Friday, August 10, 2018

Why We Lack Entrepreneurship? Article-209


नेपालमा किन उद्यमीहरूको अभाव देखिएको

नेपालमा प्राचीनकालदेखि अहिलेसम्म पनि उद्यमीहरूको अभाव किन भएको होला?  किन व्यक्ति, खासगरी युवाहरू व्यापार वा आफ्नै कार्य अथवा स्वरोजगार गर्न रुचाउँदैनन्?  किन अधिकांश युवाहरूको प्राथमिकता सरकारी जागिर हुन्छ?  आफैं कुनै व्यवसाय सृजना गरेर अरूलाई पनि रोजगार दिनुका साटो किन युवाहरू अरूको संस्थामा कार्य गर्न रुचाउँछन्?  कृषिमा युवाहरूको सहभागिता किन विस्तारै हराउँदै जान थालेको छ? आफ्नै देशभित्र नबसेर मुलुक बाहिर गएर कार्य गर्नु नेपाली युवाहरूको लागि किन प्रतिष्ठा बनेको छ? स्वयं र देशको आर्थिक विकासप्रति युवाहरू किन उदासीन बनेका होलान्?

    नेपालको आर्थिक विकासबारे सोच्न माथिका प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ। तर सर्वप्रथम नेपालमा प्राचीनकालदेखि अहिलेसम्म पनि उद्यमीहरूको अभाव किन भएको होला त्यसबारे चर्चा गरौं। सर्वप्रथम उद्यमी र व्यापारीबीच के भिन्नता छ, त्यसबारे चर्चा गरौं।

    जसले परम्परागतरूपमा चलिआएको व्यापार रोज्छ र त्यही व्यापार गर्छ, त्यो व्यापारी हो। उदाहरणको रूपमा कसैले कुनै शहरको मुख्य चोकमा होटल सञ्चालन गर्छ भने उसले व्यापार गरेको हो। यस किसिमको व्यापार गर्न उक्त व्यक्तिले कुनै नयाँ पद्धति विकास गरेको होइन। परम्परागतरूपमा चलिआएको व्यापार रोजेको हो, कुनै नयाँ सोच लिएर कुनै नयाँ वस्तु वा सेवाको विकास गरेको होइन। उसले अरू (पूर्व होटल सञ्चालक) हरूले जे गरे त्यही गरेको हो। उसले नयाँ किसिमको व्यापारको विकास गरेको होइन। पुरानो व्यापारलाई नै निरन्तरता दिएको हो। त्यसकारण ऊ उद्यमी होइन।

    उद्यमी त्यो हो, जसले नयाँ किसिमको व्यापारको विकास गर्छ। परम्परागत रूपमा चलिआएको व्यापारलाई निरन्तरता दिनुको साटो नितान्त नौलो किसिमको व्यापारको विकास गर्छ। नयाँ किसिमको वस्तु वा सेवाको विकास गर्छ। व्यापारको क्षेत्रमा नयाँ र मौलिक सोच ल्याउँछ। उदाहरणको रूपमा पहिले नेपालमा केवल दिउँसा मात्र लामो दूरीका बसहरू सञ्चालनमा थिए। तर कुनै व्यापारीले लामो दूरीमा रात्रिको समयमा पनि बस सेवा सञ्चालन गर्ने सोंच ल्यायो। यसरी नया सोच (रात्रिको समयमा बस सञ्चालन गर्नु) ल्याउने कार्य उद्यम हो भने यस्तो नयाँ सोच (व्यापारको तरिका विकास गर्ने) ल्याउने व्यक्ति उद्यमी हो। नेपालमा व्यापारीहरूको खाँचो त छ नै, उद्यमीहरूको खाँचो झनै बढी छ। नेपाल गरिब हुनुको एउटा महत्वपूर्ण कारण यहाँ उद्यमीहरूको अधिक खाँचो हुनु पनि हो।
    विश्वभरिमा सर्वाधिक उद्यमीहरू जन्माउने देश अमेरिका हो। अमेरिकाका चार सबल पक्ष (कानून, शिक्षा पद्धति, सामाजिक व्यवस्था र अर्थनीति)ले देशभित्र अनेक र बहुसङ्ख्यक उद्यमी जन्माउन महŒवपूर्ण भूमिका खेलेका छन्।

