Friday, April 18, 2014

Instability in CAR and its Impact on Economic Development-Article121


मध्य अफ्रिकी गणतन्त्रको अस्थिरता र अवरुद्ध आर्थिक विकास


 

अफ्रिकी महादेशका मुलुकहरु साधन र स्रोतहरुले सम्पन्न भएता पनि आर्थिक विकासको दृष्टिकोणले यूरोपेली मुलुकहरु भन्दा निकै पछाडि रहेका छन्। यसरी पछाडि पर्नुको मुख्य कारण अस्थिरता  र राजनैतिक नेताहरुको स्वार्थ हो। अफ्रिकी मुलुकहरुमा राजनैतिक अस्थिरता ल्याउनमा प्रमुख रुपमा जिम्मेबार भने त्यहाँका राजनैतिक नेताहरु हुन। त्यहाँका नेताहरुले आफ्नो स्वार्थ पूर्तिका लागि धर्म, साम्प्रदायिकता, क्षेत्रीयता, राष्ट्रियता, रंग, सीमाना आदि जस्ता संवेदनशील मुद्दा झिकेर नङ्ग र मासु जस्तो भएर मिलेर बसेको जनता जनता बीच कटुता ल्याए। एकलाई अर्काको बिरोधमा हतियार उठाउन उत्प्रेरित गरे। लाखौं लाखको ज्यान जाने युद्धहरु मच्चाए। अफ्रिकी मुलुका ती नेताहरुले अप्रजातान्त्रिक किसिमले लामो समयसम्म सत्तामा बसेर शक्तिको दुरुपयोग मात्र गरेनन्, केवल आफ्नो हितका लागि मुलुकका वहुमूल्य साधन र स्रोतहरुको प्रयोग पनि मनमानी किसिमले गरे। ती मत्वाकांक्षी नेताहरु आफ्नो स्वार्थ सिद्धि गर्न सफल त भए तर देश र जनतालाई गरिब पारे। ती स्वार्थी नेताहरुको महत्वाकांक्षा जनित हिंसाको सिकार भएर लाखौ लाखले ज्यान गुमाउनु पर्यो, करोडौ बेघरबार हुनु पर्यो। आफ्नो मुलुक छाडेर धेरै जना सरर्णार्थी हुनु पर्यो। आफ्नो स्वार्थका लागि नेताहरुले जनता जनता बीच फुट ल्याएर युद्ध गराउने क्रम अहिले पनि जारी छ, रोकिएको छैन्। यी कारणहरुले गर्दा अफ्रिकी मुलुकका जनतालाई गरिबको दुष्चक्रबाट बाहिर आउन गार्यो भइ रहेको छ।
चार्ल्स टेलर (लाइबेरिया), पौल बिया (केमेरुन), रोबर्ट मोगाबे (जिम्बाबे), जेनेरल सानी अबाचा (नाइजेरिया), सेकु तोरे (गिनी), मासिया नेगुमा (गिनी) सियद बर (सोमालिया), ओमर अल-बसिर (सुडान), हिसेन हाब्रे (चाड), जेनेरल इदि अमिन (युगान्डा), जेन-बादेल बोकासा (मध्य अफ्रिकी गणतन्त्र), मुअम्मर गद्दाफी (लिबिया) जस्ता अफ्रिकी नेताहरुले अप्रजातान्त्रिक किसिमले सत्तामा बसि शक्तिको दुरुपयोग गर्ने बदनामी मात्र कमाएनन, यी मध्ये केहीले मानवाधिकारको दुरुपयोग पनि डरलाग्दो किसिमले गरे। साधन र स्रोतहरु पनि उत्तिकै नाश पारे।
भनिन्छ लिबियाका तानाशाह मुअम्मर गद्दाफि आफ्नो मुलुक बाहिर जाँदा आफुले जुन ऊटको दुध खाने हो त्यो ऊट पनि साथमै लिएर जान्थ्ये। आफू हवाई जहाजमा गएको हो भने ऊटलाई पनि हवाई जहाजमा नै लिएर जान्थ्ये। उनका निवासका सहयोगीहरुमा विदेशी महिलाहरुको सख्या निकै थियो।
