Friday, March 12, 2021

Why Do We Lack Entrepreneurship?-Article-318

 किन नेपालमा नया व्यापार सृजनाकर्ताहरूको अभाव भयो?

अङ्ग्रेजी शब्द “आन्ट्रेप्रेनिउर” को नेपाली अनुवाद छैन। यो शब्दको नेपाली अनुवाद, भावार्थ रुपमा, उद्यममा लाग्ने वा लागेको, उद्योग गर्ने, उद्योगी, मिहिनेती, परिश्रमी आदि हुन सक्छ। आन्ट्रेप्रेनिउरको नेपाली अनुवाद नहुनुको कारण आन्ट्रेप्रेनिउरसिपको नेपालमा अभ्यास नभएर यो शब्दको नेपाली अनुवाद पनि नखोजिनु हो।

अङ्ग्रेजीमा आन्ट्रेप्रेनिउरको अर्थ हुन्छ नया व्यापारको सृजना गर्ने, मुनाफाका लागि आफ्नो समय, श्रम र चिन्तन लगानी गर्ने, व्यापार गर्दा उत्पन्न हुने जोखिम बहन गर्नका लागि सर्वदा तत्पर रहने व्यक्ति।

प्रचलित तवरबाट तथा संक्षेपमा भन्ने हो भने आन्ट्रेप्रेनिउरको अर्थ नया नया व्यापार सृजनाकर्ता हुन्छ। नया नया व्यापारिक अवसरको पहिचान र प्रयोगकर्ता हुन्छ। अमेरिका एवं युरोपमा व्यक्तिहरूले नया नया व्यापारको आविष्कारको गर्ने गरेको र धेरै व्यक्तिहरूले सर्वथा नया नया व्यापारको विकास वा आविष्कार गरेकोले आन्ट्रेप्रेनिउर शब्दको व्यापक प्रयोग भएको हो।

हुन पनि, खास गरी, अमेरिकमा हरेक वर्ष अनेक व्यक्तिहरूले बिभिन्न किसिमका नया नया व्यापारको विकास गर्छन। गएको तिस वर्षमा अमेरिकामा गुगल (स्था.1998), फेसबुक (स्था. 2004) उबर (स्था. 2009), ट्विटर (स्था. 2006) युट्युब (स्था. 2005) अमेजन (स्था. 1994) जस्ता अनेकौ, एकदमै नया किसिमका व्यापारहरूको विकास भए। विकास भएका यस किसिमका नया व्यापारहरूले रोजगारीका नया नया अबसर मात्र सृजना गरेनन मानिसको जीवन पद्धतिमा नै परिवर्तन ल्याइ दिए। मानव जीवन सरल पार्नमा महत्वपूर्ण योगदान पुर्याए।

फेसबुक अहिले संसारमा नै सर्वाधिक प्रयोग हुने समाजिक संजाल हुन पुगेको छ। संसारभरिमा फेसबुकको प्रयोगकर्ताको संख्या अहिले लगभग ३ करोड रहेको अनुमान गरिएको छ। यदि फेसबुकमा आवद्ध रहेका व्यक्तिहरूलाई नागरिक मानेर यसलाई कुनै राष्ट्र मान्ने हो भने फेसबुक संसारको नै सर्वाधिक ठूलो (जन संख्याको हिसाबले) राष्ट्र हुन आउँछ। फेसबुकका नागरिकहरूले एक अर्कासँग सजिलै र सस्तोमा अन्तर्क्रिया गर्छन। व्यापार सृजनाको क्षेत्रमा फेसबुकको विकास आफैमा एउटा चमत्कार हो।

 फेसबुकले व्यक्ति-व्यक्ति बिचको सम्पर्कलाई ज्यादै छरितो र सरल पारिदिएको छ। साथै सूचना लागत (information costs) लाई पनि ज्यादै सस्तो पारिदिएको छ। स्थिति अहिले यस्तो छ कि संसारभरिमा नै सामान्य आम्दानी हुने व्यक्तिहरूको पनि सूचना र जानकारी उत्पादन र वितरणमा पहुँच बढेर गएको छ। एक सामान्य आम्दानी हुने व्यक्तिले पनि फेसबुक प्रयोग गरेर आफ्नो मनमा लागेको कुरा एक मिनटमा नै करोडौ व्यक्ति समक्ष पुर्याउने सक्छ। फेसबुकले सूचना र जानकारी लागतलाई अभूतपूर्व किसिमले सस्तो पारिदिएको छ।

