Friday, March 30, 2018

Education: Hindrance in Economic Development in South Asia-Article-188


गरिबीको कारण ज्ञानको अभाव

अनेक साधन र स्रोत भए तापनि दक्षिण एसियाका मुलुकहरू गरिब र साधन–स्रोतको पर्याप्तता नभए तापनि पश्चिमका राष्ट्रहरू धनी हुने कारण धेरै छ। ती धरै कारणहरूमध्ये एउटा महत्वपूर्ण कारण हो, दक्षिण एसियामा ज्ञानको अभाव हुनु। दक्षिण एसियामा ज्ञानको प्रचुर अभाव छ। हामीले जतिसुकै गर्व गरे तापनि, आफूले आफैलाई हामी महान् छौ भने तापनि, दक्षिण एसिया मात्र होइन, सम्पूर्ण एसिया  नै ज्ञानको क्षेत्रमा पश्चिमभन्दा सयौं वर्ष पछाडि छ। ज्ञानको अभावले गर्दा नै एसियाका मुलुकहरू गरिब भएका हुन्, साधन र स्रोत नभएर होइन। दक्षिण एसियाको आर्थिक जीवन कष्टकर ज्ञानको अभावले गर्दा भएको हो। दक्षिण एसियाका नागरिकहरू पश्चिमी राष्ट्रहरूमा पुग्न हरदम लालायित हुने प्रमुख कारण पनि यस क्षेत्रमा ज्ञान र धनको अभाव हुनु हो। ज्ञानको अभावमा धनको सृजना हुन सक्तैन भन्ने यथार्थमा हामीले अविश्वास गर्न मिल्दैन।
    सियोदेखि हवाईजहाजसम्म, साबुनदेखि सलाईसम्म, अनि चीनीदेखि चियासम्म, सम्पूर्ण वस्तुको आविष्कार पश्चिमका राष्ट्रहरूमा भएको हो। संसारभरिमा नै, विभिन्न वस्तुहरूको आविष्कार गर्नमा ब्रिटेन, अमेरिका र जर्मनीको स्थान वर्षौंसम्म अग्रणी रह्यो। अहिलेको यो वर्तमान पूँजीवादी युगमा त विभिन्न वस्तु एवं सेवाहरूको अविष्कार गर्नमा केवल अमेरिकाको मात्र वर्चस्व कायम हुन गएको छ।
    पछिल्लो समयमा युट्युब, फेसबूक, गुगल, ट्युटर, उबरजस्ता उत्कृष्ट प्रविधि युक्त सेवाहरू उत्पादन गरेर अमेरिकाले विश्वलाई एउटा गाउँ वा सानो क्षेत्रमा परिणत गरिदिएको छ। कुनै समयमा एसियाको एउटा मुलुकबाट युरोपको अर्को मुलुकमा (पत्रद्वारा) खबर पुग्न हप्तौ लाग्नेमा अहिले संसारकै एक भागबाट अर्को भागमा (इमलेद्वारा) खबर पुग्न एक मिनेट पनि लाग्दैन। सूचना र प्रविधिको क्षेत्रमा महान् आविष्कारहरू भएका छन् । तर ती अविष्कारमध्ये एउटा पनि दक्षिण एसियामा भएन। सूचना प्रवधिको क्षेत्रमा एकमुस्ट विकास केवल अमेरिकामा भएको हो। यो कारणले पनि अमेरिकालाई अहिलेको यो युगमा ज्ञानको भण्डार मान्ने गरिन्छ। र अमेरिका धनी भएको पनि ज्ञानले हो, स्रोत र साधनहरूको पर्याप्तताले गर्दा भएको होइन।
    एसियाभरिमा रेलमार्गबाट सर्वाधिक फाइदा उठाउने देश भारत हो। नेटवर्कको आधारमा (६५ हजार किलोमिटरमा फैलिएको) भारतको रेलसेवालाई संसारको नै चौथो ठूलो रेलसेवा मान्ने गरिन्छ। भारतको रेलसेवाले वर्षभरिमा लगभग ८०० करोड यात्रु ओसार्छ। यात्रीहरूलाई गन्तव्यमा पुर्याउने सङ्ख्याको आधारमा भारत संसारकै सर्वाधिक ठूलो रेलसेवा हो। तर यो रेलसेवाको (रेल इन्जनको) विकास ब्रिटेनमा भएको हो, भारतमा होइन। भारतमा उहिले पनि बैलगाडी चल्थ्यो, अहिले पनि त्यहाँको सुदूर ग्रामीण क्षेत्रमा बैलगाडी चल्ने गर्छ। खेतमा हलो चल्छ।
