Sunday, December 22, 2019

Economic Development Is Not Possible Without Social Reformation-Article 257


आर्थिक विकासको सम्बन्ध सामाजिक विकाससँग हुन्छ

    केही साता पहिले जनकपुरमा एक अभूतपूर्व कार्य भयो। तराईको लागि त्यो कार्य अकल्पनीय एवं सर्वकालीन उदाहरणीय थियो। त्यो कार्य आफैमा ऐतिहासिक पनि थियो। तर अफसोच १ त्यो कार्य सनसनीपूर्ण समाचार बन्न सकेन। त्यसले धेरैको ध्यान आकर्षित गर्न सकेन। पत्रपत्रिकाहरूले पनि अति महत्वका साथ कभरेज दिएनन्। अर्कोतिर केवल राजनीतिक झगडा, गालीगलौज, प्रतिशोध आदिले भरिएको समाचार मात्र पढ्नमा रुचि राख्ने पाठकहरूले पनि त्यो समाचारलाई महत्वका साथ पढेको देखिएन। अन्ततोगत्वा यो कार्यको हुनुपर्ने जति चर्चा भएन। सञ्चारमाध्यमहरूले अन्टसन्ट समाचार पढ्ने हाम्रो बानी बसालिदिएको हामीले पत्तो नै पाएनौं।
आखिर जनकपुरमा के भएको थियो त्यस्तो कार्य?
    सदियौंदेखि तराईमा चल्दै आएको कुचलन, समाजमा क्यान्सरको रूपमा रहेको दहेज वा तिलक प्रथाको समाधान खोज्ने प्रयास केही साता पहिले जनकपुरमा केही उत्साही युवायुवतीहरूद्वारा गरिएको थियो। प्रयास सामान्य थियो तर उच्च महत्वको थियो। सन्देशमूलक थियो।
    गत मङ्सिर महीनामा जनकपुरमा तिलक, दहेज वा दाइजोको विरोध गर्दै ३७ जोडी तराईका युवायुवतीले सामूहिकरूपमा, सार्वजनिकस्थलमा, विवाह गरेका थिए। आफूहरू दहेजको विरोधी रहेको कुरा विनादहेज (सार्वजनिकरूपमा) विवाह गरेर प्रस्ट पारेका थिए। यस किसिमले विनादहेज विवाह गरेर उनीहरूले उदारता र हिम्मत एकैसाथ प्रदर्शन गरेका थिए। त्यसरी विनादहेज विवाह गर्दा, मुख्य त युवा (वर) हरूले, कति मानसिक तनाव खेपेका होलान्, उनीहरूलाई नै थाहा होला। अहिले पनि केटाका बुबाआमाहरूले बाहिर जतिसुकै आदर्शका कुरा गरे तापनि, आफूलाई दाइजोविरोधी भने तापनि, भित्रभित्र भने आफ्नो छोराको विवाहमा यति तिलक वा दहेज (जोर जबरजस्ती) लिने भनी ठूलै जोडघटाउ गरेका हुन्छन्। रेयाल काढेर मुख मिठ्याएका हुन्छन्। बुहारीले गतिलो दहेज नल्याएको रिसमा धेरै सासू, ससुरा र पतिहरूसमेतले पनि बुहारी वा पत्नीको हत्या गरेको हामीले देखेको, सुनेको कुरा हो।
    यसरी विवाह गराइदिने कार्य भने विश्व हिन्दू परिषद्ले गरेको थियो। उक्त परिषद्ले त्यस किसिमबाट सार्वजनिक स्थल (भगवान् रामचन्द्र र सीताजीको विवाह भएको स्थल जनकपुरस्थित मणिमण्डप) मा सामूहिक विवाहको आयोजना गर्न लाग्ने खर्च चन्दा उठाएर जुटाएको थियो। यस किसिमबाट विश्व हिन्दू परिषद्ले अति नै सराहनीय कार्य गरेको थियो। समाजसुधारका लागि प्रभावकारी कदम चालेको थियो।
दाइजोविरुद्धको आर्थिक महŒ
    आर्थिक विकासका सूत्रहरू हामी अर्थशास्त्रका चर्चित सिद्धान्तहरूमा खोज्छौं। अर्थशास्त्रका मोटामोटा पुस्तकहरूमा आर्थिक विकासका सूत्रहरू कहाँ छन् भन्दै अनेक अध्याय पल्टाउछौं। नाम चलेका अर्थशास्त्रीहरूको पुस्तक पढ्छौं। अर्थशास्त्रका ठूलाठूला डिग्रीधारीहरूले आर्थिक विकासका सूत्रहरू जानेका हुन्छन् भन्ने मान्यता राख्छौं। तर अफसोच! हाम्रो व्यवहारभित्र नै आर्थिक विकासका सूत्रहरू छन् भन्नेतिर हामी पटक्कै ध्यान दिंदैनौं। हाम्रा सामाजिक व्यवहारहरूले हामीले निर्धन तुल्याउन वा आर्थिक विकास गर्न दिइरहेका छैनन् भनी जान्न चाहन्नौं। हामीले हाम्रा गलत र अनुत्पादक सामाजिक व्यवहारहरूमा सुधार ल्याउने हो भने निश्चय पनि हामी आर्थिक विकासका बाटोतिर लम्किनेछौं।
