ने हो। होइन र? तर तोँग सिआओ पिँगको समयपछि पनि चीनको आर्थिक प्रगतिको गति तिब्र नै छ। तिब्रताको क्रम रोकिएको छैन्। किन होला त्यस्तो? 
अमेरिकामा भएको आर्थिक प्रगतिका लागि विज्ञहरू यस मुलुकले अङ्गीकार गरेको पूँजीवादी अर्थ व्यवस्था र त्यसको पृष्ठपोषण गर्ने राजनैतिक व्यवस्था-प्रजातन्त्रलाई मुख्य कारण मान्दछन्। अमेरिकाले लिएको पूँजीवादी अर्थ नीति जसले स्वतन्त्र बजार व्यवस्थालाई नै राष्ट्रिय अर्थतन्त्रको विकासको साँचो मान्दछ त्येही स्वतन्त्र बजार व्यवस्थाले अमेरिकालाई चौतर्फी रुपमा आर्थिक विकास गर्न सघाउ पुर्याएको हो भनी विश्वास गर्ने अर्थशास्त्रीहरूको सङ्ख्या सानो छैन्। हुन पनि अमेरिकाले कृषि, उद्योग र व्यापारमा चौतर्फी किसिमले तिब्र गतिमा तर अति सन्तुलित रुपमा विकास गरेको छ। कृषिमा अमेरिका आत्मनिर्भर मात्र छैन् ठूलो परिमाणमा निर्यात गर्न पनि सक्षम छ। यति मात्र होइन, विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा पनि अमेरिका संसारका विभिन्न विकसित राष्ट्रहरू भन्दा धेरै अगाडि छ। ऊर्जा उत्पादन र उपयोगको क्षेत्रमा अमेरिका अगाडि छ नै। यातायातमा पनि यसले उल्लेखनीय प्रगति गरेको छ। सामुन्द्रिक खाना उत्पादनमा पनि अमेरिकाले राम्रो स्थान ओगटेको छ। कार (विभिन्न मोटरहरू) विक्री सर्वाधिक ठूलो सङ्ख्यामा हुने बजारको रुपमा अमेरिका विश्वमा नै चीन पछि दोस्रो हो। चीनको र अमेरिकाको यो स्थितिमा केही भिन्नता भने छ। चीनमा केवल धनीहरूले मात्र कार राख्न सक्छन् भने अमेरिकामा गरिबहरूले पनि कार राख्न सक्छन्। चीनको जनसङ्ख्या अमेरिकाको तुलनाम धेरै नै बढी छ। यसैगरी ठूलो परिमाणमा सामुन्द्री खाना उत्पादन गर्ने (सन् २०१२) विश्वका दस राष्ट्रहरूमा अमेरिकाको स्थान पाँचौमा रहेको थियो। अमेरिकामा मोटर गुड्ने यति धेरै सडकहरू छन् कि भनिन्छ अमेरिकामा भएभरका सडकहरूलाई जोड्ने हो भने यसको लम्बाइले संसारलाई एको चोटी बेर्न पुग्छ। अमेरिकाले जे जति अभूतपूर्व किसिमले आर्थिक प्रगति गरेको छ त्यसको  मूल कारण पूँजीवादको जगमाथि उभिएको खुला र उदार अर्थव्यवस्था हो। प्रजातान्त्रिक राजनैतिक प्रणाली हो। स्वतन्त्र व्यापार प्रणाली (Free Enterprise system) हो। तर आश्चर्य! चीनको राजनैति प्रणाली प्रजातान्त्रिक पनि छैन्। चीनको राजनीतिले औपचारिक रुपमा पूँजीवादलाई स्वीकार गर्दैन पनि। चीनको आर्थिक क्षेत्रमा पूँजीवाद हावी भएता पनि त्यो अनौपचारिक रुपमा छ र त्यहाँ राजनैतिक व्यवस्था दृश्य किसिमले एक तन्त्रिय वा तानाशाही छ। किनभने चीनको राजनितिमा चीनिया कम्युनिष्टपार्टीको पूर्ण नियन्त्रण छ। तर यस्तो हुँदा हुँदै पनि चीनले कसरी यस्तो किसिमले आर्थिक प्रगति गर्न सक्यो त? चीनको आर्थिक विकासले के कुनै पनि मुलुकको आर्थिक विकास गर्न प्रजातन्त्र आवश्यक छैन भन्ने कुरा प्रमाणित गर्दैन? गहिरिएर सोँचौ।
चीनको आर्थिक विकासको मुल कारण केही अर्थ शास्त्रीहरूले यस मुलुकको विशाल जनसंख्यालाई मान्दछन्। विशाल जनसङ्याले गर्दा चीनले उत्पादन लागत कम पार्न सकेको हो, भन्दछन्। र त्यस्तो लागत कम भएको हुनाले मात्र संसारभरि सस्तोमा सामान बिक्री गर्न चीनले सकेको हो, ठोकुआ गर्दछन्। तर यदि जनसंख्या नै आर्थिक विकासको मुल कारण हुँदो हो त विश्वका अति जनआवादी भएका मुलुकहरू भारत, इण्डोनेसिया, ब्राजिल, पाकिस्तान, नाइजेरिया, बङ्गलादेश आदिले पनि चीन जस्तै द्रुदतर गतिमा विकास गर्नु पर्ने हो। तर किन त्यस्तो हुन सकेन त? विश्वका अति जनआवादी भएका मुलुकहरू चीनको हाराहारीमा पनि धनी हुन नसक्नुले आर्थिक विकासका लागि ठूलो जनसङ्ख्या हुनु आवश्यक हुन्छ भन्ने तथ्यको खण्डन गर्दैन न त? गहिरिए सोंचौ।
