Friday, August 9, 2013

Capitalism Favors Also to the Poor People-100 Birth, Development, and Usages of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२३. पूँजीवादले गरिबहरुको हितको पनि रक्षा गर्दछ

पूँजीवादले केवल धनीहरुको पक्ष पोषण गर्दछ। गरिबहरुको भने यसले शोषण गर्दछ। यो भनाइमा विश्वास गर्नेहरु धेरै छन। यो भनाइमा विश्वास गर्नेहरुको संख्या धेरै मात्र होइन, त्यसरी विश्वास गर्नेहरु मध्ये केहीले आफ्नो व्यो विश्वास सर्वकालिक सत्य हो भनी त्यसमा कुनै किसिमको परिवर्तन नै नगर्ने अडान समेत व्यक्त गर्छन। उदेक लाग्दो त के छ भने पूँजीवादले केवल धनीहरुको हित गर्दछ भन्ने मान्यता समय सँग सँगै, व्यवहारद्वारा असत्य प्रमाणित हुँदै जाँदा पनि उनीहरु आफ्नो त्यो अडानमा कुनै किसिमको परिवर्तन ल्याउन तयार रहेको देखिएका छैनन्। पूँजीवादी राष्ट्रहरुले गरेको अति आर्थिक प्रगतिलाई मिथ्या मान्दछन। इश्वर बाहेक यो संसारमा सर्वकालिक सत्य कुनै कुरा छैन भन्ने यथार्थ थाहा हुँदाहुँदै पनि। बाग्मतिमा धेरै पानी बगि सक्यो। समयले कोल्टो फेरि सक्यो। कुनै समयमा कम्युनिष्ट रहि सकेका धेरै राष्ट्रहरुले  राजनैतिक व्यवस्था (कम्युनिज्म) नै परित्याग गरेर पूँजीवादी अर्थ व्यवस्था अंगाली सके। यी सवै घटनाहरु आफ्नै आँखाले देख्दा देख्दै पनि पूँजीवादले गरिबहरुको शोषण गर्छ भनी विश्वास गर्नेहरुको त्यस्तो सोंचाईमा भने कुनै किसिमको परिवर्तन आउन सकेको छैन। नेपालमा, आफूलाई कट्टर कम्युनिष्ट भन्नेहरु त पूँजीवादको पू सम्म पनि सुन्न चाहँदैनन।
पूँजीवादले धनीहरुको मात्र हित गर्दछ, गरिबहरुको चरम शोषण गर्दछ भन्ने पूँजीवाद बिरोधीहरुको धारणा केवल एक भ्रम हो। जसले पूँजीवादको बिरोध गर्दछ, तर यथार्थमा गरिबहरुको हित चाहेका छ, उनीहरुको यस्तो भ्रमले गरिबी न्यूनीकरण कार्यलाई झनै प्रतिकूल असर परेको छ। गरिबी न्यूनीकरणको कार्य निकै सुस्त र कठिन हुन पुगेको छ। गरिबहरु दयनीय गरिबी कै अवस्थामा अझै पनि रहि रहन बाध्य भएका छन्।
पूँजीवादको बिरोध गर्नेहरु अर्को थरि पनि छन्। यो अर्को थरिलाई पूँजीवादले गरिबहरुको शोषण गर्दैन बरु राज्य संचालन गर्ने जिम्मेवारी पाएका अदूरदर्शी एवं भ्रष्ट राजनीतिक नेता तथा प्रशासकहरुले गरिबहरुका लागि प्रतिकूल नीति बनाएर एवं आफ्नो स्वार्थी व्यवहार द्वारा गरिबहरुको शोषण गर्दछन भन्ने यथार्थ थाहा हुन्छ तैपनि गरिबहरुको सहानभूति पाउन उनीहरुले पूँजीवादको बिरोध गर्छन। पूँजीवादप्रतिको आफ्नो बिरोधलाई गरिबहरुको सहानभूति पाउने वा चुनाव जित्ने हतियारको रुपमा प्रयोग गर्छन। गरिबहरुलाई जहिले पनि पूँजीवादको भय देखाउँछन। धनीहरुलाई गरिबको वर्गीय सत्रु देखाएर चुनावमा गरिबबाट सहानभूति लिने दाउपेंच खेल्छन।
धनीहरु जति सबै गरिबका वर्गीय सत्रु हुन भनी प्रचार एवं भाषण गरेर राजनीति गर्न एवं चुनावमा जित्न सजिलो छ पनि। तर धनीहरु गरिबका वर्गीय सत्रु हुन भनी देखाउन जति सजिलो छ, गरिबहरुका लागि वास्तविक किसिमले आर्थिक रुपमा सहयोग पुग्ने तरिकाहरु सोंच्न र ती तरिकाहरुलाई व्यवहारमा लागु गर्न त्यो भन्दा गार्हो छ। त्यसकारण अधिकांस नेताहरु गार्हो कार्य गर्न अग्रसर हुँदैनन् र सजिलो कार्य गर्न पट्टि लाग्छन्। गरिब जनताको हितलाई वेवास्त गर्छन। केवल आफ्नो स्वार्थ मात्र पूर्ति मात्र ध्यान केन्द्रित गर्छन।    
