Friday, February 8, 2019

Special Characteristics of American Economy-Diversity-234


अमेरिकी अर्थ व्यवस्थाको विशेषता

१५. सामाजिक सम्मिश्रण

    संयुक्त राज्य अमेरिकालाई देशहरूको देश भन्ने गरिन्छ। हुनपनि अमेरिकामा लगभग संसारभरिका देशका नागरिकको बसोवास रहेको देख्न सकिन्छ। अर्थात् अमेरिका आफैंमा छुट्टै एउटा अर्को संसार हो भनेपनि हुन्छ। एशिया, युरोप, दक्षिण अमेरिका र अफ्रिका महादेशका साना वा ठूला, अनेक राष्ट्रका नागरिकको अमेरिकामा बसोवास रहेको पाइन्छ। अमेरिका विभिन्न भाषाभाषी र विभिन्न समुदाय (Diversity) को आश्रयस्थल हो। र अमेरिका विभिन्न समुदायको आश्रयस्थल हुनु नै आर्थिक विकासको एउटा बलियो पूर्वाधार हो। विभिन्न समुदायको बसोवासले अमेरिकालाई धनी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकाको आर्थिक विकासले त्यही दर्शाउँछ।
    अमेरिकामा जर्मन, अफ्रिकन अमेरिकन, मेक्सिकन, आइरिस, इङ्गलिश, इटालियन, पोलिस, फ्रेन्च, स्कटिस, पोर्टोरिकन, नर्वेजियन, डच, स्वीडिस, चाइनिज, एशियन इन्डियन, स्कचआइरिस, रूसी, वेस्ट इन्डियन, र फिलिपिनोहरूको भने बाक्लो बसोवास रहेको पाइन्छ। सानो सङ्ख्यामा भन्ने हो भने सुडान, नाइजेरिया, सोमालिया, केन्या, नेपाल, पाकिस्तान, भियतनाम, थाइल्यान्ड, इरान, इराक, इजराइल, सिरिया, क्युबा, भेनेजुएलाजस्ता अनेक राष्ट्रका नागरिकको बसोवास रहेको पाइन्छ। यो कारणले पनि अमेरिकालाई आप्रवासीहरूको देश भन्ने गरिएको हो।
    अहिलेसम्मको अध्ययन, अनुसन्धान र अनुभवले के देखाउँछ भने समाज जति बढी बहुभाषी र बहुसाम्प्रदायिक भयो त्यति नै बढी आर्थिक विकास हुने रहेछ। सामाजिक सम्मिश्रण जति बढी भयो त्यति नै बढी आर्थिक विकास हुन्छ। हुनपनि अमरिकाको स्थितिले नै यस कुराको पुष्टि गर्छ।
    चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायत दक्षिण एशियाका अन्य राष्ट्रहरू यस्ता मुलुकहरू हुन् जहाँ सामाजिक सम्मिश्रण ज्यादै कम छ, कमजोर छ। यो कारणले गर्दापनि यी राष्ट्रहरू आर्थिक विकासको मामिलामा धेरै वर्षसम्म पछाडि रहे। वर्षौपछि आएर अहिले चीनले सामाजिक सम्मिश्रणको दर बढाउँदै लगिरहेको छ। विभिन्न देशका नागरिक अहिले चीनतिर बसोवास वा कारोबार गर्न आकर्षित भएका छन्। तरपनि चीन, अहिलेसम्म पनि, स्थायी किसिमले विदेशीहरू वा आप्रवासीहरूलाई बस्न दिने मनस्थितिमा रहेको देखिएको छैन।
