Thursday, December 31, 2020

Muktak Book "Muktak Marg" s Review

                            मुक्तक सङ्ग्रह "मुक्तक मार्ग" को समीक्षा


कृतिको नाम: मुक्तक मार्ग

कृतिकार: सुमन आचार्य

समीक्षक: विश्वराज अधिकारी

सुमन आचार्यद्वारा लिखित कृति ‘मुक्तक मार्ग’ – मुक्तक सङ्ग्रह हालै पढ्ने सुऔसर जुर्यो। त्यसबारे केही लेख्न पनि मन लाग्यो।

हुन त म मुक्तक विधाको जानकार होइन र मैले मुक्तकहरू लेखेको पनि छैन। केवल केही पढेको मात्र छु। त्यसकारण म यस कृतिको समालोचना गर्नै सामर्थ्य राख्दिन। तर एक पाठकको रुपमा भने उक्त कृतिबारे आफ्नो पाठकीय धारणा राख्न सक्छु जस्तो लाग्छ।

मैले भरखरै पढेको मुक्तक सङ्ग्रह भने 'बिरिमफुल' हो। यो सङ्ग्रह तीर्थ अधिकारीद्वारा लेखिएको हो। 

सुमन आचार्यका मुक्तकहरू अर्थपूर्ण र रोचक छन। तर केही मुक्तकहरू भने सामान्य किसिमका छन् र तिनलाई पाठकहरूले लामो समय सम्म स्मरण गर्न सक्ने देखिंदैनन। यथार्थका धरातलमा उभिएर भन्दा कल्पनाको बेगमा उडेर उनले केही मुक्तकहरू लेखेको अनुभव हुन्छ। जीवन र जगत् लाई जति शूक्ष्म किसिमले अवलोकन गर्यो त्येति नै गहिराइमा पसेर मानव व्यवहार र मनोविज्ञानबारे जानकारी पाउन सकिन्छ र त्यो जानकारीलाई आफ्नो रचनामा कुसलतापूर्वक, रुचिकर पारेर रुपान्तरण गर्न सकिन्छ। यसका लागि विभिन्न कृतिकारहरूको कृतिहरूको अध्ययन गर्नु पनि सहयोगी हुन पुग्छ, एक कृतिकारको लागि। यो मेरो व्यक्तिगत अनुभव म आर्चायसँग बाँड्न चाहन्छु।

जीवन र जगत्को  भोग एवं अवलोकन गरेर प्राप्त गरेका अनुभवलाई आचार्यले मुक्तकमा रोचक किसिमले रुपान्तरण गरेका गरेका छन्। यी मुक्तकहरू पढ्दा पाठकहरूले आचार्यको चिन्तन धारा र बौद्धिकता, दुबै सजिलै गरी थाहा पाउन सक्छन। मुक्तकहरूमा उनले प्राय: दृष्टा भएर पाठकहरूलाई जीवनका सुख र दु:खहरू दर्शाएको पाइन्छ। आफ्ना अनुभवहरू पाठकलाई सुनाएको पाइन्छ।

केही मुक्तकहरूले आधुनिक जीवनका विशेषताहरू पनि झल्क्याएका छन। आधुनिक जीवन दोहरो मापदण्डमा बाँचेको तथ्य प्रष्ट पारेका छन्।

नेपालमा बरिष्ठ कहलिएका साहित्यकारहरूले कनिष्ठका कृतिहरू नपढिदिने, चर्चा परिचर्चा नगरी दिने, समालोचना नगरिदिने, केवल मन्तव्य मात्र लेखिदिने एक किसिमको अव्यक्त चलन छ जुन नेपाली साहित्यिक विकासको लागि सही होइन, बाधक हो। हामीले नवोदित कृतिकारहरूको रचना, कृति अध्ययन र चर्चा गर्न आवश्यक छ। युवा पुस्ताका साहित्यकार सुमन आचार्यको यो कृति वरिष्ठहरूले पनि पढिदिनु होला, कनिष्ठहरूले पनि पढिदिनु होला भनी हार्दिक अनुरोध गर्दछु।

समग्रमा, सुमन आचार्यको यो मुक्त सङ्ग्रह ‘मुक्तक मार्ग’ पढ्ने क्रममा पाठकहरूले ‘एक खास’ किसिमको अनुभव सहितको आनन्द प्राप्त गर्ने छन् भन्नेमा म विश्वस्त छु। कृतिकार र उनको यो कृति ‘मुक्तक मार्ग’ को ख्याति विस्तार होस भनी शुभ कामना व्यक्त गर्दछु।

(C)विश्वराज अधिकारी

2 comments:

  1. कृति समिक्षाका लागि हृदय देखि नै आभार । सल्लाह सुझाबको सधैं अपेक्षा सहित सप्रेम धन्यवाद ।

    ReplyDelete