Friday, August 23, 2013

People's Multiparty Republic Needs Clarification-Article 102 Birth, Development, and Usage of Capitalim

पूँजीवादको जन्म, विकास र प्रयोग

२५. प्रष्ट पार्न बाँकि जनताको बहुदलीय जनबाद

चुनाव नजिकिंदै गर्दा एमालेले आफ्नो आर्थिक नीति जनताको बहुदलीय जनवाद (जबज) मा आधारित हुने  सन्देश दिइ रहेको छ। जबजलाई परिभाषित र व्याख्या गर्ने कार्य पनि गरि रहेको छ। जबजलाई श्रमजीवी जनताको कल्याणमा केन्द्रीत रहेको देखाउँदै छ। जबज खास गरी अति निर्धन, असहाय निमुखाहरुको कल्याणमा समर्पित रहेको तर्कहरु पेश गर्दैछ। पत्र पत्रिकाहरुमा एमालेका नेताहरुका जबज सम्बन्धी प्रकाशित लेखहरु अध्ययन गर्दा त्यस्तो लाग्छ। तर अर्कोतिर जबज आफैमा स्पष्ट छैन। सर्व प्रथम, जबज के हो? यो एक राजनैतिक वा आर्थिक सिद्धान्त हो, स्पष्ट छैन। यदि यो एक राजनैतिक सिद्धान्त हो भने यस अन्तरगत राजनैतिक व्यवस्था, चुनाव पद्धति, प्रेस स्वतन्त्रता, नेतृत्व शैली, व्यक्तिको अभिव्यक्ति स्वतनत्रता, न्याय प्रणाली, शासकीय स्वरुप, धार्मिक एवं सांस्कृतिक स्वतन्त्रता, आदि कस्तो किसिमको हुने हो, त्यस सम्बन्धी तथ्यहरु प्रस्तुत गर्ने मात्र होइन त्यसलाई सर्व साधारण (लेख पढ गर्न नजान्नेसम्म) ले बुझ्ने किसिमबाट प्रष्ट पार्न पनि आवश्यक छ। तर, यदि जबज केवल एक आर्थिक सिद्धान्त मात्र हो भने पनि उत्पादनका साधनहरु- भूमि, श्रम, पूँजी र संगठनहरु माथि व्यक्ति वा राज्य, कसको अधिकार हुने हो? व्यक्तिगत सम्पत्तिको सन्दर्भमा- मुनाफा आर्जन, लगानी एवं संचय गर्न व्यक्तिले पूर्ण छुट पाउने हो?  यदि आंशिक छुट पाउने हो भने कति छुट पाउने हो? वा राज्यले नियन्त्रण गर्ने हो? लगानी नीति कस्तो हुने हो? विदेशी कम्पनीहरुले नेपालमा कतिसम्म (हिस्सेदारी प्रतिशत) लगानी गर्न पाउने हुन? लगानीबाट प्राप्त भएको मुनाफा (सम्पूर्ण वा केही) कुनै झंझट बिना लग्ने पाउने हो वा सरकारले खास किसिमका अंकुश हरु लगाउने हो? स्थानीय स्रोत एवं साधनहरुमाथि स्थानीयहरुको स्वामित्व हुने वा केन्द्रको हुने हो? स्वदेशी उद्योग एवं व्यापारिक प्रतिष्ठानहरुले आफ्ना वस्तु एवं सेवाहरुको मूल्य बजार-प्रतिस्पर्धाको आधारमा निर्धारण गर्ने हो वा सरकारको निर्देशन अनुसार गर्ने हो? विश्व व्यापार संगठन प्रतिको नीति कस्तो हुने हो? भूमिको स्वामित्व (हदवन्दी) वा वितरणको स्वरुप कुन किसिमको हुने हो? राष्ट्रिय उद्योग एवं व्यापारको विस्तार एवं विकासमा सरकारको भूमिका केवल एक सहजकर्ताको हुने हो वा नियन्त्रकारी हुने हो? यस किसिमका विभिन्न महत्वपूर्ण तथ्यहरु बारे जबज अन्तरगत एमालेले राष्ट्रिय मात्र होइन, अन्तरार्ष्ट्रिय स्तरमा समेत सबैलाई प्रष्ट पार्न नितान्त आवश्यक छ। किनभने जबज, नेकपा (एमाले) जस्तो एक जिम्मेबार राजनैतिक दलको कार्यक्रम हो र आउने दिनहरुमा यसले सम्पूर्ण नेपालीको राजनैतिक एवं आर्थिक जिवनलाई प्रभावित गर्नेछ। र अझै, गरिबहरुलाई त झनै अशल प्रभाव पार्ने आशा गर्न सकिन्छ, र सकारात्मक प्रभाव पार्नु पर्दछ पनिछ किनभने जबजको व्याख्या अनुसार यो गरिबहरुको अति हितमा रहेको उल्लेख गरिएको छ। साथै यसले नेपालको अन्तरार्ष्ट्रिय व्यापारलाई समेत उत्तिकै प्रभाव पार्नेछ।
