Friday, March 9, 2012

Putin's High Ambitions-Article-34


पुटिनको बढ्दो महत्वाकांक्षा

कुनै बेला विश्वका दुई महा शक्ति राष्ट्रहरु मध्ये एकको हैसियत राख्ने र विश्व राजनीतिलाई ज्यादै नजिकबाट प्रभावित गर्न सक्ने सोभियत रुस अहिले क्षेत्रीय शक्तिको हैसियत राख्न सक्ने स्थितिमा पनि छैन। रुस विभाजित हुनु भन्दा पहिले विज्ञान र प्रविधिको क्षेत्रमा जति अगाडि थियो अहिले त्यतिकै पछाडि परेको छ। यी कुराहरु धेरै रुसी जनतालाई मन परेको छैन। उनीहरु पहिलेको स्थितिमा नै रुसलाई हेर्न चाहन्छन। यस किसिमको चाहना राख्ने रुसीहरु मुलुकमा त्यस्तो नेताको नेतृत्व होस जसले रुसी राजनीतिलाई स्थिरता दिनुका साथै आर्थिक रुपमा पनि बलियो तुल्यायोस भन्ने इच्छा राख्छन। र त्यस्तो चाहना राख्नेहरुले भ्लादिमिर पुटिन जस्तै महत्वकांक्षी नेतालाई मन पराउँछन। भ्लादिमिर पुटिन जस्तो नेतालाई मन पराउने व्यक्तिहरु मध्ये धेरै निम्न आय वर्गमा पर्दछन र उनीहरुको बसोबास साना शहर र गाउँहरुमा बढी छ। भ्लादिमिर पुटिनले त्यस्ता जनताको मतको उपयोग गरि रहेका छन, राष्ट्रियताको नारा दिएर उनीहरुलाई खुसी तुल्याउँदै छन। जहिले पनि रुसी राजनीतिको केन्द्रमा रहि नै रहने आफ्नो महत्वाकांक्षा पूरा गर्दै छन। गत आइतवार ( March 4, 2012)  राष्ट्रपतिका लागि भएको निर्वाचन, जसमा उनले ६० प्रतिसत जति मत ल्याएर विजय हासिल गरे अनि तेस्रो पटक राष्ट्रपति हुने मौका पाए, ले उनको त्यो मत्वाकांक्षालाई झनै निरन्तरता दिएको छ। यो विजयले जहिले पनि शक्तिसाली भएर बस्ने उनको महत्वाकांक्षा झनै चुलिएको छ। दुई पटक राष्ट्रपति र एक पटक प्रधान मंत्री समेत भएका पुटिनको शक्ति केन्द्रमा रहेको (सन् २००० देखि हालसम्म) समयलाई जोडने हो भने उनले १२ वर्ष वर्षदेखि निरन्तर रुपमा रुसको राजनीतिमा बलियो पकड कायम गरेको देखिन्छ। उनका बिपक्षीहरुको चिन्ताको विषय पनि यही नै हो। उनका बिपक्षीहरु भन्छन ‘पुटिनको शासन धेरै भयो’  ‘अब उनले सन्यास लिनु पर्दछ’। पुटिनको सत्ता माथिको पकड जति सबल हुँदै जान्छ र जति लामो समयसम्म उनी शक्तिमा रहन्छन रुसमा प्रजातनत्र सोहि अनुरुप कमजोर हुँदै जाने चिंता उनका विपक्षीहरुले व्यक्त गर्दै छन। रुसको प्रजातान्त्रिक संरचनालाई कमजोर तुल्याएर केवल आफू बलियो हुने काम गरेको र आफूलाई राजनैतिक रुपमा चुनौति दिन सक्ने व्यक्तित्वको विकास अन्य नेताहरुमा हुन न दिएको आरोप पनि विपक्षीहरुले लगाएका छन, हालै निर्वाचित राष्ट्रपति पुटिन माथि। हुन पनि गत चुनावमा, राष्ट्रपतिका