Friday, November 17, 2017

Making Birgunj an Economic Powerhouse-Article-170

वीरगंजलाई ‘आर्थिक शक्तिगृह’ बनाउने कि?

वीरगंजलाई प्रादेशिक राजधानी बनाउनेबारे चर्चा चल्नु स्वाभाविक हो। प्रादेशिक राजधानी बनाउनका लागि चाहिने पूर्वाधार वीरगंजमा प्रशस्त छ पनि। तर वीरगंजलाई प्रादेशिक राजधानी तुल्याउनुभन्दा ‘आर्थिक शक्तिगृह’ (Economic Powerhouse) बनाउन आवश्यक छ। आर्थिक शक्तिगृह बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेहरूले यस तर्फ गम्भीरतापूर्वक सोच्न आवश्यक छ। मुख्यगरी वीरगंज महानगरपालिका प्रशासनले सोच्न आवश्यक छ। नवनिर्वाचित महानगरपालिका प्रमुख, विजय सरावागी जो स्वयं आर्थिक क्षेत्रका हैसियत हुन्, उनले यसतर्फ गम्भीरतापूर्वक सोंच्नेछन्। विश्वास गरौं!
    विकशित देशहरूको प्रादेशिक राजधानीको अध्ययन गर्ने हो भने प्रादेशिक राजधानी तुलनात्मकरूपमा सानासाना शहरहरूलाई बनाइएको सजिलै देख्न सकिन्छ। प्रादेशिक राजधानीमा मुख्य गरी राजनैतिक गतिविधि (प्रादेशिक संसद्, प्रदेश प्रमुखको कार्यालय, निवास एवं अन्य कार्यालयहरू) हुने भएकोले राजधानी ठूलो शहरमा हुन आवश्यक छैन। बरु मध्य अवस्थिति भएको वा प्रदेशका विभिन्न स्थानहरूबाट राजधानी आउन सरल हुने किसिमको स्थान हुनु आवश्यक छ। यो तथ्यलाई विचार गर्दा यस प्रदेशको राजधानी बरहथवा, गरुडा, वयलवास जस्ता साना शहरलाई बनाउनु उपयुक्त देखिन्छ। यस्तो गरिएमा यस किसिमका साना शहरहरूको विकास पनि हुन्छ, शहरी जनसङ्ख्या वितरण सन्तुलित पनि हुन पुग्छ।
    संयुक्त राज्य अमेरिकाको सर्वाधिक धनी राज्य र विश्वका सर्वाधिक ठूला अर्थ व्यवस्था मध्ये छैठो (सन् २०१६ मा) क्यालिफोर्निया राज्यको प्रादेशिक राजधानी सन फ्रान्सिसको, लस इजलिज जस्ता ठूला शहर नभएर तुलनात्मकरूपमा सानो शहर सेक्रेमेन्टो रहेको छ। यसैगरी अमेरिकाको सबैभन्दा ठूलो राज्य, टेक्सासको राजधानी डालस, ह्युस्टनजस्तो ठूलो शहर नभएर तुलनात्मकरूपमा सानो शहर अस्टिन हो। यस किसिमको प्रचलन विश्वका अन्य विकसित वा धनी राष्ट्रहरूमा पनि देख्न सकिन्छ। अमेरिकाको ‘व्यापारिक राज्य’ क्यालिफोर्नियालाई अमेरिकाको ‘आर्थिक शक्तिगृह’ राज्यको रूपमा लिने गरिन्छ।
    वीरगंजलाई आर्थिक शक्तिगृह बनाउन आवश्यक पर्ने अनेक पूर्वाधार यस शहरमा उपलब्ध छ। कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट ल्याउन आवश्यका पर्ने रेलमार्ग, हवाईमार्ग र समुद्रीमार्ग वीरगंजबाट नजिक छ भने उत्पादित सामग्रीहरू यहाँबाट विराटनगर, काठमाडौं, नेपालगंज, पोखरा जस्ता ठूला शहरमा सजिलै पठाउन सकिने सहज स्थिति पनि छ। यसैगरी उत्पादित सामग्रीहरू वीरगंजबाट सजिलोगरी भारत एवं तेस्रो मुलुकमा पठाउन सकिन्छ। अर्थात् वीरगंजलाई आर्थिक शक्तिगृह बनाउने हो भने यो शहरले सम्पूर्ण नेपालको निर्यात व्यापारको प्रवर्धन गर्न सक्छ। रोजगारमा बढोत्तरी गर्न सक्छ।