    भारतको आर्थिक विकासमा अङ्ग्रेजहरूको योगदान ज्यादै ठूलो रह्यो। अङ्ग्रेजहरू भारत नआएको भए भारतको आर्थिक अवस्था अहिलेको अफगानिस्तान जस्तो हुन्थ्यो होला। तर पनि भारतीयहरू अङ्ग्रेजलाई निकै गाली गर्छन्। भारतलाई अहिलेको स्वरूप (बृहत् आकार वा एकीकृत रूप) दिन र आर्थिक रूपमा आत्मनिर्भर तुल्याउन अङ्ग्रेजहरूको योगदान ठूलो छ। यसैगरी नेपालको राष्ट्रियताको रक्षा गर्न नेपालको शाहवंश (पञ्चायती व्यवस्था) को योगदान पनि ठूलो छ। त्रिभुवन र पछिका राजाहरूले चीनसँग राम्रो सम्बन्ध नगाँसेको भए नेपालको स्थिति सिक्किम झैं हुने थियोभन्दा अतिशयोक्ति हुँदैन। तिब्बतलाई त चीनले खायो भनी कसैले प्रश्न गर्न सक्छ। यो प्रश्नका लागि यस्तो प्रतिप्रश्न आउन सक्छ– तत्कालीन तिब्बत सरकारले, नेपाल सरकारले जस्तै  आफ्नो अस्तित्व जोगाउन कूटनैतिक प्रयास किन गरेन?
    स्मरण रहोस, संयुक्त राष्ट्रसङ्घको स्थापनाका लागि राजा महेन्द्रले खास किसिमको भूमिका निर्वाह गरेका थिए। राजा महेन्द्र निरङ्कुश थिए, उनको त्यो स्वभावले थप बहस माग गर्दछ। तर उनको निरङ्कुशताको चर्चा गर्दा हालमा राष्ट्रियताको रक्षा गर्न रूसमा पुटिन, इजिप्टमा अल फतह सिसी, टर्कीमा एर्डोगानले खेलेको भूमिका मनन गर्नुपर्छ। के तीनैजना तानाशाह होइनन्?  सोभियत युनियनलाई टुक्राटुक्रा पार्ने युरोप अहिले पनि रूसलाई टुक्रा बनाउने दाउमा लागेको देखिन्छ। युक्रेनलाई बेलाबेलामा रूसविरुद्ध उचाल्ने काम युरोपले गर्दै आएको छ। यी विवरणहरूको प्रस्तुति पुटिन वा अलफतह सिसी असल हुन् भन्नका लागि होइन, वरन् रूसी राजनीतिले पुटिनको र इजिप्टले अलफतह सिसीको माग गर्दछ भन्न मात्र खोजेको हो। यस्तै स्थिति तत्कालीन नेपाली राजनीतिमा राजा महेन्द्रको थियो। राजा महेन्द्रको निरङ्कुशताको चर्चा भने चलि नै रहनेछ। र भारतको नेपालप्रतिको दृष्टिकोणको चर्चा पनि चलि नै रहनेछ।
    दक्षिण एसिया र खासगरी नेपाल र भारतमा एउटा अचम्मको चलन वा जनविश्वास छ–ज्ञान बाँड्नुहुँदैन। ज्ञान बाँडेमा त्यसको असर समाप्त हुन्छ वा पाप लाग्छ। यो कारणले गर्दा कतिपय गुरुहरू आफूले जानेका मन्त्र अरू (चेलाहरू) लाई सुनाएनन्। यहाँ मन्त्रलाई प्रतीकात्मक रूपमा, ज्ञानको रूपमा लिने हो, मन्त्रलाई अन्धविश्वासको कुनै सूत्रको रूपमा नमान्ने हो भने एउटा प्रश्न तेर्सिन आउँछ। त्यो के हो भने के कारणले ज्ञान (मन्त्र सुनाउने कार्य) बाँडिएन?  ज्ञानको विस्तारमा किन रोक लगाइयो?  हुन पनि हाम्रो ज्ञान बाँड्ने चलन छैन। ज्ञान बाँडेमा आफ्नो गुरुत्व वा शक्ति घट्छ भन्ने कुरामा हामी अहिले पनि बलियो गरी विश्वास गर्छौ। यही कारणले गर्दा महाभारत, गीता, वेद, उपनिषद् महिला र शुद्रहरूले पढ्न हुँदैन भनेर प्रचार गरियो। यस्ता ज्ञानका स्रोतबाट ती वर्गलाई वञ्चित गरियो। ज्ञानमाथि यसरी सीमा लगाउने हो भने कसरी ज्ञानको विकास हुन्छ?
    पश्चिमी राष्ट्रहरूमा एउटा आँधी आउँदा पनि त्यसको नाम राख्ने गरिन्छ। त्यसले के के क्षति पुर्यायो भन्ने कुराको अभिलेख राखिन्छ। र त्यो अभिलेख आउने पुस्ताले पढून् भनेर त्यसलाई सुरक्षित साथ राखिन्छ। अर्थात् यसरी ज्ञान बाँड्ने कार्य गरिन्छ। तर हामी कहाँ ज्ञान बाँडिदैन।