माथि उल्लेख गरिएका कुराहरू फेसबुकले सूचना र जानकारीको क्षेत्रमा पुर्याएको खास योगदानसँग बढी सम्बन्धित छन। तर फेसबुकको भूमिका यतिमा मात्रा सीमित छैन। फेसबुकले अमेरिकामा मात्र होइन, संसारभरिमा नै रोजगारी सृजना गर्नमा महत्वपूर्न योगदान पुर्याएको छ। फेसबुकले अनेकौलाई रोजगारी दिएर रोजगारीको स्तरमा नै वृद्धि गरिदिएको छ।

यहाँ फेसबुकको उदाहरण सहित भन्न खोजेको महत्वपूर्ण कुरा के हो भने नया नया व्यापारहरूको विकास गरेर रोजगारीको स्तरमा वृद्धि गर्न सकिन्छ। धेरै व्यक्तिहरूलाई रोजगारी प्रदान गर्न सकिन्छ। नया नया व्यापारको विकास गरेर बेरोजगारी धेरै हदसम्म कम गर्न सकिन्छ।

अमेरिकामा फेसबुक, गुगल, उबर, ट्विटर, युट्युब जस्ता ठूला स्तरका मात्र होइन साना स्तरका नया नया व्यापारहरूको पनि विकास भएको पाइन्छ र ती नया नया व्यापारहरूले रोजगारी वृद्धि गर्नमा महत्वपूर्ण योगादन पुर्याएको अनुभव गर्न सकिन्छ। ‘अर्डर’ भने अनलाईन गर्ने तर सामान सम्बन्धित स्टोरमा गएर लिने, समान मन नपरेमा सोही स्टोरमा फिर्ता गर्ने प्रथा हालै विकास भएका नया व्यापारहरू मध्येको एक हो। अमेरिकामा यस किसिमको बिक्रीले पनि निकै लोकप्रियता पाएको छ। धेरै खुद्रा भण्डारहरूले यस किसिमको बिक्री पद्धतिबाट समान बिक्री गरि रहेका छन। यस किसिमको बिक्री प्रणालीलाई नया व्यापारको सृजनाको रुपमा लिन सकिन्छ।

अमेरिका र युरोपमा र खास गरी अमेरिकामा हरेक वर्ष नया नया किसिमक व्यापारहरूको सृजना भएको र ती व्यापारहरूले रोजगारीका थप अवसरहरू सृजना गरेको पाइन्छ। तर दक्षिण एशियामा र खास गरी नेपालमा नया नया व्यपारहरूको सृजना भएको पाइँदैन। किन होला? यो प्रश्नको उत्तर खोज्न नितान्त आवश्यक छ। यो प्रश्नको उत्तर रोजगारीको स्तर वृद्धिसँग प्रत्यक्ष रुपमा सम्बन्धित छ।

माथिको प्रश्नको उत्तर खोज्ने प्रयास गरौ। नेपालमा नया नया व्यापारको विकास नहुनुको प्रमुख कारण हाम्रो समाज परम्परागत हुनु हो। परम्परागत समाजले आन्ट्रेप्रेनिउर (उद्यमी) उत्पादन गर्न सक्तैन। हाम्रो समाजले कुनै पनि व्यक्तिलाई उद्यमी हुन प्रेरित गर्दैन, उल्टो कुनै नया व्यवसाय गर्ने खोज्ने व्यक्तिलाई दसओटा डर देखाएर उक्त व्यवसाय नगर्न मनोवैज्ञानिक दबाब दिन्छ। यस्तो अवस्थमा कसरी नया नया व्यापारको विकास नहुन सक्छ?  

केही दशक पहिलेसम्म पनि परिवार वा अभिवाकहरूले आफ्ना सन्तानहरूलाई डाक्टर वा इन्जिनिएर हुन प्रेरित गर्थै। सन्तानले पढेर डाक्टर वा इन्जिनिएर भएकोमा सन्तोष मान्ने मात्र होइन समाजमा आफ्नो इज्जत बढको ठानेर गर्व गर्थ्ये। एक किसिमले घमण्ड गर्थे। अर्कोतिर, सानो तिनो स्वरोजगार गरेर जीवन धानिरहेका सन्तानका बाबुआमाले भने आफ्नो सन्तान (न)पढेर डाक्टर वा इन्जिनिएर नभएकोमा हिनताबोध गर्थे। आफ्नो सन्तानले के पेशा गर्छ सो कुरा पनि प्रस्टसँग दसजनाको अगाडि भन्न चाहन्थेनन्। कति ठूलो आश्चर्य र कस्तो विडम्बना!