    भारतमा पनि सामाजिक सम्मिश्रणको स्थिति राम्रो रहेको मान्न सकिंदैन। उदाहरणका लागि पश्चिम बङ्गालमा बङ्गलाभाषीहरू बहुसङ्ख्य छन् भने पञ्जाबमा पञ्जाबीभाषी। यस्तै स्थिति महाराष्ट्र, गुजरात, बिहार, आदिमा पनि छ। अर्थात् भारतको कुनै एक राज्यमा विभिन्न समुदाय वा विभिन्न भाषाभाषीहरूको बसोवास छैन। मुम्बई, दिल्ली आदि ठूला शहरहरूमा बहुभाषी बसोवास भए तापनि साना शहरहरूमा त्यो स्थिति छैन। यो कारणले पनि भारत आर्थिक विकासको मामिलामा स्रोत र साधनहरूको बावजूद निकै पछाडि रह्यो। भारतको आर्थिक विकासलाई त त्यहाँ प्रचलित जातीय विभाजन (ठूलो जात र सानो जातअछूत) ले अति नै नकारात्मक प्रभाव पार्यो। अंग्रेजहरूले आर्थिक विकासका पूर्वाधार (रेल, सडक, विद्युत्, जल यातायात, प्रशासनिक संरचना आदि) हरूको निर्माण नगरिदिएको भए भारतको आर्थिक स्थिति अहिले जस्तो पनि हुने थिएन। आर्थिक विकासको क्षेत्रमा निकै पछाडि हुन्थ्यो।
    बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक वा सामाजिक सम्मिश्रणको दृष्टिकोणले त पाकिस्तानको स्थिति झनै दयनीय छ। पाकिस्तान एकल समुदाय (मुस्लिम) भएको देश हो भने पनि हुन्छ। त्यहाँ हिन्दू र क्रिस्चियनहरूको ज्यादै सानो सङ्ख्यामा बसोवास छ। आर्थिक विकासको दृष्टिकोणले भारतको हाराहारीमा आउनपनि पाकिस्तानलाई धेरै वर्ष लाग्न सक्छ। यस्तै स्थिति साउदी अरेबियाको पनि छ। साउदी अरेबिया पनि एकल समुदाय भएको राष्ट्र हो। जसरी साउदी अरेबिया एकल समुदाय भएको राष्ट्र छ, त्यस स्थितिमा, त्यहाँ तेल भण्डार नभएको भए साउदी अरेबियाको स्थिति पनि कुनै अति गरिब अफ्रिकी राष्ट्रजस्तो हुने थियो। तुलनात्मक रूपमा कतार र युएईमा बढी मात्रामा बहुसांस्कृतिक र बहुभाषीहरूको बसोवास रहेकोले यी मुलुकहरूले मिडिल इस्टमा निकै आर्थिक प्रगति गरेका छन्। कतार त आर्थिक विकासको पथमा झनै अगाडि छ।
    एकै किसिमको समुदायको बसोवास रहेकोले आर्थिक विकासको मामिलामा निकै पछाडि रहेको अर्को राष्ट्र हो अफगानिस्तान। एकै समुदाय (मुस्लिम) को ठूलो सङ्ख्यामा बसोवास भएकोले पनि त्यो देशमा शान्ति आउन सकेको छैन। उल्टो एकै समुदायका नागरिक भए तापनि उनीहरूबीच ज्यादै ठूलो विभाजन छ। अफगानिस्तानमा रहेको साम्प्रदायिक विभाजन र त्यो विभाजनले ल्याएको अति रक्तपातपूर्ण गृह कलह, सङ्घर्ष, मतभेद हेर्दा लाग्छ अफगानिस्तानले भविष्यमा एक राष्ट्रको रूपमा आफ्नो अस्तित्व कायम राख्नसमेत ज्यादै कठिन छ। गएको पाँच वर्षमा अफगानिस्तानमा विभिन्न विद्रोही समूहहरूको आक्रमणमा परी ४० हजार अफगानी सुरक्षा कर्मचारी (सेनालगायत) को ज्यान गइसकेको छ। विदेशी सुरक्षा कर्मचारीहरू पनि धेरै मारिएका छन्। त्यहाँ रहेका विदेशी सेनाहरूको सहयोग नहुने हो भने अफगानिस्तानले सरकार चलाउन पनि सम्भव हुनेछैन। अनुभवले त्यही भन्छ।
    सामाजिक सम्मिश्रणले आर्थिक विकास मात्र होइन, राजनीतिक सन्तुलन कायम राख्न पनि सहयोग पुर्याउँछ। अर्कोतिर आर्थिक विकास गर्नका लागि राजनैतिक सन्तुलन अति आवश्यक हुन्छ। अमेरिकामा सामाजिक सम्मिश्रण ज्यादै बलियो भएकोले वर्षौदेखि यो मुलुकमा राजनैतिक सन्तुलन पनि कायम छ, स्थिर छ।
    कुनै पनि मुलुकमा विभिन्न समुदायको बसोवास हुँदा विभिन्न समुदायका व्यक्तिहरूले आआफ्नो बौद्धिक क्षमता प्रयोग गरेर नयाँनयाँ किसिमका खोज एवं अविष्कारहरू गर्छन्। नयाँ नयाँ व्यापारका तरिकाहरूको आविष्कार एवं प्रयोग गर्छन्। विभिन्न संस्कृतिबाट आएका हुनाले विभिन्न व्यक्तिहरूले नयाँ नयाँ सोच, खास किसिमका प्रचलनहरू ल्याएका हुन्छन्। अमेरिकामा ठीक यस्तै भएको छ। उदाहरणको लागि बेलायतमा औद्योगिक क्रान्ति (सन् १७६० देखि १८४०) भएको समयमा बेलायतबाट अमेरिका आएका अंग्रेजहरूले अमेरिकाको औद्योगिक विकासमा आफ्नो ज्ञान र सीप प्रयोग गरेर ठूलो योगदान पुर्याए। यसैगरी अमेरिकाको बौद्धिक एवं व्यापारिक क्षेत्रमा जुइस समुदायको महत्वपूर्ण योगदान छ। त्यस्तै योगदान हिस्पेनिकहरूको पनि छ। रेष्टुरेन्ट व्यापारमा हिस्पेनिकहरूको ठूलो योगदान छ।
    अमेरिकामा विभिन्न समुदायको बसोवासले व्यापारिक क्षेत्रमा र खासगरी पर्यटनको क्षेत्रमा ठूलो योगदान पुर्याएको छ। रेस्टुरा व्यापार त झनै फस्टाएको छ। अमेरिकामा कुन देशको खाना पाइँदैन? संसारभरिका लगभग हरेक देशको खाना पाइन्छ। सानासाना शहरहरूमा पनि चाइनिज, इन्डियन, मेक्सिकन, मिडिल इस्टका खानाहरू पाइन्छ। न्युयोर्क, शिकागो, सान फ्रान्सिस्कोजस्ता ठूला शहरमा त झनै संसारभरिको खाना पाइन्छ। के अफ्रिकन, के फिलिपिनो, के थाई, के बोलेभियन, के पेरूभियन, सबै किसिमको खाना पाइन्छ। अमेरिकामा संसारभरिकै खाना पाउनु सामाजिक सम्मिश्रण बलियो हुनुको प्रत्यक्ष उदाहरण हो।
    संसारभरिमा नै अमेरिकामा सर्वाधिक अन्तर्जातीय, अन्तर्सांस्कृतिक, अन्तर्धार्मिक विवाह हुने वा भएको देख्न सकिन्छ। एउटा महादेश (जस्तै एशियाको नेपाल) को युवक वा युवतीले अर्को महादेश (जस्तै दक्षिण अमेरिकाको कोलम्बिया) की युवती वा युवकसँग विवाह गरेको देख्न सकिन्छ। यसैगरी प्रवासीका रूपमा आएका विभिन्न देशका नागरिकले धेरै रैथाने अमेरिकनसँग विवाह गरेको देख्न सकिन्छ। त्यस्ता धेरै रैथाने अमेरिकनहरू देख्न सकिन्छ जसका पत्नीहरू भारतीय, नेपाली, पाकिस्तानी, थाई, फिलिपिनो, सिरियाली, इरानी, मेक्सिकन आदि छन्। यस्तै स्थिति रैथाने अमरिकीहरूका पतिको सन्दर्भमा पनि देख्न सकिन्छ।