अन्य चर्चित उम्मेदवारहरु– गेन्नादी ज्युगानोभ, मिखाइल प्रोखोरोभ, भ्लादिमिर झिरिनोभ्सकीमा निर्वाचित राष्ट्रपति पुटिनलाई चुनौति दिन सक्ने क्षमताको अभाव देखिएको थियो। रुसी राजनीतिलाई बलियो गरि प्रभाव पार्न सक्ने क्षमता उनीहरुमा देखिएन। गेन्नादी ज्युगानोभले त तिन वटा राष्ट्रपतिय चुनावमा भाग लिएर पनि विजय हासिल गर्न सकेका थिएनन्।   
मुलुकको राजनीतिमा जहिले पनि बलियो पकड कायम राखि नै राख्ने पुटिनको उच्च महत्वाकांक्षालाई मन नपराउनेहरुको जमात पनि ठूलो छ, रुसमा। ठूला शहरहरुमा बस्ने र खास गरि मध्यम वर्गियहरुको माझ पुटिन लोकप्रिय छैनन्। पुटिन-प्रशासन निष्पक्ष हुन न सकेको,  कर्मचारीतन्त्र बढेको, संचार माध्यमहरुमा नियन्त्रण कायम गरेको जस्ता आरोपहरु उनका विरोधीहरुले लगाउँदै आएका छन, पुटिन माथि। यसै गरी प्रजातान्त्रिक संरचनाहरु भत्काएको, आफूलाई निरन्तर शक्तिसाली राख्न शक्ति केन्द्र तयार पारेको जस्ता आरोपहरु पनि उनी माथि लाग्दै आएको छ। यति मात्र होइन गत डिसेम्बरदेखि नै उनको बिरोधमा प्रदर्शन हुँदै आइ रहेको छ। गत राष्ट्रपतिय निर्वाचन निष्पक्ष नभएको र मत दानको क्रममा निकै अनियमितताहरु भएको आरोप उनका विपक्षीहरुको रहेको छ।   
पहिले के. जि. बि. को अफिसर रहि सकेका, ५९ वर्षिय कानूनका विद्यार्थी पुटिन राजनीतिका चतुर खेलाडि मानिन्छन। टाइम प्रत्रिकाद्वारा घोषणा गरिने Person of the Year ( Man of the Year )  अन्तरगत सन् २००७ का लागि Person of the Year घोषित पुटिन जनतालाई कसरी रिझाउने भन्ने कलामा निपूर्ण छन् पनि। गत राष्ट्रपतिय निर्वाचनमा, आफ्नो प्रचार प्रसारको क्रममा, यदि आफू राष्टपति निर्वाचित भएमा पेन्सन वृद्धि गर्ने, संचार माध्यमहरुलाई अझै निष्पक्ष पार्ने, सेवा निवृतिको उमेरमा एक रुपता ल्याउने, र समग्रमा रुसी जनताको आर्थिक जिवन स्तर माथि पुर्याउने भनी पुटिनले आफ्ना समर्थकहरु माझ बाचा गरेका थिए। सोहि अनुरुप निर्वाचनमा विजय हासिल गरे पछि निकालिएको उनको विजय उत्सव जुलुसमा उनका समर्थकहरुले ‘पुटिन- हाम्रो राष्ट्रपति’, ‘हामी पुटिनमा विश्वास गर्छौ’ जस्ता नाराहरु लगाएका थिए। यसै गरी पुलिस र सेनाको समर्थन र सहयोग पाउन हालै उनीहरुको तलब वृद्धि गरेका थिए, पुटिनले।
पुटिनले वल प्रयोगद्वारा आफ्नो लोकप्रियता बढाएको, गत चुनाव पनि व्यापक धांधली गरी जितेको, कानून व्यवस्थालाई निष्पक्ष पार्न नसकेको भनी आरोप लगाउनेहरुलाई पुटिनले यो पछिल्लो राष्ट्रपतिय कार्य काल पूरा गर्न सक्लान भन्ने कुरामा संका छ। संका गर्नेहरु भन्छन पुटिनको लोकप्रियता खस्किंदो क्रममा छ।
