पोर्चुगलको आर्थिक संकट
अहिले नेपाल र पोर्चुगलको आर्थिक समस्यामा
केही समानता देखिएको छ। यी दुवै देशमा बेरोजगारी उल्लेखनीय किसिमले बढेको छ। जसरी
नेपालमा बेरोजगारी बढेर निरास जनता रोजगारीका लागि अरब, मध्यपूर्व, अफ्रिका,
युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया पुग्दै छन त्यसै गरी
पोर्चुगलका जनता देशमा बेरोजगारी बढेर इङ्लैण्ड, ब्राजिल, अन्गोला, चिन तिर लागि
रहेका छन। पोर्चुगलमा बेरोजगारी बढेर अहिले १४ प्रतिशत पुगेको छ। युवाहरुको
बेरोजगारी त झन ३० प्रतिशत पुगेको छ। मुलुकको अर्थ तन्त्रमा ३ देखि ६ प्रतिशतले
गिराबट आउने अनि २० लाख मानिस गरिबीको
रेखामा पुग्ने अनुमान गरिएको छ। सम्बन्धित क्षेत्रका विज्ञहरु पोर्चुगल पनि
ग्रिसको जस्तै आर्थिक संकटको स्थितिमा पुग्न सक्ने अनुमान गर्दै छन। ग्रिसले झै
पोर्चुगलले पनि बढ्दो ऋणलाई कम पार्न सकेको छैन, कडा आर्थिक अनुशासनका नियमहरु
लागु गर्दा पनि। राष्ट्रिय ऋण र आर्थिक घाटा ठूला समस्याहरुका रुपमा प्रस्तुत भइ
रहेका छन, पोर्चुगलको अगाडि।
धेरै पोर्चुगिजहरुलाई यूरोपियन
यूनियनद्वारा लागू गरिएको आर्थिक अनुशासन योजना (Austerity plans) मन परेको छैन।
उनीहरुको विचारमा त्यस्तो योजनाले पोर्चुगललाई ग्रिसको जस्तो स्थितिमा पुर्याउन
सक्छ। कतिपय पोर्चुगिजहरु आफ्नो मुलुक यूरोपियन यूनियनमा आवद्ध भए पनि त्यो
आवद्धताबाट लाभांदित हुन नसकेको विश्वाश गर्छन। बरु दक्षिण अमेरिका, अफ्रिका, भारत
र चिनसँगको व्यापारलाई बढी महत्व दिनु पर्दछ भन्ने तर्फ जोड दिरहेका छन।
आर्थिक संकट र खास गरि बेरोजगारीले अहिले
पोर्चुगललाई यति सताएको छ कि देशका प्रधान मंत्री, पेद्रो पासोस कोल्हो, ले
देशबासीलाई रोजगारी वा खुसहालीका लागि विदेशतिर जान सल्लाह दिंदै छन। तर कुनै समय
यस्तो पनि थियो जुन बेला संसारका अनेक मुलुकहरुमा पोर्चुगलले आफ्नो उपनिवेश खडा
गरेको थियो। पोर्चुगलको साम्राज्यलाई पोर्चुगलको विदेशी सामाज्य वा पोर्चुगलको
औपनिवेशिक साम्राज्य पनि भन्ने गरिन्थ्यो। पोर्चुगलको साम्राज्यलाई, विश्व
इतिहासमा, संसार भरि फैलिएको पहिलो साम्राज्य मान्ने गरिन्थ्यो। त्यति मात्र होइन,
यूरोपियन साम्राज्यहरु मध्ये पोर्चुगलले
सबैभन्दा लामो समय, अर्थात ६०० वर्षभन्दा बढी समय सम्म साम्राज्य कामय गरेको थियो।
पोर्चुगलको साम्राज्य खडा गर्ने अभियान सन् १४१५ बाट शुरु भएको थियो। सन् १९९९ मा
मकाउ हस्तान्तरण गर्दासम्म र सन् २००२ मा पूर्वी टिमोरको सार्भौमसत्तालाई स्वीकार
गर्नु पूर्वसम्म पोर्चुगलको औपनिवेशिक युग चलि रहेको थियो। पोर्चुगलले उपनिवेश खडा
गरेका क्षेत्रहरु अहिले ५३ वटा स्वतन्त्र राष्ट्रका रुपमा उदाएका छन। पोर्चुगलका
भास्को ड गामा सन् १४९८ मा भारत पुगेका थिए। पोर्चुगलले भारतको गोवामा उपनिवेश
समेत खडा गरेको थियो। भारतले सन १९६१ मा गोवा आफ्नो अधिनमा लिनु भन्दा पहिलेसम्म
गोवा पोर्चुगलको उपनिवेश थियो। गोवा ४५०
वर्ष सम्म पोर्चुगलको उपनिवेश रहेको थियो।
अहिले भने समय फेरिएको छ। कुनै बेला