    अमेरिकामा प्रायः प्रत्येक वर्ष उद्यमीहरूले नयाँ किसिमका व्यापार विकास गर्छन्। उनीहरूको रचनात्मक किसिमको खोज र अनुसन्धानले गर्दा अमेरिकी मात्र होइन, विश्व बजारमा नै नयाँ किसिमका वस्तु वा सेवाले प्रवेश पाउँछ। संसारभरिका उपभोक्ताहरूले नयाँनयाँ किसिमका वस्तु एवं सेवा उपयोग गर्न पाउँछन्। किनभने अमेरिकी उद्यमीहरूले नयाँनयाँ किसिमका वस्तु एवं सेवाको निरन्तर विकास गर्छन्।

    फेसबूक, उबर, गुगल, स्काइप, भाइबर, माइक्रोसफ्ट, एप्पल, इबे, अमेजनजस्ता नयाँ व्यापारको विकास केवल अमेरिकामा मात्र भएको थियो। बिल गेट्स, मार्क जुकरबर्ग, स्टिभ जब्स, लैरी पेज, सर्जी ब्रिन, ट्राभिस क्याल्निक, गेरेट क्याम्प, जेफ बेजोसजस्ता विश्व प्रख्यात अमेरिकी उद्यमीहरूले नयाँ किसिमका व्यापारको विकास गरे। नयाँ किसिमका वस्तु एवं सेवाको आविष्कार गरेर संसारभरिका मानिसहरूको जीवनशैलीमा नै नयाँपन वा परिवर्तन ल्याइदिए। जीवन पद्धति नै सरल पार्नमा महत्वपूर्ण योगदान पुर्याए। संसारकै सर्वाधिक ठूलो अमेरिकी खुद्रा भण्डारका जनक साम वाल्टन पनि उद्यमी नै थिए। गरिब एवं आम अमेरिकीको लागि पनि कारको प्रयोग (खरिद) सहज पारिदिने हेनरी फोर्ड पनि उद्यमी नै थिए। फोर्डले सन् १९०३ मा अर्थात् आजभन्दा ११५ वर्ष पहिले अमेरिकाको मिचिगन राज्यमा ‘फोर्ड मोटर कम्पनी’ स्थापना गरेका थिए। स्थिति अहिले यस्तो छ, संसारभरिमा नै अहिले कार र त्यसको इन्धन केवल अमेरिकामा मात्र सस्तोमा पाइन्छ। कार, अमेरिकीहरूका लागि आधारभूत आवश्यकताको वस्तु अन्तर्गत पर्दछ।

अब मूल प्रश्न– नेपालमा किन उद्यमीहरूको अत्यन्तै खाँचो छ?

    नेपालमा उद्यमीहरूको खाँचो हुनुको दुई प्रमुख कारण छ। पहिलो, नेपाली समाज परापूर्वकालदेखि सामन्ती समाज भएकोले यहाँ उद्यमीहरूको विकास हुन पाएन। दोस्रो, नेपाली समाजले जातीय प्रथा बलियोगरी पालन गरेको छ। यो जातीय प्रथाले गर्दा समाज विभिन्न जातजातिमा विभाजित भयो, जसले गर्दा उद्यमीहरूको विकास हुन पाएन। जातीय प्रथाले उद्यमीहरूलाई जन्मनै दिएन।

    नेपाली समाजको विकास सामन्ती प्रथाको जगमा भएको देखिन्छ र त्यो प्रथा अहिलेसम्म पनि धेरै हदसम्म कायम छ। सामन्ती प्रथामा नेपाली समाज मालिक र नोकर गरी दुई वर्गमा विभाजित भएको थियो, जसले गर्दा बहुसङ्ख्यक व्यक्ति, जो केवल नोकरको भूमिकामा प्रस्तुत भएका थिए, तिनको दिमागमा स्वतन्त्र किसिमले कुनै पेशा वा व्यवसाय गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन। अर्कोतिर अल्पसङ्ख्यक मालिकहरूले गरिब (नोकर) हरूलाई स्वतन्त्र किसिमले कुनै पेशा गर्न दिएनन्। सदैव दबाएर राखे। उनीहरूको अमूल्य श्रम र सोचको उपयोग केवल आफ्नो स्वार्थसिद्धिमा गरे, कृषि मजदूर बनाएर राखे। यो कारणले गर्दा बहुसङ्ख्यक व्यक्ति (गरिब) हरूले उद्यम गर्न सोच्नै सकेनन्।