यसै गरी, जबज पूँजीवादको नजीक हो वा साम्यवादको? वा समाजवादको? अथवा जबज आफैमा छुटै एक नया एवं मौलिक राजनैतिक वा आर्थिक सिद्धान्त हो, जसको विकास एवं प्रयोग एमालेले गरेको हो? पूँजीवादको नजीक होइन भने के कति कारण वा कुन किसिमका प्रावधानहरुले गर्दा होइन? साम्य वा समाजवादको नजिक होइन भने के कति कारण वा कुन किसिमका प्रावधानहरुले गर्दा होइन? यी कुराहरु प्रष्ट पार्नु आवश्यक छ, एमालेले।
जबजले पनि यदि उत्पादनका साधनहरु राज्यको नियन्त्रणमा रहने छैन, बजारमा भएको प्रतिस्पर्धा (माग र आपूर्ति) द्वारा वस्तु एवं सेवाहरुको मूल्य निर्धारण हुने छ, सम्पत्तिमाथि व्यक्तिको अधिकारलाई कुण्ठित पारिने छैन, राष्ट्रिय उद्योग एवं व्यापारको विकास एवं विस्तारमा महत्वपूर्ण भूमिका निजी क्षेत्रको हुनेछ, योजना निर्माणलाई केन्द्रिय स्तरमा सीमित नाराखी स्थानीय स्तरमा निर्माण गर्न दिइने छ, सरकारले केवल एक सहजकर्ताको कार्य मात्र गर्ने छ जस्ता व्यवस्थाहरुलाई समावेस गर्दछ भने जबज र पूँजीवादमा के अन्तर रहन गयो त?
यसै गरी यदि जबजले, उत्पादनका साधनहरु राज्यको नियन्त्रणमा रहने छ, वस्तु एवं सेवाको मूल्य बजार (प्रतिस्पर्धा) को स्थिति अनुसार निर्धारण गरिने छैन, सरकारले हस्तक्षेप गर्नेछ, तोकिएका वा आवश्यक देखिएका क्षेत्रहरुमा राज्यले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने छ, मुलुकको आर्थिक विकासका लागि सार्वजनिक एवं निजी क्षेत्रको भूमिका लाई समान किसिमले महत्व दिनुका साथै मुलुकको समग्र आर्थिक विकासका लागि राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्ने छ, जस्ता प्रावधानहरुलाई अर्थ व्यवस्थाका आधारभूत तत्वको रुपमा लिए, जबजलाई केन्द्रिकृत वा साम्यवादी अर्थ व्यवस्था भन्दा पृथक रहेको  कसरी मान्ने?  
केही एमाले नेताहरुले भने जबजलाई सर्व साधारणले बुझ्न सक्ने गरी छोटकरीमा व्याख्य गर्न खोजेका छन। केहीको भनाईमा “जनवादी कार्यक्रममा बहुदलीयता थपेपछि जनताको बहुदलीय जनवाद बन्छ। लोकतान्त्रिक विधिद्वारा समाजको प्रगतिशील (श्रमजीवी वर्गिय) रुपान्तरणको बाटो जनताको बहुदलीय जनवादी सिद्धान्त हो। यो नयाँ जनवाद जस्तो सशस्त्र क्रान्तिको बाटो पनि होइन र केवल लोकतान्त्रीकरणका नाममा चुनावदेखि चुनावसम्मको गोलचक्कर पनि होइन। जबजले लोकतान्त्रिक बाटो अवलम्बन गर्छ, तर केवल लोकतान्त्रिक पार्टी होइन, यसले समाजलाई श्रमजीवी वर्गको पक्षमा रुपान्तरित गर्ने ध्येय राख्छ। तर यो परम्परागत कम्युनिष्ट पार्टी होइन, जसले हिंसालाई नै क्रान्तिको बाटो मानोस।”
अर्को व्याख्या अनुसार “आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता, विधवा भत्ता र संयुक्त राष्ट्रसंघमा समेत प्रशंसा पाएको सुत्केरी भत्ता जबजका देखिने र सुनिने कार्यक्रम थिए। सर्वोपरि रुपमा जनताको बहुदलीय जनवादले विश्वव्यापी रुपमै चलिरहेको सिद्धान्तको बहसमा एउटा नयाँ आयाम थपेको थियो। असफल सोभियत मोडेल समाजवाद र संकटमा फँस्दै गएको नवउदारवादको स्थानमा यसले नयाँ विकल्प अगाडि सारेको थियो। सामाजिक न्यायसहितको लोकतन्त्र यो विकल्प थियो।
