Friday, May 20, 2016

Is Capitalism Really Bad?-Article-114

 पूँजीवाद: अभिशाप कि वरदान? 
 बजारमा वस्तु वा सेवा बिक्री गर्नका लागि उत्पादक वा बिक्रेताबीच अति प्रतिस्पर्धा भएमा क्रेताहरूलाई आकर्षित गर्न उनीहरूले आफ्नो वस्तु वा सेवाको बिक्री मूल्य कम पार्छन् जसले गर्दा क्रेता वा उपभोक्ताहरूले सस्तोमा वस्तु वा सेवा खरिद गर्न पाउँछन्। अर्को शब्दमा, वस्तु वा सेवाको मूल्य कति निर्धारण गर्ने भन्ने कार्य गर्न सरकार होइन, बजारलाई नै दिनुपर्दछ। माग र आपूर्तिको अवस्था हेरी बजारले नै वस्तु वा सेवाको मूल्य निर्धारण गर्दछ। र यसरी बजारलाई स्वतन्त्र छाडिदिने हो भने उसले नै वस्तु वा सेवाको मूल्य निर्धारण गर्दछ। उपभोक्ताले प्रतिस्पर्धात्मक बजारको फाइदा उठाउँछ। उपभोक्ताले सस्तोमा वस्तु वा सेवा प्राप्त गर्न सक्छ। तसर्थ माग र आपूर्तिको अन्तक्र्रियाद्वारा वस्तु एवं सेवाको मूल्य निर्धारण हुनुपर्दछ। यो कार्यले उपभोक्ताको हित हुन्छ, मात्र पूँजीवादको पक्षपोषण हुँदैन। बजारमा ठूलो सङ्ख्यामा उत्पादक एवं बिक्रेताहरूको उपस्थिति भएमा बजार प्रतिस्पर्धात्मक हुन पुग्दछ।
    बजार अति नै प्रतिस्पर्धात्मक भएकोले बिक्रेता एवं उत्पादकबीच मूल्य वृद्धिका लागि गोप्य साठगाँठ हुन पाउँदैन, उनीहरूको उपस्थिति बजारमा ठूलो सङ्ख्यामा भएकोले त्यस्तो गर्नु सम्भव हुँदैन, जसले गर्दा उनीहरू बाध्यात्मक रूपमा प्रतिस्पर्धामा उत्रिनपर्ने हुन्छ। र बजारले निर्धारित गरेको मूल्यमा नै बिक्री गर्नुपर्ने हुन्छ। यस्तो नगरेमा उनीहरू बजारबाट बहिष्कृत हुनुपर्ने स्थिति उत्पन्न हुन्छ।
    माथि बयान गरिएका स्थितिहरू विकासशील राष्ट्रहरूमा व्यवहारमा भन्दा पुस्तकहरूमा बढी देखिए तापनि अमेरिकामा भने यथार्थरूपमा बजारमा यी स्थिति देख्न सकिन्छ। विकासशील राष्ट्रहरूमा राष्ट्रिय राजनीति एवं सरकारको अति हस्तक्षेपले गर्दा बजारले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैन। विकासशील राष्ट्रका बजारहरू माग र आपूर्तिको स्थितिले होइन राजनीतिले अति प्रभावित रहेका हुन्छन्।
    संयुक्त राज्य अमेरिकामा भने अत्यावश्यक अवस्थाबाहेक सरकारले बजारमा हस्तक्षेप गर्दैन। बजारलाई स्वतन्त्र छाडिदिने गर्दछ। बजारलाई स्वतन्त्र छाडिदिएको कारण उत्पादक एवं बिक्रेताबीच वस्तु एवं सेवा बिक्री गर्न तीव्र प्रतिस्पर्धा हुन्छ र त्यसले क्रेताहरूलाई आकर्षित गर्न उत्पादक एवं बिक्रेताहरू वस्तु वा सेवाको मूल्यमा कमी ल्याउन बाध्य हुन्छन्, किनभने उनीहरूलाई थाहा हुन्छ मूल्यमा कमी नल्याउने हो भने क्रेतालाई आफूतिर तान्न सकिंदैन र क्रेताको अभावमा उत्पादक वा बिक्रेता बजारबाट बहिष्कृत हुनुपर्दछ।
    पूँजीवादमा बजारलाई स्वतन्त्र छाडिदिने गरिन्छ र मूल्य निर्धारण गर्न बजार स्वतन्त्र भएकोले नै ग्राहकले सस्तोमा खरिद गर्न पाउँछ। अमेरिकाले पूँजीवादी अर्थ व्यवस्था व्यवहारमा लागू गरेको हुनाले नै यसको अर्थ व्यवस्था बलियो हुन पाएको हो। विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था भएको हो। आर्थिक महाशक्तिको रूपमा वर्षौदेखि स्थापित हुँदै आएको हो। अमेरिकाले आफ्ना नागरिकलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन सफलता हासिल गरेको हो। यहाँका बजार अति प्रतिस्पर्धात्मक हुनाले नै उपभोक्ताले सस्तोमा खरिद गर्ने पाउँछ। आम्दानीसँग तुलना गर्दा, अमेरिकी उपभोक्ताहरूको क्रय शक्ति निकै बलियो देखिन्छ।
    पूँजीवादकै कारण विश्वका अन्य विभिन्न बजारको तुलनामा अमेरिकामा वस्तु एवं सेवा सस्तो मूल्यमा पाइएको हो। हुन पनि अमेरिकी बजारमा अहिले पनि यहाँको मुद्रा (डलर) को स्थिति अति बलियो छ। डलरको क्रयशक्ति बलियो  छ।
    अमेरिकी डलर अमेरिकामा मात्र होइन, संसारभरि नै बलियो छ। अमेरिकी मुद्रा संसारभरि नै स्वीकार गरिन्छ। त्यति मात्र होइन, अमेरिका बाहिर, अन्य कुनै दुई देशबीच व्यापार हुँदा वस्तुको मूल्य डलरमा भुक्तान हुन्छ। यसरी डलरको प्रचलन संसारभरि नै भएर यसले वाहनमुद्रा (Vehicle currency) को रूप लिएको छ। चीनले आर्थिक समृद्धि हासिल गरे तापनि उसको मुद्रा (युयान) अहिले पनि विश्वभरि स्वीकार्य हुन सकेको छैन, वाहनमुद्रा बन्न सकेको छैन। अमेरिकी डलरले वाहनमुद्राको रूप अमेरिकीपूँजीवादले गर्दा नै प्राप्त गरेको हो।
    अमेरिकाको मुद्राको एक एकाइ (US$ 1) को एक चौथाइ भाग ( US$ 00.25 ), पचीस सेन्टले पनि वस्तुहरू खरिद गर्ने क्षमता राख्छ। अर्थात् मुद्राको अति सानो एकाइले पनि विनिमय गर्ने क्षमता राख्छ। यो आफैमा, अमेरिकी अर्थ व्यवस्थाको एउटा ठूलो उपलब्धि हो। र यो उपलब्धिको श्रेय पनि अमेरिकाले अवलम्वन गरेको पूँजीवादलाई नै जान्छ।
