परिवर्तनको दिशा
तर्फ उन्मुख क्युबा
गएको तीस वर्षमा निकै परिवर्तनहरु भएका छन, खास गरी अर्थ – राजनीतिको
क्षेत्रमा। गएको तीस वर्षमा, सोभियत संघले साम्यवादी व्यवस्था परित्याग मात्र गरेन
साथै अनेक राष्ट्रमा विभाजित समेत हुन पुग्यो। कम्युनिज्मको बढी व्यवहारिक प्रयोग
गर्ने देश चिनले केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरी पूँजीवादी अर्थ
व्यवस्था अंगाल्यो। यूरोपका धेरै राष्ट्रहरु- पोलैन्ड, बल्गेरिया, हन्गेरी,
रोमानिया, चेकोस्लाभाकिया (तत्कालिन), अल्बेनिया, युगोस्लाभाकिया (तत्कालिन) आदिले
कम्युनिज्म व्यवस्था परित्याग गरे। यसै गरी एशियाली राष्ट्रहरु- अफगानिस्तान,
कम्बोडिया, मंगोलिया, भियतनाम आदिले पनि साम्यवादी वा केन्द्र नियन्त्रित अर्थ
व्यवस्था परित्याग गरे। भारतले सामाजवादी नारा त्यागेको एक दसक भन्दा बढी भइ
सक्यो। भारतका धेरै अर्थसास्त्रीहरु मुलुकले चमत्कारी किसिमले आर्थिक प्रगति
गर्नुको प्रमुख कारण राष्ट्रले खुला र उदार अर्थतन्त्र अंगिकार गर्नु हो भनी
विश्वास गर्छन्। यसै गरी नेपालमा पनि नेपाली कांग्रेसले समाजवादी अर्थ नीति
परित्याग गरी सकेको उसको व्यवहारबाट देखिएको छ।
अहिलेको युग भनेको लोकतान्त्रिक युग हो र लोकतन्त्रको प्रयोग राजनीति
भन्दा पनि अर्थ नीतिमा बढी भइ रहेको छ। केन्द्र नियन्त्त्रित अर्थ व्यवस्था वा
साम्यवादी अर्थ व्यवस्थाबाट दुत्ततर गतिमा मुलुकको आर्थिक विकास सम्भव नहुने वर्तमान
विश्व परिस्थितिमा कुनै मुलुकको नेता वा सरकारले नियन्त्रित अर्थव्यवस्था द्वारा
राष्ट्रको आर्थिक प्रगति गर्छु भन्नु त्यस देशको जनतालाई झुक्याउनु मात्र हो,
परिस्थितिले त्यस्तै देखाएको छ। मौजुदा विश्व परिस्थितिमा आफ्नो राष्ट्रको आर्थिक
विकास गर्न कुनै पनि मुलुकले अनिवार्य रुपमा विश्व अर्थव्यवस्थामा आफूलाई आवद्ध
गर्नु नै पर्छ। विभिन्न राष्ट्रहरुको, र खास गरी खुला बजारका हिमायती राष्ट्रहरुको
गतिविधिबाट निर्मित यो विश्व परिस्थिति, अन्य मुलुकहरूका लागि एक किसिमको अवसर पनि
हो भने यो परिस्थितिलाई स्वीकार गर्नु पर्ने स्थिति बाध्यता पनि हो। अवसर यस कारण
हो कि आफ्नो देशमा उपलब्ध स्रोत तथा साधनहरुको लाभदायक किसिमले व्यापक उपयोग गर्न
विश्व अर्थव्यस्थासँगको आवद्धताले निकै सहयोग पुर्याउँछ। र आफ्नो मुलुकको आर्थिक
विकास गर्न विश्व अर्थ व्यस्थामा आवद्ध हुनु नै पर्ने, अनेक मुलुकसँग आर्थिक
मितेरी कायम गर्नु नै पर्ने चाहिँ वाध्यता हो, कुनै पनि राष्ट्रका लागि।
विश्व अर्थ व्यवस्थामा आफ्नो मुलुकलाई आवद्ध नगराई राष्ट्रको आर्थिक प्रगति
