Friday, January 4, 2019

Special Characteristics of American Economy-Trade and Commerce-229

अमेरिकी अर्थ व्यवस्थाका विशेषता

१०. व्यापार पद्धति (क)
अमेरिकी व्यापार पद्धतिको पनि आफ्नै किसिमको विशेषता छ। विश्वका अन्य मुलुकहरूभन्दा अमेरिकाको व्यापार पद्धति धेरै भिन्न छ र खास छ। हुनपनि अमेरिकामा ठूलो व्यापारले जति महत्व पाउँछ, सानो व्यापारले पनि उत्तिकै महत्व पाउँछ। स्थानीय, राज्य एवं सङ्घीय सरकारहरूले पनि साना व्यापारको विकासमा समान किसिमले जोड दिएको पाइन्छ। यस कारणले गर्दा ठूलो व्यापारले विकास गर्ने जति अवैसर पाएको हुन्छ, सानो व्यापारले पनि त्यतिकै अवसर पाउँछ। ठूलो व्यापारलाई पनि राज्यबाट एक किसिमको संरक्षण प्राप्त हुन्छ, साना व्यापारलाई प्राप्त भएझैं। राज्यको यस किसिमको नीति भएकोले नै अमेरिका नितान्त नयाँनयाँ व्यापारको जननी हुन पुगेको छ। गुगल, युटुब, फेसबूक, अमेजन, उबरजस्ता पृथक एवं नितान्त नयाँ व्यापारको जनक अमेरिका हुन पुगेको छ। अमेरिकामा चालकविहीन कार (Self-driving car) को विकास भइसकेको छ। अब केवल त्यसको व्यापारिक प्रयोग व्यापक मात्रामा हुन बाँकी छ।

    अमेरिकी व्यापार पद्धतिलाई तीन किसिमबाट विभाजन गर्न सकिन्छ। स्वतन्त्र व्यापार, सम्बन्धन व्यापार र ठूलो व्यापार गरी अमेरिकी व्यापार पद्धतिलाई तीन किसिमले वर्गीकृत गर्न सकिन्छ।


    सानासाना खुद्रा बिक्री भण्डार (पसल) हरूले सानो पूँजीमा व्यापार सञ्चालन गरेका हुन्छन्। भण्डारका सञ्चालक पनि स्वयं लगानीकर्ताहरू हुन्छन्। भण्डारको नियन्त्रण एवं सञ्चालनमा लगानीकर्ता (मालिक) को सक्रिय भूमिका र सहभागिता हुन्छ। जतिसुकै घाटा भएपनि लगानीकर्ता स्वयंले बेहोर्नुपर्छ भने प्राप्त मुनाफा पनि बाँड्नुपर्दैन। यस किसिमका स्वतन्त्र व्यापारहरू पनि अमेरिकामा ठूलो सङ्ख्यामा सञ्चालित छन्। मुनाफाभन्दा पनि जीवन निर्वाहका लागि सञ्चालित यस किसिमको स्वतन्त्र व्यापारले ठूलो सङ्ख्यामा मानिसलाई रोजगार दिएको छ भने कम मूल्यका र दैनिक जीवनका लागि आवश्यक वस्तु प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकामा ३ करोड २० लाख (सन् २०१८) साना व्यापार सञ्चालित छन्। र यी साना व्यापारले करिब ६ करोड रोजगार सृजना गरेका छन्। साना व्यापारहरू पनि अमेरिकामा रोजगारका भरपर्दो स्रोतको रूपमा देखिएका छन्। अमेरिकाका कुल रोजगारमध्ये ४७.५ (सन् २०१८) ले साना व्यापारमा रोजगार पाएका थिए।
   