यसै गरी, सन् १९६६ मा सैनिक बिद्रोह गरी सत्ता हातमा लिन सफल भएका जेन-बादेल बोकासा, जो मध्य अफ्रिकी गणतन्त्रका राष्ट प्रमुख समेत भए, ले पनि सत्ताको निकै दुरुपयोग गरे। राष्ट्रिय सम्पत्तिको उपयोग आफ्नो स्वार्थका लागि मनोमानी किसिमले गरे। भनिन्छ, यिनले सन् १९७७ मा, आफूलाई नेपोलियन झै देखाउन, आफूलाई मध्य अफ्रिकी गणतन्त्रको बादशाह घोषणा गरे। एक भव्य समारोहको आयोजना गरेर बादशाहको श्रीपेंच समेत लगाए। त्यस बेला त्यो श्रीपेंच बनाउनका लागि राष्ट्रिय ढुकुटीबाट करिब दुई करोड अमेरिका डलर खर्च भएको थियो। श्रीपेंचमा जडान गरिएको हिराको मूल्य पनि पचास लाख डलर थियो। जबकि त्यति खेर मुलुकको आर्थिक स्थिति अति नै नाजुक भएर दिबालिया हुने अवस्थामा पुगेको थियो। सन् १९७९ मा, बोकासाले आफ्नो स्वामित्वमा रहेको कारखानाबाट उत्पादित यूनिफर्म लगाउन नमान्ने सयौं विद्यार्थीहरुलाई गिरफ्तार गर्न लगाए। त्यस्तो गर्ने विद्यार्थीहरु मध्ये एक सय जतिलाई उनका वफदार सुरक्षाकर्मीद्वारा आफ्नै अगाडि हत्या गर्न लगाए।
युगान्डाका राष्ट्रपति इदि अमिन आफ्नो समयमा हत्या र हिंसाको प्रायवाची बनेका थिए। उनले मान्छेको मासु खाएको आरोप समेत उनीमाथि लगाइएको थियो। सनकी, अविश्वासिलो व्यवहार गर्ने अमिन, जसले देशवासीलाई निकै दु:ख दिए, को नामलाई कुनै समयमा मजाकको रुपमा पनि प्रस्तुत गरिन्थ्यो।   
यो आलेखको प्रमुख उद्देश्य अफ्रिकाका धेरै नेताहरुले कुन किसिमका  अप्रजातान्त्रिक कार्यहरु गरे, तानाशी कायम गरेर आफ्नो महत्वाकांक्षा कसरी पूरा गरे भन्ने कुराहरु देखाउनु होइन। उनीहरुको करतुतको फेहरिस्त तयार पार्नु पनि होइन। यो आलेखको प्रमुख उद्देश्य मुलुक साधन र स्रोतले सम्पन्न भए पनि नेताहरु खराब भएमा उनीहरुले मुलुक र जनतालाई कसरी गरिब तुल्याउँछन् भन्ने विषयमा प्रकाश पार्नु हो। जनतालाई धर्म, क्षेत्र, सीमा, राष्ट्रियता जस्ता संवेदनशील विषयमा अल्झ्याएर नेताहरुले आफ्नो स्वार्थ कसरी पूरा गरि रहेका छन् भन्ने बारेमा छोटो चर्चा गर्नु हो।
धर्मको नाममा अहिले एक अफ्रिकी मुलुक- मध्य अफ्रिकी गणतन्त्र मा नेताहरुले डरलाग्दो स्थिति सृजना गरि दिएका छन्। पहिले त्यस देशका दुई जातीय समूह- क्रिस्चिय र मुस्लिम मिलेर बसेका थिए। अहिले भने उनीहरुको बीच गहिरो मत भिन्नता सृजना भएको छ। यसरी मतभेद सृजना गर्ने कार्य नेताहरुले गरेका छन्। यी दुई जातीय संगठनबाट बनका सस्त्रधारी संगठनहरुले एक अर्को जातिमाथि आक्रमण, लुट, बलत्कार, हत्याका श्रृङ्खलाहरु शुरु गरेका छन्। क्रिश्चियन सस्त्रधारी संगठन- एन्टी- बलका ( Anti-Balaka)  र मुस्लिम सस्त्रधारी संगठन- सेलेका (Seleka) द्वारा मच्चाइएको हिंसामा अहिलेसम्ममा हजारौंको ज्यान गइ सकेको छ। लाखौंले मुलुक छाडेका छन् भने स्वदेश भित्र रहेका करिब १३ लाख जतिले आसामान्य जीवन गुजार्न बाध्य हुनु परेको छ। दसकौं सम्म सत्तामा बसेका राष्ट्रपति फ्रान्सिस बोजिजलाई सन् २०१३ मा मुस्लिम बिद्रोहीहरुले सत्ताचुत