हुन गार्हो रहेछ भन्ने यथार्थ अहिले विश्वमा रहेका केवल दुई कम्युनिष्ट राष्टहरु-
उत्तर कोरिया र क्युवा मध्ये क्युवाले बुझ्न शुरु गरेको संकेत दिन थालेको छ। सुयुक्त राज्य अमेरिकाबाट केवल ९० माइल मात्र
टाढा रहेको टापु मुलुक क्युबा कम्युनिष्ट साशित मुलुक हो। करिबियन मुलुक क्युबाको
उत्तरमा संयुक्त राज्य अमेरिका पर्दछ भने पश्चिममा बहमाज र मेक्सिको पर्दछन।
दक्षिणमा केमन आइलैण्डस् र जमैका पर्दछन। यसै गरी हैटी र डोमनिकन रिपब्लिक दक्षिण
पूर्वमा पर्दछन। सन् २०१० को अनुमान अनुसार क्युबाको जनसंख्य १ करोड १२ लाख ४१
हजार ८९४ रहेको छ। १,०९, ८८४ वर्ग मिटरमा फैलिएको क्युबा करिबियन राष्ट्रहरुमा सबै
भन्दा बढी जनसंख्या र क्षेत्रफल भएको मुलुक हो। टापु मुलुक भएकोले समुन्द्री
मार्गको भरपुर उपयोग गर्ने सक्ने स्थिति भएता पनि क्युबाले द्रुततर गतिमा आर्थिक
प्रगति गर्न सकेको छैन र त्यस किसिमबाट आर्थिक प्रगति गर्न नसक्नुको मुख्य कारण
जानकारहरु क्युबाको एक तन्त्रिय कम्युनिष्ट शासन व्यवस्था हो भन्दछन।
क्युबा अहिले चर्चामा छ र चर्चामा हुनुको कारण छ पोप बेनेडिक्ट XVI द्वारा क्युबाको भ्रमण। पोपले कम्युनिष्ट राष्ट्र
क्युबाको भ्रमण गरेका छन। पोप, सोमबार
( March 26,
2012) क्युबा आइ पुगेका थिए। त्रि दिवसिय आफ्नो
भ्रमणको पहिलो दिन, सोमबार, पोप क्युबाको दक्षिण पूर्वी शहर सान्टियागो डि क्युबा
पुगेका थिए, जहाँ उनको स्वागत क्युबाका राष्ट्रपति राउल काष्ट्रोले गरेका थिए। पोप
मंगलबार क्युबाको राजधानी हवाना पुगेका थिए। पोपको क्युबा भ्रमणलाई धार्मिक
सम्बन्ध र सद्भाव विस्तारको रुपमा उल्लेख गरिए तापनि उनको यो भ्रमणले क्युबालाई राजनैतिक
र आर्थिक सुधारका लागि दबाब दिने अनुमान गरिएको छ। क्युबामा अहिले धार्मिक
स्वतन्त्रता छ भनी उल्लेख गरिए तापनि विभिन्न क्षेत्रहरुमा धार्मिक गतिबिधिहरु
गर्न रोक लगाइएको छ। केही दशक पहिले मात्र नै पनि सरकारले धार्मिक प्रभाव कम पार्न
चर्चहरुको सम्पत्ति कब्जा गर्नुका साथै धर्ममा आस्था राख्ने कामदारहरुलाई कामबाट
हटाएको थियो। हुन त अहिले पनि क्युबामा थुप्रै आस्थाका बन्दीहरु जेलमा रहेका छन भनी
उल्लेख गरिएको पाइन्छ तर पनि पछिल्ला दिनहरुमा क्युबामा सुधारका केही कार्यहरु पनि
सँग सँगै भइ रहेको देखिएका छन। जानकारहरुका अनुसार राष्ट्पति राउल काष्ट्रोले
सुस्त गतिमा नै भए पनि सुधारका केही कार्यहरु अगाडि बढाएका छन। हुन त, त्यस्तो
गर्नु पर्ने, बाध्यात्मक स्थितिले गर्दा पनि हुन सक्छ। तर पनि क्युबामा सुधारका