पुटिन राष्ट्रपति निर्वाचित भए पछि उनको समर्थन र विरोधमा जुलुस प्रदर्शनहरु भएता पनि पुटिनको विजयले, साम्यवादी व्यवस्थाको प्रभाव अझै पनि रुसी समाजमा रही नै रहेको परिप्रेक्ष्यमा, रुसमा प्रजातन्त्र बलियो हुन नसकिरहेको प्रष्ट गरी संकेत गर्दछ। पुटिन १२ वर्षदेखि शक्ति केन्द्रमा हुनु, तिन पटक राष्ट्रपति र एक पटक प्रधान मंत्री भएर राज्य सक्ति केवल आफ्नो नियनत्रणमा राख्नुले एकातिर पुटिनमा शक्तिसाली हुने महत्वाकांक्षा झनै प्रवल हुँदै गएको प्रष्ट हुन्छ   भने अर्कोतिर रुसको प्रजातन्त्र तर्फको यात्रा आउँदा दिनहरुमा झनै कष्टकर हुँदै जाने देखिन्छ।
८३ वटा फेडरल सब्जेक्ट (Constituent entities) भएको रुसी महा संघ उत्तरी यूरेसियामा पर्दछ। यसको उत्तर र दक्षिणमा नरबे, फिनलैण्ड, इस्टोनिया, लाटभिया, लिथुआनिया, पोलैन्ड, बेलारुस, युक्रेन, जर्जिया, अजरबाइजान, काजाखस्तान, चिन, मंगोलिया र उत्तर कोरिया पर्दछन। १ करोड ७० लाख ७५ हजार ४०० वर्ग किलोमिटरमा फैलिएको रुसी महा संघ विश्व कै सबै भन्दा ठूलो राष्ट्र हो। जन संख्या (१४,३०,३०,१०६ जनवरी १, २०१२) को हिसाबले भने विश्वको आठौ ठूलो राष्ट्र हो। बजार अर्थ तन्त्र अंगालेको रुस सर्वाधिक तेल उत्पादन गर्ने राष्ट्रहरुको पंक्तिमा एक नम्बरमा पर्दछ। संसार भरि मै रुससँग धेरै खानी र सक्ति स्रोत (Energy resources) छ। यसै गरी प्राकृतिक गैस उत्पादनमा पनि विश्वमा दुई नम्बरमा छ। वन सम्पदामा पनि रुसको विश्वमै एक नम्बर स्थान छ। रुसका तालहरुले विश्व कै लगभग एक तिहाई स्वच्छ पानी संग्रह गरेको विश्वास गरिन्छ। रुस विश्वको १० औ   ठूलो अर्थ तन्त्र हो भने क्रय शक्तिको हिसाबले छैठौ। रुसको आर्थिक वृद्धि दर ७ प्रतिसत भन्दा माथि छ भने प्रति व्यक्ति आय (अमेरिकी डलरमा, सन २०१० अनुसार) १९,८४० रहेको छ।
सिरियाली राष्ट्रपति बसार असादलाई पछि हट्न दबाब दिने सन्दर्भमा संयुक्त राष्ट्र संघले ल्याएको प्रस्ताबमा रुस सहमत भएको थिएन र विपक्षमा मतदान गरेको थियो, भिटो प्रयोग गरेको थियो। यसै गरी रुस ब्रिक (BRIC- Brazil, Russ, India, China) राष्ट्रहरु मध्येको एक हो। रुसका यी क्रियाकलापहरुले रुस पुन: आफ्नो पुरानो महा शक्तिको छविलाई ल्याउन खोज्दै छ भन्ने कुराको संकेत गर्दछ। पुरानो छवि ल्याउने रुसको महत्वाकांक्षालाई पनि राष्टपति निर्वाचित पुटिनले आफ्नो लोकप्रियता बढाउने माध्यमको रुपमा प्रयोग गरेको देखिन्छ। 

विश्वराज अधिकारी

1 comment: