Friday, April 4, 2014

Turkey's Election; Related with Economic Development-Article-119

आर्थिक विकाससँग गाँस्सिएको टर्कीको चुनाव

केही अपवादहरुलाई छाडेर कुरा गर्ने हो भने प्रजातन्त्र संसारको प्रत्येक मुलुकको जनतालाई प्यारो हुन्छ। प्रजातन्त्र प्राप्तिका लागि जनताले ठूला ठूला संघर्ष र आन्दोलनहरु गरेको छ र भविष्यमा पनि गरिनै नै रहने छ। प्रजातन्त्र स्वतन्त्र भएर बाँच्नका लागि सर्वाधिक आवश्यकीय तत्व हो। तर यो भनाइ सर्वकालिक सत्य हुन सक्दो रहेनछ। कुनै समय बिन्दुमा जनताले प्रजातन्त्रलाई भन्दा आर्थिक विकासलाई महत्व दिंदो रहेछ। स्थिरतालाई दिंदो रहेछ। अहिले टर्कीमा सम्पन्न भएको चुनावले यही कुरा संकेत गरेकोछ। केही दिन पहिले टर्कीमा स्थानीय निर्वाचन भएको थियो। सम्पन्न भएको सो निर्वाचनमा सत्तारुढ पार्टी ए. के. पि. (AKP-Justice and Development Party) ले विजय हासिल गरेको छ। यो स्थानीय निर्वाचनलाई टर्कीका वर्तमान प्रधान मंत्री रेसेप टाइप इर्डोगानको शासनको जनमत संग्रहको रुपमा पनि लिइएको थियो, र यो जनमत संग्रहमा उनी विजयी भए पनि। अर्थात उनको पार्टीले चुनावमा बिजय हासिल गर्यो। तर, अर्कोतिर भने प्रधान मंत्री इर्डोगानले निरंकुशता र भ्रस्टाचारको आरोप खेप्दै आएका छन्। जनताको प्रजातान्त्रिक आधिकारलाई उनले कुन्ठित पारेको आरोप उनका बिरोधीहरुले लगाउँदै आएका छन्। इर्डोगान प्रशासनले विश्व प्रसिद्ध सामाजिक संजाल ट्विटर र युट्युवको प्रयोग टर्कीभर बन्द गरेको छ। इर्डोगानको यो कदमले गर्दा खास गरी पश्चिमी राष्ट्रहरु उनको प्रजातन्त्रउपरको प्रतिवद्धताप्रति ससंकित हुन पुगेका छन्। इर्डोगान प्रशासनले भने ती सामाजिक संजालहरुले गलत सूचनाहरु प्रवाह गरेको आरोप लगाएको छ। गत वर्ष इस्तानबुलको गेजी पार्कमा भएको प्रदर्शन, जसमा आठ जनाको मृत्यु भएको  थियो, लाई इर्डोगानले बल पूर्वक दबाएको भनी समाचारहरुले उल्लेख गरेका थिए। सन् १९९४ देखि १९९८ सम्म स्तानबुलका मेयर रही सकेका इर्डोगान सन् २००३ मा टर्कीको प्रधान मंत्री नियुक्त भए देखि निरन्तर रुपमा, एघार वर्षदेखि सत्तामा कायम छन्। मुलुक भित्र उनको चर्को बिरोधको बाबजुत पनि ‘सुलतान’ कहलिएका इर्डोगान झनै लोकप्रिय हुँदै गएको देखिएको छ। हालै सम्मपन्न स्थानीय चुनावको परिणामले त्येही सत्य उजागर गर्दछ। एकातिर निरंकुश भएको आरोप खेप्दै आएका इर्डोगान अर्कोतिर भने लोकप्रिय पनि देखिएका छन। यस्तो हुनुको कारण के होला त?