संकेतहरु देखिएका छन। पोपको यो भ्रमणलाई, क्युबामा सुस्त गतिमा नै भए पनि जारी
रहेको राजनैतिक र आर्थिक परिवर्तन प्रतिको समर्थनको रुपमा पनि हेरिएको छ, तर खास
गरी भने धार्मिक क्षेत्रमा।
क्युबाको राजनीतिमा प्रभाव पार्न सक्ने केही व्यक्तिहरुले क्युबा
राजनैतिक रुपमा यथा स्थितिमै रहने, केवल आर्थिक क्षेत्रमा मात्र केही परिवर्तन
गर्ने मनस्थितिमा रहेको उल्लेख गरेता पनि क्युबाले राजनैतिक र आर्थिक दुबै
क्षेत्रमा सुधार वा परिवर्तन गर्नु पर्ने बाध्यत्मक स्थिति सृजना भएको छ, मौजुदा
विश्व परिस्थितिले गर्दा। धरै राष्ट्हरुसँग छुट्टिएर एक्लो अलग्गिएर बस्न गार्हो छ
पनि, यो मौजुदा विश्व बजारीकरणको स्थितिमा। यो यथार्थलाई क्युबाले बुझ्न थालेको छ,
अर्को कम्युनिष्ट राष्ट्र उत्तर कोरियाले नबुझेको वा नबुझेको जस्तो गरेता पनि।
क्युबामा अहिले पनि सोभियत-मोडेल अर्थतन्त्रको प्रभाव कायम नै छ।
राष्ट्रिय अर्थतन्त्रमा राज्यको नियन्त्रण छ। उत्पादनका साधनहरु प्राय: राज्यको
स्वामित्वमा छन् र राज्यद्वारा नै संचालित छन। कामदारहरुको नियुक्ति पनि प्राय:
राज्यद्वारा नै हुन्छ। तर यस क्षेत्रमा केही सुधारका कार्यहरु पनि भएका छन, हालैमा।
केही सीमित क्षेत्रहरुमा निजी स्वामित्वलाई पनि काम गर्न दिइएको छ। स्वरोजगारको
रुपमा केही खुद्रा भंडार संचालन गर्न तथा हलुका उद्योग चलाउन निजी क्षेत्रलाई
अनुमति दिइएको छ। निजी क्षेत्रले सन् २००६ मा २२ प्रतिशतलाई रोजगारी दिएको थियो
जबकी १९८१ मा केवल ८.२ प्रतिशतलाई
रोजगारी दिएको थियो। यसबाट पनि, यो देखिन्छ कि क्युबाको अर्थतन्त्र सुधार तर्फ उन्मुख
छ। तर अहिले पनि पूँजी लगानी गर्न सरकारबाट अनिवार्य रुपमा अनुमति भने लिनु पर्दछ।
वर्तमान राष्ट्रपति राउल मोडेस्टो काष्ट्रो रुज सन् २००८ मा क्युवाका
राष्ट्रपति भएका हुन। हुन त उनी सक्तिमा भने सन् २००६ मा नै आइ सकेका थिए। उनी सन्
२००६ मा कार्यवाहक राष्ट्रपति भएका थिए,
दाजु र त्यसबेलाका राष्ट्रपति फिडेल काष्ट्रो बिरामी भएको कारणले गर्दा। फिडेल
काष्ट्रो भने सन १९५९ देखि १९७६ सम्म क्युबाको प्रधान मंत्री तथा सन् १९७६ देखि
२००८ सम्म क्युबाका राष्ट्रपति रहेका थिए।
स्वतन्त्र रुपमा बिचार अभिव्यक्त गर्न अझै पनि रोक लगाइएको क्युबामा
राजनैतिक र आर्थिक सुधारका कार्यक्रमहरु कसरी अगाडि बढ्ने छ त्यो त आउने समयले नै देखाउने
छ। तर एउटा सत्य के हो भने जुन सुकै किसिमको गतिमा होस क्युबाले सुधारका
कार्यक्रमहरु अगाडि बढाउनु नै पर्छ, मौजुदा विश्व बजारीकरणको स्थितिमा, राष्ट्रको
आर्थिक विकास गर्न।
विश्वराज अधिकारी
No comments:
Post a Comment