पोर्चुगलले उपनिवेश बनाएको देशहरुले अहिले द्रुततर गतिमा आर्थिक प्रगति गरि रहेका
छन। रोजगारीका लागि पोर्चुगिजहरु अहिले अंगोला, ब्राजिल पुग्दै छन। अंगोला र
ब्राजिल पुर्चुगलका उपनिवेश रहि सकेका मुलुकहरु हुन।
पोर्चुगल आफैमा पनि एक सम्पन्न राष्ट्र
हो। प्राकृतिक स्रोतहरुको प्रचुरता र आफ्ना उपनिवेश रहि सकेका राष्ट्रहरुसँगको अशल
सम्बन्धलाई पोर्चुगलले राम्रो गरि उपयोग गरेर खस्किंदो आफ्नो आर्थिक स्थितिमा
सुधार ल्याउन सक्छ। कतिपय पोर्चुगिजहरु खस्किंदो स्थितिमा रहेका युरोपका बजारहरु
भन्दा तेजिलो भएर उदाउन थालेका एशियाका बजारहरुतिर पोर्चुगल लाग्नु पर्ने तिर जोड
दिइ रहेका छन। र उत्पादन बढाएर राष्ट्रिर्य ऋण र आर्थिक घाटा कम गर्न सकिन्छ भनि
रहेका छन।
दक्षिण पश्चिम यूरोपमा अवस्थित पोर्चुगलको
पश्चिम दक्षिणमा एटलान्टिक ओसन पर्दछ भने उत्तर पूर्वमा स्पेन पर्दछ। ९२,०९० वर्ग
किलोमिटरमा फैलिएको पोर्चुगलको जनसंख्या (सन् २०११ को जन गणना अनुसार) १,०५,६१,६१४
रहेको छ। यसै गरि कुल गार्यहस्थ उत्पादन र प्रति व्यक्ति आय (सन् २०११ को अनुमान
अनुसार), Purchasing Power Parity को आधारमा क्रमश: $२२९.३३६ बिलियन र $२२,६९९ रहेको छ।
अहिले यूरोपका धेरै मुलुकहरु आर्थिक
संकटको सामना गरि रहेका छन तर अर्कोतिर एशियाका नव धनाड्य हुन खोजि रहेका
मुलुकहरु, खास गरी चिन, भारत, दक्षिण कोरिया आदिले द्रुततर गतिमा आर्थिक प्रगति
गरि रहेका छन। एशियाका यी राष्ट्रहरुले द्रुततर गतिमा आर्थिक प्रगति गर्नुको पछाडि
विभिन्न कारणहरु छन। ती विभिन्न कारणहरु मध्ये मुख्य कारण भनेको यी राष्ट्रहरुमा
श्रम लागत कम हुनु र जनसंख्या धेरै भएको हुनाले स्वदेश मै पनि राम्रो बजार पाउनु
हो। यो लाभ वा सुबिधा यूरोपका राष्ट्रहरुलाई प्राप्त हुन सकि रहेको छैन। यूरोपका
राष्ट्रहरु भौगोलिक र जनसंख्याको आधारमा पनि तुलनात्मक रुपमा साना भएका हुनाले
आर्थिक समृद्धि हासिल गर्न अनिवार्य रुपमा अन्य राष्ट्रहरुमा भर पर्नु नै पर्ने
स्थिति छ। यो समस्यालाई सम्वोधन गर्न नै यूरोपियन यूनियनको स्थापना भएको हो। हाल
२७ राष्ट्रहरु सदस्य रहेको यूरोपियन यूनियनले यसका सदस्य राष्ट्रहरुको आर्थिक
समस्यालाई सम्बोधन गर्न सकि रहेको छैन। यूरोपियन यूनियनको उद्देश्य यूरोपका
राष्ट्रहरु मिलेर एउटा वृहत् बजारको स्थापना गर्ने र सो बजारद्वारा एक अर्काको
आर्थिक हित अभिवृद्धि गर्ने भएता पनि त्यस्तो हुन सकि रहेको छैन। अहिले यूरोपका
बजारहरु भन्दा एशिया, अफ्रिका, दक्षिण अमेरिकाका बजारहरु आर्थिक विकासका बढी
सम्भावनाहरुले युक्त छन, मानव स्रोत, प्राकृतिक स्रोत एवम् पूँजी र प्रविधि
सहितले। यूरोपेली राष्ट्रहरुले, खास गरि आर्थिक संकटको सामना गरि रहेका
राष्ट्रहरुले, यूरोपका बजारहरुमा भन्दा लाभदायक नया बजारहरुको खोजिमा लाग्नु पर्ने
देखिन्छ र ती लाभदायक नया बजारहरु एशिया, अफ्रिका र दक्षिण अमेरिकाका क्षेत्रहरु
देखा पर्दै छन।
विश्वराज अधिकारी
No comments:
Post a Comment