    अमेरिका पूर्णतया जातिहीन समाज हो। अमेरिकामा जात, जाति भन्ने छैन। छूत, अछूत पनि छैन। सानो जात र ठूलो जात भन्नेपनि छैन। सबैको सामाजिक हैसियत समान छ। जातीयताको आधारमा कुनै किसिमको भेदभाव छैन। न त जातीय सङ्गठनहरू नै छन्। जातिहीन सामाजिक स्थितिले अमेरिकाको आर्थिक विकासमा ठूलो योगदान पुर्याएको छ। असल सामाजिक सन्तुलन कायम गर्न पनि ठूलो योगदान पुर्याएको छ।
    यस्ता धेरै कुरा छन्, जसले अमरिकालाई संसारका धनी राष्ट्र तुल्याउन महत्वपूर्ण योगदान पुर्याएका छन्। अमेरिका त्यस्ता देशमध्ये पर्दछ जहाँ धर्म मान्न र नमान्न स्वतन्त्रता छ। कुनै खास किसिमको धर्म मान्न अमेरकी कानूनी व्यवस्थाले कुनै पनि अमेरिकीलाई बाध्य पार्दैन। कुनै व्यक्तिले भन्छ म कुनै पनि धर्म मान्दिनँ भने उसको त्यस किसिमको त्यो अधिकारको अमेरिकी कानूनी व्यवस्थाले रक्षा गर्दछ। जबकि संसारमा त्यस्ता धेरै राष्ट्रहरू छन् जसले आफ्ना नागरिकहरूलाई खास किसिमको धर्म मान्न राज्यको कानूनद्वारा नै बाध्य पार्छन्। एशियालगायत अरबका त्यस्ता धेरै राष्ट्रहरू छन् जसको आफ्नो एउटा र खास राष्ट्रिय धर्म छ।
    कुनैपनि मुलुक त्यहाँ उपलब्ध अनेक प्राकृतिक साधनभूमि, जलवायु, खानी आदिले धनी हुने होइन रहेछ। त्यस्तो भइदिएको भए दक्षिण अफ्रिका संसारभरिमा सबैभन्दा बढी धनी राष्ट्र हुने थियो। दक्षिण अफ्रिकाले संसार भरिमा सर्वाधिक (सन् २००६ सम्म) सुन उत्पादन गर्छ। यसैगरी भेनेजुएलापनि संसारभरिमा नै धनी राष्ट्र हुने थियो किनभने भेनेजुएलामा संसारभरिमा सर्वाधिक ठूलो तेल भण्डार छ। भेनेजुएलाले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उत्पादन एवं निर्यात गर्छ। तर भेनेजुएलाको गरिबी र गृह कलह विश्वभरि अहिले चिन्ता र चर्चाको विषय हुन पुगेको छ। गृह कलह र गरिबीले गर्दा ज्यान जोगाउने उद्देश्यले अहिले ३० लाख भनेजुएलाका नागरिकले देश छाडेका छन्। भनेजुएलामा महँगीले अहिले आकाश छोएको छ। त्यहाँ जीवन अति नै असुरक्षित र कष्टकर हुन पुगेको छ।
    नयाँ खोज र अनुसन्धानहरूले भन्छ कुनै पनि देशलाई त्यहाँका नागरिकको सकारात्मक चेतनाको स्तरले धनी तुल्याउँछ, धन, सम्पत्ति, रुपियाँपैसाले होइन। एक आपसमा मिलेर बस्ने स्वभाव, विकासप्रतिको चाहना, सामाजिक सम्मिश्रण, स्वतन्त्रता, शिक्षाको स्तर, जातिहीन भावना आदिले कुनैपनि राष्ट्रलाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेल्दो रहेछ। अमेरिकामा ती कुराहरू विद्यमान छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 08, 2019

No comments:

Post a Comment