    हाम्रा अनेक त्यस्ता सामाजिक व्यवहारहरू छन्, जसले हामीलाई निर्धनताबाट माथि उठ्न दिइरहेका छैनन्। हामीलाई आर्थिक विकास गर्न दिइरहेका छैनन्। त्यस्तै व्यवहारमध्येको एक हो, दहेज एवं तिलक प्रथा वा दुलहा बिकता है, प्रथा। दुलहा बिकता है बोलो खरिदो गे? प्रथाले हाम्रो समाजलाई गरीब पार्नमा अहम् भूमिका खेलेको छ। यो प्रथाले कुनै समाजलाई पनि छाडेको छैन। यो गीतले त्यसै भन्छ, ‘कब तलक दुल्हनों की चढेगी बलि, रामगोपाल हो या सराफत अलि, सब है बहरुपिए, इन से ये पुछिए, सपना बिकता है बोलो खरिदो गे, दुलहा बिकता है बोलो खरिदो गे।’ मुख्यगरी तराईमा रहेको यो प्रथा समाप्त हुने हो भने धेरै परिवार निर्धन हुनबाट जोगिनेछन्। धेरै युवतीको मृत्यु अकालमा हुनेछैन। कुनै एक परिवारका सातजना छोरी छन् भने त्यो परिवारको जीवन मरे तुल्य हुने स्थितिको अन्त्य हुनेछ। छोराको लालसमा, धेरै छोरी हुनेका बुबाआमा शान्तिपूर्वक जीवनयापन गर्न सक्षम हुनेछन्।
दहेज प्रथाको आर्थिक कुप्रभाव
    दहेज प्रथा खराब हो भन्ने कुरा सर्वकालीन सत्य हो। यसमा दुई मत हुन सक्तैन। तर यसले समाज र परिवारमा कुन किसिमले र कसरी नकारात्मक प्रभाव पार्छ, त्यसबारे चर्चा गरौं। दहेज लिने परिवार र मुख्यगरी केटा (दुलहा) ले विना कुनै परिश्रम दहेजको माध्यमबाट ठूलो सम्पत्ति हात पारेको हुनाले उसमा रहेको उद्यमी भावना मर्न सक्छ र अर्कोतिर लोभ बढ्छ। अर्को तथ्य, सम्पत्ति ताक्ने बानीको विकास हुनेछ । आफूले कुनै रचनात्मक कार्य नगरेर केवल पत्नीको माइतीबाट अनेक कुरा (पैसा, सम्पत्ति) माग्ने मनोविज्ञान निर्माण हुनेछ। यसरी एक व्यक्ति (केटा)को सृजनात्मक क्षमतामा ह्रास आएर उसमा परनिर्भरता बढेर जानेछ। र, यो कुरा उक्त व्यक्तिको आर्थिक जीवनमा घातक हुनेछ। र, यस्तो भएको हामीले समाजमा देखि नै रहेका छौं।
    वधू पक्षलाई त दहेजप्रथाले उठ्न नै नसक्ने गरी ढालेको देखिएको छ। गरीब परिवारहरूले छोरीको विवाह गर्दा आफूसँग रहेको सारा सम्पत्ति बिक्री गर्नुपरेको छ। चर्को ब्याजदरमा ऋण लिएर दीर्घकालीन ऋणमा डुब्नुपरेको छ। कतिपय बुबाआमाले दहेज दिन नसक्ने आफ्नो स्थिति देखेर आत्महत्यासमेत गरेका छन्। यसैगरी, कतिपय युवतीहरूले, आफ्ना आमाबुबाको गरीबी देखेर, उनीहरूलाई दहेज दिन गार्हो हुने अनुमान गर्दै, आत्महत्या गरेका छन्।
    दहेज दिंदा पाउने पक्षले विना कुनै परिश्रम ठूलो सम्पत्ति हात पार्ने हुन्छ भने अर्कोतिर दहेज दिनेले आफ्नो जीवनभरिको आर्जन अर्कालाई दिनुपर्छ। दहेज दिने पक्ष कङ्गाल हुने स्थितिमा पुग्नुपर्छ। दहेज दिनेको आर्थिक जीवन कष्टकर हुन पुग्छ। यदि कुनै परिवारको पाँच, सात छोरी छन् भने त्यो परिवारको सारा सम्पत्ति केवल दहेज दिनमा समाप्त हुन्छ । आफूले दर्दनाक गरीबी वरण गर्नुपर्ने हुन्छ। दहेज दिनुपर्ने परिवारको ध्यान हरपल दहेज दिनुपर्ने स्थितिमा केन्द्रित हुन पुग्छ। र, त्यो परिवार कुनै पनि किसिमले धन प्राप्त गर्नुपर्छ भन्ने मनोविज्ञानको शिकार हुन पुग्छ। आर्थिक भ्रष्टाचारतिर आकर्षित हुन सक्छ।