माथि जबजसम्बन्धमा प्रस्तुत गरिएका व्याख्याहरुले जबजको  अर्थलाई सम्पर्ण रुपमा प्रष्ट्याउँदैन। तर यसलाई सर्व साधारण लगाएत राजनीति एवं आर्थिक क्षेत्रका विज्ञहरुका साथै अन्तरार्ष्ट्रिय समुदायले समेत सजिलै बुझ्ने गरि प्रष्ट पार्न आवश्यक छ। अहिले, कुनै पनि मुलुक अनिवार्य रुपमा विश्व अर्थ व्यवस्थामा आवद्ध हुनु पर्ने वाध्यता रहेकोले एमालेले आफ्नो आर्थिक दर्शन अन्तरार्ष्ट्रिय साझेदारहरुलाई पनि बुझाउन नितान्त आवश्यक छ।
जबजको कुरा उठ्दा सहसा एमाले दिवङ्गत नेता मदन भण्डारीको नाम पनि जोडिन आउँछ। जबज, मदन भण्डारीद्वारा विकास गरिएको उनको एकल अवधारणा हो अथवा सिंगो एमाले संगठनले विकास गरेको अवधारणा हो? वा मदन भण्डारीको जबज अवधारणालाई एमालेले संगठनको अवधारणाको रुपमा लिएको हो? यसै गरी साम्यवादी व्यवस्थामा आएका परिवर्तनहरुलाई आत्मसात गर्ने सन्दर्भमा एमालेले अपनाएको जबजलाई मदन भण्डारीले केवल व्यवस्थित किसिमले व्याख्या मात्र गरि दिएका हुन? यी प्रश्नहरुको उत्तर पनि स्पष्ट रुममा एमालेले जनतालाई दिन आवश्यक छ। यी प्रश्नका उत्तरहरु एमालेका नेता एवं कार्यकर्ताहरुलाई थाहा हुन सक्छ होला तर उनीहरुले मात्र थाहा पाएर भएन, सामान्य जनताले पनि थाहा पाउनु पर्यो, यथार्थ के हो भनेर। यसै गरी, के जबज एमालेको दीर्घकालिन नीति हो? के एमाले केवल यही नीतिमा कायम रहि रहने छ, दीर्घकालसम्म? वा जबज एमालेको केवल चुनावी रणनीति मात्र हो? यी प्रश्नहरुको उत्तर पनि स्पष्ट रुपमा दिन उत्तिकै आवश्यक छ, एमालेले।
सर्वाधिक महत्वपूर्ण कुरा त के हो भने एमालेले कुन धार अपनाएको हो, पूँजीवादी वा साम्यवादी, जनतालाई प्रष्ट पार्न आवश्यक छ। अथवा परम्परागत यी दुबै धार छाडेर नया धार (जबज) अपनाएको हो भने त्यो नया धारको व्याख्या स्पष्ट किसिमले जनतासमक्ष पुर्याउन नितान्त आवश्यक छ। अर्थ व्यवस्थाको सम्बन्धमा एमाले प्रष्ट हुन र आफू प्रष्ट रहेको जानकारी जनता समक्ष पुर्याउन नितान्त आवश्य छ। एमालेले आफूलाई अर्थ व्यवस्थाका सम्बन्धमा प्रष्ट पारेको आधारमा नै जनताले आफ्नो मत प्रकट गर्ने छन्, आउँदो चुनावमा, अन्य जल्दा बल्दा विषयहरुलाई थाँति राखेर भन्ने हो भने। नेपाली जनता गरिबीबाट मुक्ति चाहन्छ। परिवारहरु आफ्ना सन्तान उजाड एवं निरस रेगिस्तानको तातोमा पोलिएको, विदेशको बिरानो भूमिमा केवल पेट भर्नका लागि भौंतारिएको अनि अनिश्चिततामा पनि मृत्युको जोखिम मोलेर सुनौलो भविष्यको सपनामा स्वदेशको सीमाना काटेको देख्न चाहँदैनन। जनता, राजनैतिकदलहरुमा अलमलको स्थिति देख्न चाहँदैन, स्पष्टता देख्न चाहन्छ, मुख्य गरी आर्थिक व्यवस्थाको सम्बन्ध। अलमल र अनिश्चितताको स्थितिमा धेरे बसे नेपालीहरु। यसै गरी सपना र भ्रममा पनि निकै बाँचे परिवारहरु। अब भने जनताले स्पष्टता चाहेको छ। गरिबीबाट मुक्ति चाहेको छ।
(यो लेख तयार पार्दा, केही दिन पहिले कान्तिपुर दैनिकमा प्रकाशित प्रदीप ज्ञवालीको लेख- जनताको बहुदलीय जनवाद र उठाइएका प्रश्न/ घनश्याम भूसाल, परशु गुरुङ, प्रकाश ज्वाला, अरुण नेपाल, योगेश भट्टराई र डा विजय पौडेलको लेख- ‘जबज’ माथि बहसको वास्तविकता/ रवीन्द्र अधिकारीको लेख- पूँजीवाद, समाजवाद र आर्थिक विकास/ केशव दाहालको लेख-जबज: अधुरो विकल्प/ अच्युत वाग्लेको लेख- कम्युनिज्म र विकास दृष्टि एव अन्य केही लेखकहरुका लेखहरुलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गरिएको छ।)


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, August 23, 2013

No comments:

Post a Comment