गरेर शक्ति आफ्नो हातमा लिए पछि शुरू भएको गृह कलह अहिले पनि समाप्त भएको छैन। उल्टो झन झन चर्किएर गएको छ। अहिले त्यहाँ करिब ६ हजार अफ्रिकी र २ हजार फ्रेन्च शान्ति सेनाहरुले दंगा रोक्न सघाउ पुर्याइ रहेका छन्। हालै संयुक्त राष्ट्रसंघले १२ हजार सेना शान्ति स्थापनाका लागि मध्य अफ्रिकी गणतन्त्रमा पठाउने प्रस्तावमा स्वीकृति जनाएको छ। विश्लेषकहरु रवान्डामा सन् १९९४ मा भएको जातीय नरसंघारको घटना यस मुलुकमा पनि दोहरिने हो कि भनी चिंता व्यक्त गर्दै छन्। स्थिति त्यो हदसम्म बिग्रिएर गएको छ।
मध्य अफ्रिकी गणतन्त्रमा बाहुल्यता भने क्रिश्चियनहरुको रहेको छ। देशको कुल जनसंख्या मध्ये क्रिश्चियन ५०, मुस्लिम १५ र आदिबासी ३५ प्रतिशत रहेका छन्। केहीको  भनाइमा क्रिश्चियन नेताहरुले आफू पुन: शक्तिमा आउन मुस्लिम समुदायमाथि आक्रमण गर्न क्रिश्चियन सस्त्रधारी संगठनलाई उकासी रहेका छन्। तर अर्कोतिर सुखद कुरा के देखिएको छ भने क्रिश्चियन र मुस्लिम, दुबै तिरका धार्मिक नेताहरु- आर्कबिसोप र इमाम, समाजमा सद्भाव कायम गर्न खटिएका छन्। जनतालाई जातीय दंगामा नलाग्न भनी आग्रह गर्न ठाउँ ठाउँमा पुगि रहेका छन्। 
मध्य अफ्रिकामा अवस्थित, भूपरिवेष्ठित राष्ट्र मध्य अफ्रिकी गणतन्त्र साधन र स्रोतहरुका लागि धनी मानिन्छ। यहाँ सुन र हिराको उत्पादन हुन्छ। तर वर्षौदेखि चलेको संघर्ष र अस्थिरताले गर्दा यो मुलुकले उपलब्ध साधन र स्रोतहरुको उपयोग गर्न सकेको छैन। अति निर्धन जनता गरिबीको जाँतोमा पिसिन बाध्य छ।      
कुनै पनि मुलुकको जनता एक आपसमा मिलेर बस्न चाहन्छ, शान्ति चाहन्छ। सामान्य अवस्थामा जनताले कहिले पनि हिंसा चाहेको हुँदैन। तर जात, धर्म, सम्प्रदाय, राजनैतिक व्यवस्था आदिको नामम जनतालाई बन्दुक बोकाउने काम नेताहरुले नै गर्छन्। हिंसा नेताहरुको महत्वाकांक्षाले हुने हो। त्यसकारण जनतालाई गरिब पार्नमा नेताहरु नै बढी जिम्मेबार देखिएका छन्। अहिलेको अर्को ताजा घटना, जुन युक्रेनमा देखिएको छ, लाई लिने हो भने पनि यस कुराको पुष्टि हुन्छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनको उच्च महत्वाकांक्षा र युक्रेनका अदूरदर्शी नेताहरुको व्यवहारद्वारा सृजित समस्या, जसले अहिले युक्रेनलाई अस्तव्यस्त पारेको छ, ले पछि युक्रेन र रुसका गरिब जनतालाई नै कुप्रभाव पार्ने हो। अर्को शव्दमा, यी दुई देशका नेताहरुको महत्वाकांक्षाको मूल्य यहाँका जनताले चुकाउनु पर्दछ। झन झन गरिब भएर एवं मानसिक पीडा बोकेर त्यो मुल्य चुकाउनउ पर्दछ। आशा गरौ युक्रेनको समस्या सिघ्र समाधान होस। र त्यस्तै स्थिति मध्य अफ्रिकी गणतन्त्रमा पनि देखा परोस। दुबै देशका जनता थप गरिब हुन नपरोस।

 विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 18, 2014



No comments:

Post a Comment