अमेरिकामा सम्बन्धन व्यापार (Franchising) को सङ्ख्या पनि ठूलो छ। स्टार बक्स, मैकडोनाल्ड, पिजाहट, डोमिनोज, सेभेन एलेभेन, सबवे, केएफसी आदिजस्ता सम्बन्धन व्यापार पनि अमेरिकाका विभिन्न शहरमा ठूलो सङ्ख्यामा सञ्चालित छन्। एक किसिमले भन्ने हो भने सम्बन्धन व्यापार अमेरिकामा निकै लोकप्रिय छ। रेस्टुरा व्यापारमा सम्बन्धन व्यापारको ठूलो सङ्ख्यामा उपस्थिति छ। अमेरिकी सम्बन्धन व्यापारको लोकप्रियता अमेरिकाभित्र मात्र होइन बाहिरपनि प्रशस्त छ। विश्वका अनेक देशका प्रमुख शहरहरूमा अमेरिकी सम्बन्धन व्यापारहरू सञ्चालित छन्। मैकडोनाल्ड, पिजाहटजस्ता अमेरिकी सम्बन्धन व्यापारहरू विश्वका अनेक कुनामा सञ्चालित रहेको देख्न सकिन्छ।

    क्यानाडा, कोस्टारिका, अस्ट्रेलिया, जापान, निदरल्यान्ड्स, पानामा, जर्मनी, फ्रान्स, एल सल्भाडोर, ग्वाटेमाला, संयुक्त अधिराज्य, हड्ढङ, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, अस्ट्रिया, बेल्जियम, ब्रजील, सिङ्गापुर, स्पेन, डेनमार्क, फिलिपिन्स, मलेशिया, नर्वे, ताइवान, अन्डोरा, फिनल्यान्ड, थाइल्यान्ड, अरूबा, लक्जम्बर्ग, इटली, भेनेजुएला, मेक्सिको, क्युबा, टर्की, मकाउ, सर्बिया, साउथ कोरिया, हन्गेरी, रूस, चीन, चिले, इन्डोनेशिया, ग्रीस, उरूग्वे, चेक रिपब्लिक, पोल्यान्ड, मोनाको, ब्रुनाई, मोरक्को, इजराइल, स्लोभेनिया, साउदी अरेबिया, कुवेत, ओमान, इजिप्ट, बल्गेरिया, बहरेन, लाटभिया, युनाइटेड अरब इमिरेट्स, इस्टोनिया, रोमानिया, माल्टा, कोलम्बिया, स्कोभाकिया, साउथ अफ्रिका, कतार, होन्डुरस, क्रोएशिया, समाओ, फिजी, लिचिस्टिन, लुथानिया, भारत, पेरू, जोर्डन, पाराग्वे, डोमनिकन रिपब्लिक, बेलारूस, ट्रिनिडाड, युक्रेन, साइप्रस, इक्वेडोर, सुरिनाम, मल्डोभा, निकारागुवा, लेबेनान, पाकिस्तान, श्रीलङ्का, जर्जिया, अजरबैजान, इराक, बोस्निया हर्जगोभिना, भियतनाम, कजाकिस्तान, ट्युनेशिया, केन्या, कोसोभो, नेपाल गरी अमेरिकी कम्पनी मैकडोनाल्डको सम्बन्धन व्यापार विश्वभरि फैलिएको छ। इलिन्वाय राज्यको शिकागो शहरमा मुख्य कार्यालय रहेको, विश्वकै सर्वाधिक ठूलो सम्बन्धन शृङ्खला फास्टफुड रेस्टुरा, अमेरिकी कम्पनी, मैकडोनाल्डको विश्वभरि गरेर ३७ हजारभन्दा बढी सम्बन्धन प्राप्त रेस्टुराहरू छन्  दुई दाजुभाइ रिचार्ड मैकडोनाल्ड र मौरिस मैकडोनाल्डले सन् १९४० मा स्थापना गरेको यो रेस्टुरा (मैकडोनाल्ड फास्ट फूड) का खाना मन नपराउने व्यक्ति छैन भनेपनि हुन्छ। यसका खानाहरू अमेरिकामा जति लोक प्रिय छ त्यतिकै विदेशमा पनि छ।