चीनको चमत्कारी किसिमको आर्थिक विकासले तिन किसिमका तथ्यहरूतर्फ ध्यान आकर्षित गर्दछ। पहिलो: नेपाल, भारत, चीन, पाकिस्तान, बङ्गलादेश जस्ता जनतामा राजनैतिक चेतना कम भएका मुलुकहरूमा आर्थिक विकास गर्न राजनैतिक व्यवस्थामा प्रजातन्त्र होइन, एक दलीय तन्त्र वा अर्को किसमले भन्ने हो निरङ्कुश तन्त्र चाहिने रहेछ। चीनमा मात्र एउटा कम्युनिष्ट पार्टी छ र त्यसले नै राष्ट्रिय राजनीतिलाई पूर्ण रुपमा नियनत्रित र निर्देशित गर्दछ। उद्योग, व्यापार निर्वाध रुपमा सञ्चालन गर्न निरन्तर शान्ति आवश्यक हुन्छ र त्यस किसिमको निरन्तर शान्ति विकासशील मुलुकहरूमा केवल एक दलीय सरकारले मात्र कायम गर्न सक्छ जुन स्थिति चीनमा छ। विकासशील मुलुकहरू राजनैतिक अशान्ति धेरै नै हुन्छ।
दोस्रो: विकासशील राष्ट्रहरूमा आर्थिक प्रगति गर्न राष्ट्रिय अर्थतन्त्रमा प्रजातन्त्र तर राष्ट्रिय राजनीतिमा निस्वार्थी निरङ्कुश तन्त्र चाहिने रहेछ। विकासशील मुलुकहरूमा आर्थिक विकासका लागि प्रजातन्त्र सहायक होइन बाधक भएर प्रस्तुत भएको देखिएको छ। विकासशील राष्ट्रहरूमा राष्ट्रिय राजनीतिका कर्ता (actor) का रुपमा रहेका नेताहरू जहिले पनि सत्ता-सङ्घर्षमा लीन रहने गर्दछन् र आर्थिक विकासलाई महत्व दिने गर्दैनन्। सक्ति र सत्ताका लागि भ्रष्टाचारमा रमाउने हुन्छन्।नेपालको स्थिति ठ्याक्कै यस्तै छ। र अर्को उदाहरणमा, प्रजातान्त्रिक व्यवस्था रहेको जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगावे लगभग तिस वर्ष (३१ डिसेम्बर १९८७) देखि सत्तामा छन्। ९२ वर्षीय मुगावेले सत्ता छोड्ने छांटकांट देखाएका छैनन्। अर्कोतिर जिम्बाब्वेको अर्थतन्त्र रूग्ण हुन पुगेको छ। सन् २००६/२००७ तिर जिम्बाब्वे संसारभरिमा नै सर्वाधिक मुद्रा स्फिर्ति हुने देश हुन पुगेको थियो।
तेस्रो: निष्पक्ष न्याय प्रणाली। विकसित राष्ट्रहरूलाई धनी तुल्याउनमा ती मुलुकहरूमा मौजुद निष्पक्ष न्याय प्रणालीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तर विकासशील राष्ट्रहरूमा भने न्याय प्रणाली निष्पक्ष हुन सकेको हुँदैन। नेताहरू निर्वाचित भएता पनि यिनीहरूमा सामाजिक उत्तरदायित्व कम हुन्छ र अर्कोतिर न्याय प्रणालीलाई यिनीहरुले आफ्नो पक्षमा पारेक छुन्छन्। अर्कोतिर उद्योग, व्यापारको विकासका लागि न्याय प्रणाली निष्पक्ष नभइ हुँदैन। उत्पादक, वितरक, बिक्रेता र उपभोक्ता, यी सबै पक्षहरूको अधिकारको रक्षा गर्न न्याय प्रणाली निष्पक्ष हुन आवश्यक हुन्छ। विकसित वा विकासशील राष्ट्रहरूमा निष्पक्ष एक दलीय तन्त्रले आर्थिक विकास गरेको देखिएको छ। उदारहरणका लागि सिंगापुर (लि क्वान यु), मलेशिया (महाथीर मोहम्द) मा भएको आर्थिक प्रगति।
यी विभिन्न तथ्यहरूको प्रकाशमा र चीनको आर्थिक विकासको रहस्यलाई मध्य नजर गर्दै एउटा के निष्कर्ष अगाडि देखा पर्दछ भने नेपाल जस्तो विकासशील मुलुकको आर्थिक विकास गर्नका लागि प्रजातन्त्र सहायक होइन बाधक भएर प्रस्तुत हुँदोरहेछ। भन्न नखोजेर पनि, यो भन्नु पर्ने स्थिति देखिएको छ। २०४७ साल देखि अहिलेसम्म सङ्गालिएको अनुभवले त्येही भन्छ। र यस तथ्यको पुष्टि चीनको आर्थिक विकासले पनि गर्छ। नेपालको आर्थिक विकास गर्न नेपालमा पनि अर्थ व्यवस्थामा प्रजातन्त्र तर राष्ट्रिय राजनीतिमा राष्ट्रवादी एवं निष्पक्ष एक दलीय तर गैर कम्युनिष्ट तन्त्र आवश्यक भएको हो कि?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 12, 2016

No comments:

Post a Comment