Friday, August 19, 2016

Birgunj:The Abandoned City-Article-118


अभिभावकविहीन बन्दै गएको वीरगंज

वीरगंजको अभिभावकको?

स्थानीय सरकार (वीरगंज नगरपालिका) हो? केन्द्रिय सरकार हो? केन्द्रिय सरकार हो भने कुन मन्त्रालय हो? स्थानीय विकास मन्त्रालय हो? गृह मन्त्रालाय हो? भौतिक योजना तथा निर्माण मन्त्रालय? वा अन्य कुनै सम्वन्धित भनिएको मन्त्रालय हो?
कसले यो सहरको रेखदेख गर्ने? यस सहरको सामाजिक एवं आर्थिक विकासको बारे कसले सोंच्ने? कसले छलफल गर्ने? बिग्रेका संरचनाहरूको निर्माण कसले गर्ने? कसले सरसफाइमा ध्यान पुर्याउने? यी कार्यहरू गर्ने दायित्व कसको हो?

किन वीरगंज अहिले अभिभावकविहीन बन्दै गएको छ?

अव्यवस्थित एवं अनियन्त्रित वसोबास, मनोमानी सवारी व्यवस्था, यत्रतत्र फोहर, साँघुरो सडक आदि जस्ता समस्याहरुले गर्दा वीरगंजले आफ्नो मौलिकता र सौन्दर्य दुवै गुमाउँदै गइरहेको छ। हुन त यस किसिमका समस्याहरू नेपालका अन्य सहरहरूमा पनि देखिएका छन। तर वीरगंजलाई नेपालको (काठमाडौ पछिको) पहिलो ठूलो सहरको रूपमा लिएको र यसलाई नेपालको  आर्थिक राजधानी तथा नेपाल-प्रवेशद्वार पनि भनिएको हुनाले यस सहरको विषेश चर्चा हुनु सान्दर्भिक नै हुन आउँछ। आवश्यक हुन आउँछ। वीरगंजको अभिभावक को? यस विषयमा चर्चा हुन आवश्यक छ। वीरगंजसँग मेरो गहिरो साइनो पनि छ। यो सहर मेरोलागि धेरै कारणहरुले महत्वपूर्ण छ पनि।

वीरगंज अहिले अनेक समस्याहरूले आक्रान्त देखिएको छ। सवारी व्यवस्था त झन 
गंभीर समस्याको रुपमा प्रस्तुत भएको छ। वीरगंजको मुल सडक, जस्तै (उदाहरण)  घण्टाघर देखि विर्ता, को स्थिति हेर्दा भय र चिन्ता दुवै एकसाथ उत्पन्न हुन्छ। यो सडकमा अनियन्त्रित किसिमले पैदल यात्रु हिंडिरहेका त हुन्छन् नै, साथै ट्रेक्टर, जिप, कार, टांगा, गोरूगाडा (टायर), मोटर साइकल, सामान्य रिक्सा, बैट्री-चालित रिक्सा, साइकल आदि पनि एकैसाथ सडकमा दौडिरहेका हुन्छन्। वैदिककालदेखि प्रचलित सवारी साधन (गोरुगाडा, टांगा) हरू तथा आधुनिक युगका सवारी साधन (बैट्री-चालित रिक्सा, आधुनिक कार) हरू, एकै साथ वीरगंजका सडकहरूमा दौडिरहेको सजिलै देख्न सकिन्छ। यसलाई ठूलो आश्चर्य मान्न सकिंदैन र? तर यस किसिमको अव्यवस्थित सवारी व्यवस्थाले कुनै पनि बेला दु:खदायी दुर्घटना हुन सक्छ। र विगतमा त्यस्ता दु:खद दुर्घटना भएका छन पनि।  

फोहर पनि अव्यवस्थित किसिमले फाल्ने गरिएकोले यो सहरको सौन्दर्य फोहर र दुर्गन्धले छोपिने हो कि भन्ने अर्को त्राश छ। घरभित्रको फोहर सडकमा फालेपछि घर सफा हुन्छ भन्ने मानसिकताबाट वीरगंज अहिले पनि बाहिर आउन सकेको छैन्। उचित व्यवस्थापनको अभावमा वीरगंजका घरेलु एवं व्यापारिक, दुवै किसिमका विसर्जनहरू यस सहरलाई कुरुप पार्नमा उद्धत देखिएका छन्। उदारहरणको लागि वीरगंजको पश्चिममा बग्ने सिरसियाँ नदीको दुर्गति हेरे पुग्छ। 

सर्वाधिक दु:खदायी किसिमले भने वीरगंजमा आर्थिक समस्या प्रस्तुत हुन थालेको छ, यस सहरलाई पिरोल्नका लागि। अहिले वीरगंजको व्यापारले मन्दीको स्थिति भोग्नु परेको छ। सहरमा व्यापारिक चहल पहल देखिंदैन्, पहिले जस्तो देखिने गर्थ्यो। यस सहरलाई समृद्ध तुल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने उद्योगहरू आफ्नो क्षमता विस्तार गर्न उस्ताहित देखिंदैनन्। उनीहरूमा एक किसिमको उदासीनता देखिएको छ। अनिश्चितता पनि उत्तिकै देखिएको छ। मधेस आन्दोलनमा वीरगंजबाट पलायन भएका उद्योगहरू फर्किने मनस्थितिमा छैनन्। वीरगंजमा हुने अति राजनीतिले आफ्नो व्यापार कुन बेला, कति र कसरी प्रभावित हुने हो भन्ने भयले व्यापारीहरू अहिले पनि प्रतिपल चिंतित रहेको देखिन्छन। त्रसित रहेको देखिन्छन्।