    नेपालमा दहेज सम्बन्धित हत्याहरूको प्रमाण उचित जानकारीको अभावमा व्यवस्थित किसिमले राख्न सकिएको छैन। त्यस कारण दहेजसँग हत्याको उचित जानकारी पाउन गार्हो छ।
    भारतमा प्रत्येक एक लाख महिलाहरूमध्ये १.४ महिलाहरूको मृत्यु (हत्या) दहेजको कारणले हुन्छ। सन् २०१२ मा त्यहाँ ८ हजार २ सय ३३ महिलाको हत्या दहेजको कारणले गर्दा भएको थियो भने सोही कारणले सन् २०१३ मा ८ हजार ८३ महिलाको हत्या भएको थियो। भनिन्छ, भारतमा प्रत्येक ९० मिनटमा एक महिलाको हत्या दाइजोसँग सम्बन्धित घटनाको कारणले गर्दा हुन्छ। भारतको स्थितबाट प्रस्ट हुन्छ, दहेजप्रथा हाम्रो क्षेत्रमा कति गम्भीर छ भन्ने यथार्थ।
    हाम्रा सामाजिक व्यवहारहरूले हामीलाई गरीबीको दुष्चक्रबाट हामीलाई बाहिर आउन दिइरहेका छैनन्। हामीले बल गरेर त्यो दुष्चक्रलाई तोड्न सकि रहेका छैनौं। तर अब तोड्नुपर्छ।
    धन आर्जन गर्न नसकेर मात्र गरीब भइने होइन। खराब सामाजिक व्यवहारको कारणले गर्दा पनि गरीब भइन्छ। यसैगरी, धनी भए तापनि हाम्रो त्यो धनी स्थितिलाई खराब सामाजिक व्यवहारले गरीब पारिदिन सक्छ। सामाजिक व्यवहार, जुन आर्थिक कारणले घातक छन्, ले हामीलाई गरीब पार्ने हुनाले पहिले हामीले तिनको निदान खोज्न आवश्यक छ, धन आर्जनको लागि कुनै क्रियाकलाप गर्नुभन्दा पहिले। खराब सामाजिक व्यवहार एक प्वाल परेको गाग्री जस्तो हो, जसमा जतिसुकै पानी हाल्दा पनि भरिंदैन । अर्थात् खराब सामाजिक व्यवहारले, हामीले कठोर परिश्रमद्वारा आर्जन गरेको हाम्रो सम्पत्ति नाश पारिदिने कार्य गर्दछ। त्यस कारण आर्थिकरूपमा सक्षम हुन, हामीले जति आयका नयाँनयाँ स्रोतहरू खोज्न आवश्यक छ, त्यति नै आवश्यक हाम्रा खराब सामाजिक व्यवहार हामीले समाप्त पार्न आवश्यक छ।
पटलक: अनावश्यक खर्च कटौतीको एक तरीका
    अमेरिकी समाजमा एक चलन, जसलाई ‘पटलक’ भन्ने गरिन्छ, निकै प्रचलित र लोकप्रिय पनि छ। यस चलन अन्तर्गत भोजको आयोजकले पटकल पार्टी आयोजना गर्छ। र, यो चलन अनुसार प्रत्येक आमन्त्रितले आमान्त्रण गरिएको ठाउँ (भोजस्थल) मा आफूले आफ्नोतर्फबाट खानेकुरा लिएर जान्छ। यसरी भोजको आयोजना गर्नेले केवल स्थान उपलब्ध गराउँछ। किनभने खाने कुरा, भोजमा उपस्थित सबैलाई पुग्ने गरी, प्रत्येक आमन्त्रितले ल्याएको हुन्छ। पटलक पार्टीको रोचक एक अर्को तथ्य पनि छ। भोजमा खाएर बाँकी रहेको खाने सामान जसले ल्याएको हो उसैले त्यो खाने समाना फिर्ता लग्नुपर्छ। यसरी भोजको आयोजकले भोज गर्न आर्थिक भार वहन गर्नुपर्दैन नै, साथै सरसफाइ (बाँकी रहेको खाना फाल्ने र भाँडा सफा गर्ने कार्य) पनि गर्नुपर्दैन।
    हामी हाम्रा सामाजिक व्यवहारहरूमा सुधार ल्याएर पनि आर्थिकरूपमा सम्पन्न हुन सक्छौं। आर्थिकरूपमा सम्पन्न हुन नसके तापनि हाम्रो आर्थिक जीवन सरल पार्न सक्छौं।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, December 20, 2019

No comments:

Post a Comment