    वीरगंजलाई प्रदेशको राजधानी बनाएर राजनैतिक कलह (हडताल, जुलुस, प्रदर्शन, चक्काजाम, बन्द, आन्दोलन), बेरोजगार र व्यापार ठप्प गर्ने बाटो फराकिलो बनाउनुको सट्टा यस शहरलाई आर्थिक शक्तिगृह बनाउनेतर्फ लाग्नु आवश्यक छ। यस्तो भएमा यस शहरको मात्र आर्थिक विकास हुँदैन, प्रदेशकै आर्थिक विकास हुन पुग्छ। यस प्रदेशका नागरिकले थप रोजगार पाएर उनीहरूको क्रयशक्ति बढ्छ। गरिबी कम हुन्छ। विगतमा वीरगंजमा अनेक किसिमका राजनैतिक कलह भएर यस क्षेत्रको आर्थिक विकास कुन गतिमा सुस्त भयो भन्ने यथार्थ वीरगंजवासीलाई राम्ररी थाहा छ। स्मरण गराइरहनुपर्छ र?
    वीरगंजबाट हेटौडा र चन्द्रनिगाहपूरसम्म भूमिगत रेलमार्ग निर्माण गर्ने हो भने एकातिर पेट्रोलियम पदार्थमाथिको अति निर्भरता कम पार्न सकिन्छ भने यातायात लागत (मानिस र सामान ओसारपसार) निकै कम पारेर यस क्षेत्रका बासिन्दाको क्रयशक्ति वृद्धि गर्न सकिन्छ। भूमिगत रेलमार्ग निर्माणका लागि आश्वयक ठूलो पूँजी जुटाउन पनि गार्हो छैन। लामो अवधिको लागि उक्त रेलमार्ग लिजमा दिने हो भने नेपालको निजी क्षेत्र त्यस किसिमको निर्माण गर्न सक्षम छ। विदेशी लगानीकर्ता गुहार्नै पर्दैन। नेपालमा पनि सक्षम लगानीकर्ताको सङ्ख्यामा वृद्धि भइसकेको छ। ‘जनता (केही) धनी, सरकार गरिब’ राष्ट्रहरूको श्रेणीमा नेपाल पनि पर्न थालिसकेको छ। यस किसिमको निर्माणमा विदेशमा बसेका नेपालीहरूले पनि लगानी गर्न सक्छन्। सम्भावना अनेक छन्।
    आर्थिक शक्तिगृह बनाउन मुख्यगरी पाँच कुरा आवश्यक पर्छ। त्यो भनेको पूँजी, ऊर्जा, यातायात, भूमि र उद्यमी। यी पाँच कुरामध्ये पनि प्रमुख हो उद्यमी। यहाँ उद्यमी भन्नाले सामान्य व्यापारी भन्न खोजिएको होइन। उद्यमी त्यस्तो व्यक्तिलाई भन्न खोजिएको हो वा भन्ने गरिन्छ, जसले एकदमै नयाँ किसिमको व्यापारको विकास गर्छ, त्यस व्यापारलाई नाफामूलक तुल्याउँछ र व्यापारको विकास गरेर आर्थिक कारोबारको आकारलाई बृहत् बनाउँछ। रोजगारको स्तरमा वृद्धि गर्छ। आफूले गरेको खास किसिमको व्यापारबाट मानव–जीवनमा विशेष किसिमको सकारात्मक परिवर्तन ल्याउँछ। मानव जीवनलाई सरल तुल्याउँछ। नागरिकहरूको जीवनस्तरमा वृद्धि गर्छ। माइक्रोसफ्टका संस्थापक बिल गेट्स र पौल एलेन, फेसबूकका सहखोजकर्ता मार्क जुकर्वर्ग, एपलका सहसंस्थापक स्टिभ जब्स, गुगलका स्थापक लैरी पेज र सर्जी ब्रिन तथा संसारकै सबैभन्दा ठूलो अनलाइन सपिंग-अमेजनका स्थापक जेफरी पी. बेजोस सामान्य व्यापारी होइनन्, उद्यमीहरू हुन्। नयाँनयाँ व्यापारका सर्जक वा खोजकर्ता हुन्।
    वीरगंजलाई आर्थिक शक्तिगृह बनाउन आवश्यक पर्ने अन्य चार कुरा– पूँजी, ऊर्जा, यातायात र भूमि उपलब्ध हुन गार्हो पर्दैन। उद्यमी मात्र सजिलै उपलब्ध नहुन सक्छ। उद्यमी उत्पादन गर्न वीरगंज महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। महानगरपालिका कार्यालयभित्र एउटा  ‘थिंक टैंक’ शाखा स्थापना गरेर त्यसमा खास किसिमको व्यापार विकास गर्ने विद्यार्थीहरू अथवा त्यस किसिमको क्षेत्रमा कार्य गर्न इच्छुक व्यक्तिहरूलाई नियुक्त गरेर महानगरपालिकाले उद्यमीहरूको विकास र प्रयोग गर्न सक्छ। यी उद्यमीहरू नयाँनयाँ व्यापार विकास गर्न अथवा भएका वा सञ्चालित व्यापारको स्थिति सुधार गर्न वा मुनाफामूलक तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। तर त्यस्तो नियुक्ति गर्दा नगरपालिका प्रशासनले योग्य व्यक्तिलाई निष्पक्षरूपमा नियुक्त गर्नुपर्छ। वीरगंज महानगरपालिकाका नवनिर्वाचित प्रमुखले अवश्य पनि यसतर्फ विचार गर्नेछन्। उनी जोश र जाँगरका साथ, वीरगंज मात्र होइन, यस क्षेत्रको नै विकास गर्ने सोंच र दृढताका साथ राजनीतिमा अवतरित भएका हुन्।
    उद्योग र व्यापार सञ्चालनका लागि आवश्यक भूमिको व्यवस्थापनको सन्दर्भमा भने अब तराईका, खासगरी वीरगंज वरपरका क्षेत्रका बासिन्दालाई पहाडतिर सर्न उत्प्रेरित गर्नुपर्छ। यस्तो हुन सके पहाडी भूमिको उपयोग (कृषिमा) प्रभावकारी किसिमले गर्न सकिन्छ। अर्कोतिर तराइतर्फ परिरहेको उच्च जनसङ्ख्या चाप कम पार्न सकिन्छ। तराईमा खाद्यान्न उत्पादन गरेर विदेश निर्यात गर्न सक्ने स्थिति अब रहेन। उल्टो तराईमा बसोवास बढेर खेतीयोग्य जमिनमा ठूलो ह्रास आएको छ।
    पहाड पहडियाको, मधेस मधेसियाको भन्ने धारणा अब परित्याग गर्नुपर्छ। यस किसिमको धारणाले देशवासीमा मानसिक र भौतिक दुवै किसिमको विभाजन मात्र ल्याउँछ, देशको आर्थिक विकास भने पटक्कै हुँदैन। अब चौरसिया, यादव, मण्डल आदिले सगरमाथाको फेदीमा सहजै बसोवास गर्न सक्ने स्थिति हुनुपर्छ। शेर्पा, घिसिंग, चामलिंग, चेमजोंग, नेम्बांग आदिले पोखरिया, जितपुर, जगरनाथपुर जस्ता स्थानहरूमा विना कुनै भय बस्न पाउनुपर्छ। कुनै पनि देशको आर्थिक विकासले यस किसिमको स्थितिको माग गर्दछ। विभिन्न स्थानमा विभिन्न जातजाति मिलेर बसेको हुनाले नै अमेरिका, फ्रान्स, बेलायत, जर्मनीजस्ता मुलुकहरूको उच्च आर्थिक विकास भएको हो।
    अब वीरगंजलाई प्रादेशिक राजधानी बनाउने होइन, आर्थिक शक्तिगृह बनाउन जोड दिनुपर्छ। राजनैतिक कलहबाट वीरगंजलाई टाढा राख्नुपर्छ। वीरगंजले धेरै तनाव र घाटा बेहोरिसक्यो। वीरगंज महानगरपालिकाका प्रमुख (मेयर) विजय सरावागी र अव निर्वाचित हुने महत्वपूर्ण निर्णयकर्ताहरूले वीरगंजलाई प्रदेशको राजधानी बनाउनुको सट्टा आर्थिक शक्तिगृह बनाउन जोड दिनेछन्। पक्षपोषण (Lobbying) गर्ने छन्। विश्वास गरौं!

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 17, 2017

No comments:

Post a Comment