तर......! तर कुनै समय यस्तो थियो, वीरगंजले चीनी नेपालभरि निर्यात गर्थ्यो। यहाँ उत्पादन भएका कृषि औजारहरू नेपालका अनेक गाउँहरूमा पुग्थ्ये। तिनले कृषि-उत्पादन वृद्धिमा सहयोग पुर्याउँथे। वीरगंजको आर्थिक उन्नतिमा योगदान पुर्याउने वीरगंज चीनी कारखाना, कृषि औजार कारखाना अहिले म्युजियम हुन पुगेका छन्।

कुनै समयमा, वीरगंजबाट पठाइएका चामलका बोराहरु रक्सौल हुँदै मरिसस, बंगलादेश लगायत भारतका अनेक सहरहरूमा पुग्थ्ये। त्यसबेला नेपालले ‘धान चामल निर्यात कम्पनी’ मार्फत एशियाका अन्य मुलुकहरूमा पनि चामल निर्यात गर्ने लक्ष्य राखेको थियो। वीरगंज एक निर्यातक सहर थियो।
त्यसबेला पाउरोटी, चकलेट, विस्कृट, सलाई, सिगरेट, बींडी उत्पादनमा वीरगंजले दक्षता हासिल गरेको थियो। वीरगंजमा दसकौं पहिले अनेक आवसीय होटलहरू संचालित थिए, जबकी नेपालका अन्य सहरमा होटल संचालन गर्नु पर्छ भन्ने सोंचको पनि त्यस बेला विकास भएको थिएन। यात्रुहरू धर्मशालाको शरणमा पर्नु पर्थ्यो। यति मात्र होइन, वीरगंजमा तारे होटल (होटल सम्झना) दसकौं पहिले (सम्भव त पचास वर्ष अघि) संचालनमा आइसकेको थियो।

यस्तो समृद्ध वीरगंज अहिले किन मन्दीको स्थितिमा छ? किन दुर्गगतिको स्थितिमा छ?
मधेस आन्दोलनले खलबल्याएको जातीय सद्भाव यहाँ अझै पनि धमिलो नै छ। त्यस आन्दोलनबाट विरक्तिएर वीरगंजबाट पलायन भएका तथाकथित पहाडेहरू अहिले पनि वीरगंज फर्किने मनस्थितिमा छैनन्। घर, घडेरी र खेतियोग्य जग्गा समेत बिक्री गरेर हिडेंका पहाडेहरूलाई वीरगंज फर्किन सजिलो पनि छैन, पुरानो थलोले उनीहरुलाई भावनात्मक रुपमा ताने पनि। मारवाडी, बंगाली, पंजावी, सिन्धी, झाँगण जस्ता अल्प संख्यक विभिन्न समुदाहरूलाई आदरपूर्व समेटर बसेको वीरगंज किन यसरी जातीय आन्दोलनमा लाग्यो? किन यसले पहाडेहरूलाई शत्रु देख्न पुग्यो?

माथि उल्लेख गरिएका समस्याहरूको समाधान कसले गर्ने? वीरगंजको अभिभावकत्व कसले लिने? सरकारका केही तोकिएका मन्त्रालयहरूले लिनु पर्छ भन्ने हो भने सरकार आफै स्थिर छैन। नौ महिना भन्दा बढी सरकार टिक्न सकिरहेको छैन। पुष्प कमल दहाल प्रधान मंत्री भएको एक महिना पनि पुगेको छैन उनलाई पद-मुक्त गर्न एकथरिले दिन गिन्ति सुरु गरिसके। दहाल जुन किसिमकलो जालझेल गरेर आए त्यस्तै जालझेल यिनलाई पनि हुत्याउँने छ। यो निश्चित छ। नेताहरू केवल कुर्सिको खेलमा लीन छन्। यी कुराहरू नेपाली जनताको लागि नौलो पनि रहेन अब। वीरगंजको विकासको दायित्व नगरपालिकाले लिनु पर्छ भन्ने हो भने स्थानीय सरकारका निकायहरू प्रतिनिधि विहीन छन। स्थानीय निर्वाचन भएको दुई दसक भन्दा बढी भइसक्यो। स्थानीय निर्वाचन कहिले हुने हो?

यस किसिमको विषम परिस्थितिमा वीरगंजको अभिभावकत्व कसले लिने? कसले सोंच्ने यो सहरको आर्थिक, सामाजिर र राजनैतिक विकास वारे? यो प्रश्नको उत्तर एक किसिमले जटिल छ तर अर्को किसिमले सरल पनि छ।

वीरगंजको अभिभावकत्व यस सहरको नागरिक समाजले लिनु पर्दछ। यस सहरको विकासमा नागरिक समाज आ-आफ्नो क्षेत्रवाट, आ-आफ्नो टोलबाट सक्रिय हुनु पर्दछ। यस सहरमा अस्थाइ वा स्थाइ, जुन रूपमा बसे पनि यस सहरका बासिन्दाहरू नै यस सहरका विकासका कर्ताहरू (Actors) हुन। यो भावना प्रत्येक वीरगंजवासीमा हुन आवश्यक छ।

विकसित मुलुकहरूमा स्थानीय विकासका कर्ताहरू स्थानीय व्यक्तिहरू नै हुने गर्दछन्। वीरगंजको विकासमा पनि स्थानीयहरूको सहभागिता हुन सके मात्र यो सहरको सुन्दरता, गौरव र अर्थ व्यवस्थालाई जोगाउन सकिन्छ।

विश्वराज अधिकारी

वीरगञ्जबाट प्रकाशित हुने "प्रतीक दैनिक" मा प्रकाशित   Friday, August 19, 2016

No comments:

Post a Comment