    अङ्ग्रेजहरूले (आएर) सर्भे गरेर, नापी गरेर घोषणा गरेपछि मात्र हामीलाई थाहा भयो, नेपालको सर्वाधिक अग्लो शिखर, सगरमाथा संसारभरिमा अग्लो छ। सगरमाथालाई पहिले पिक ‘बी’ भन्ने गरिन्थ्यो। तर पछि बेलायती नागरिक एन्ड्रयु स्कट ब्यागले नाप गरेपछि (गणना गर्नमा उनलाई राधानाथ सिकदरले सघाएका थिए) मात्र थाहा भयो पिक बी संसारमा नै सर्वाधिक अग्लो शिखर रहेछ। त्यो शिखरको नाम पनि बेलायतीहरूले नै ‘एभरेस्ट’ भनेर राखे। बेलायती नागरिक जर्ज एभरेस्ट (तत्कालीन सर्भेएर जनरल अफ इन्डिया) को सम्मानमा पिक ‘बी’ को नाम माउन्ट एभरेस्ट बेलायती सरकारद्वारा सन् १८५६ तिर राखिएको हो। एभरेस्टलाई नेपालीमा पछि सगरमाथा नाममा रूपान्तरण गरियो।
    भनिन्छ भारतीयहरूलाई ‘कौटिल्य’, ‘चाणक्य’ वा ‘विष्णुगुप्त’ को थिए थाहा नै थिएन। धेरै पछिसम्म पनि थाहा थिएन। चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुगुप्त कुटिल वा विद्वान् भएको हुनाले उनलाई कौटिल्य भनिएको हो। र यसैगरी चणकको छोरा भएकाले उनलाई चाणक्य भनिएको हो।
    भारतमा अङ्ग्रेजहरूको आगमन भएपछि, अङ्ग्रेजहरूले चाणक्यबारे अध्ययन र अनुसन्धान गरेर तथ्य पत्ता लगाएर सो तथ्य सार्वजनिक गरेपछि मात्र आम भारतीयले चाणक्य को थिए भन्ने कुरा थाहा पाए। हुनत यस कुराको पुष्टि आधिकारिकरूपमा भएको छैन, तर धरैजनाको विश्वास छ, चाणक्यबारे खोजतलाश अङ्ग्रेजहरूले नै गरेका हुन्, भारतीयहरूले होइन।
    हामी ज्ञानको क्षेत्रमा पछाडि मात्र छैनौं, ज्ञान बाँड्ने मनोविज्ञान पनि राख्दैनौं। ज्ञान बाँड्न झन् पछाडि छौ। सामाजिक र आर्थिक विकासको लागि ज्ञानको व्यवस्थापन र सञ्चार उत्तिकै आवश्यक छ। हामी गरीब भएको ज्ञानको अभावले हो। र ज्ञानको अभाव ज्ञानको उचित व्यवस्थापन नभएर भएको हो।
    हामी ज्ञानको क्षेत्रमा निकै पछाडि रहेकोले नै कुनै वस्तुको उत्पादन लागत (विकसित देशमा) रु १०० पर्छ भने त्यही वस्तु नेपालमा उत्पादन गर्दा उत्पादन लागत रु १००० तिरिरहेका हुन्छौ। हामीले उत्पादनमा उन्नत प्रविधि प्रयोग गर्न नसकेकोले उत्पादन लागत बढी बेहोर्नुपरेको हो। यसरी अधिकतम ज्ञान र प्रविधिको प्रयोग हामीले उत्पादन र वितरण व्यवस्थापन गर्न नसकेकोले वस्तु र सेवाहरूको उत्पादन महँगो भएको हो। हाम्रो जीवन पद्धति (ीष्खष्लन  अयकत) नै महँगो हुन पुगेको हो।
    ज्ञानको क्षेत्रमा हामी कति पछाडि छौ भन्ने कुरा हालै भएको एउटा घटनाले पनि पुष्टि गर्दछ। कैलाली जिल्लाको घोडाघोडी नपा– ५ बस्ने राधा चौधरीलाई बोक्सीको आरोपमा ज्यानै जानेगरी कुट्दा मानिस रमिते बनेर हेरि मात्र रहे। कुट्ने व्यक्ति त बुद्धिहीन भयो नै, दर्शकहरू पनि के सबै बुद्धिहीन थिए त?  थिए होलान्। त्यसैले राधा चौधरीले ज्यानै जाने किसिमको कुटाइ खाँदा पनि हेरेर बसे। के यो घटनाबाट हाम्रो ज्ञान र चेतनाको स्तर कति छ भन्ने थाहा हुँदैन?  राधा चौधरीको एकल घटनाको कुरा उठाएर सम्पूर्ण जनताको ज्ञानको स्तर नाप्नु उचित नहोला भन्ने तर्क उठ्न सक्छ। तर के हामी कहाँ वा भारतमा बोक्सीको आरोमा सयौं मारिएका छैनन्?  के अन्तर्जातीय विवाह गरेकै कारण सयौको ज्यान गएको छैन?  के दाइजो नल्याएको रिसमा सयौं छोरी वा बुहारीको ज्यान गएको छैन?  तल्लो जातको व्यक्ति मन्दिरभित्र पस्यो भन्दै हजारौंले कुटाइ खाएका छैनन्?  हो, यिनै कुरा हुन हाम्रो ज्ञान र चेतना नाप्ने मापदण्ड।

Bishwa Raj Adhikari
प्रतीक दैनिकमा प्रकाशित Friday, March 30, 2018


No comments:

Post a Comment