इर्डोगान टर्कीको राजनीतिमा बलियो हुँदै जानुको पछाडि दुई कारणहरु प्रमुख रुपमा जिम्मेबार  छन्। पहिलो, टर्कीका विपक्षीदलहरु सत्तारुढ दललाई पराजित गर्न सक्ने किसिमले बलियो छैनन्। उनीहरु विभाजित छन, सत्तारुढ दललाई टक्कर दिन एक जुट हुन सकि रहेका छैनन्। दोस्रो, इर्डोगान सरकारले टर्कीको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको छ। प्रधान मंत्री इर्डोगानको कार्यकालमा टर्कीको आर्थिक स्थिति बलियो हुँदै गएको छ। हुन पनि अहिले यूरोपेली राष्ट्रहरुले आर्थिक कठिनाइको सामना गरि रहनु पर्दा टर्कीमा त्यस्तो कुनै पनि किसिम गंभिर आर्थिक समस्या देखिएको छैन। बरु उल्टो टर्कीले उल्लेखनीय किसिमबाट आर्थिक प्रगति गरेको छ। समाचारहरुमा उल्लेख भए अनुसार इर्डोगान सरकारले मुख्य गरी टर्कीका मेहनतकस जनता (Working class) को आर्थिक हितमा बढी ध्यान दिएको छ। मेहनतकस जनताको भोटले सत्तारुढ दललाई बिजयी गराउनमा महत्वपूर्ण भूमिका खेल्यो पनि। मेहनतकस जनताले स्थिरता र आर्थिक खुसहालीलाई महत्व दियो, इर्डोगानको निरंकुश शैलीलाई केही समयका लागि बिर्सेर। उता, सत्तारुढ दलले बिजय हासिल गरेको खबर फैलिनासाथ स्तानबुलको स्टक एक्सचेंज दुई प्रतिशतले माथि उक्लेको थियो अनि टर्कीको मुद्रा लिरा महिनौसम्म कमजोर रहेर डलर भन्दा केही बलियो हुन पुगेको थियो। स्थानीय निर्वाचनमा सत्तारुढ दलले हासिल गरेको यो विजय प्रति टर्कीको बजारले राम्रो प्रतिक्रिया देखाएको छ। टर्कीमा स्थिरता कायम रहने अनि आर्थिक विकासले निन्तरता पाउनेमा जनता आशावादी बन्दै गएको बुझिएको छ। जनता अहिले टर्कीमा उथलपुथल ल्याउने मनस्थितिमा देखिएको छैन।
यूरोपको एक सबल बजार रहेको टर्कीले यूरोपियन यूनियनको सदस्यता प्राप्त गरि सकेको छैन। यूरोपका २८ राष्ट्रहरु सदस्य रहेको यूरोपियन यूनियन संसारकै ठूलो वा बलियो क्रय शक्ति भएको बजार मानिन्छ। तर टर्कीको यूरोपियन यूनियनप्रतिको निर्भरता भने ज्यादै कम छ। प्रधान मंत्री इर्डोगानले टर्कीले यूरोपबाट फाइदा उठाउने भन्दा पनि यूरोपले टर्कीबाट फाइदा उठाउने आसय व्यवहारद्वारा प्रदर्शित गर्दे आएका छन्। उनको त्यस किसिमको व्यवहारले टर्की आफैमा आर्थिक रुपले बलियो छ भन्ने प्रदर्शित गर्नु हो। हुन पनि टर्की आफ्नो क्षेत्रको एक बलियो बजार हो। यसको अवस्थिति, आफ्नो क्षेत्रमा, ऊर्जा र व्यापारको लागि एक हब (Hub) को रुपमा रहन गएको छ। टर्की आफैमा एक बलियो बजार भएको कारणले यूरोपियन यूनियनले आफ्ना अन्य सदस्य राष्ट्रहरु जस्तै ग्रिस, पोर्चुगल, स्पेन आदिमा आफ्नो प्रभाव जमाउन सके जस्तो टर्कीमा जमाउन सकेको छैन। यस उपलब्धिको केही श्रेयता प्रधान मंत्री इर्डोगानलाई पनि जान्छ।