 माथि मैकडोनाल्डको प्रसङ्ग यति विस्तारमा किन उल्लेख गरेको भने अमेरिकामा प्रत्येक दिन नयाँ व्यापार विकास गर्नेबारे सोचिन्छ र प्रत्येक वर्ष कुनै न कुनै नयाँ व्यापारले जन्म लिन्छ। र त्यो वा त्यस किसिमको व्यापार संसारभरि फैलिन्छ। नयाँ व्यापारको विकास गर्नु अमेरिकी संस्कृति हुन पुगेको छ। यस्तो हुनुको कारणपनि छ। त्यो कारण के हो भने अमेरिकामा व्यापार अति प्रतिस्पर्धापूर्ण छ। केही क्षेत्रमा देखिएका अपवादबाहेक, अमेरिकामा व्यापारमा सफल हुनु भनेको फलामको च्युरा चपाउनुजस्तै हो।

    अब सम्बन्धन (Franchise) व्यापार के हो त्यसबारे छोटो चर्चा गरौं। सम्बन्धन व्यापारबारे जानकारी भएमा मैकडोनाल्ड र यस्तै किसिमका सम्बन्धन व्यापार गर्ने अन्य अमेरिकी कम्पनीहरूबारे थाहा पाउन सजिलो हुन्छ।

    सम्बन्धन व्यापारको दुई पक्ष हुन्छ। पहिलो सम्बन्धन लिने, जसलाई फ्रेन्चाइजी (Franchisee) भन्ने गरिन्छ। दोस्रो सम्बन्धन दिने, जसलाई फ्रेनचाइजर (Franchisor) भनिन्छ। र सम्बन्ध दिने कार्यलाई फ्रेन्चाइजिङ भन्ने गरिन्छ।

    कुनै ख्याति प्राप्त कम्पनीले कुनै अन्य कम्पनी (नयाँ स्थापना हुने) वा दोस्रो पक्षलाई आफ्नो नाम, ख्याति, ड्रेड मार्क, अनुभव, सीप, ज्ञान, इतिहास, प्रतिष्ठा आदि प्रयोग गर्न दिन्छ र उक्त कुराहरू प्रयोग गर्न दिएबापत पहिलो पक्षले दोस्रो पक्षसँग शुल्क (Royalty or Fees) लिन्छ भने त्यस्तो कार्य (व्यापार) लाई फ्रेनचाइजिङ भन्ने गरिन्छ। सम्बन्धन लिनेले सम्बन्धन दिनेको व्यापार तरीकामात्र होइन, उसको निर्देशनको पालनासमेत गर्नुपर्छ। सम्बन्धन दिने (यदि रेस्टुरा हो भने) ले जे कुरा पकाउँछ लिनेले पनि त्यही पकाउनुपर्छ। पकाउँदा के सामग्री प्रयोग गर्छ त्यही गर्नुपर्छ। पकाउने तरिकापनि समान हुनुपर्छ। यहाँ सम्म कि सम्बन्धन दिनेले भवन (रेस्टुरा) को संरचना कस्तो राखेको छ लिनेले पनि त्यस्तै राख्नुपर्छ। घरभित्रको सजावट पनि उस्तै पार्नुपर्छ।

    फ्रेनचाइजिङमा यसरी सम्बन्धन दिनेले आफ्नो ज्ञान र सीप बिक्री गर्न पाउँछ भने सम्बन्धन लिनेले अर्काको वर्षौ लगाएर आर्जन गरिएको ज्ञान र सीप उपयोग गर्न पाउँछ। सम्बन्धन लिनेहरूले व्यापारमा सङ्घर्ष (पहिचान, विज्ञापन आदि) गर्नुपर्दैन किनभने सम्बन्धन पाउनेले सञ्चालन गर्न लागेको व्यापार ग्राहकहरूका लागि नौलो हुँदैन। कस्तो प्रभावकारी व्यापारको तरीका! आफ्नो ज्ञान र सीपपनि बिक्री गर्न पाइने। ज्ञान र सीपपनि खरीद गर्न पाइने। यस्तैयस्तै व्यापारका नयाँनयाँ तरिकाहरूको विकास गरेर अमेरिकाले व्यापारमा अभूतपूर्व सफलता प्राप्त गरेको हो। संसारभरिमा नै एक नम्बर धनी राष्ट्र हुन पुगेको हो। व्यापारमा अमेरिकालाई अन्य राष्ट्रले उछिन्ने सम्भावनासम्म देखिंदैन।