डाक्टर वा इन्जिनिएर पढेको व्यक्तिले स्बयं रोजगारी खोज्नु पर्छ। त्यस्तो व्यक्तिले रोजगारी सृजना गर्नमा कुनै महत्वपूरण योगदान पुर्याउन सक्तैन, केही अपवाद बाहेक। तर एउटा सामान्य व्यापारीले, यदि उसले कुनै व्यवसाय (पसल, होटल, रेष्टुरेन्ट आदि) गरेको छ भने उक्त व्यवसायमा उसले केही व्यक्तिहरूलाई रोजगारी दिन सक्छ।

अब हाम्रो सामाजि सोंच तिर लागौ र यसको विश्लेशण गरौ। एक इन्जिनिएर वा डाक्टले आफू स्वयंले रोजगारी खोज्नु पर्ने हुन्छ र उसले रोजगारी पाएमा पनि आफ्नो, केवल नितान्त आफ्नो, आर्थिक स्थिति बलियो पार्ने बाहेक अरु केही गर्न सक्तैन। तैपनि हाम्रो समाज, अहिले पनि, आफ्नो सन्तानलाई इन्जिनिएर वा डाक्टर बनाउन आतुर रहेको देखिन्छ। जबकी स्वयं रोजगार हुने, केही व्यक्तिहरूलाई रोजगारी समेत दिने, उत्साहका साथ अगाडि बढेको सन्तानलाई परिवारहरुले खास किसिमको व्यवसाय गर्न प्रेरित गर्दैनन। किनभने हाम्रो समाजले सन्तान इन्जिनियर वा डाक्टर भएकोमा जति इज्जत बढेको देख्छ त्येति इज्जत बढेको आफ्नो सन्तान सामान्य व्यापारी भएकोमा देख्दैन। हाम्रो समाजले पेशमा नै ठूलो बिभेद गर्छ। यस्तो स्थितिमा कसरी हाम्रो युवा पिढीले नया नया व्यापारको विकास गर्न सक्छ?

नेपालमा नया नया व्यापारहरूको विकास हुन नसक्नुको अर्को महत्वपूर्ण कारण हाम्रो समाजले सरकारी जागिरलाई ज्यादै प्रतिष्ठित ठानेर सरकारी जागिरको तुलनामा व्यापारलाई महत्व नदिनु हो। रोजगारीको कुरा गर्दा, आफ्नो सन्तानको रोजगारीको लागि नेपालमा प्रत्येक अभिभावले सरकारी जागिरलाई प्रथम प्राथमिकतामा राख्छ र आफ्ना सन्तानहरूलाई सरकारी जागिरमा जान प्रेरित गर्छ। सरकारी जागिर रोजगारीको राम्रो क्षेत्र मात्र होइन, इज्जत र गर्वको विषय पनि हुन पुगेको छ हाम्रो समाजमा। सरकारी जागिरको उच्च पदमा पुगेको कुनै व्यक्ति (सचिव) ले फुटपाथमा व्यापार गर्ने कुनै एक सामान्य व्यापारीसँग बसरे उसैको छेउमा चिया खानु उक्त सचिवको इज्जत गए सरह हुन्छ। सरकारी जागिरको नेपालमा इज्जत पहाड जत्तिको अग्लो छ जबकी सरकारी जागिरमा रहेको त्यो व्यक्तिले थप एक जनालाई रोजगारी दिन सक्तैन आफू रोजगार हुनु बाहेक। तर एक उद्योग सञ्चालन गर्ने व्यक्तिले आफूलाई राजगारयुक्त बनाउँछ नै साथै पचासौ व्यक्तिहरूलाई पनि रोजगारी दिन्छ।

हाम्रो समाजको सोंच, मान्यता, परम्परा, विश्वास आदिमा परिवर्तन ल्याउन आवस्यक छ। यस्तो गर्न सकिएमा मात्र व्यक्तिहरूको व्यापारप्रतिको दृष्टिकोण सकारात्मक हुन सक्छ। यो क्षेत्रमा वहुसंख्यक व्यक्तिहरूको प्रवेश हुन्छ। व्यापारीहरूको संख्यामा वृददि हुन्छ। व्यापारीहरूको संख्यामा वृद्धि भएमा नया नया व्यापारहरूको सृजना हुन्छ। रोजगारी थप अवसरहरू सृजना हुन्छन।

रोजगारीका नया नया अबसरहरू सृजना गरेर, वहुसंख्यक व्यक्तिहरूलाई रोजगारी प्रदान गर्दै  देशको अर्थतन्त्रलाई सबल तुल्याउन नया नया व्यापारहरूको विकास गर्न आवश्यक छ। र नया नया व्यापारको विकास गर्न समाजले युवाहरुलाई उत्प्रेरित गर्न आवस्यक छ। सकारात्मक समाजिक वातावरण युवाहरूले पाए भने मात्र नया नया व्यापारको सृजना गर्न सक्छन।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, March 12, 2021

No comments:

Post a Comment