Friday, August 16, 2013

There Is No Alternative Of Capitalism-101 Birth, Development, and Usages of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२४. पूँजीवादको विकल्प पूँजीवाद नै हो

नेपाल गरिब हुनु र यहाँका गरिबहरुको आर्थिक जिवनमा अहिलेसम्म पनि उल्लेखनीय सुधार नआउनुका पछाडि धेरै कारणहरु छन्। ती कारणहरु मध्ये प्रमुख भने नेपालको राजनैतिक दलका नेताहरुको  दलगत  एवं व्यक्तिगत स्वार्थ हो, नेताहरुको अदूरदर्शी नीति हो। अझै, नेताहरुको व्यक्तिगत स्वार्थ त गरिबीको प्रमुख कारणको रुपमा प्रस्तुत भएको छ। नेताहरुले गरिबहरुको गरिबीलाई आफ्नो स्वार्थसिद्धिका लागि व्यापक उपयोग गरे। र यो कार्य सबै भन्दा बढी कम्युनिष्टहरुले गरे। कम्युनिष्टहरुले गरिबहरुलाई केवल सपनाहरु मात्र बाँडे। यसै गरी, गरिबीबाट छुटकारा पाउने सजिला (जुन दीर्घकालमा न त व्यवहारीक हुने न त गरिबहरुलाई स्वावलम्बी तुल्याउने) तरिकाहरु सिकाए। आफूहरुले ठोस प्रयास गर्नुको साटो ज्यादै सजिलो- धनीहरुको घर जग्गा खोसेर गरिबहरुलाई बाँड्ने, तरिका प्रयोगमा ल्याए। त्यस्ता तरिकाहरुले गरिबहरुको आर्थिक जिवनमा सुधार आउनुको सट्टा उल्टो धनी र गरिब बीचको वर्षौदेखिको स्थापित सुमधुर सम्बन्ध  अति खराब हुन पुग्यो। साथै मुलुकमा हिँसा, हत्याको संस्कृति विकास भयो। त्यो हिंसाको संस्कृतिले, हिंसालाई जायज मात्र पारेन, आफ्नो माग पूरा गराउन हिंसा प्रयोग गर्नु पर्छ भन्ने मान्यता समेत स्थापित गरी दियो। सानो सानो मतभेदमा पनि व्यक्तिहरु एक अर्काको ज्यान लिन उद्दत भएको देखियो। समाजमा हिंसा अभूतपूर्व किसिमले बढ्यो। जवकि कुनै पनि मुलुकमा आर्थिक विकास हुनका लागि शान्ति पूर्व सर्तको रुपमा रहेको हुन्छ। हिंसाको संस्कृतिमा कुनै पनि समाजले आर्थिक विकास गर्न सक्तैन र गरेको उदाहरण पनि छैन। सामाजिक विकास त कोषौं परको कुरा हो। विकास वा गरिबहरुको हित गर्ने निंहुमा कुनै समयमा हिंसा प्रयोग गर्ने राष्ट्रहरु- रुस र चीन, अहिले आएर, त्यसरी प्रयोग गरिएको हिंसा अर्थहीन थियो भन्ने निष्कर्ष झिक्दै छन, मुख्य गरी चीनले। हत्या, हिंसाद्वारा ल्याइएको, राजनैतिक वा आर्थिक, कुनै पनि किसिम परिवर्तन, समाजका लागि लाभदाय भएको देखिएको छैन्। त्यसले दीर्घ जिवन पाएको छैन। यो तथ्यलाई, चीनमा भएका  घटनाहरुको विश्लेषण गरेर थाहा पाउन सकिन्छ। चीनमा गरिबहरुको हित गर्न भनेर नै सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति भएको थियो। तत्कालिन चीनिया कम्युनिष्ट पार्टीका प्रमुख माओ त्से तुङ द्वारा थालिएको त्यो सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य पूँजीवादी एवं परम्परागत चीनिया सामाजिक संरचनालाई भत्काएर त्यसको साटो माओको सिद्धान्त (कम्युनिज्म) मा आधारित समाजिक व्यवस्था स्थापना गर्नु थियो। बलपूर्व ल्याइएको त्यो परिवर्तनले चीनिया समाजलाई यति नराम्रो असर पार्यो कि त्यसको असर पछि सम्म मुलुकको सामाजिक तथा आर्थिक व्यवस्थामा परिनै रह्यो। गरिबहरुको हित भन्दा पनि माओ त्से  तुङलाई सक्तिशाली तुल्याउन सफल भएको त्यो