पूँजीवादले गरिबहरुको शोषण गर्दैन बरु भ्रष्ट एवं स्वार्थी नेता, प्रशासक अनि यिनीहरुद्वारा बनाइएका नीति नियमहरुले गरिबहरुको शोषण गर्दछ, पूँजीवादी अर्थ व्यवस्थाका उदार एवं खुला नीतिहरुको दुरुपयोग गरेर। यो यथार्थ पूँजीवादको बिरोध गर्नेहरु भन्दा गरिबहरुले बढी बुझ्न अति आवश्यक छ। पूँजीवादी कहलिएका राष्ट्रहरुमा गरिबहरुको स्थिति अन्य राष्ट्र (जसले आफूलाई पूँजीवादी भन्न रुचाउँदैन र केही समाजवादी नियमहरु व्यवहारमा लागू गरेका पनि हुन्छ) हरुको तुलनामा निकै राम्रो देखिएको छ। पूँजीवादी अर्थ नीति अंगिकार गरेका राष्ट्रहरु- सं रा अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य, आदिमा गरिबहरुको आर्थिक स्थिति तुलनात्मक रुपमा असल रहेको देखिएको छ। यो व्यवहारिक जिवनमा देखिएको यथार्थ हो। कल्पनाको आधारमा प्रस्तुत गरिएको उदाहरण होइन। संयुक्त राज्य अमेरिकामा न्युनत्म ज्याला पाउने व्यक्तिले पनि सजिलैसंग जिवन निर्वाह गर्न सक्छ। दुई छाक कसरी टार्ने भन्ने समस्या हुँदैन, उसलाई। उसको त्यो आम्दानीले विलासी वा अर्ध विलासी सामाग्रीहरु खरिद गर्न गार्हो हुन सक्छ, त्यो बेग्लै कुरा हो तर पेट कसरी भर्ने भन्ने समस्या हुँदैन।
कुनै राज्य लोक कल्याणकारी छ। लोक कल्याणलाई राज्य निर्देशक सिद्धान्त मानेको छ। र त्यो राज्यले पूँजीवादी अर्थ नीति अंगिकार गरेको छ भने, त्यो स्थितिमा, पूँजीवादले गरिबहरुको शोषण गर्न सक्तैन किनभने लोक कल्याणकारी नीतिले गरिबहरुको हितको रक्षा गर्दछ। लोक कल्याणकारी राज्यले सरकारलाई गरिबहरुको हितमा ऐन, नियम निर्माण गर्न निर्देशित गर्दछ। सरकारले विभिन्न किसिमका कानूनहरु बनाएर गरिबहरुको हितको संरक्षण गर्दछ वा गर्न सक्छ। धनीहरुले प्राप्त गरेको उच्च मुनाफा (आय) लाई गरिबहरु समक्ष पुर्याउने चाँजोपाँजो मिलाउन सक्छ। लोक कल्याणकारी राज्यमा सरकारले गरिबहरुको हितमा निर्माण गर्ने विभिन्न नियम कानूनहरु मध्ये एक हो- कम आय भएका करदाताहरुबाट लिएको कर फेरि उनीहरुलाई फिर्ता गर्नु।
गरिबहरुको आर्थिक जिवनलाई सरल पार्न वा उनीहरुको क्रय शक्ति वृद्धि गर्न केही राष्ट्रहरुले आफ्ना कम आय भएका नागरिकहरुलाई कर छुट दिने गर्दछन्। कम आय भएका नागरिकहरुले, करका माध्यमद्वारा वर्ष भरिमा भुक्तान गरेका रकमलाई सरकारले फिर्ता दिने गर्दछ। यसरी कम आय भएका व्यक्तिहरुले वर्षमा एक पटक, त्यो वर्ष आफूले भुक्तान गरेको करको  रकम एक मुष्ट फिर्ता पाउने गर्दछन। लोक कल्याणकारी सरकारले यसरी पनि कमजोर आय भएका आफ्ना जनताको आर्थिक हितको रक्षा गर्दछ वा गर्न सक्छ।
लोक कल्याणकारी राज्यले आफ्नो कमजोर आय भएका जनताको आर्थिक हितका लागि गर्ने अर्को तरिका हो- सामाजिक सुरक्षा व्यवस्था गर्नु। सामाजिक सुरक्षा व्यवस्था अन्तरगत सरकारले आफ्नो नागरिकहरुलाई एक तोकिएको अवधि (उमेर) पछि मासिक रुपमा एक तोकिएको रकम  आजिवन प्रदान गर्दछ। तर यो तोकिएको रकम पाउनका लागि व्यक्तिले एउटा तोकिएको अवधिसम्म कार्य गरेको हुनु पर्दछ अथवा जागिर अवधिभरमा एक तोकिएको रकम पारिश्रमिक वा तलबका रुपमा आर्जन गरेको हुनु पर्दछ। सरकारी वा गैर सरकारी, स्थाई वा अस्थाई, पूर्णकालिक वा आंशिक, मासिक तलब वा घंटा अनुसार ज्याला, जस्तो सुकै किसिमको कार्य गरेता पनि व्यक्तिले सामाजिक सुरक्षा व्यवस्था अन्तरगत सेवा निवृत भए पछि एक तोकिएको रकम प्रत्येक महिना आजिवन पाउने गर्दछ, सामाजिक सुरक्षा व्यवस्था अन्तरगत।
लोक कल्याणकारी राज्यले कमजोर आय भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने अन्य थुप्रै तरिकारु छन। माथिका केही प्रतिनिधि उदाहरण मात्र हुन।

