Friday, July 14, 2017

Is the Development Approach Correct?-Article-165

आर्थिक विकासका लागि सोच परिवर्तन गरौं

विकासप्रतिको हाम्रो धारणा गलत छ। यो गलत धारणाको हामी जबसम्म अभ्यास गरिरहने छौं,  आर्थिक विकास हाम्रो लागि केवल सपनामा सीमित रहिरहने छ। गरिबीले हामीलाई वर्षौंसम्म पछ्याइरहने छ।
    विकासप्रतिको धारणा कसरी गलत छ त? आफ्नो क्षेत्र वा समग्र राष्ट्रको विकासका लागि प्रमुख जिम्मेवार पक्ष केवल सरकारलाई देख्नु नै विकासप्रति हाम्रो गलत धारणा हो। र यसरी विकासप्रति हाम्रो धारणा सर्वथा गलत छ। यो गलत सोच नै मुलुकको सर्वाङ्गीण आर्थिक विकासको बाधक हुन पुगेको छ।
    विकासका लागि, सरकार केवल सहजकर्ता हो। सरकारले मात्र सजिलो परिदिने काम गर्ने हो। विकास गर्ने प्रमुख जिम्मेवारी स्थानीयहरूको हो। देशको सन्दर्भमा, सम्पूर्ण देशवासीहरूको हो। यस किसिमको सोंचले गर्दा नै युरोप र अमेरिकाका विभिन्न शहर वा स्थानले विकास गरेका हुन्। तर हाम्रो क्षेत्रमा विकासको लागि केवल सरकारलाई जिम्मेवार देख्ने हाम्रो सोचले गर्दा विकास हुन सकिरहेको छैन। विकास मात्र होइन, हामी हरेक किसिमको समस्याका लागि जिम्मेवार सरकारलाई देख्छौं। विकासका काम गर्ने जिम्मेवारी हाम्रो हो भन्ने तथ्यलाई पटक्कै स्वीकार गर्न चाहँदैनौं। यहाँसम्म कि सामाजिक, धार्मिक, सांस्कृतिक समस्याहरूको समाधानका लागि पनि सरकारलाई जिम्मेवार देख्छौं। आफ्नो व्यवहारमा परिवर्तन ल्याएर विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक समस्या समाधान गर्नेपट्टि लाग्दैनौं। सर्वदा सरकारको मुख ताकेर बस्छौं।
    विकासको लागि केवल सरकारलाई जिम्मेवार देख्ने हाम्रो सोच परम्परागत हो। यो सोच जमिन्दार, राजा, महाराजाकालीन हो। राजा, महाराजाहरू राष्ट्रको प्रमुख हुँदा जनताले आफ्नो क्षेत्रको विकासको लागि जिम्मेवार केवल राजाहरूलाई देख्ने गर्थे। हुन पनि त्यस समयमा जनतासँग अधिकार हुन्थेन। जनतालाई अधिकारबाट वञ्चित गरिएको हुन्थ्यो। विकाससम्बन्धी निर्णय केवल राजा वा दरबारबाट हुने गर्दथ्यो। हुनत युरोपका विभिन्न मुलुकहरूमा पनि राजाहरू प्रमुख शासकको रूपमा थिए, अहिले पनि केही देशमा छन्। तर युरोपका देशहरूमा नागरिकले आफ्नो क्षेत्रको विकास स्वयं (त्यस क्षेत्रका बासिन्दाहरू) ले गर्नुपर्छ भन्ने यथार्र्थ छिटै बुझे। व्यवहारमा लागू पनि छिटै गरे। तर हामी दक्षिण एसियाली देशका नागरिकले यो यथार्थ अझै बलियोगरी बुझेका छैनौं। यिनै कारणले गर्दा विश्वका अनेक मुलुकहरूले विकास गरिरहँदा हामी विकास गर्न सकिरहेका छैनौं। दक्षिण एसियाका मुलुकहरू–नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश आदिमा विकासप्रति यही सोच व्याप्त छ।
    विश्वको सर्वाधिक धनी एवं विकसित देश संरा अमेरिका, जहाँ हरपल नयाँनयाँ किसिमका व्यापार, वस्तु र सेवाहरूको आविष्कार हुन्छ, त्यहाँका नागरिकमा आफ्नो क्षेत्रको विकास आफैं गर्नुपर्छ भन्ने सोच र त्यो सोचलाई कार्यान्वयन गर्ने अठोट भएको हुनाले नै छोटो समयमा यो देशले यति चमत्कारी किसिमले विकास गरेको हो। आफ्नो क्षेत्रको विकास आफैंले गर्नुपर्छ भन्ने सोचले गर्दा यो देश आज विश्वको सर्वाधिक धनी देश हुन सफल भएको छ। अमेरिका केवल धनी मुलुक होइन, ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा पनि अग्रणी राष्ट्र हो। आफ्नो क्षेत्रको विकास आफैंले गर्नुपर्छ र विकासका लागि सहमतिजस्ता दुई प्रमुख तत्वले अमेरिकालाई विश्वको सर्वाधिक धनी (ठूलो अर्थ व्यवस्था भएको) राष्ट्र तुल्याएका छन्। यी तत्वले अमेरिकालाई विश्वको सर्वाधिक लाभदायक एवं बलियो बजार हुन पनि सहयोग पुर्याएका छन्। आज संसारभरिका मुलुक आफ्नो वस्तु एवं सेवा अमेरिका निर्यात गर्न लालायित देखिन्छन ।