    अमेरिकी बजारहरूमा जहिले पनि बिक्रीका लागि तीव्र प्रतिस्पर्धा हुन्छ। र यो प्रतिस्पर्धाले गर्दा नै उत्पादक एवं बिक्रेताहरू वस्तु एवं सेवाको मूल्य कम पार्न बाध्य हुन्छन। हुन पनि अमेरिकी बजारमा कहिलेकाहीं दस डलर पर्ने कुनै सामान केवल तीन डलरमा पाउन सकिन्छ वा कुनै एक वस्तु कुनै एक पसलमा दस डलरमा पाइन्छ भने ठीक त्यही वस्तु अर्को पसलमा तीन डलरमा पाउन सकिन्छ। यो प्रतिनिधि उदाहरण मात्र हो। मूल्य अन्तरको यस्ता धेरै उदाहरण अमेरिकी बजारमा सजिलै देख्न सकिन्छ। अमेरिकाका उत्पादक एवं बिक्रेताहरूको प्रमुख उद्देश्य नै सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराएर बजारमा आफ्नो उपस्थिति सुनिश्चित पार्नु हो। आफ्नो अस्तित्वलाई दिगो तुल्याउनु हो। निरन्तर र राम्रो मुनाफा आर्जन गर्ने स्थितिमा रहनु हो। अमेरिकी बिक्रेताहरूको प्रमुख उद्देश्य छोटो समयमा धेरै मुनाफा आर्जन गरेर बजारबाट पलायन हुने नभएर थोरै मुनाफा प्राप्त गरेर आफ्नो व्यापारलाई दीर्घ जीवन प्रदान गर्नुरहेको हुन्छ। यहाँ कतिपय खुद्रा भण्डारहरूको उद्देश्य नै अन्यभन्दा सस्तोमा वस्तु बिक्री गर्नुरहेको हुन्छ। जस्तै वालमार्ट’, ‘अल्डी’, ‘होमल्यान्ड’, ‘लोजजस्ता खुद्रा भण्डारहरूको उद्देश्य नै सस्तोमा वस्तु उपलब्ध गराउनुरहेको छ। वालमार्टले त सस्तोमा वस्तु उपलब्ध गराउन ख्याति नै आर्जन गरेको छ। यसैगरी म्याकडोनाल्डले शीघ्र तयार हुने खाना (फास्ट फुड) बिक्री गर्न अमेरिकामा मात्र होइन, संसारभरि ख्याति आर्जन गरेको छ, कम समय र सस्तोमा खाना र खाजा उपलब्ध गराउने उद्देश्य राखेको छ। यो एउटा यस्तो फास्ट फूड रेस्टुरा हो जहाँ जहिले पनि ग्राहकको भीड लागेको हुन्छ।
    बजारमा प्रतिस्पर्धा नहुनु भनेको केही सीमित उत्पादक एवं बिक्रेताहरूको मनोमानी हुनु हो। ती सीमित बिक्रेता एवं उत्पादकद्वारा वस्तु वा सेवाको मूल्य निर्धारण हुनु हो। उपभोक्ताहरू मारमा पर्नु हो। पूँजीवादले यस्तो स्थिति अन्त गर्ने प्रयास गर्दछ। बजारमा ठूलो सङ्ख्यामा आपूर्तिकर्ताहरूको उपस्थिति गराएर बजारलाई प्रतिस्पर्धात्मक बनाउँछ । तर आश्चर्य! पूँजीवादको व्यापक विरोध भयो। र अहिले पनि भइरहेको छ। अहिले पनि पूँजीवादका धेरै विरोधीहरू छन्। कम्युनिस्टहरूले त पूँजीवादलाई जनताको शत्रु नै मान्ने गर्दछन्। पूँजीवादलाई शत्रु मान्ने उनीहरूको विचार के पूर्णतया त्रुटिपूर्ण छैन त?
    तर एउटा उल्लेखनीय कुरा के छ भने पूँजीवादको प्रयोग गरिब जनताको हितमा गर्न सकिन्छ। पूँजीवादलाई जनताको हितमा उपयोग भएको प्रत्यक्ष उदाहरण हो अमेरिकी अर्थ व्यवस्था। अमेरिकाले पूँजीवादको प्रयोग गरेर देश र जनता दुवैको हित गरेको छ। सामान्य जनताको समेत क्रयशक्ति बलियो तुल्याएको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 20, 2016


No comments:

Post a Comment