चीनिया सांकृतिक क्रान्तिमा करिब ३० लाख मानिस मारिएका थिए। तर त्यस बेला मारिनेहरुको संख्या सहि किसिमले प्रस्तुत नगरिएको वा पुलिस अथवा स्थानीय अधिकारीहरुद्वारा लुकाईएको हुनाले मारिनेहरुको संख्या यकिन साथ भन्न सकिने स्थिति छैन्। त्यो अति हिंसात्मक सांस्कृतिक क्रान्तिबाट प्रभावित हुनेहरुको संख्या पनि दस करोड जति थियो। सांस्कृति क्रान्तिमा भएका विभिन्न हिंसात्मक घटनाहरु डरलाग्दो र कहालीपूर्ण थिए।  धेरैलाई, केवल कसैको तजबिजमा, कुट्ने, जेल पठाउने, बलत्कार गर्ने, यातना दिने, बेइज्जति गर्ने, सामाजिक बहिष्कार गर्ने, स्वास्थ्य उपचार गर्न नदिने, सम्पत्ति खोस्ने जस्ता कार्यहरु भए। खान न दिएर, बढी काम गराएर, एवं हत्या गरेर लाखौंलाई मृत्युको मुखमा पुर्याइयो। तत्कालिन प्रशासनले त्यसरी मारिनेहरुमाथि सुराकी गरेको, क्रान्तिको विपक्षमा रहेको, बुर्जुवा भएको जस्ता आरोपहरु लगाएको थियो। धेरैले, केरकारको समयमा दिइने मानसिक र शारिरीक यातना खप्न नसकेर आत्महत्या समेत गरे। त्यसरी यातना सहन नसकेर आत्महत्या गर्नेहरुमा देंग जाओपेंगका छोरा देंग पुफांग पनि थिए। रेड गार्डको यातना सहन न सकेर उनले चार तल्ले घरबाट हाम फालेका थिए। उनी मर्न त मरेनन् तर अपांग भए। उनको शरीरको तल्लो भाग नचल्ने भयो। तर, देंग पुफांगलाई कसैले खसाली दिएको भन्नेहरु पनि छन्।  
आश्चर्य लाग्दो त के छ, भने गरिब वा श्रमिक वर्गको लागि भनेर त्यसरी बलपूर्वक ल्याइएको सामाजिक तथा राजनैतिक परिवर्तनको आयु लामो हुन सकेन। मुस्किल मुस्किले दस वर्षसम्म मात्र कायम रहन सके ती परिवर्तनका असरहरु। सन् १९७६ मा माओ त्से तुङको मृत्यु भयो। उनको मृत्यु पश्चात उनले ल्याएका सामाजिक एवं राजनैतिक परिवर्तनहरु अगाडि बढ्न गार्यो हुन थाल्यो। अर्कोतिर भने, देंग जाओपेंगले ल्याएका सुधारका कार्यक्रमहरुले गति मात्र लिएनन् साथै समाजमा लोकप्रिय पनि हुन थाले। सन् १९७८ सम्ममा, सांस्कृतिक क्रान्तिका बेला माओ त्से तुङको नेतृत्वमा लागु गरिएका धेरै व्यवस्थाहरु चीनले परित्याग गरि सकेको थियो। गरिबहरुको हितका लागि भनी गरिएको सांस्कृतिक क्रान्तिले गरिबहरुको हितमा उल्लेखनीय कार्य गर्ने सकेन, न त राष्ट्र नै समृद्धिको दिशा तर्फ बढ्यो।
देंग जाओपेंगका आर्थिक सुधारका कार्यक्रमहरुले चीनिया अर्थ व्यवस्थामा सकारात्मक असर पर्न थाल्यो। उनले अर्थ व्यवस्थामा ल्याएको खुलापन वा बजार अर्थ व्यवस्था (Market Economy)  ले करोडौ चीनियाहरुको जिवनमा आर्थिक खुसहाली त ल्यायो नै समग्र राष्ट्र नै आर्थिक समृद्धिको दिशा तर्फ तिब्र गतिमा अगाडि बढ्यो। सन् १९८० देखि सुस्त किसिमले आर्थिक प्रगति भएता पनि सन् १९९० पछि भने चीनको आर्थिक विकास तिब्र गतिमा हुन थाल्यो। अहिले (सन् २०१३) चीन सं रा अमेरिका पछि, कुल गार्यहस्थ उत्पादन (GDP) को आधारमा, विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन सफल भएको छ। हुन त चीन सन् २०१० देखि नै विश्वको दोस्रो ठूलो अर्थ तन्त्र रहँदै आएको छ। जबकी सन् २००१ देखि सन् २००९ सम्म जापान निरन्तर रुपमा विश्वको दोस्रो