    विश्वका अनेक राष्ट्रबाट जब आप्रवासीहरू अमेरिका बसोबास गर्न आए, त्यसरी आउने आप्रवासीहरूमा आफ्नो क्षेत्रको विकास आफैले गर्ने ठूलो चाहना, अठोट र साहस थियो। अमेरिकामा आप्रवासीलगायत पहिलेदेखि बस्दै आएका बासिन्दा मिलेर आ आफ्नो क्षेत्रको विकासमा सक्रियतापूर्वक लागे। जुन स्थानमा जुन किसिमका स्रोत एवं साधनहरू उपलब्ध थिए, ती स्रोत एवं साधनको उपयोग शान्तिपूर्वक एवं मिलेर गरे। सबैले आ आफ्नो क्षेत्रको विकासमा यथेष्ट ध्यान दिएको परिणामस्वरूप आज अमेरिका आफ्ना नागरिकलाई अनेक किसिमका आर्थिक सुविधा उपलब्ध गराउन सक्षम र सफल भएको छ। यसको ठीकविपरित अफ्रिकाका अनेक राष्ट्रमा आफ्नो स्थानको आफैले विकास गर्नुपर्छ भन्ने भावनाको अभाव र निरन्तरको विग्रहले गर्दा जहिले पनि युद्ध र सङ्घर्षको स्थिति छ। अफ्रिकाका लाखौं नागरिकले केवल ज्यान जोगाउन युरोपका अनेक मुलुकहरूमा शरण लिन बाध्य हुनुपरेको छ। मानव तस्करहरूले लाखौ अफ्रिकीलाई युरोप पुर्याउने सपना देखाएर लुटिरहेका छन्। चरम आर्थिक शोषण गरिरहेका छन्। यसरी युरोप हिंडेका हजारौं अफ्रिकीले समुद्रीमार्ग (लिबियादेखि इटली) मा ज्यान गुमाएका छन्। र त्यो क्रम अहिले पनि जारी छ।
    विकासका कार्यमा स्थानीय बासिन्दाको सहभागिता वृद्धि गर्ने र स्थानीय विकासका लागि स्थानीयलाई अधिकार सम्पन्न तुल्याउने उद्देश्यका साथ नै स्थानीय सरकारको सृजना गरिएको हो। विभिन्न स्थानमा विभिन्न किसिमका स्रोत एवं साधन उपलब्ध हुन्छ, र ती विभिन्न किसिमका स्रोत एवं साधनको उपयोग गर्न केन्द्र सरकारले बनाएको एउटै किसिमको नियम तथा कानुन प्रभावकारी हुन सक्तैन। विभिन्न स्थानमा रहेका विभिन्न स्रोत एवं साधनको उपयोग गर्न विभिन्न किसिमका नियम एवं कानुन निर्माण गर्नुपर्ने हुन्छ। विभिन्न स्थानमा उपलब्ध विभिन्न स्रोत एवं साधनको उपयोग गर्न स्थानीय सरकारले मात्र अनेक किसिमका नियम एवं कानुन निर्माण गर्न सक्छ, केन्द्र सरकारले सक्तैन।
    दक्षिण एसियालगायत अन्य विकासशील मुलुकहरूमा स्थानीय सरकारको गठन त भयो तर ती स्थानीय सरकारको उपयोग भने राजनीतिक उद्देश्य पूर्तिको लागि गरियो। आर्थिक विकासका लागि हुन सकेन। स्थानीय सरकार एवं क्षेत्रको प्रयोग राजनैतिक उद्देश्यका लागि राजनैतिक दल एवं नेताहरूबाट भयो। राजनैतिक दलहरूले स्थानीय सरकारको उपयोग आफ्नो दलीय प्रभाव विस्तार गर्नका लागि गरे भने नेताहरूले त्यसलाई आफ्नो अनुकूल चुनाव क्षेत्र बनाउन ध्यान केन्द्रित गरे। विकासशील राष्ट्रहरूमा स्थानीय सरकारको प्रयोग स्थानविशेषको आर्थिक विकासका लागि हुन सकेन।
    स्थानीय सरकारको गठन एवं सञ्चालन आर्थिक विकासको लागि गरिने हो। त्यसकारण स्थानीय सरकारका लागि निर्वाचित प्रतिनिधिहरू प्रायः कुनै राजनैतिक दलसँग आबद्ध नभएर स्वतन्त्र किसिमका हुन्छन्। यदि कोही राजनैतिक दलसँग नजिक भए तापनि निष्पक्ष किसिमले कार्य गर्ने हुन्छन्। यस किसिमको अभ्यास विकसित मुलुकहरूमा देख्न सकिन्छ।
    देश वा स्थानीय विकासका लागि जबसम्म हामी स्वयंले जिम्मेवारी लिंदैनौं, जबसम्म विकासको लागि जिम्मेवार केवल सरकारलाई देख्छौ, आर्थिक विकास हाम्रो लागि केवल सपनामा सीमित रहने छ।  रोजगारका लागि नेपालीहरू विदेश पस्ने क्रम रोकिने छैन। अहिले उपयुक्त समय आएको छ– विकासप्रति रहेको हाम्रो यो परम्परागत सोच परिवर्तन गर्ने। यो अनुत्पादक, अलाभदायक परम्परागत सोच परिवर्तन गरौं। विकासका लागि सरकरको मुख ताक्न छोडेर आ-आफ्नो क्षेत्रको विकासमा स्वयं सक्रिय भएर लागौं।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 14, 2017

No comments:

Post a Comment