कलहमा फँसेको सिरिया र चर्चामा रहने इरानको नजिक रहेको टर्कीको स्थितिले पनि यस क्षेत्रमा टर्कीको भूमिका महत्वपूर्ण रहेको प्रदर्शित गर्दछ। सामरिक महत्वले पनि यूरोपियन यूनियन लगायत अन्य राष्ट्रहरुले टर्कीसँग राम्रो समझादरी कायम गर्नु पर्ने अनिवार्यता हुन आउँछ। नाटो (NATO- North Atlantic Treaty Organization, Est. 4 April 1949) राष्ट्रहरु मध्ये टर्की सेनामा दोस्रो ठूलो राष्ट्र हो।  
टर्कीको चुनावबाट नेपालका नेताहरुले थाहा पाउनु पर्ने महत्वपूर्ण कुरा के रहेको देखिन्छ भने जनताले आर्थिक एजेन्डाहरुलाई बढी महत्व दिने रहेछ, अरु कुराहरुलाई केही समयका लागि थांति राखेर भए पनि। गाँस, बासको समस्याले जनतालाई तत्काल प्रभाव पार्ने भएकोले आर्थिक विकासका मुद्दाहरु उनीहरुको प्राथमिकता सूचिमा एक नम्बरमा पर्न आउँछ। श्रम गरेर जिविका चलाउने र आजको आर्जनले आजलाई मात्र खान पुग्ने जनताको लागि आर्थिक खुसहाली अत्यन्तै ठूलो हो, प्रजातन्त्र भन्दा पनि। यो कटु यथार्थलाई नेपालका नेताहरुले हरपल मनन गर्न आवश्यक छ। भोको पेटले लामो समयसम्मका लागि प्रजातन्त्रको रक्षा गर्न सक्तैन। भोको पेटको पहिलो आवश्यकताको हो पेटको ज्वाला शान्त गर्नु। त्यसकारण, नेपालका नेताहरु साँच्चि नै मुलुकमा पुन: स्थापित प्रजातन्त्रप्रति समर्पित हो भने राष्ट्रिय गरिबी कम पार्नमा उनीहरु सक्रिय भएर लाग्नु पर्यो। दलहरु बीच एकता कायम गरेर अगाडि बढ्नु पर्यो। गुट, उपगुट, फुट, जुटको मनोविज्ञानबाट माथि उठ्नु पर्यो। तर यसको बिपरित, नेताहरु पहिलो संविधान सभाको निर्वाचन पछिको स्थितिमा जस्तो लडाइ झगडामा नै व्यस्त रहेन हो, जनताको आर्थिक विकासका मुद्दाहरुलाई उनीहरुले बेवास्त गर्ने हो भने मुलुकमा स्थापित प्रजातन्त्र मात्र खतरामा पर्ने होइन, दल एवं नेताहरु हरुको भविष्य पनि समाप्त भएर जानेछ। त्यस कारण नेताहरुले आफ्ना गतिबिधि र ध्यान, दुबै गरिब जनता र मुलुकको आर्थिक विकासमा केन्द्रित गर्नु पर्यो, आफ्ना स्वार्थहरुलाई बिर्सिनु पर्यो। टर्कीको राजनीतिबाट नेपालका नेताहरुले सिक्नु पर्ने अर्को ठूलो कुरा के हो भने राष्ट्रलाई आर्थिक रुपले सबल तुल्याउने हो भने विदेशी हस्तक्षेप स्वत: कम भएर जान्छ, टर्कीमा भए जस्तो। राष्ट्रिय राजनीतिका लागि मुलुकले बिना कुनै बाह्य दबाब स्वतन्त्र भएर निर्णय लिन सक्छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, April 4, 2014  

No comments:

Post a Comment