    नेपालको आर्थिक विकासको अवसरलाई प्राचीनकालदेखि खाल्डोमा पार्दै आएको कुनै सर्वाधिक दोषी तत्व छ भने त्यो हो हाम्रो समाजमा चलिआएको जातिप्रथा। जातिप्रथाले हाम्रो समाजमा यसरी चिरा पार्यो कि एउटा जातिले अर्को जातिलाई सौहार्दपूर्ण दृष्टिले कहिल्यै हेरेन। समाजमा व्यक्ति–व्यक्तिबीच सौहार्दपूर्ण वातावरणको सृजना हुन सकेन। एउटाले अर्कोलाई अछूत देख्यो। अर्कोतिर यो जातले यो कार्य गर्ने भन्ने सीमा प्रष्ट गरी निर्धारण गरिएकोले व्यापारको जिम्मा केवल ‘वैश्य’ हरूमा मात्र सीमित रह्यो जसले गर्दा तथाकथित ‘ब्राह्मण’, ‘क्षत्री’, ‘शुद्र’ आदिले आप्mनो बौद्धिक क्षमताको उपयोग व्यापार क्षेत्रमा कहिले गर्न सकेनन्। यी जातिहरूमा रहेको उद्यमशीलताको प्रयोग हुने अवस्था कहिले आएन। यो कारणले गर्दा नेपाली समाज व्यापारको क्षेत्रमा सर्वदा पछाडि रहन बाध्य भयो। जीवनयापनलाई सरल पार्ने व्यापार उपेक्षित रह्यो।

    नेपाली समाजलाई जातिप्रथाले प्राचीनकालदेखि नै आर्थिकरूपमा कमजोर पार्दै आएको छ। तर अचम्म! क्यान्सरको रूपमा देखिएको यो जातिप्रथा परित्याग गर्न हामी अहिले पनि तयार छैनौं। विभिन्न किसिमको जातीय सङ्गठन स्थापना गरेर त्यसको अध्यक्ष, उपाध्यक्ष, सदस्य आदि हुनमा अहिले पनि हामी गर्व गर्छौं। किन होला?

    युरोप, अमेरिका, अस्ट्रेलिया आदिको समाज जातिविहीन समाज हो। त्यसैले होला यो क्षेत्रमा नै आर्थिक विकासका क्रियाकलापहरू केन्द्रित हुन गएको।

    विगतमा के भयौ अब त्यसलाई बिर्सौं। विगतबाट सिकौं र विगतलाई केवल गाली गरेर मात्र नबसौं। अब जातिविहीन समाज निर्माणमा जुटौं।

    नेपालमा उद्यमीहरूको विकास गर्न सर्वप्रथम समाजले नै जोड दिनुपर्छ। कुनै पनि किसिमको काम गर्नु प्रतिष्ठाको कुरा हो, काम सानो–ठूलो होइन, हरेक कामको उत्तिकै इज्जत हुन्छ भन्ने कुरा परिवारले सानैदेखि आफ्ना सन्तानलाई सिकाउन जरुरी छ। हरेक कामको समान इज्जत हुन्छ, जाहे त्यो डाक्टरले बिरामी जाँच्ने काम होस् वा स्वीपरले सडक बढार्ने काम होस्। यस्तो कुरा परिवारले सन्तानलाई सानै उमेरदेखि सिकाउन जरुरी छ। मानिसले गर्ने काम अनुसार उसलाई बक्स्योस्, हजूर, तपाईं, तिमी, तँ भन्ने परिपाटी अन्त्य हुनुपर्छ।

    हामी बोलीद्वारा पनि विभाजन सृजना गर्छौं। बक्स्योस्, हजूर, तपाईं र तँ भनेर मर्यादाको पर्खाल खडा गरिदिन्छौं। जसले गर्दा कुनै व्यक्ति ‘तँ’ बाट ‘बक्सोस्’ मा वर्गोन्नति हुन अपराध, घूसखोरी, चोरी गर्न तयार हुन्छ।

    देशभित्र अनेक किसिमका उद्यमीहरू तयार पारेर मुलुकलाई आर्थिकरूपमा समृद्ध पार्ने काम सानो वा ठूलो हुन्छ भन्ने भावना परित्याग गरौं। ‘पढे लेखे साढे बाइस, हलो जोति नाम कमाइस्?’  भन्न अब हामीले छाड्नुपर्छ। हलो जोत्नु त झनै सबैको मुखमा अन्न पु¥याउने काम हो। उपकारी काम हो। होइन र?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, August 10, 2018

No comments:

Post a Comment