    अमेरिकामा धेरै व्यक्तिले स्वतन्त्र भण्डार सञ्चालन गर्नुको साटो सम्बन्धन व्यापार सञ्चालन गरेको पाइन्छ। खास गरी ग्याँस स्टेशन, रेस्टुराजस्ता व्यापारमा सम्बन्धन व्यापार निकै लोकप्रिय भएको पाइन्छ।  अर्थात् यी व्यापारहरूमा सञ्चालकहरूले सम्बन्धन लिएर व्यापार गर्छन् र सम्बन्धन दिनेलाई शुल्क भुक्तान गर्छन्।

    सम्बन्धन व्यापार सतही किसिमले हेर्दा सामान्य लागेपनि व्यापारिक दृष्टिले निकै महत्वपूर्ण देखिन्छ। सम्बन्धन लिएर कुनै किसिमको व्यापार गर्दा व्यापार सञ्चालन सजिलो हुन पुग्छ। अर्काको ज्ञान र सीप प्रयोग गरेर व्यापार गर्न सजिलोपनि हुन्छ। त्यसकारण सम्बन्धन लिएर गरिएको व्यापारमा, अन्यको तुलनामा, असफल हुने सम्भावना ज्यादै कम हुन्छ।

    सम्बन्धन व्यापारमा ज्ञान र सीपको विकास गरिन्छ। तिनको व्यवस्थापन गरिन्छ र साथै तिनको प्रसार पनि गरिन्छ। आश्चर्यको कुरा त के छ भने दक्षिण एशियामा ज्यादै कम मात्रामा मात्र ज्ञान र सीपको (व्यापारिक क्षेत्रमा) विकास हुन्छ र थोरै मात्रामा भएको ज्ञान र सीपको न व्यवस्थापन हुन्छ, न प्रसार नै। उदाहरणको लागि कुनै राम वा श्याम नाम गरेको हलुवाईले मीठो जिलेबी बनाउन जानेको छ भने ऊ बाँचुन्जेलमात्र उसको त्यो सीपको आनन्द (जिलेबी खाएर) उपभोक्ताहरूले लिन पाउँछन्। त्यो हलुवाई मरेपछि उसको सीप र ज्ञान ऊसँगै जान्छ। किनभने उसको ज्ञान र सीपको व्यवस्थापन र प्रसार हुन पाउँदैन। यस्ता समस्याहरूले गर्दा पनि दक्षिण एशिया व्यापारको क्षेत्रमा निकै पछाडि परेको हो। अहिले दक्षिण एशियामा भएका व्यापारका तरीकाहरू त्यहाँ विकास भएका होइनन्। त्यहाँ हुने व्यापार र व्यापारका तरीकाहरू अन्य देशहरूबाट नक्कल गरिएका हुन्। भन्ने हो भने दक्षिण एशियालीहरूलाई व्यापार गर्न अंग्रेजहरूले सिकाएका हुन्। इस्ट इन्डिया कम्पनी बेलायतबाट व्यापार गर्न भनेर नै भारत आएको थियो।

    सम्बन्धन व्यापार ज्ञान र सीपको विकास, व्यवस्थापन र प्रसार हो। व्यापार गर्ने अति प्रभावकारी पद्धति हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 02, 2019

No comments:

Post a Comment