पूँजीवादले पूँजीको उत्पादन क्षमतामा व्यापक वृद्धि गर्दछ। धन अथवा आय आर्जनका नया नया तरिकहरुको खोजि गर्ने कार्यमा व्यापारीहरुलाई सहयोग पुर्याएर राष्ट्र एवं नागरिकलाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेल्दछ। राज्यको नियम कानूनलाई उदार एवं खुकुलो पारेर उद्यमी तथा व्यापारीहरुलाई उद्योग तथा व्यापार गर्न सजिलो वातावरण श्रृजना गरि दिन्छ। व्यक्तिगत सम्पत्तिको ग्यारंटी मात्रै गर्दैन जति सुकै ठूलो परिमाणमा पनि सम्पत्ति राख्न पाउने अधिकार समेत प्रदान गर्दछ। साथै व्यक्तिले आफ्नो धनको प्रयोग आफूले चाहेको क्षेत्रमा खर्च वा लगानी गर्न पाउने स्वतन्त्रता पनि प्रदान गरेको गर्दछ। यस्ता व्यवस्थाहरुले गर्दा पूँजीपतिहरु आफ्नो व्यापारको विस्तार गर्न प्रोत्साहित हुन्छन। अर्कोतिर लोक कल्याणकारी राज्य नीतिले विभिन्न किसिमका नीति नियमहरुको निर्माण गरेर धनीहरु संग थुप्रिएर रहेको वा रहन सक्ने आयलाई गरिबहरु सम्म पुर्याउने वातावरण श्रृजना गर्दछ। त्यसकारण पूँजीवादी राष्ट्रहरुले लोक कल्याण कारी नीति पनि अवलम्वन गरेका हुन्छन। यस प्रकार पूँजीवादले गरिबहरुको शोषण गर्दछ भनी विभिन्न पक्षहरुबाट व्यक्त गरिएको विचार एवं अडान केवल उनीहरुको भ्रम मात्र हो, वर्तमान विश्व अर्थ व्यवस्थालाई हेर्दा। पूँजीवादले गरिबहरुको शोषण गर्ने होइन, गरिबहरुको शोषण, पँजीवादलाई अगाडि बढाउने, कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तर जनउत्तरदायी नरहेको भ्रष्ट शासन व्यवस्था (सरकार) ले गर्छ वा गर्न सक्छ। देश हांक्ने अभिभार पाएको स्वार्थी नेताहरुको समूहले गर्छ वा गर्न सक्छ। 

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, August 09, 2013


No comments:

Post a Comment