ठूलो अर्थ तन्त्र रहँदै आएको थियो। सन् २००१ देखिको स्थितिलाई हेर्न हो भने चीन, २००१ देखि २००४ सम्म छैठौ, २००५ मा पाँचौ, २००६ मा चौथो, २००७ देखि २००९ सम्म (विश्वको) तेस्रो ठूलो अर्थ व्यवस्था हुन सफल भएको थियो। चीनले यसरी चमत्कारी किसिमले गरेको आर्थिक प्रगतिको आधारस्तम्भ खुला अर्थ व्यवस्था वा पूँजीवादी अर्थ व्यवस्था हो, देंग जाओपेंगको सुधारवादी (बजार) अर्थ व्यवस्था हो। माओ त्से तुङको साम्यवादी अर्थ व्यवस्थाले निरन्तरता पाएको भए चीनले यति ठूलो आर्थिक उपलब्धि कदापि हासिल गर्ने सक्ने थिएन। चीन गरिबीको स्थितिमा नै हुन्थ्यो। निर्धन चीनियाहरुको जिवनमा यस किसिमको सुधार आउने थिएन।
चीनलाई अहिले त्यहाँ रहेका चार वटा व्यवस्थाहरुले आर्थिक प्रगतिको दिशा  तर्फ तिब्र गतिमा दौडिन सहयोग पुर्याइ रहेका छन्। ती चार वटा व्यवस्थाहरु हुन – १. विदेशी लगानीकर्ताहरुको सुरक्षाको सुनिश्चितता २. निजी सम्पत्तिमाथि व्यक्तिको अधिकारको सुनिश्चितता ३.  बजार प्रणाली पुन: स्थापना ४. आर्जित नाफा बिना कुनै रोकटोक आफ्नो मुलुक फिर्ता लग्न पाउने व्यवस्था। समग्रमा भन्ने हो भने चीनको उदार अर्थ नीतिले चीनलाई आर्थिक उपलब्धि हासिल गर्न सघाइ रहेका छ। चीनको आर्थिक विकासको गतिलाई तिब्रता दिनमा साम्यवादी अर्थ व्यवस्थाको कुनै योगदान छैन। सन १९७६ सम्म, जबसम्म साम्यवादी व्यवस्थाका प्रावधानहरु सक्रिय रुपमा क्रियाशील थिए, चीनिया अर्थ तन्त्रले प्रगति गर्न सकेको थिएन।  
नेपालका विभिन्न राजनैतिक पार्टीका नेताहरु र मुख्य गरी कम्युनिष्ट पार्टीका नेताहरुले चीनमा भएको राजनैतिक परिवर्तन र आर्थिक प्रगतिबाट दुई वटा पाठ सिक्न आवश्यक देखिन्छ, ती हुन- १. हिंसा, हत्या र बलपूर्व ल्याइएको परिवर्तनले जनताको भलाई गर्न सक्तैन र त्यस्तो परिवर्तनको आयु लामो पनि हुँदैन। २. मुलुकको आर्थिक प्रगति द्रुततर गतिमा गर्न र गरिबहरुको जिवनमा आर्थिक खुसहाली ल्याउन मुलुकको  अर्थ व्यवस्था साम्यवादी होइन, पूँजीवादी हुन आवश्यक छ। पूँजीवादी अर्थ व्यवस्थामा जति सुकै विकृति भएता पनि पूँजीवादी अर्थ व्यवस्थाको विकल्प साम्यवादी वा समाजवादी अर्थ व्यवस्था होइन। पूँजीवादी अर्थ व्यवस्थाको विकल्प  पूँजीवादी अर्थ व्यवस्था नै हो। खराब पूँजीवादी अर्थ व्यवस्थाको विकल्प लोक कल्याणकारी एव गरिबमूखि पूँजीवादी अर्थ व्यवस्था हुन सक्छ। साम्यबादी अर्थ व्यवस्था भित्र सुधारको कुनै व्यवस्था हुँदैन। साम्यवादी अर्थ व्यवस्था निर्धारित लिकमा रेल हिंडे झै हिंड्ने गर्दछ । तर पूँजीवादी अर्थ व्यवस्थामा सुधारका असंख्य व्यवस्थाहरु हुन्छन किनभने पूँजीवाद प्रजान्त्रको जगमा उभिएको हुन्छ। व्यक्तिको वाक स्वतन्त्रता र व्यक्तिगत सम्पत्तिको सुरक्षा गरेको हुन्छ पूँजीवादले। व्यक्तिको भौतिक र बौद्धिक सम्पत्तिको प्रयोगमा स्वतन्त्रता र तिनको वास्तविक सुरक्षा भए पछि मात्र नया नया सृजनाहरुले प्रष्फुटित हुने अवसर पाउँछन। देश समृद्ध हुन्छ।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Wednesday, August 16, 2013

No comments:

Post a Comment